बाको लौरो

संस्मरण/स्‍मृति भेषराज रिजाल June 16, 2025, 2:12 am

भेषराज रिजाल
भेषराज रिजाल
“मेरो लौरो त छोडिएन ?” नारायणी पुल तरेर गैँडाकोट पुग्न लाग्दा बा बोल्नुभयो । बाको बोलीले एम्बुलेन्सको तिव्र गतिलाई पनि उछिन्दा एक मन त हर्षित थिएँ म ।

पाइरैमा हावाले बटारेर समात्ने हत्ता जस्तो बनेको कटबाँसको लौरो बाको प्रिय थियो । भित्र बाहिर गर्न वा गाउँघरतिर हिँडडुल गर्न बाको साहस वा सहारा भएको थियो यो लौरो । हरसमय साथमा रहेको वस्तुप्रति माया र भरोसा बढ्ता हुँदो रहेछ शायद । त्यसैले होला अरू लौरा छोडेर यो लौरो नै बाको एक नम्बर रोजाइमा परेको थियो ।

भरतपुरको एउटा अस्पतालमा एकसाता राखेर अलिक विशेक भएपछि बालाई लिएर घर फर्कँदै थियौँ आमा छोरा ।

“लौरो र छाता सँगै छ बा ।” मुटुमा भक्कानो परे पनि जसोतसो भनेथेँ मैले ।

मैले भन्नुपर्ने थियो– लौरो छुटे पनि म छु नि । भन्नुपर्ने कुरा भन्न नसक्दा मुटु बटारिँदो रहेछ । पूरा गर्न नसक्ने वचन भनेर मात्र के गर्नु फेरि ? जागिर र जिन्दगी एउटै लयमा अघि बढे पो आनन्द । यिनले सधैँ धर्मसङ्कटमा पारिरहेछन् मलाई ।

कर्णालीको जागिर । फोन नलाग्ने र सम्पर्क नहुने दुर्गमतिर छ कार्यक्षेत्र । बाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न पनि पाउँछु पाउँदिन ? मन धर्केर आयो । अश्रुजलले परेली डुबाउन खोज्यो । आँखा धमिलिन थाले । आमाका आँखा छलेर आफ्ना आँखा पुछेँ मैले । बा त त्यसै पनि बिरामीले एकसुरे हुनुभएको थियो । धन्न होशमा आएर लौरो खोज्नु भएकोले बालाई निको हुने ठानेर एक मन त खुसी भएको थिएँ म ।

“म मरेपछि यो लौरो पनि मसँगै जलाइदिनु है !” बाको अप्रत्याशित र अनपेक्षित भनाइ सुनियो ।

आफ्ना मान्छेको अभिव्यक्ति बढ्ता टड्कारो सुनिँदो रहेछ । बाको यो बोली मुटुमै लागेझैँ भयो । ओठ स्तब्ध भए । छातीमा ज्वारभाटा उर्लियो । ‘सम्झना स्वरूप पालीमा सिउरेर राखे हुन्न र बा ?’ बासँग अनुमति माग्दै सोध्न मन थियो । बोली घाँटीमै अड्कियो । सोध्न सकिनँ मैले । उखरमाउलो छुटेर आएको रुवाइ रोक्न पनि सकिनँ ।

आमाले सम्झाउनुभयो मलाई– “नरो भो । बाको विचारै नगरी बोल्ने बानी छ । अब सञ्चो भइसकेको छ । मन काटिने गरी त्यसरी किन बोल्नुभएको होला !”

मेरी आमा साँच्चै महान हुनुहुन्छ । उत्तिकै सशक्त र दृढ पनि । सन्तानको मनमा आत्मविश्वास र भरोसा भरिदिन सक्नुहुन्छ आमा । कठिन परिस्थितिमा पनि हौसला र उचित सल्लाह दिन सक्नुहुन्छ । आमाले भनेपछि चित्त बुझ्यो । दुब्लो पातलो भए पनि बाको दह्रो शरीरले वर्षौँदेखि यस्ता कयौँ बिमारहरू पछारिरहेको छ भन्दै चित्त बुझाएँ । अनि बल्ल आँसु थामिए मेरा ।

बाको एउटा मिर्गौलामा ठूलै पत्थरी थियो । त्यो मिर्गौलाले काम गर्न छोडिसकेको थियो । पाँच छ वर्षदेखि एउटा मिर्गौला र औषधिका भरमा बाको जीवन धानिएको थियो । उसमाथि आमाको चौबिस घण्टे स्याहार–सुसार छँदै थियो । समय मिलाएर र बा बिरामी भएको बेला पाहुँनाझैँ आउँथेँ म । मलाई पाल्ने एउटै छोरो छ भन्ने गर्नुहुन्थ्यो बाले । पछिपछि बाले पनि मतिर लक्षित गर्दै पाहुनालाई के काम गराउनु र, भन्न लाग्नुभएको थियो । अनि हरेक सहयोग आमासँगै माग्न थाल्नुभएको थियो । बालाई सहयोग र सेवा गर्न नपाएकोले बेस्सरी मन दुख्थ्यो मेरो ।

मिर्गौलामा ठूलो पत्थरी छ भन्ने काठमाडौँका डाक्टरलाई भने बाले ठाडै जवाफ दिनुभएको थियो– “त्यत्रो पत्थरी भए कसरी बाँचिन्छ ? मलाई केही भएको छैन !”

डाक्टरले बालाई केही नभनिदिए हुने भन्ने लागेको थियो मलाई पनि । शायद बिरामीलाई सत्य कुरा जानकारी दिनुपर्छ र त्यसले शारीरिक प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर डाक्टरले बालाई सम्झाउनुभएको होला । पाको उमेर भएपछि अप्रेशन गर्न कठिन हुन्छ भनेर डाक्टरले मलाई पनि सम्झाउनुभएको थियो । पत्थरी टुक्र्‍याएर धुलो पार्दा समेत अर्कोतिर थिग्रिने डर हुने बताउनुभएको थियो । अनि अनेक औषधि लेखिदिनुभएको थियो ।

बाले सुर्ता र चिन्ता गरेको भए बाको के हालत हुँदो हो ? बाले नै रोगप्रति विश्वास नगरेको देखेर मन बुझाएको थिएँ मैले पनि । बाको आत्मविश्वास र मनोबल देखेर मन दह्रो बनाउन सिकेको हुँ मैले । थाहा पाएथेँ, संसारका हरेक औषधि भन्दा विश्वासमा रोग निको पार्ने बढ्ता तागत हुँदो रहेछ । शायद दह्रो मनोबलकै कारण होला बाले पछिसम्म छर्लङ्ग देख्नुहुन्थ्यो र स्पष्ट सुन्नुहुन्थ्यो । अनि प्रेसर सुगर लगायतका कुनै रोग थिएनन् । बाले डाक्टरी औषधि भन्दा हितकर जडिबुटी पहिचान्नु हुन्थ्यो । पिसाब खुलाउन राम्रो हुन्छ भनेर गुर्जो, घोडताप्रे लगायतका जडिबुटी प्रयोग गर्नुहुन्थ्यो ।

जीवनका यथार्थ भोगाइ र अमृततुल्य उपदेश सुनाइरहनुहुन्थ्यो बा हरदम । बाले भनिरहने एउटा घटनाक्रमबारे दोहोर्‍याएर सोधेथेँ मैले । बाले भन्नुभएथ्यो– “मनमा राखेको छस् कि भनेको त बिर्सेको पो रहिछस् । म मरेपछि मलाई पनि बिर्सन्छौ होला । मेरा अर्ती उपदेश भने नबिर्सनू है !”

अन्तिम अवस्थातिर बाले एकपटक जन्मस्थान पहाड लैजाऊ भन्नुभएको थियो । बाको इच्छा पूरा गर्न सकिन्छ कि भनेर एकदिन बालाई गाडीमा राखेँ र नारायणी नदी किनारका लौगाईं, गैरी आदि सुन्दर बस्तीतिर लागेँ म ।

“पहाड लिएर हिँडिस् ?” बा खुसी हुनुभयो ।

“पहाड पुग्न गाडीमा पनि एकदिन लाग्छ । जान र आउन सक्नुहुन्छ होला नि ?” मैले सोधेँ खुलस्त ।

शुरुमा खुसी देखिनुभएका बा पछि सिट बिझायो भन्न थाल्नुभयो । मैले बालाई काखमा राखेँ । गाडीले हल्लायो भन्नुभयो । घर व्यवहार र लेनदेन मिलाएर जान पाएको भए हुन्थ्यो भन्नुभयो । अनि शरीर दुख्न थाल्यो भन्नुभयो । रुदौली, डेउडी, कुशनरी हुँदै कावासोतीसम्म पुर्‍याएर फर्काउँला भनेको थिएँ । बा आत्तिन थालेपछि पहाड लान सकिँदैन भन्ने नमीठो निष्कर्ष निकालेँ मैले । अनि कुडौली, प्रगतिनगर हुँदै छोटो बाटो घर ल्याएँ ।

बाको शक्ति कमजोर भएको देखेर मेरो मन पनि कमजोर भएको थियो । बा हिँडडुल गर्न नसक्ने भएपछि यसरी नै बिते कयौँ कहरपूर्ण दिनहरू र अनेकौँ सन्त्रासमय रातहरू ।

म सुर्खेत थिएँ । बा झन् बिरामी पर्नुभयो । आमाले घर नजिकैको मेडिकल लैजानुभयो । पिसाब रोकिएको रहेछ । उपचार गरेर घर ल्याउनुभयो । बासँग मेरो कुराकानी भइरहन्थ्यो । त्यसदिन बाले घर छिटो आइज भन्नुभयो । आयोगको कार्यालय, सुर्खेतको वार्षिक प्रतिवेदन कार्यालय प्रमुखको हैसियतले प्रदेश प्रमुख समक्ष बुझाउनुपर्ने थियो । काम सकेर त्यही रात हिँड्छु भन्ने योजना बनाएँ । केही अल्झनले अल्झिएँ । आमाले पनि अलिक विशेक हुँदै गएकोले भोलि सबेरै हिँड भन्नुभयो । भोलिपल्ट अर्थात् २०७९ साल असोज १४ गते बिहान ३ बजे नवलपुरतर्फ हानिएँ म ।

छिन्चु पुगेर आमालाई फोन गरेँ । आमाले बालाई लिटो र चिया खुवाएँ भन्नुभयो । बीचबीचमा सोधिरहेँ मैले । पानी खाइरहनुभएको छ भन्नुभयो । फोन दिनु न भन्दा अहिले झकाउनुभएको छ भन्नुभयो । आमा स्वाभाविक स्वरमा बोलिरहनुभएको छ । मलाई नआत्तिइकन आउन सम्झाइरहनुभएको छ । बाले अन्तिम अवस्थामा सँगै रहनु है भन्नुभएको बोली मात्र गुञ्जिरहेछ कानमा । बाको अन्तिम अवस्था भेट्छु भेट्दिन भन्ने मात्र चिन्ता छ मनमा ।

चन्द्रौटा आइपुग्दा सुवास दाइ र रामप्रसाद दाइले फोन गर्नुभयो । सबैले कहाँ आइपुग्यौ भन्दै फोन गर्न थालेपछि मनमा चिसो पस्न थाल्यो । बासँगका अनेक सम्झना मनमा खेल्न थाले । बलै डाँको रोके पनि मन रसाएर चुहिने आँसु रोक्न सकिँदो रहेनछ । मेरो मनोदशा बुझेर होला मान बहादुर ठाडा गुरुले पनि केही नबोली सरासर गाडी कुदाइरहनुभएको थियो ।

बुटवल आइपुग्दा जागेश्वर भाइले पनि फोन गर्नुभयो । मैले भाइलाई सत्यकुरा भन्न आग्रह गरेँ । जागेश्वरले भन्नुभयो– “मामा बितिसक्नु भएको रहेछ ।”

छातीमा धारिलो चिज रोपिएझैँ भयो । आफू अडिएको जमिन भासिएझैँ भयो । आफैमाथिको आकास खसेझैँ भयो । आँखामा अनायास बादलको पर्दा लागेझैँ भयो । सहारा हराएझैँ भयो । रुन खोज्दा पनि आवाज निस्किएन । बाको एउटा सानो इच्छा पनि पूरा गर्न सकिनँ मैले । त्यही पीर र पश्चातापले उडाउन लाग्यो । पश्चातापको त्यो कालो आँधी चक्रवाती भुमरी पार्दै मैमाथि वेगिएझैँ लाग्यो ।

म कोहपुरतिर आइपुग्न लाग्दा नै बा बितिसक्नुभएको रहेछ । यत्रोबेरसम्म भ्रममा रहेछु म । भ्रमको पर्दाले छेकिएर पो समय कटेको रहेछ । संसार यसरी नै चलेको हुँदो रहेछ । सत्य कुरा त निक्कै पीडादायी पो हुँदो रहेछ ।

कृया बस्दा हाँसेका बोलेका कृयापुत्री पनि देखिन्थे यदाकदा । तर, मेरो भने आँसु मात्र आइरहन्थे । कोही चिनेजानेका आफन्त देखिए आँखा त्यसै बर्सिन्थे । सम्झाउनेहरूले सांसारिक गति यस्तै हो भनेर अनेक कथा सुनाउँथे । आँसुले पितृको बाटो रोकिन्छ भनेर सम्झाउँथे कोही । मन भने मानिरहेको थिएन । एकछिन सम्झिए पनि फेरि बिर्सन्थ्यो मन र बर्सिन्थे आँखा । आमाले भन्नुभयो– “धेरै नरो, शरीर कमजोर हुन्छ ।”

आमाले भनेपछि केहीबेर सम्झिन्थ्यो मन । अबुझ मनले फेरि कता कता रिँगाउँथ्यो आफैलाई ।

बा बितेको दुईवर्ष भइसक्दा पनि यादका हरेक पानामा बाको तस्वीर दुरुस्तै छ । मेरा छातीका हरेक धड्कनमा बाको स्नेहिलो स्पर्श छ । भीड होस् वा एकान्त– बा उसरी नै बोल्नुहुन्छ मसँग । सपनाका मसिना तन्तुमा बा चल्मलाउनुहुन्छ । म अन्योलमा छु– सपनामा बाले राख्ने इच्छा मेरा मनका अधुरा इच्छा हुन् वा मसँग मन खोल्न चाहनुहुन्छ बा अझै ।

एकदिन देवीलाल जेठाबाले फोन गर्नुभयो । भीम दाइ, राम प्रसाद दाइ, सुवास दाइ, मोती दाइ र ओम प्रसाद भाइले पनि फोन गर्नुभयो । र भन्नुभयो– पितृ उद्धारार्थ भागवत् महापुराण आयोजना गरौँ । बाले पनि वर्षौ पहिलेदेखि यस्तै इच्छा राख्नुभएको थियो । अनि विदाको दिन मात्रै भए पनि सामेल हुन दौडिएँ म पहाडतिर । बालाई जिवितै पहाड पुर्‍याउन नसके पनि बाको फोटो झोलामा बोकेर पहाड पुगेको थिएँ म ।

दुख्खमा साथ दिएका र सुखमा खुसी भएका दाजुभाइहरू भेटिनुभयो पहाडमा । सेकताप गर्ने र ओत दिने आँतका आफन्तहरू भेटिनुभयो । देवीलाल जेठाबा, सानीमा, जेठीआमाहरू, शिरानघरे गणेशदाइ, इन्द्रदाइ, ढकराज भाइ, ओम प्रसाद भाइ, रामचन्द्र भाइ, दयाराम भाइ र मुन्तिरका भाउजुहरू भेटिनुभयो । छोराहरू दीपक, सूर्य, दुर्गा, अर्जुन, दिवस, शिशीर, नवीन, दिप्सन आदि भेटिए । नारायण सापकोटा भाइ र नारायण अधिकारी दाइ भेटिनुभयो । दिदीबहिनी, फुपु, फुपाजु, मामा, माइजु, भाञ्जा, भाञ्जी कुलकुटुम्बका सबै भेटिनुभयो । दीनानाथ सर, खील प्रसाद सर, तेज बहादुर सर र बलराम गुरु भेटिनुभयो । मधेशतिर सरेका भीमदाइ, राम प्रसाद दाइ, सुवास दाइ, कमल दाइ, दीर्घ दाइ, गोविन्द भाइ र मोती भाइ भेटिनुभयो । महापुराणका कथावाचक चन्द्र गुरु, केशब गुरुसँग समेत चिनजान र सत्सङ भयो ।

पात्लको चौरमा लौरो टेकेर मुस्किलले हिँडिरहेको मोटो मान्छे देखियो । उसले टक्क अडिएर नियाल्यो मलाई । को होला– मैले पनि हेरेँ शिरदेखि पाउसम्म । ओठले चिन्हेँ– कृष्ण दाइ पो हुनुहुँदो रहेछ । चिन्छ चिन्दैन बन्धुत्वको परीक्षा पो लिइरहनुभएको रहेछ ।

“सुगर–प्रेसर छ, इन्सुलिन लगाउँछु ।” मनमा तन्दुस्त मान्छे आँखाले कमजोर देख्दा मनै पग्लिँदो रहेछ र थाहै नपाई बग्दो रहेछ आँखा तप्प तप्प । राम्ररी केही सोध्न नसकी आँखा पुछेर हात जोड्दै हिँडेँ म ।

सबैले सञ्चो–विसञ्चो र हालखबर सोध्दा र स्नेही अर्तीउपदेश दिँदा विगतसम्म पुगेँ म ।

आमा बाको हातका औँला समाउँदै हिँडेका गराकान्ला, कधारकुट्टी बोकिएर पुगेका चौर, पानीपधेँरा र खेतबारीसम्म पुगेँ म । हजुरबाले बनाएको घर भत्किए पनि आफू जन्मिएको माटो छोएँ । बाले छाएका घरगोठका छाना र आमाले लिपपोत गरेका घरआँगन मक्किए–हराए पनि बाआमाले चिने बनाएका गराकान्ला, बाटो र दोबाटोमा पुगेँ । बाआमाले खेती गरेका, अन्नपात र घाँसपात ओसारेका खेतबारी र खरबारी सप्पै चहारेँ मैले । जिजुबराजुले चिनेका चौतारी र खनेका पोखरीसम्म पुगेँ । जुग–जमानाले खनेका सडक बाटोले पुरिएछन् ती । ती कहाँ थिए र कस्ता भए भनेर सोधिखोजी गरेँ । सबै बेचेर बसाइँ सरे पनि भत्केर खण्डहर भएका घरगोठको अझै माया लाग्दो रहेछ । मेरा आमाबाले मलाई गरेको माया र मार्गदर्शन यतै कतै प्रतिध्वनित छ झैँ लाग्दो रहेछ । आफूले बिताएका दिनहरू खोजेर नभेटिए पनि सम्झनामा भने ताजै हुँदा रहेछन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिकामा पर्ने साविकको शंकरपोखरीमा हजुरबा भरत र हजुरआमा अम्बिकाको कोखबाट सम्बत् १९८८ सालमा मेरा बा प्रेम प्रसादको जन्म भएको थियो । हजुरआमा अम्बिकातर्फबाट पाँच दाजुभाइ र तीन दिदीबहिनी तथा विमातातर्फबाट एक दाजु र दुई दिदी गरी एघार सन्तानमध्ये मेरा बा काइँला हुनुहुन्थ्यो । बा चौध वर्षको हुँदा हजुरबाको अकालमा मृत्यु भएको थियो । त्यसपछि परिवारले भोग्नुपरेको दुख्खकष्ट र गर्नुपरेको सङ्घर्षका अनेक प्रसङ्ग बाको मुखबाट धेरैचोटी सुनेको छु मैले ।

बाले आफूमाथि आपत्–विपद् परेका घटना पनि सम्झनुहुन्थ्यो– “बुढौलीकुनामा घर बनाउन लाग्दा काठको मुड्को मैमाथि पर्‍यो । साँढ र कावासोतीको जङ्गलमा बाटो हिँडिरहँदा आएको हावाहुरीले रुखहरू ढाल्दा धन्न मरिएथ्यो । शुल भएर पेट दुख्दा सिस्नो लाएर बाँचेथेँ । अनेकौँ खड्को काटेथेँ । कयौँ पीर सहेथेँ ।”

अनि आफ्नै जिन्दगीसँग मेलखाने त्यतिबेलाको गीत सम्झनुहुन्थ्यो– “माछा मीठा मसलाले चाना मिठा घीउले ! दुख्ख पीर धेरै खेप्यो यो दुखिया जीउले !”

म पाँच वर्षको हुँदा बाले मलाई गाउँदेखि अलि टाढाको त्रिभुवन माविमा शिशु कक्षामा भर्ना गरिदिनुभयो । स्कुल जानआउन इन्द्र दाइहरूको पछि लाग्थेँ म । शायद टाढा भएरै होला स्कुल जान छोडेँ मैले । अलिदिनपछि बाले नजिकैको भूमे प्राविमा भर्ना गरिदिनुभयो । घरमै आमाले बाह्रखरी र अङ्क गणित सिकाउनुभएकोले शिशु कक्षामा धेरैदिन बस्नुपरेन । दैलेखी सर भनिने टीकाराम रेग्मी हेडसरले एक कक्षामा लगिदिनुभयो । एकदिन केदार श्रेष्ठ सरले दिएको कक्षा कार्य राम्रो गरेपछि कक्षा दुईमा जान पाएँ । तीन कक्षा उत्तीर्ण भएपछि फेरि त्रिभुवन माविमा पुगेँ म ।

भूमे प्रावि घरबाट नजिक भए पनि भीरको बाटो हिँडेर जानुपर्थ्यो । आमाले मलाई खौलाको डिलसम्म पुर्‍याएर पर्खनुहुन्थ्यो । माछेपानीको चिहानघारी मुन्तिरको शिओरेको चौतारी हुँदै अघि बढ्थेँ । आफ्नै टाउकामाथि देखिने विफ्रेओढार र ठाडो भीर डरलाग्दा देखिन्थे । म पातेले भल फालेको डाँडासम्म पुगेपछि आमा घर फर्कनुहुन्थ्यो । अचेल सोच्छु, मलाई आमाले निडर र आँटिलो बनाउन त्यसो गर्नुभएको होला । कहिलेकाहीँ भने भीर कटेको नदेखेपछि पातेले भल फालेको डाँडासम्मै पुग्नुहुन्थ्यो रे आमा । हाम्रा बुढा हजुरबा शिवरामले बनाउनुभएको चौतारीलाई शिओरेको चौतारी भनिन्थ्यो । शनिवारको व्रत लिँदा आमा बिहानै नबोली यही चौतारीमा आएर वर पिपलमा जल चढाउनुहुन्थ्यो । चौतारीदेखि अलि मुन्तिर पनि ठूलै भीर थियो । त्यहाँ केतुकेका बोटहरू मात्र ठडिएका देखिन्थे ।

पहाडको जग्गा जमिन बेचेर मधेश झर्ने योजना बनाउँदै बा एकदिन मधेशतिर लाग्नुभयो । पाँच छ दिनमा आउँछु भन्नुभएको थियो । तेह्र दिनसम्म आउनुभएन । ज्यामिरेकी ठूली आमा र बहिनीहरूलाई भारतको बिहारसम्म पुर्‍याउन जाँदा पनि बाले केही दिन ढिलो गर्नुभएको थियो । आमा र मैले निकै चिन्ता लिएका थियौँ । त्यतिबेला चार पाँच वर्षको हुँदो हुँ म । बा कतै गएर ढिलो गर्दा बा आउने बाटो हेरिरहन्थ्यौँ आमा र म ।

म पढेर वा जागिरबाट आउँदा बाले आइस् भन्दै अनुहार उज्यालो बनाएको सम्झन्छु म । एउटा हँसिलो मुखाकृतिले आफ्ना सन्तानलाई कति प्रेरणा दिँदो रहेछ सम्झन्छु अहिले ।

बा सानो छँदा लुङ्खु बगालेथरकी दिदीकहाँ जाँदा टोपी हराउनु भएछ । टोपी नलगाए बाआमा मर्छन् भन्दै रुनुभएछ बा । सिरकमा गुट्मुटिएको टोपी फेला परेपछि दौराको खोकिलामा राख्नुभएछ । राती सुत्दासमेत टोपीको जतन गरेको प्रसङ्ग सुनाउनुहुन्थ्यो बाले ।

“मुन्तिरका माइलाबा सिलाङमै बित्नुभएछ । हाम्रा बाले माइली आमा र केशब दाजैलाई गाउँमा लिएर आउनुभएको हो । दाजै गोरखपुरमा हराउँदा भारतीय पुलिस लगाएर फेला पारिएको थियो रे । उनै केशब दाजैले मलाई बाह्रखरी, दुर्गाज चण्डी पढाउनुभएको हो । सिलाङबाट आउँदा माइली आमाको काखमा थिइन् रे– भोक्सिङ विवाह भएकी कान्छी देही । भोक्सिङका अन्तरे भिनाजु र उहाँका भाइका छोरा शिवलाल भाञ्जाले राम्रा दुधालु भैँसी किनिदिनुहुन्थ्यो ।” बाले आफ्ना सहृदयी आफन्तहरूलाई यसरी नै सम्झिरहनुहुन्थ्यो ।

भतेरपाटामा हाम्रो बारी थियो । त्यहाँ पुग्दा बा बोलेझैँ लाग्यो । बाले उतिबेला पनि भनिरहनुहुन्थ्यो– “राइँलो भाइ मुल परेकोले ज्योतिषीले बाह्र वर्षसम्म बेग्लै राख्नुपर्छ भनेका थिए । आमा र भाइलाई शुरुमा डाँसु पाध्या गुरुको घरमा राखिएकोमा पछि भतेरपाटामा गोठ बनाएर राखिएको थियो । बनसखन्नीले दुख्ख दिन थालेपछि झिमौरी बुढीको घरमा राखियो । झिमौरी बुढी छोरीकहाँ बस्न गएकोले घर खाली भएको थियो । आमा काममा जाँदा भाइ हेर्नुपर्थ्यो । भाइ छोडेर खेल्न गइस् भनेर बाले पिट्नुहुन्थ्यो । काल टार्न सकिँदैन, मरे मरिएला भनेर बाले भाइलाई सँगै राख्नुभयो । संयोग हो वा के हो ! भाइ करिब बाह्र वर्षको हुँदा ६४ वर्षको उमेरमा बा बित्नुभयो ।”

नफर्कने गरी बितेर गएका आफन्तहरूको माया त लाग्ने नै भयो । ती नफर्कने सम्झनाहरूसँग पनि धर्कनुहुन्थ्यो बा । एउटा गीत बाको मुखमै झुण्डिएको हुन्थ्यो– “जहाँ जान्छु दैजालो खान, त्यहीँ पापी बथानै बसेको !”

पूर्वी क्षितिजमा उभिएका डहरेदेउराली, बगालेको नेटो र घण्टेदेउरालीतिर नजर लगाउँछु । लुङ्खुको लेक, हाँडीकोटको जुरे पहाड, गाजको लेक, कोट र पुर्कोटका उचा चुलीहरूलाई मनमा सजाउँछु । यी डाँडा थुम्काका आकृति, त्यसमाथि पर्ने घाम छायाँ, बादल र कुहिराका कलाकृति हेरेरै बाल्यकाल बितेथ्यो । बढारे र जरुवाको सम्मिलनले तृप्त लमाएखोलाको लामो सम्झना सङ्गाल्छु । लमाएखोला कता बग्छ हँ ? यही सरल प्रश्नको खोजी गर्दै प्रकृतिका रहस्य पच्छ्याएको हुँ मैले ।

मनमा जत्ति घोल्यो उत्ति गाढा रङ र उत्ति प्रगाढ माया बसेको छ यो भूगोल र यो प्रकृतिको । बाआमाका आवाज र पदचाप यतै छन् झैँ लाग्ने । यहाँका बाटा चौबाटाहरूमा कसैसँग गफिँदै गरेका मेरा बा टुप्लुक्क आइपुग्नुहुन्छ कि झैँ लाग्ने । ओखलढुङ्गाको खण्डहर घर र बाँझो जमिन हेरेर झन् विरक्तिएँ म । बाले जहाँ भेटे पनि विरुवा ल्याएर सार्नुहुन्थ्यो । बाले लगाएका बडहर, कटहर, आँप, जामुन, काफल लगायतका बोटविरुवाहरू निकै ठूला भएछन् । बलिन्द्रधारा आँसु खसे । मेरा बा भेटिएझैँ भयो । कहले लाउने भीर, पाँचपत्रे र बान्द्रेओढारतिर नजर लगाउन सकिनँ । मन थाम्न नसकेर डुमभीरतिर दौडिएँ म ।

माझको बिसौना, द्वारेढुङ्गा बायाँतिर छोडिए । आँसी उदाउने ढुङ्गा, मुलाबारीको भञ्ज्याङ र चिन्नेको गोड्खालो देखिन्छन् कि भनी आँखा तानेँ । बाघथलो मुन्तिर डुमभीरमा पुग्दा पनि बाको सम्झना झन् वेगियो मुटुमा । बाले भन्नुभएको थियो– “घाँस काट्न गएकी गैराघरकी कान्छीआमा बेलुका अबेरसम्म फर्किनुभएन । गाउँलेहरू मिलेर खोजतलास गर्दा डुमभीरमा कोही रोइरहेको सुनियो । नजिक जाँदा कान्छीआमा नै थिइन् । भीरबाट खसेर लछारिएकी उनले बेहोसीमा पनि ‘काइँला काइँला’ भनेकी रहिछन् । अरूको मर्का देख्ने र उद्धार गर्न आउने यही हो भनेर मेरो नाम लिएकी होलिन् ।”

बा फेरि बोल्नुभयो– “वनतरुल ठानी वनमौरो खाएर बिरामी पर्दा समेत दही खुवाएर बचाएको हुँ कान्छीआमालाई ।”

मुखिया साइँलाबाको जेठो छोरो सेतुसँग दोस्ती थियो रे बाको । बालसखा सेतुसँगका धेरै प्रसङ्ग सुनाउनुहुन्थ्यो बाले । मुखिया कान्छाबाको छोरो मोटेका बारेमा समेत बताउनुहुन्थ्यो– “घाँस काट्न जाँदा बान्द्रे ओढारतिरबाट खसेछ मोटे । सिरवारीतिरका मान्छेले देखेका थिए रे । कपासे वनमा मोटे बाँधेको गोड्खालो छ ।”

बसाइँ सरेर मधेश हिँड्न लाग्दा रुँदै बाटो छेक्ने मुखिया माइलाबा र कुल प्रसाद दाइलाई पनि सम्झिरहनुहुन्थ्यो बा ।

खनियाबासस्थित कालीगण्डकी किनारमा नाङ्गै रहेछ एकजना । जति बोलाउँदा पनि बोलेनछ शुरुमा । बाले आफूले लगाएको स्वीटर दिएपछि बल्ल बोलेछ र खोलेछ मन– शत्रुले सप्पै सम्पत्ति खाइदिए । सम्पत्ति सकिएपछि परिवारले पनि वास्ता गर्न छाडे । आगो तापेर रात बिताउँछु ।

पल्लाछेउघरकी जेठी आमाले एकपटक पधेँरा जाँदा भनिछिन्– “शोभी सिध्दिई ! न सेतो, न सितो, केले होस् ?” जाँदा भन्दै गएकी, फर्कँदा पनि दोहोर्‍याइरहेकी रे । आफ्ना सन्तानलाई पुग्दो दुध भात समेत दिन नसकेकी एउटी आमाको कारुणीक कथा थियो त्यो । त्यसलाई हल्का लिँदै बा र बाका समकालीन साथीहरूले थेगो नै बनाएछन्– शोभी सिदी, केलेश केलेश । बाले कसैलाई पीर नपर्ने गरी हाँसो ठट्टा गर्न पनि रुचाउनुहुन्थ्यो उत्तिकै ।

“बागलुङ गएर भारु आठसय साटेर घोइनेउलाको उकालो उक्लँदै थिएँ । झोला चुँडियो । भुइँभर भए रुपैयाँ । भीर र पोथ्राका फेदतिर खोजेर बटुलेँ । उतिबेला सिक्का मोहर हुन्थे । घरमा आएर गन्दा रकम पुग्यो ।” अवमूल्यन भएको कागजी पैसाका सन्दर्भमा सुनाइरहनुहुन्थ्यो बा ।

हाम्रो पँधेरो पञ्चासे कुवामा पुग्दा बा बोलेझैँ सुनेँ– “तिहारको दिन दाजैलाई जुवाखालबाट घर बोलाउन गएको थिएँ । पञ्चासेनेर खोस्रिरहेका चल्ला देखेँ । धपाउन खोज्दा एउटालाई ढुङ्गाले लाग्यो । घर आइपुग्दा मरेको चल्लो हातमा झुण्ड्याउँदै नौली कर्किनी आइपुगिन् । उनले बालाई कुरा लगाइदिइन् । बाले गाली गर्न र पिट्न थालेपछि रत्ने काकाले जोगाउनुभयो । उहाँले नौलीलाई सोध्नुभएथ्यो– छोराले पधेँरो फोहोर पार्ने कुखुरा धपाउँदा अन्जानमा एउटा मरेछ । पधेँराको छेउमा कुखुरा पाल्न पाइन्छ ? अनि जरिवाना कसले कसलाई तिराउने हो ? त्यसपछि विवाद साम्य भएथ्यो ।”

हजुरबाले अरूका घर बनाइदिनुहुन्थ्यो रे । घुमाउने घरका इञ्जिनियरै हुनुहुन्थ्यो रे हजुरबा । एक महिनाजति लगाएर घर बनाइसकेपछि चारपाँच रुपैयाँ दिन्थे रे । तिम्रा केटोकटीहरूलाई खुवाउ, मलाई केही चाहिँदैन भन्नुहुन्थ्यो रे हजुरबा । अर्काको घर सित्तैमा किन बनाउनुहुन्छ भनेर हजुरआमाले कचकच गर्दा हजुरबाले भन्नुहुन्थ्यो रे– “मेरा छोरा नातीलाई पनि अरूले माया र सहयोग गर्लान् नि ।”

घरको घीउ लिएर नुन, तेल र लत्ताकपडा लिन थाकखोला र बटौली जानुपर्थ्यो रे त्यतिबेला । बा पनि छ खेप थाकखोला र बीस खेपजति बटौली जानुभएको थियो रे । उतिबेलाको बटौली जाने बाटो सम्झनुहुन्थ्यो बा– “बगालेको नेटो कटेर भुम्रे, करादी, बहुभञ्ज्याङ, त्रिभञ्ज्याङ गल्याङ हुँदै मालुवा निस्किन्थ्यो । राम्दी तरेर खयरबास, च्युरीबास, तानसेन, नयाँपाटी हुँदै डुम्रे पुगिन्थ्यो । मस्याङको उकालो ओरालोमा चिप्लिने रातो माटो थियो । धानिएर हिँड्नुपर्थ्यो । फोहोर भएर होला सिस्नेखोलामा हैजा नै लाग्थ्यो । दोभानको वन, रानी पौवा हुँदै तिनाउको तिरैतिर हिँडेर खस्यौली पुगिन्थ्यो । मुख्य बजार खस्यौलीमा थियो । खस्यौलीबाट तिनाउको झोलुङ्गे पुल तरेर बटौली पुगिन्थ्यो ।”

एकखेप बटौली जाँदाको घटना यसरी सुनाउनुहुन्थ्यो बा– “आफ्ना घरको र कोलहाडिल कहाँबाट किनेर ल्याएको घीउ लिएर बटौली गएँ । उल्टो दुईरुपैयाँ घाटा लाग्यो । घीउ खन्याउने काम गरिदिए वापत साहुले आठआना दिए । केही घाटा पूर्ति भयो । त्यही सूर्य छाप हाफटिनको घीउ खुव राम्रो र मीठो रहेछ । घीउ खन्याउँदा अघाउञ्जरी खाएर चित्त बुझाएँ । घर ल्याउने लत्ताकपडा र सामान किनेर ल्याइदिन साथीहरूलाई भनेँ । ती सामानको पैसा कसैले पनि तिरेका रहेनछन् । बिना पैसाको सामान लैजाँदा घरका जहानलाई पिर्ला भनेर पसले साहु खोज्दै गएँ र पैसा तिरेर आएँ ।”

एकपटक बटौली गएका बेलामा गाउँले ठिटाहरू मिलेर राँची गएछन् । कोही देशी पल्टनमा भर्ना भएछन् । कोही सिलाङतिर गएछन् । त्यतिबेला भारतीय सेना पुलिसमा भर्ना हुन जाने चलन रहेछ । जेठाबा ब्रिटिश आर्मीमा भर्ती भएर दोस्रो विश्वयुद्धमा जापान सिङ्गापुर पुग्नुभएको रहेछ । माइलाबा, राइँलाबा र कान्छाबा पनि भारतीय पुलिसमा भर्ना हुनुभएछ । बा आसाम पुलिसमा भर्ना भए पनि छोडेर घरै आउनुभएछ । अनि यिनै पहाडमा आफ्नो मेहनत र पसिना खर्चेर जीवन जिउनुभयो । हामीलाई हुर्काउनुभयो ।

अज्ञानीलाई ज्ञान र धनीलाई दान दिएर के काम भन्नुहुन्थ्यो बा । गुनको बदला बैगुनले तिर्न खोज्नेहरूका सन्दर्भमा बाले एउटा गीतै गाउनुहुन्थ्यो– “सम्झना साँचेको दाइले, फूल गाँसी बाटैमा राखेको !”

हो, कति ठूलो दर्शन सिकाउन खोज्नुभएको रहेछ बाले– संसार फगत् क्षणिक सम्झना त रहेछ नि ! बाको लौरो बासँगै खरानी भयो । बाको लौरो बन्न नसकेको म बाका यस्तै सम्झनाहरूसँग जलिरहेछु जिउँदै !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।