विद्यार्थी जीवनकालदेखि नै उनले साहित्यमा कलम चलाउन थालिसकेका थिए। हुने बिरुवाको चिल्लो पात भने झैं सातौँ श्रेणीको विद्यार्थी छँदा उनले बाल उपन्यास ‘प्रतिशोध : एउटा तिरस्कारको’ लेखेर आफ्ना शिक्षकहरूलाई आश्चर्यचकित पारेका थिए। उनको यो उपन्यास सन् 1980 मा प्रकाशित भएको थियो अनि बाह्रौं श्रेणीमा पढ्दा आफ्नो कथाकृति ‘बालुवाको पहाड़’ (12 वटा कथाहरूको सङ्ग्रह) तयार पारिसकेका थिए जुन सन् 1987 मा प्रकाशित भएको थियो। उनी कथाकार, उपन्यासकार मात्र होइनन् एक संवेदनशील कवि पनि हुन्। आफ्नो हृदयको संवेदना र अनुभूतिहरूलाई कवितामा लिपिबद्ध गर्दै आएका अबीरले सन् 1995 मा एउटा कविता सङ्ग्रह ‘अबीरानुभूति’ प्रकाशित गरेर आफुलाई कविका रुपमा पनि परिचित गराएका थिए। यसरी उनको कविता र कथा समान रुपमा लेख्ने क्रम जारी छ। यसप्रकारले अहिलेसम्म उनका एउटा बाल उपन्यास, तीनवटा कथा सङ्ग्रह र तीनवटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्।
उनका प्रकाशित कृतिहरू यसप्रकार छन् :-
1) प्रतिशोध एउटा तिरस्कारको (बाल उपन्यास – सन् 1982)
2) बालुवाको पहाड़ (कथा सङ्ग्रह, सन्1987)
3) अबीरानुभूति (कविता सङ्ग्रह, सन् 1995)
4) अक्षर-उत्सव (कविता सङ्ग्रह, सन् 2007)
5) दार्जीलिङ :मेटामर्फोसिस (कथा-सङ्ग्रह, सन् 2019)
6) विस्थापन (कथा-सङ्ग्रह, सन् 2024)
7) डुवर्स क्लिपिङ्ग्स (कविता सङ्ग्रह, 2024)
यसबाहेक लेख-निबन्ध र संस्मरण विधामा पनि उनको कलम चलेको छ। एक ताका उनी सुनचरी दैनिक अखबारका स्तम्भकार पनि थिए। त्यसबेला उनका लगभग चालिसभन्दा अधिक सामाजिक तथा व्यङ्ग्यात्मक लेख-निबन्धहरू प्रकाशित भएका थिए। उनी एक बेजोड़ गीतकार पनि हुन्। सङ्गीतप्रति उनको अगाध प्रेम छ। वाद्यवादनहरूमा उनी हार्मोनियम र मेन्डोलिन बजाउँछन्। उनी सङ्गीतका ताल र सूरहरूमा रम्छन्। उनले अनेकौं गीतहरू लेखेका छन्। उनका गीतहरूमा ख्यातिप्राप्त सङ्गीतकारहरूले सुर भरेका छन् र नाम चलेका गायक-गायिकाहरूले आफ्नो मधुर स्वरमा गाएका छन्।
उनले रचेका केही गीतका नमूनाहरू हेरौं -
गीत 1) जिन्दगीको दीयो थियो सानो हुरीमा निभ्यो
जलाउनलाई सलाई थियो कुन झरीले भिज्यो।
(सङ्गीत-जीवन प्रकाश प्रधान, स्वर-प्रेम सिन्च्युरी)
2) तिमी एउटा रात देउ सपना दिन्छु म
लहरमा आऊ तिमी किनारा दिन्छु म।
(सङ्गीत-प्रदीप छेत्री स्वर-रजनी गुरुङ)
3) दार्जीलिङे ठिटीलाई पहाड़की गोरीलाई
सन्देश यही भनिदिनु।
(सङ्गीत-प्रदीप छेत्री, स्वर–थुप्देन भुटिया)
4) ऐ कान्छी नानी नि मनको कुरा लुकाउने
मनको कुरालाई ओँठमा ल्याएर
कहिले हो फेरि फुकाउने।
(सङ्गीत-स्व.महेश राई, स्वर-हीरा रसाईली, कौशिला हिङमाङ र अन्य)
सन् 2005 देखि कालचिनी, डुवर्सको शङ्कर नेपाली उच्चतर माध्यमिक विद्यालयमा सह-शिक्षकका रुपमा कार्यरत रहँदै आएका अबीर खालिंङ आज डुवर्स मात्र होइन तर भारतीय नेपाली साहित्यमा नै एक वरिष्ठ कवि र कथाकारका रुपमा दह्रिलो उपस्थिति दिन सफल बनिसकेका छन्। डुवर्स आगमनपछि उनले सन् 2007 मा ‘अक्षर-उत्सव’ (कविता सङ्ग्रह) प्रकाशित गरे। त्यसपछि सन् 2019 मा ‘दार्जीलिङ :मेटामर्फोसिस’ (तेह्रवटा कथाहरूको सङ्ग्रह) प्रकाशित भयो। सन् 2024 मा उनको कथाकृति ‘विस्थापन’ र कविताकृति ‘डुवर्स क्लिपिङ्ग्स’ प्रकाशित हुनुको साथै उनको ‘दार्जीलिङ :मेटामर्फोसिस’ कथा-सङ्ग्रह हिन्दी भाषामा सिक्किमका वरिष्ठ साहित्यकार सुवास दीपकद्वारा अनुवाद भएर रश्मि प्रकाशन, लखनउबाट प्रकाशित भएको छ।
पहिलो कथा-कृति ‘बालुवाको पहाड़’ 20-21 वर्षको युवा उमेरमै प्रकाशित भए तापनि दोस्रो कथाकृति ’दार्जीलिङ मेटामर्फोसिस’ भने लगभग 32 वर्षको अन्तरालमा पाठकका सामु आउन सक्यो अनि त्यसको पाँच वर्षपछि तेस्रो कथाकृति ‘विस्थापन’ पनि प्रकाशमा आयो। पछिल्ला यी दुई कथाकृतिले उनलाई सर्व भारतीय नेपाली साहित्यमा डुवर्सबाट प्रतिनिधित्व गर्न सक्ने एक सशक्त कथाकारको रुपमा परिचित गरायो।
’दार्जीलिङ मेटामर्फोसिस’ कथा सङ्ग्रहमाथि आफ्नो मन्तव्य व्यक्त गर्दै वरिष्ठ कवि मनप्रसाद सुब्बा लेख्नुहुन्छ – ‘मीठो काव्यात्मक भाषा र त्यस भाषाको निष्चेष्ट प्रवाह पाठकलाई आकर्षित गर्ने पहिलो तत्व भेटिन्छ ‘दार्जिलिङ : मेटामर्फोसिस’-का कथाहरूमा। कथावस्तुलाई अनावरण गर्ने शिल्प यी कथामा पाइने अर्को मुख्य आकर्षण छ। दुई-तीनवटा कथामा पात्र-पात्राको अवचेतनलाई चिहाउने मनोविश्लेषणात्मक प्रविधिले पाठकको कौतुहलतालाई कुत्कुत्याउँछ। यस वर्गको कथामा ‘ओत’ कथा उपल्लो तहमा उक्लिएको पाउँछौं जसले इन्द्रबहादुर राईको कथा ‘महारुदन’-सँग तुलनात्मक पठन पनि खोज्छ। सर्वस्वीकृत सामाजिक दृष्टिकोणको विनिर्माण र स्वैरकल्पनाको प्रयोगले छुट्टै विशेषता पाएको कथा छ ‘ऊ अर्थात् ...’। विद्रूपता, विडम्बना र विदीर्णतासहितको दार्जीलिङ पहाड़ मानावीकृत छ कथा ’दार्जीलिङ मेटामर्फोसिस’।‘
कथा कस्तो हुनुपर्छ भन्ने प्रश्नमा कथाकार खालिङको उत्तर छ – ‘ कथा लामो नहोस् र यसले शिल्पद्वारा तान्दै विचारको विस्कुन सुकाओस लाग्छ। निर्दिष्ट फ्रेममा हालेर म कथा लेख्न रुचाउँदिन।‘ ओ.हेनरी, गोर्की, चेखव, साकी, मिलान, कुन्देरा उनलाई औधी मनपर्ने कथाकारहरू हुन्। नेपालीमा उनलाई विश्वेश्वरप्रसाद कोइराला, भिक्षु, पोषण पाण्डे, इन्द्रबहादुर राई, विन्ध्या सुब्बा आदि मनपर्छ। वरिष्ठ साहित्यकार मोहन ठकुरी उक्त पुस्तककमा ‘अबीरका रङहरू’ शीर्षक भूमिकामा लेख्नुहुन्छ –‘कथा बुन्दा उनलाई शिल्प चेतले बढ़ी घच्घच्याउँछ। पाठक विमोहित नबनुन् –को उनी हेक्का राख्छन्। ---- कविता बाहेक उनको सङ्गीतमा शौक छ। कविता लेख्नअघि पनि उनी मीठो सङ्गीत सुन्छन्। उनलाई आफ्नो हर्ष बाँड़्दा र दु:ख लुकाउँदा आनन्द लाग्छ। उनका सिर्जनामा सुन्दर कविताहरू छन्। उनको प्रिय विधा नै कविता हो तर कथा र संस्मरण पनि हेय होइन उनकालागि। कथा र संस्मरण पनि उत्तिकै आकर्षक शैलीमा लेख्छन्। मोहक शैलीमा उनका कथाहरू बुनिन्छन् र तीहरूलाई पाठकले भुल्न सक्दैनन्। साह्रै फितलो शब्दप्रयोग पनि उनका कथाहरूमा छैन। बोझिल शब्दहरूलाई पनि सजिलोसित सही ठाउँमा सजाउँछन् उनी।
विगत 20 वर्षदेखि उनी डुवर्समा छन्। डुवर्स उनको कर्मथलो भएकों छ। डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिसित उनी एक सक्रिय सदस्यका रुपमा धेरै वर्षदेखि संलग्न रहेका हुन्। सन् 2022 देखि उनी यस समितिका कार्यकारी अध्यक्ष रहेका थिए अनि सन् 2025 देखि अध्यक्षका रुपमा कार्यरत रहेका छन्। उनी समितिको मुख-पत्र ‘अवलोकन’-को तेस्रो अङ्कदेखि सम्पादक मण्डलीमा रहेर यसको सम्पादन कार्यको पनि निष्पादन गर्दै आएका हुन्। सन् 2022 मा ‘अवलोकन’-को वर्ष 8 अङ्क 6 यिनकै सम्पादनमा ‘भारतीय नेपाली कथा विशेषाङ्क’-को रुपमा प्रकाशित भएको छ। डुवर्स नेपाली साहित्य विकास समितिको उद्योगमा सन् 2018 मा प्रकाशित ‘कितापसिंह : कीर्ति र कृति’ (कितापसिंह राई स्मृति ग्रन्थ)-को सम्पादक मण्डलीमा रहेर उनले आफ्नो भूमिका निभाएका थिए भने सन् 2024 मा समितिको स्वर्ण जयन्तीको उपलक्ष्यमा प्रकाशित ‘डुवर्सका कविताहरू’ –को सम्पादकद्वय अबीर खालिङ र दुर्गा राई चामलिङ रहेका छन्। यसबाहेक डुवर्स आउन अघि नै उनले आफ्नो व्यक्तिगत प्रचेष्टामा ‘हस्ताक्षर’ नामको साहित्यिक पत्रिकाको सम्पादन पनि गरका थिए। सन् 2015 मा डुवर्सबाट उनले कालचिनी क्षेत्रको साहित्यिक गतिविधिलाई अघि बढाउने उदेश्यले ‘सृजनशील समुह’ नामको एउटा संस्थाको स्थापना गरेर ‘नयाँ संवाद’ पत्रिका आफ्नै सम्पादनमा प्रकाशित गराएका थिए। साहित्य सृजनामा लागिपरेका स्थानीय केही व्यक्तित्वहरू सहित यस संस्थामा उनी एक सक्रिय संस्थापक सदस्यका रुपमा संलग्न रहेका छन्।
साहित्य अकादेमी, दिल्लीको तत्वाधानमा समय समयमा हुने बहुभाषिक गोष्ठी तथा सेमिनारहरूमा पनि उनको सहभागिता रहेको छ। यसै क्रममा उनले भारतको विभिन्न स्थानहरू अगरतला, थ्रिसुर, भिसाखापटनम, दिल्लीको यात्रा गर्नको साथै दार्जीलिङ, सिक्किम र नेपालमा सम्पन्न भएका विभिन्न साहित्यिक कार्यक्रमहरूमा पनि आफ्नो उपस्थिति दिएका छन्। भारतीय नेपाली साहित्यमा उनले पुर्याएको योगदानको कदर गर्दै दार्जीलिङ, सिक्किम,असम र डुवर्सका केही साहित्यिक सङ्घ-संस्थाहरूले उनलाई पुरस्कारहरू प्रदान गरी सम्मान पनि गरेका छन्। तीमध्ये प्रतिभा प्रेरणा पुरस्कार (सन् 2015 मा, बिजनबारी,दार्जीलिङबाट), शोभाकान्ति थेगिम स्मृति पुरस्कार (सन् 2023 मा, गान्तोक, सिक्किमबाट), लीलबहादुर क्षत्री साहित्यिक पुरस्कार (सन् 2025 मा, गुवाहाटी,असमबाट), स्व. कृष्णभक्त खड्का स्मृति पुरस्कार (सन् 2025 मा, डुवर्स नेपाली साहित्य सभा, मदारीहाट, डुवर्सबाट) प्रमुख हुन्। यसबाहेक अनेकौं सामाजिक तथा साहित्यिक सङ्घ-संस्थाहरूबाट उनलाई संवर्दना एवं अभिनन्दन पनि गरिएको छ। यसरी नै उनले प्रेरणाहरू पाउँदै गरुन् जसले उनलाई उर्जा दिन सकोस् र उनीबाट अझै उत्कृष्ट कृतिहरूको सृजना हुन सकोस्। उनलाई हाम्रो यही शुभकामना छ।
बाग्राकोट, डुवर्स