असारे गीत

गीत भीम रानाभाट July 1, 2025, 5:30 pm

भीम रानाभाट
भीम रानाभाट
हलगोरु, हलो बसाइँ सरे; बाउसे दाइ विदेश

छ लथालिङ्ग र भताभुङ्ग बनाउँछ को देश ?

बलियाजति दुबई र कतार कोही छैन मेलामा

छुपुमा छुपु धान रोप्नु छैन असारको बेलामा !

हली र बाउसे अरब पसे बालुवा चाल्नलाई

बुढा र बुढी, बाल र बच्चा परिवार पाल्नलाई

भ्रष्टाचार फल्यो यो देशैभरि दलाली फस्टायो

इमान–जमान, स्वाभिमान गिर्‍यो रोजगारी अस्तायो

आकाशमा छैन बादलु घेरो, हिमालमा हिउँ छैन

मनसुन आउला भलपानी छोपौं मल र बीउ छैन

जनताको भोट ? क्या भयो खोट अब के गर्ने हो ?

जुकाले जस्तै चुसेको चुस्यै लौ सुकेरै मर्ने हो !

न लाउनु खेती न गोडमेल सबैलाई हाईसुख !

बसीमा बसी पाइन्छ खान, को गर्छ यो दु:ख ?

यो देशमा कहिले चट्याङ परी वर्षला बादल ?

वर्षाले फोहोर बगाए मात्रै घन्कला मादल !!

भद्रकाली, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।