एक रात निद्रा नलागेर छट्पटाइरहेको बेला एउटा गोरु नयाँ खेतबारीमा पसेर जथाभाबी कुद्न थाल्छ। त्यो दृश्य देख्नबित्तिकै उसलाई भित्रैबाट झनक्क रिस उठेर आउँछ। त्यस गोरुलाई बलैले समातेर छेवैको एउटा रुखमा बाँधेर लट्ठीले बेस्सरी कुट्छ। त्यसपछि गनगनाउँदै बाँसको खाटमा बसेर एउटा कटुवा सल्काउँछ र धुवाँ बुङबुङ उडाउन थाल्छ। त्यसरी केही बेर कटुवा तानिसकेपछि ऊ डेराबाहिर निस्कन्छ र त्यस गोरुतिर नजर घुमाउँछ—गोरु मुखमा घाँस चबाउँदै टेढो आँखाले आकासबाट जिस्काइरहेको जूनलाई हेरिरहेको रहेछ। गोरुले त्यसरी जून हेरेको देखेर उसलाई हाँस उठेर आउँछ, र गोरुको छेउमा गएर पिठयुँमा थपथपाउँदै भन्छ, “साला लाटा! के जून हेर्छस्? तँ भनेको गोरु हो र जून भनेको जूनै हो। सक्छस् भने मध्यान्नको घामलाई हेर्न।”
त्यस बिसञ्चो गोरुले जूनको चित्तभ्रान्तिजनक यात्रा बिहानीपखसम्म हेरिरहन्छ, तर युवक भने जूनलाई एकपल्ट पनि नहेरीकन बाँसुरी फुँकिरहन्छ।
बिहान गाई-गोरुहरूलाई चरणमा लाने बेला पहाड माथिबाट ङिच्च हाँसेर हेरिरहेको जूनलाई भुइँबाट एउटा ढुङ्गाको चोइटा उठाएर “हाँस्छस्” भन्दै सकी-नसकी आकासतिर हान्छ। त्यस दिनको मध्यान्नमा जङ्गलबिचको एउटा ठुलो चप्लेटी ढुङ्गामा बसेर ‘जून हेर न, कस्तो शितल’ भन्ने गीत बाँसुरीको धूनमा गाइरहेको बेला उसलाई गाउँघरको याद बेस्सरी आउँछ।
साँझमा त्यस गोरुलाई मात्र गोठभित्र बान्धै युवकले भन्छ, “राते, अब गाउँ नफर्की मलाई गाह्रो छ! म गाउँ गएँपछि तैले जेसुकै गर्।” गोरुले घाँस चपाउँदै युवकलाई पुलुपुलु हेरिरहन्छ। राति सुत्ने बेलामा पनि कटुवा तान्दै उसले गोरुलाई एकपल्ट चियाउँदा पनि गोरुले घाँस चपाउँदै ऊतिर नै टुलटुल हेरिरहेको हुन्छ।
दार्जीलिङ