फरक विधामा समेत अनुभूत रमणीकता

संस्मरण/स्‍मृति डा. दामोदर रेग्मी June 1, 2025, 11:39 pm

डा. दामोदर रेग्मी
डा. दामोदर रेग्मी
सार्वजनिक प्रशासनको साढे तीन दशकको यात्रामा जनसेवाका काममा संलग्न हुने र यससँग सम्बन्धित नीति निर्माण प्रक्रियामा सहभागी हुन पाउनु मेरो जीवनको अत्यन्त महत्वपूर्ण अवसर रह्यो। यो यात्रा केवल पदीय जिम्मेवारी पुरा गर्ने प्रक्रिया थिएन, यो आत्मसन्तोष, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रति समर्पणको एक विशिष्ट अनुभव पनि थियो। जनताको आवश्यकतालाई नजीकबाट बुझ्ने अवसर पाउनु, उनीहरूको समस्यालाई सुन्ने र समाधान खोज्ने प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नु, अनि त्यो अनुभूतिलाई संस्थागत सुधार र नीतिगत प्रस्तावमा रूपान्तरण गर्नु यी सबै कार्यहरूले मलाई गहिरो सन्तुष्टि र रमणीकता प्रदान गरे।

नीति निर्माणको वृत्तमा पुग्दा मैले बुझेँ एक राम्रो नीति केवल कागजी दस्तावेज होइन, त्यो जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने जीवित संरचना हो। यसो गर्दा, मैले अनुभव गरें कि नीति तब मात्र सार्थक हुन्छ जब त्यसमा जनताको आवाज समेटिएको हुन्छ, व्यवहारिकता अङ्कित गरिएको हुन्छ र दीर्घकालीन दृष्‍टिकोण राखिएको हुन्छ। जनसेवा मार्फत प्राप्त गरिएका अनुभवहरूले मलाई व्यवहारिक नीतिगत सुझाव दिन सक्षम बनायो, जुन केवल सिद्धान्तमा होइन, कार्यान्वयनमा पनि प्रभावकारी बनोस् भन्ने मेरो मूल उद्देश्य रह्यो।

यस सम्पूर्ण यात्रामा मैले देखेको, सुनेको र महसुस गरेको प्रत्येक पक्ष चाहे त्यो दुर्गम गाउँको आवाज होस् वा केन्द्रमा बसेका नीति निर्माताको दृष्टिकोण सबैले मेरो सोच र अनुभूतिलाई तदनुरुप डोरिन घच्घच्यायो। जनसेवा र नीति निर्माणको यो सम्मिश्रित यात्राले मलाई केवल एक सेवक होइन, संवेदनशील नागरिक, योजनाकार र जिम्मेवार अभिव्यक्तिकर्ता बनायो। यही रमणीकताले मेरो सिर्जनात्मक आत्मालाई पनि थप ऊर्जावान बनायो, जसले जीवनलाई अर्थमय र समर्पित बनाएको महसुस गरें।

प्रशासनिक भूमिकामा रहँदा पाएको रमणीकता मेरो जीवनको एक अमूल्य सम्पत्ति बन्यो, जसले मलाई अनुशासन, संवेदनशीलता र सन्तुलित बन्न सिकायो। विविध परिवेश, मानिस र परिस्थितिहरूको नजिकबाट साक्षात्कार गर्ने अवसरले मेरो अन्तर्मनमा शब्दहरूको सजीव स्पन्दन जगायो। यही अनुभवले गर्दा जब म गीति क्षेत्रमा प्रवेश गरेँ, भावनाहरूको अभिव्यक्ति अझ प्रखर, सशक्त र अर्थपूर्ण बन्न पुग्यो। गीतहरू केवल मनोरञ्जनको साधन होइनन्, ती मेरो जीवनदर्शन, समाजप्रतिको अनुभूति र मनको गहिरो अनुभूतिको प्रतिबिम्ब बन्न थाले। प्रशासनले दिएको परिपक्वता र गीति क्षेत्रले दिएको सिर्जनात्मक स्वतन्त्रता मिसिँदा मेरो अभिव्यक्ति यात्रा अझ रंगीन, जिम्मेवार र जनचेतनामूलक बनेको अनुभव गर्दैछु। गीत लेखन अब केवल रुचिको विषय होइन, यो मेरो अनुभूति बाँड्ने माध्यम बनेको छ, जहाँ हरेक शब्दमा जीवनको अनुभूति बोल्छ।

गीति क्षेत्रमा प्रवेश गर्नु मेरो जीवनको एक अचानकको मोड रह्यो जहाँ शब्दहरूले भावनाको रंग भेटे, धुनहरूले आत्मालाई स्पर्श गरे, र सिर्जनाले मनको गहिराइहरू उजागर गर्न थाल्यो। प्रशासनिक भूमिकामा रहँदा जीवन अनुशासन, उत्तरदायित्व र विवेकको परिधिमा बग्थ्यो; तर गीति यात्रामा तिनै अनुभवहरूले अब लय, माधुर्य र भावनात्मक अभिव्यक्तिको नयाँ आयाम पाए। गीत लेखन मेरो लागि केवल सिर्जनाको माध्यम मात्र रहेन यो आत्मासँग संवाद गर्ने यात्रा समेत बन्यो।

जब मैले पहिलो पटक गीतका शब्दहरूमा जीवनको कुनै दृश्य उतारेँ, त्यो केवल कलात्मक सृजना थिएन, त्यो समाजको मेरो कथा थियो जो मेरो शव्दवाट अगाडी आएका थिए । सामाजिक परिवेश, जनताको दुःख-सुख, आफ्नै भोगाइ र समयको संवेदना यी सबै विषयहरू गीतमार्फत बोल्न थाले। गीति क्षेत्रमा पाइला राखेपछि मैले अनुभूति गरें कि संगीत र शब्दको संगमले न केवल मलाई आत्मसन्तोष दिन्छ, यो अरूको मनमा पनि तरंग ल्याउने शक्ति राख्छ। यही क्षणहरू मेरा लागि अनमोल आनन्दका स्रोत बनिरहेका छन्।

गीत लेख्दा वा गाउने क्रममा आउने आत्मिक सन्तुष्टि, श्रोता वा पाठकबाट प्राप्त हुने आत्मीय प्रतिक्रिया र शब्दहरूमा भावनाको गहिरो बहावयी सबैले मलाई जीवनप्रति अझ संवेदनशील, सकारात्मक र सिर्जनशील बन्न प्रेरित गरिरहेकोछ। गीति क्षेत्रले मलाई मेरो भित्री भावनालाई उजागर गर्ने स्वतन्त्रता मात्र दिएको छैन, यसले मेरो सामाजिक योगदानको भूमिका पनि सम्झाइदिएको छ। अब शब्दहरू नीति मात्रै होइन, भावना पनि बन्छन्; आवाज अब निर्देशन होइन, संवेदना हो। यही अनुभूति र आनन्द नै हो, जसले मेरो गीति यात्रालाई निरन्तर ऊर्जा र प्रेरणाको स्रोत बनाइरहेको छ।

मलाई लाग्छ लेखक समाजको चेतनशील व्यक्ति हो, जसले विचार, भावना र यथार्थलाई शब्दमा बाँधेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्दछ। लेखकको दायित्व भनेको केवल सूचना प्रवाह र मनोरञ्जन प्रदान गर्नु मात्र होइन, समाजमा चेतना, सुधार र परिवर्तन ल्याउने जिम्मेवारी पनि हो। लेखकले सत्य, यथार्थ र विवेकपूर्ण विचारहरू प्रस्तुत गर्दै सामाजिक विषयहरुमा समेत आवाज उठाउनुपर्छ। उसले विभिन्न वर्ग, लिंग, जाति वा समुदायको संवेदना र अवस्था आफ्ना लेखनमा समेटी समाजका विविध पक्षलाई प्रतिनिधित्व गर्नुपर्छ। साथै, लेखकले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा योगदान दिनुपर्छ। सकारात्मक सोच, नैतिक मूल्य र समावेशी दृष्टिकोणको प्रवर्द्धन गर्नु लेखकको महत्वपूर्ण दायित्व हो। यसरी हेर्दा, लेखक केवल स्रष्टा मात्र नभई समाजको मार्गदर्शक, सुधारक र चेतनाका वाहक पनि हुन्। लेखकको कलमले समाजको आवाज बोल्नु पर्दछ । यो आवाज गीतका शव्द र मैले लेख्ने गरेका लेखहरु दुवैवाट बग्न सक्नु पर्दछ ।

दुइ दशक भन्दा वढीको लेख लेखन र केही वर्ष यताको गीत लेखनले मलाई स्पष्ट रुपमा मार्गदर्शन गरेको छ कि गीत लेखन र प्रशासनिक लेखन दुई भिन्न प्रकृतिका सिर्जनात्मक अभ्यासहरू हुन्, जसमा उद्देश्य, शैली, भाषा, संरचना र लक्षित पाठक वर्गमा उल्लेखनीय अन्तर पाइन्छ। गीत लेखन भाव, भावना, कल्पना र कलात्मक अभिव्यक्तिमा केन्द्रित हुन्छ, जसले संगीतको माध्यबाट मानवीय संवेदनालाई उजागर गर्छ। यसमा लय, छन्द र अलंकारको प्रयोग गरिन्छ। यता, प्रशासनिक लेखन भने यथार्थ, तथ्य, नीति र औपचारिकतामा आधारित हुन्छ। यसमा स्पष्ट, संयमित र उद्देश्यपरक भाषा प्रयोग गरिन्छ, जसले निर्णय प्रक्रिया, सूचनाको आदानप्रदान वा कार्यान्वयनलाई मार्गदर्शन गर्छ। गीत लेखनमा सिर्जनात्मक स्वतन्त्रता उच्च रहन्छ भने प्रशासनिक लेखनमा विधि, नियम र संरचनाको पालना अनिवार्य हुन्छ। यसरी हेर्दा, गीत लेखन भावना र सौन्दर्यको माध्यम हो भने प्रशासनिक लेखन तर्क, तथ्य र उत्तरदायित्वको अभिव्यक्ति हो। दुवै लेखन शैलीको आफ्नै महत्त्व भए पनि तिनको प्रयोग र प्रभावका क्षेत्रहरू फरक–फरक छन्।

गीत लेखन र प्रशासनिक लेखन फरक प्रकृतिका लेखन शैलीहरू हुदाहुदै पनि यिनीहरूमा केही समानता भने रहेको हुन्छ। दुबै लेखनमा स्पष्ट अभिव्यक्ति अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने पाठक वा श्रोताले सरल रुपमा बुझ्ने गरि सन्देश दिनु जरुरी हुन्छ। त्यस्तै, दुबै प्रकारका लेखनमा उद्देश्यको स्पष्टता हुनु आवश्यक हुन्छ। गीतले भावनात्मक प्रभाव पार्ने लक्ष्य राख्छ भने प्रशासनिक लेखनले सूचना वा निर्णय पुर्‍याउने। दुबै लेखनले पाठक वा लक्षित समूहलाई प्रभावित पार्न सक्ने शक्ति राख्छन्। त्यसैले, चाहे गीत होस् वा प्रशासनिक दस्तावेज, सफल लेखनका लागि विचारको स्पष्टता, उद्देश्यको सजगता र पाठकप्रतिको जिम्मेवारी साझा विशेषता हुन्।

गीति यात्रामा पाइला टेक्दा मनमा अनिश्चितताकै वीचमा केही उत्साह र सिर्जनात्मक ऊर्जा मिसिएको थियो, तर आज पछाडि फर्केर हेर्दा लाग्छ यात्रा केवल सिर्जनाको यात्रा रहेन, यो आत्मा छुने रमणीयताको पुल थियो। मेरो पहिलो रेकर्डिङ भएको "एक अञ्जुली मायाको उपहार छरिदेउ" मार्फत जब शब्दहरूमा धुन मिसियो, आनन्द कार्कीको सुमधुर स्वर र किरण कडेलको संगीतले ती शब्दहरूलाई जीवन दिए त्यो क्षण मेरो गीति यात्राको सुन्दर सुरुवात थियो गीत संगीत क्षेत्रका स्थापित व्यक्तित्वहरुसंगको सहकार्य संगै। त्यसपछि "अलिकति हाँस्नु तिमी, अलिकति म हाँसुला" गीतहमा गायक प्रताप दास र गायिका अन्नु चौधरीको स्वर तथा डि.बि. लामाको संगीतले शब्दमा झन् बढी भाव र आत्मीयता थपिदियो।गीत लोकप्रिय समेत बन्न पुग्यो ।

"सिरेटोले छुँदै छुन्न" गीत मात्र रहेन, त्यो मेरो पहिलो गीति संग्रहको शिर्षक बनेर, मेरो सिर्जनात्मक यात्राको प्रतीक बन्यो। मुरलीधरको स्वर र संगीतले यसमा गहिरो भावनाको रंग भर्‍यो। त्यसैगरी, "डाँडापारी घाम डुब्यो, तिमी किन आएनौ", "जिन्दगीको पाठशालाले धेरै पढायो", "यो मनको चाहना अल्झियो तिमीमा" जस्ता गीतहरूले मेरो भावनालाई अनेक कोणबाट अभिव्यक्त गर्न दिए—समीक्षा अधिकारी, आनि छोइङ डोल्मा, सुरेश लामा, दीपा लामा जस्ता प्रतिभावान् स्वरधारीहरूले मेरो शब्दहरूलाई आत्माको भाषामा रूपान्तरण गरे।"जिन्दगीको पाठशालाले धेरै पढायो" गीतका शव्द र गायिका आनि छोइङ डोल्माको स्वर तथा किर्ती न्यौपानेको संगीतले मेरो गीति पहिचानमा समेत योगदान दियो।

यी गीतहरूमार्फत मैले संगीतको दुनियाँमा प्रवेश गर्दा प्राप्त गरेको रमणीकता केवल अभिव्यक्तिको खुसी थिएन, यो आत्मासँगको संवाद थियो। कलाकार मिथिला शर्मा, प्रभात पाल ठकुरी, अप्सना बलामीजस्ता अभिनय क्षमता बोकेका व्यक्तित्वहरूले मेरा गीतहरूलाई दृश्यात्मक सौन्दर्य प्रदान गरे। निर्देशकहरू सियोन श्रेष्ठ, नितिन चन्द, कृष्णदेव रुपाखेती, उत्तम श्रेष्ठ (सिसिर) लगायतका सर्जकहरूले अभिनयलाई जीवन्त बनाइदिए।

यी सृजनात्मक क्षणहरूले मलाई गीत-साहित्यको गहिरो महत्व बुझाए शब्दले छोएको मन, संगीतले बोलेको संवेदना, अभिनयले बोलेको दृश्य, अनि सबैले मिलेर निर्माण गरेको कलाको त्यो विशुद्ध अनुभूति यही हो मेरो लागि गीति क्षेत्रको रमणीकता। यहाँ न त केवल कला छ, न केवल सन्देश यहाँ आत्मा पनि छ, जीवन पनि। यही रमणीयता हो, जसले मलाई निरन्तर सिर्जनामा डुब्न प्रेरित गरिरहेछ।

गीतको यात्रामा पहिलो पाइला टेकेको त्यो दिन अझै झल्झल्ती सम्झनामा आउँछ। "एक अञ्जुली मायाको उपहार छरिदेउ" भन्ने गीत मेरा शब्दहरूमा पहिलोपटक संगीतको आत्मा भरेको रचना थियो। आनन्द कार्कीको मीठो स्वर, किरण कडेलको भावपूर्ण संगीत, अनि कलाकार दीपेन्द्र खत्री, सोनु ढुंगाना र स्वयम् आनन्द कार्कीको अभिनयले यो सिर्जना मेरो लागि केवल गीत रहेन—यो मेरो अन्तर्मनको पहिलो सार्वजनिक अभिव्यक्ति बन्यो। त्यस दिन मैले महसुस गरेँ शब्दहरूले बोलेको मनोभाव जब संगीत र स्वरमा मिसिन्छ, तब त्यो केवल गीत हुँदैन, त्यो एक जीवित अनुभूति बन्छ।

त्यसपछि "अलिकति हाँस्नु तिमी, अलिकति म हाँसुला" भन्ने गीत तयार भयो। यो गीतमा प्रताप दास र अन्नु चौधरीको स्वर मिसिँदा, मेरो शब्दले हास्न मात्र सिकेनन् जीवनलाई सकारात्मकता तर्फ निर्देशित गर्न सफल भए। डि.बि. लामाको संगीतले तिनै शब्दहरूलाई लय दिएर जनताको हृदयमा पुर्यायो। अभिनयमा रामहरि खड्का र सृष्टि खड्का जस्ता कुशल कलाकार र निर्देशक नितिन चन्दको कलात्मक दृष्टिले गीतलाई जीवन्त बनाइदियो।

मेरो तेस्रो रेकर्डिङ "सिरेटोले छुदै छुन्न" केवल अर्को गीत होइन, त्यो मेरो गीति संग्रहकै नाम बन्न पुग्यो। मुरलीधरको संगीत र स्वरले यसमा नयाँ संवेदना थपिदियो। हरेक गीत लेख्दा म आफ्नो जीवनका अनुभूतिहरू, भोगाइहरू र समाजप्रतिको प्रेमलाई शब्दमा बदल्ने प्रयास गर्थें।

"डाँडापारी घाम डुब्यो तिमी किन आएनौ", "जिन्दगीको पाठशालाले धेरै पढायो", "यो मनको चाहना अल्झियो तिमीमा" जस्ता गीतहरू मेरा भित्री भावना र सामाजिक सन्देशका कड़ीहरू हुन्। समीक्षा अधिकारी, आनि छोइङ डोल्मा, सुरेश लामा, दीपा लामा यी सशक्त स्वरधारीहरूले मेरा शब्दहरूलाई आत्माको स्वर दिए। कलाकार मिथिला शर्मा, प्रभात पाल ठकुरी, अप्सना बलामीको अभिनय र निर्देशकहरूको दृष्टिले ती गीतहरूलाई जीवित बनायो। जब मैले बालबालिकाको स्वरमा एउटा बालगीत लेखेँ, बि.पि. वाग्लेको संगीतमा त्यो गीत साकार भयो। त्यो पल निकै विशेष थियो किनकि त्यो मेरो सिर्जनाले भविष्यका साना मनहरूमा आशा र रमाइलोपन दिने आशय राख्थ्यो।

गीति यात्रामा म केवल गीतकार बन्ने चाहना नबोकि हिँडेको व्यक्ति, म आफ्ना अनुभूति, स्मृति, आशा र प्रेमलाई संगीतको पुलमा जोड्ने प्रयास गर्दैछु। यी सबै गीतहरू मेरा आत्माका टुक्राहरू हुन्, जसले मलाई रमाइलो मात्र दिएन, जीवनप्रतिको नयाँ दृष्टि पनि दियो। हरेक गीतमा म पुनः एकचोटि आफैसँग भेटिन्छु शब्दमा, स्वरमा, अनि श्रोताको भावनामा। यही हो मैले गीति यात्रामा पाएको रमणीकता जसले मलाई अझै गहिराइमा डुब्न प्रेरित गरिरहेछ।

बाल्यकालदेखि नै लेखनमा रुचि थियो। विद्यालयमा निबन्ध र कविता लेख्ने क्रममा थालिएको यात्राले कलेज जीवनमै मलाई लेखकको रूपमा चिनायो। लेखन मेरो अभिव्यक्तिको माध्यम बन्यो सार्वजनिक प्रशासन, राजस्व, संघीयता, वित्तीय संघीयता, व्यवस्थापन, सार्वजनिक वित्त, र अर्थशास्त्रजस्ता सामयिक विषयहरुमा लेख लेख्दै गएँ। समयसँगै यस्ता लेखहरू विभिन्न पत्रपत्रिका, जर्नल, र अनलाइन प्लेटफर्महरूमा प्रकाशित हुन थाले। मेरा पुस्तक र लेखहरुमा पाठकहरुवाट प्राप्त सद्भाव र उत्प्रेरणाले लेखनयात्रालाई विश्राम दिने सोचाइ आउन सकेको छैन ।

लेखनको यात्राले मलाई केवल लेखक बनाएन, गीतकारको पहिचान पनि थपिदियो। सामाजिक सञ्जालमा मेरा लेखहरू पढ्ने पाठकहरुको संखया राम्रै रहेको कुरा सामाजिक सञ्जाल र भौतिकरुपमा हुने भेटमा पाउने प्रतिक्रियाले सो को अनुभूति दिलाएकोछ। कहिलेकाहीँ पाठकहरूले सिधै पत्रिका वा वेबसाइटहरूबाट पढ्न नपाए पनि उहांहरू मेरो फेसबुक पेज 'दामोदर रेग्मी' वा अन्य सामाजिक सञ्जालमार्फत नियमितरूपमा लेख पढ्न सक्ने व्यवस्था मिलाएको छु।

मैले आफ्ना सामाजिक सञ्जालहरूलाई 'पुस्तकालय'सरह बनाउने संकल्प गरेको छु जहाँ खोजेका विषयहरु भेटिन्छ। त्यही सोचले फेसबुक पेजलाई 'मिनी ई-लाइब्रेरी' नाम दिएँ। मेरा केही लेखहरू अब युट्युब च्यानल 'डा. दामोदर रेग्मी' मार्फत हेर्न र सुन्न पनि सकिन्छ। टिकटकमा पनि म 'डा. दामोदर रेग्मी लिरिसिस्ट' भनेर प्रस्तुत हुनेगरेको छु।

लेख प्रकाशित हुने बित्तिकै सामाजिक सञ्जालमा राख्ने मेरो बानी छ। यसले मलाई पाठकहरूसँग प्रत्यक्ष सम्पर्कमा राख्छ। धेरैले त लेख ढिलो आएको छ भनेर सोध्न थाल्नुहुन्छ , यो म प्रतिको माया हो, सकारात्मक सरोकार हो । यही त हो स्रष्टाको प्रेरणाश्रोत ! पाठकहरूसँगको यस्तो आत्मीय सम्बन्धले मलाई लेखिरहन ऊर्जा दिन्छ। लेखनलाई साँचो अर्थमा सार्थकता महसुस हुन्छ।अनि ती भर्चुअल मित्रहरू, जसले सुरुमा फेसबुकमा 'लाइक' मात्र गरे, आज आत्मीय भौतिक मित्र बनेका छन्—यही त हो लेखन र सञ्जालको अद्भुत पुल! मिनी ई-लाइब्रेरी अब मेरो लागि केवल सामाजिक सञ्जालको नाम होइन, त्यो एउटा जीवित सम्बन्ध हो—जहाँ लेख, पाठक, मित्रता, अनुभूति र आत्मीयता सँगसँगै बाँचिरहेका छन्। यस यात्रामा म रमाइरहेको छु—हृदयदेखि, आत्मादेखि। यद्यपि कहिलेकाहीँ केही पत्रपत्रिकाले लेख मागेपछि प्रकाशित कपी नै नपठाउने प्रवृत्तिले खिन्न बनाउँछ। लेखकका लागि लेख आफ्नै सन्तानजस्तै हो—जुन प्रकाशित भएपछि देख्न मन लाग्छ, छुने रहर हुन्छ।

पेशा, कर्म वा वृत्तिप्रति अनुशासनसहितको निरन्तर समर्पणले जीवनमा एक प्रकारको गहिरो सन्तुष्टि दिने गर्छ । यही अनुशासन र सतत कर्मको प्रेरणाले मेरो प्रशासनिक यात्राले निरन्तरता पाएको थियो । यहि धारको अवलम्बनले लेखन यात्रामा जब अक्षरहरू मेरा अनुभवका साक्षी बनि उद्देश्यमा केन्द्रित हुन हौस्याइरहेका छन् । गीत लेखनको नवीन यात्राक्रमले पनि यो मार्ग समात्न प्रेरणा पाइरहेका छन् । यी सबै यात्रामा एउटा समान तत्व छ कर्ममा रमाउनु, अनुशासनमा बाँच्नु, र सिर्जनामा समर्पित रहनु । जब कर्म स्वयं साधना बन्छ, तब त्यो थकान होइन, ऊर्जा बन्दछ । यही ऊर्जा र प्रेरणाले मलाई निरन्तर अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ । सिर्जना गरिरहन र यसमा रमाइरहन तथा जीवनका प्रत्येक पललाई सार्थक बनाउने प्रयास गरिरहन उत्प्रेरित गरिरहेको छ  ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।