एउटा मार्क्सवादी चिन्तकः टेकनाथ बराल

जीवनी नारायण मरासिनी October 8, 2025, 6:17 am

नारायण मरासिनी
नारायण मरासिनी
१. सङ्क्षिप्त जीवनी र राजनीतिक घटनाक्रम

मार्क्सवादी चिन्तक तथा सामाजिक रूपान्तरणका अभियन्ता टेकनाथ बराल (वि.सं. १९९६–२०८०) पोखरेली परिवेशमा चिनाइरहनु पर्ने नाम होइन । बराल व्यक्ति एक भए पनि उहाँको व्यक्तित्वका पाटाहरू अनेक छन् । पोखराको बैदाममा राम्रै किसिमको पैतृक सम्पत्ति भएको परिवारमा जन्मनुभएका बरालले कक्षा ८ पास गरेपछि तत्कालीन अवस्थामा नर्मल तालिम लिएर केही समय शिक्षण पेशा अपनाउनुभएको थियो । बैदाममै जनज्योति प्राथमिक विद्यालय (हालः तालवाराही मा. वि.) स्थापना गरी त्यसको प्रधानाध्यापक भएर पनि केही समय उहाँले काम गर्नुभएको थियो । त्यस समयमा पोखराकै भद्रकालीमा सञ्चालित मौजा रात्री पाठशालामा भर्ना भएर केही समय उहाँले आफ्नो अध्ययनलाई अगाडि बढाउनुभयो । त्यसपछि तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्दा बराल प्रहरी प्रशासनको कोपभाजनको शिकार बन्नुभयो । उहाँलाई तत्कालीन व्यवस्थाका ठेकेदारहरूले बढी नै धरपकड गर्न थालेपछि पोखरामा बस्न गाह्रो भयो । केही समय भूमिगत हुनुभयो ।

त्यस समयमा यस क्षेत्रबाट उच्च शिक्षा हासिल गर्न चाहनेहरू प्रायजसो भारतको बनारस जाने गर्दथे र बनारस नेपाली राजनीतिको केन्द्रका रूपमा पनि परिचित थियो । यही सिलसिलामा टेकनाथ बराल पनि उच्च शिक्षा हासिल गर्न बनारस पुग्नुभयो । बनारसमा बसेर बरालले म्याट्रिक पास गर्नुभयो । त्यहाँ उहाँ पुष्पलालको सम्पर्कमा रहेर मार्क्सवादी विचारबाट प्रशिक्षित हुनुभयो ।

बनारसमा टेकनाथ वामपन्थी विद्यार्थीका रूपमा रहनुभयो । त्यहाँको वामपन्थी विद्यार्थीहरूको सङ्गठन ‘वाराणसी छात्र परिषद’मा क्रियाशील हुन थाल्नुभयो; सचिव पदमा रहेर काम गर्नुभयो । नेपाल फर्केर भूमिगत कार्यकर्ताको जिम्मेवारी निर्वाह गर्न थाल्नुभयो । त्यस समयमा कास्की जिल्लामा पार्टीको सङ्गठनलाई गति दिने काम गर्नुभयो । २०२३ सालमा राजनीतिक गतिविधिमा संलग्न भएको भनी गिरफ्तार गरेर पञ्चायती प्रशासनले उहाँलाई दुई वर्ष जेलमा राख्यो । २०२६ सालताका यस क्षेत्रमा पुष्पलालको सङ्गठनात्मक गतिविधि बढ्न थालेको थियो । उहाँ भूमिगत रूपमा कास्की आसपासका जिल्लाहरूमा समेत पुगेर जनचेतना जगाउँदै सङ्गठन विस्तारमा क्रियाशील हुनुभयो । २०२९ सालमा बराल फेरि बनारस पुग्नुभयो । त्यहाँ रहँदा उहाँले आफ्ना सहपाठीहरू बलराम उपाध्याय, कवि युद्धप्रसाद मिश्र, जयप्रकाश बास्तोला, गोविन्द ज्ञवाली, तिलक पराजुली, मोहनबहादुर के.सी.लगायतसँग नेपालमा कम्युनिस्ट आन्दोलनलाई कसरी एकीकृत रुपमा अगाडि बढाउने भन्ने बारेमा बहस–छलफल गर्नुहुन्थ्यो ।

बिस्तारै कम्युनिस्ट पार्टीमा गुट र फुट हावी हुन थालेपछि बराल भूमिगत जीवन बिताउनका लागि आसाम पुग्नुभयो । आसाममा पनि उहाँ निष्क्रिय बस्नुभएन, नेपाली मूलका गोठाला तथा मजदुरहरूलाई सङ्गठित गर्ने काम गर्नुभयो । २०३४ सालमा पुनः पोखरा फर्कनुभयो । २०३६ सालको जनमत सङ्ग्रहमा उहाँ बहुदल पक्षलाई जिताउनुपर्छ भनेर खट्नुभयो । बहुदलको प्रचार–प्रसारमा जुट्नुभयो । पुष्पलालको निधनपछि पार्टी लथालिङ्ग बनेको र नेकपा माले, नेकपा मसालका गतिविधि बढिरहेको अवस्थामा उहाँले सबै वाम घटकलाई एकै ठाउँमा आउनुपर्छ भनेर प्रयास गरिरहनुभयो । मूलतः विभिन्न गुट उपगुटमा विभक्त कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याएर कसरी बलियो बनाउने भन्नेमा नै उहाँको चिन्तन रह्यो ।

२०४६ सालमा पञ्चायती व्यवस्थाका विरुद्ध केही कम्युनिष्ट घटकहरूले निर्माण गरेको वाममोर्चाको गण्डकीकै सर्वसम्मत अध्यक्ष भएर उहाँले संयुक्त जनआन्दोलनलाई नेपाली काङ्ग्रेसको सहकार्यमा अगाडि बढाउने काम गर्नुभयो । तत्कालीन अवस्थामा केन्द्रमा साहना प्रधानको अध्यक्षतामा वाम मोर्चाको गठन हुनुभन्दा पहिल्यै यस क्षेत्रमा टेकनाथ बरालको अध्यक्षतामा वाम मोर्चाको गठन भएको थियो । बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि पनि उहाँ निष्क्रिय बस्नुभएन । २०५३ सालमा ‘राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण नागरिक समिति’ नामको संस्था स्थापना गरेर उहाँ त्यसमार्फत क्रियाशील हुनुभयो । उहाँले त्यस संस्थामार्फत भारतद्वारा अतिक्रमण गरिएका भूमिमा आफ्ना साथीहरूसहित जाने र ती स्थलहरूको निरीक्षण गर्ने काम गर्नुभयो । समय समयमा विस्तारवाद र साम्राज्यवादका विरुद्धमा विभिन्न गोष्ठी तथा भेलाहरू आयोजना गर्नुभयो । नेपालको हकहित र अधिकारका पक्षमा प्रेस विज्ञप्ति जारी गर्ने, पत्रकार सम्मेलन गर्ने कामहरू गर्नुभयो । ‘महाकाली बचाऔं’को अभियान थाल्नुभयो । २०५२ सालबाट नेकपा माओवादीले सशस्त्र जनयुद्धको सुरुवात गर्‍यो । उहाँले माओवादी जनयुद्धका सन्दर्भमा संसदलाई चेतावनी दिँदै जनयुद्ध अवधिभर माओवादी र सरकार कुनै पक्षले पनि युद्धबन्दीलाई अमर्यादापूर्वक यातना दिन पाउँदैन भन्ने आवाज बुलन्द पारिरहनुभयो ।

२०६२–०६३ सालको आन्दोलनमा पनि मानव अधिकारवादीका नाताले टेकनाथ बरालको सक्रिय संलग्नता रह्यो । उहाँका साथै मानव अधिकारवादी सङ्घसंस्थाले समयमा नै संविधान बन्नुपर्छ र त्यसमा सबै जनताको हकअधिकार समेटिनुपर्छ भनेर संसद्लाई दबाब दिइरह्यो । महङ्गी तथा भ्रष्टाचारका विरुद्धमा होस् अथवा द्वन्द्वमा बेपत्ताहरूको खोजीका लागि होस् उहाँले सडक आन्दोलनलाई गति दिई नै रहनुभयो ।

कुनै एउटा घटक विशेषमा रहेर काम गर्नुभन्दा पनि स्वतन्त्र वामपन्थीका रूपमा क्रियाशील टेकनाथ प्रायः सबै पार्टीका कार्यक्रमहरूमा पुग्नुहुन्थ्यो र वाम एकताका पक्षमा बोल्नुहुन्थ्यो । उहाँ मानव अधिकारका साथै बुद्धिजीवी सङ्गठनहरू तथा साहित्यिक सङ्घसंस्थाहरूका कार्यक्रममा पनि सक्रिय रूपमा सहभागिता जनाउनुहुन्थ्यो । नवोदित साहित्यकार, कलाकारहरूलाई लेख्न पढ्नका लागि प्रेरणा तथा प्रोत्साहन दिने गर्नुहुन्थ्यो ।

टेकनाथ बराल जल, जङ्गल र जडिबुटी सबैलाई मिलाएर राष्ट्र र जनताको हितमा उपयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । जीवनको उत्तरार्धमा ‘राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण नागरिक समिति’ मार्फत प्राकृतिक सम्पदाको संरक्षणमा लाग्नुभयो । मानव अधिकार, राष्ट्रिय सम्पदाको संरक्षण, देशको सार्वभौमिकता, अखण्डता, लोकतन्त्र र समाजवादका पक्षमा उहाँ क्रियाशील हुनुभयो । विस्तारवादी शक्ति तथा साम्राज्यवादी शक्तिका विरुद्धमा उहाँले आजीवन सङ्घर्ष गर्नुभयो ।

२. सांस्कृतिक रूपान्तरणका अभियन्ता

टेकनाथ बराल जातपात तथा छूवाछूतका विरोधी हुनुहुन्थ्यो । आफू ठूलो जातको हुँ भन्ने दम्भ उहाँमा थिएन । अन्याय–अत्याचारका विरुद्ध जतिबेला पनि जाइलाग्ने बरालले २०१८-०१९ सालतिर स्याङ्जाको भुम्रे स्थित संस्कृत पाठशालामा पढाउँदा दलितका सन्तानलाई पाठशालामा भर्ना गरेर पढाउन थाल्नुभएको थियो । तर तत्कालीन सङ्कीर्ण मानसिकता बोकेको समाजलाई उहाँको यो अग्रगामी कदम मन परेन र पाठशालाको सञ्चालक समितिले अछूतहरूलाई भर्ना गरेको कसुरमा उहाँलाई पाठशालामा अध्यापन गर्न दिएन; पाठशालाबाट हटायो । उहाँ पुरातन कर्मकाण्डको विरोधी हुनुहुन्थ्यो । स्वर्ग र नर्कमा विश्वास गर्नु हुँदैनथ्यो । दशैंलाई सामन्तहरूको पर्वका रूपमा लिनुहुन्थ्यो । सानै उमेरमा व्रतबन्ध भएको थियो तर पछि उहाँले जनै फाल्नुभयो, धारण गर्नुभएन । निधन भएका पितृहरूलाई भनेर परम्परागत रुढि पद्धतिअनुरुपको पिण्डदान गर्नुभएन । दानदक्षिणाको लेनदेन गर्नुभएन । हाम्रो हिन्दु परम्परामा गरिने काजकिरियाको परम्परागत लम्बेतान पद्धतिको पनि उहाँ विरुद्धमा हुनुहुन्थ्यो ।

टेकनाथ बराल पुरातन रुढिग्रस्त संस्कार र संस्कृतिका विरुद्धमा हुनुहुन्थ्यो । उहाँले पोखरामा स्थापित ‘सांस्कृतिक रूपान्तरण अभियान’ भन्ने संस्थाको सल्लाहकारमा रहेर पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । भोजभतेर, टीकाटाला, आशीर्वाद आदिलाई महत्व दिनुहुँदैनथ्यो । उहाँ पैतृक सम्पत्ति छोरा र छोरी दुवैलाई समान रुपमा वितरण गर्नुपर्छ भन्ने मान्यतामा रहनुभयो र छोरीहरूलाई पनि छोरालाई जस्तै केही मात्रामा अंश दिनुभयो । उहाँले यो राम्रो काम गर्नुभयो तर समाजले उहाँको यस किसिमको उदाहरणीय कामलाई पच्छ्याएन । यसबाट के स्पष्ट हुन्छ भने रुपान्तरण वा परिवर्तन व्यक्तिको एकल प्रयासबाट मात्रै सम्भव हुँदैन, परिवर्तनका लागि त सामूहिक प्रयासको जरुरत पर्दछ । यद्यपि व्यक्ति स्वयंले आफूसक्दो प्रयास गर्न चाहिँ छोड्नुहुँदैन ।

३. मानव अधिकारवादी व्यक्तित्व

मानिसले प्राप्त गर्नुपर्ने हक–अधिकार, सुरक्षाको प्रत्याभूति, स्वतन्त्रता आदि मानव अधिकारमा पर्दछन् । मानिसले पाउनुपर्ने आधारभूत अधिकारका पक्षमा सङ्घर्ष गर्ने टेकनाथ बराल मानव अधिकारवादी व्यक्तित्वका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ आफ्नो जीवनकालको पछिल्लो चरणमा मानव अधिकारका क्षेत्रमा सक्रिय रूपले लाग्नुभयो । एकीकृत महाकाली सन्धिबाट नेपाललाई घाटा हुने यथार्थलाई सार्वजनिक गर्दै उहाँले नागरिक स्तरबाट नागरिक अगुवाहरूका साथ तत्कालीन सरकारको ध्यानाकर्षण गराउँदै सन्धि पारित नगराउनका लागि दबाब दिनुभयो । नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको समयमा पोखरामा उहाँले मानव अधिकारवादी आन्दोलन एवम् शान्तिका लागि नागरिक समाजको आन्दोलनमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभयो । जनयुद्धका क्रममा माओवादीको आरोपमा राज्य पक्षका सुरक्षाकर्मीले निहत्था मानिस पक्रेर लगी दोहोरो भिडन्तका नाममा हत्या गर्ने, हिरासतमा राखेर यातना दिने, लामो समयसम्म सार्वजनिक नगर्ने जस्ता कुकृत्यका विरुद्धमा उहाँले राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिमार्फत आवाज बुलन्द पारिरहनुभयो । नागरिक आन्दोलन र मानव अधिकारवादी आन्दोलन मार्फत पनि उहाँ प्रगतिशील चिन्तनलाई नै अगाडि बढाउनुहुन्थ्यो । वैज्ञानिक जीवन–पद्धति अँगाल्नुपर्नेमा उहाँको जोड रहन्थ्यो ।

२०६२–०६३ को लोकतान्त्रिक आन्दोलनमा उहाँ मानव अधिकारकर्मीका रुपमा सडक आन्दोलनमा सक्रिय हुनुभयो । त्यस समयमा उहाँले आन्दोलनको अनुगमन गर्दै आन्दोलनकारी र सुरक्षाकर्मीहरूका बीचमा बसेर आन्दोलनलाई हिंसात्मक हुनबाट रोक्ने प्रयत्न गर्नुभयो । उहाँले सधैँभरि पीडितहरूकै पक्षमा सङ्घर्ष गर्नुभयो । सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा प्रहरी प्रशासनबाट हुने गरेका कमीकमजोरीहरूका विरुद्ध खबरदारी गरिरहनुभयो । वृद्धावस्था अर्थात् बुढेसकाल लागिसकेपछि पनि मानव अधिकारको रक्षाका लागि धर्ना बस्ने, सडकमा जुलुसको नेतृत्व गरेर हिँड्ने जस्ता काममा उहाँ सक्रिय रुपले लाग्नुभएको थियो । बाल अधिकारको संरक्षणमा समेत उहाँको चिन्ता थियो । कसैको मानव अधिकार हनन भएको जानकारी आएमा उहाँ पीडितको पक्षमा उभिएर खबरदारी गर्नुहुन्थ्यो । मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनेर उहाँलाई इन्सेकले ‘प्रकाश काफ्ले मानव अधिकार सम्मान’ र राष्ट्रिय मानव अधिकार आयोगले ‘दयाराम स्मृति मानव अधिकार सम्मान’ प्रदान गरेका थिए ।

४. साहित्यिक व्यक्तित्व

टेकनाथ बरालमा साहित्यिक सचेतता थियो । उहाँ प्रगतिशील साहित्यबाट प्रभावित हुनुहुन्थ्यो । अध्ययनका क्रममा बनारसमा उहाँले युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित लगायतका मार्क्सवादी स्रष्टाहरूसँग सङ्गत र सहकार्य गर्नुभयो । बनारसमा उहाँ ‘भानु–उदय’ पत्रिकासँग सम्बन्धित हुनुहुन्थ्यो । उक्त पत्रिकाको अङ्क ३ र ४ मा उहाँका सिर्जना छापिएको देखिन्छ । पोखरामा २०४६ सालको जनआन्दोलनपछि ‘गण्डकी साहित्य सङ्गम’को स्थापना भयो । यस संस्थाका ‘गोकुल वाङ्मय पुरस्कार’ र गण्डकी वाङ्मय पुरस्कार’का लागि अक्षयकोषको स्थापनामा उहाँको भूमिका विशेष महत्वको रहेको थियो । उहाँले यस संस्थामा आजीवन सल्लाहकारको भूमिकामा रहेर काम गर्नुभयो ।

उहाँले प्रगतिशील लेखक सङ्घको कास्की शाखामा सल्लाहकारका रुपमा रहेर पनि प्रगतिशील साहित्य सिर्जनाका लागि नवोदित स्रष्टाहरूलाई प्रोत्साहित गरिरहनु भयो । उहाँ साहित्य शृङ्खला, पोखरा र सङ्गम सांस्कृतिक मञ्चमा पनि आजीवन सल्लाहकार रहनुभयो । उहाँमा यस क्षेत्रमा हुने साहित्यिक कार्यक्रमहरूमा बसेर धैर्यका साथ अरुका रचनाहरू सुन्न सक्ने क्षमता थियो । सर्वहारा वर्गको मुक्तिका लागि कला–साहित्यको भूमिका महत्वपूर्ण हुन्छ भन्नेमा नै उहाँको जोड थियो । उहाँमा बोल्ने कलाका तुलनामा लेखन कौशल थिएन । आफूले जीवनकालमा धेरै लेख्नुभएन तर जे जति लेख्नुभयो वैज्ञानिक विचारलाई अँगालेर सांस्कृतिक रुपान्तरणका लागि लेख्नुभयो । उहाँले समाज अझै पनि अन्धकारमै रुमलिएकातर्फ सङ्केत गर्दै विजया दशमीको टीकाको सन्दर्भलाई लिएर लेखेको कविताको अंश यस्तो छ –

हैन यो विजय हाम्रो, हो यो सामन्तको टीका

नकाब तिनकै पैह्री बोल्छौ आजादको टीका !

लडिर’न्छौं, लडिर’न्छौं, बन्ला समाजको टीका

जित्छौं अवश्य नै जित्छौं, बल्ल लगाउँला टीका ।

५. अन्य व्यक्तित्व

माथि उल्लेख गरिएबाहेक टेकनाथ बरालका अन्य व्यक्तित्वहरू पनि उत्तिकै महत्वपूर्ण छन् । उहाँलाई सादा जीवन अपनाउने उच्च विचारको व्यक्तित्वका रुपमा लिन सकिन्छ । लवाइखवाइमा तडकभडक देखाउने प्रवृत्ति उहाँमा थिएन । पोखराको लेकसाइड, बैदाममा जग्गाजमिनको हिसाबमा सम्पन्न परिवारको भएर पनि उहाँ अन्य सामान्य मानिसहरू सरह नै देखिनुहुन्थ्यो । उहाँमा शैक्षिक चेतनाको विस्तार गर्न सकेमा समाजमा व्याप्त रुढिहरू हट्छन् र समाजले रुपान्तरणको दिशा पक्डन्छ भन्ने सोच थियो । यही सोचअनुरुप उहाँ विभिन्न ठाउँमा विद्यालयको स्थापना गरेर शिक्षाको ज्योति सल्काउने काममा खट्नुभयो । आफ्नो घरपरिवारलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुभन्दा पनि उहाँ सामाजिक परिपाटीलाई वैज्ञानिक तथा उन्नत बनाउने काममा बढी क्रियाशील हुनुभयो ।

योग, प्राकृतिक तथा वैकल्पिक चिकित्सा क्षेत्रमा पनि टेकनाथ बरालको विशेष योगदान रहेको छ । उहाँ प्राकृतिक चिकित्सा पद्धतिलाई अपनाउनुपर्नेमा जोड दिनुहुन्थ्यो । बिना अपरेसन गरिने उपचार जुन पञ्चतत्व (आकाश, वायु, जल, पृथ्वी र तेज) को प्रयोगबाट हुने उपचार हो त्यो नै प्राकृतिक उपचार हो । यो वैकल्पिक चिकित्सा पनि हो । बराल योग साधनालाई पनि उत्तिकै महत्व दिनुहुन्थ्यो । योग प्राणायाममा जोड दिनुहुन्थ्यो ।

प्रगतिशील चिन्तनलाई गति दिन चाहने हामी जेजति छौं; हामी कतिपयले आफ्ना सन्तानलाई सोहीअनुरुपको संस्कार दिन सकेका छैनौं । यो कतिपय हामी आफैभित्र मौलाएको समस्या हो । टेकनाथ बरालमा यो समस्या थिएन । उहाँले छोराछोरीहरू विद्या, शोभा, प्रभा र पिङ्गलालाई सानै उमेरदेखि प्रगतिशील संस्कार अर्थात् कम्युनिष्ट विचारले प्रशिक्षित गराएर समाजसेवामा रुचि जगाइदिनुभएको थियो ।

६. उपसंहार

सुरुमा पुष्पलालको समूहमा आबद्ध अर्थात् नेकपा मार्क्सवादीका नेता टेकनाथ बराल पछिल्लो सम्पूर्ण समय स्वतन्त्र वामपन्थीका रुपमा रहनुभयो । मार्क्सवादी विचार तथा सङ्गठन निर्माण र विस्तार; सांस्कृतिक रुपान्तरणको अभियान एवम् जनअधिकारको प्राप्तिका क्रममा उहाँको सिङ्गो जीवन सङ्घर्षमय भएर बित्यो । उहाँको जीवनलाई आन्दोलनकै पर्यायका रुपमा पनि लिन सकिन्छ । उहाँका सहयात्री–सहकर्मी मात्रै नभएर उहाँबाटै दीक्षित–प्रशिक्षित धेरै नेताहरूले विभिन्न घटकको क्षेत्रीय तथा स्थानीय नेतृत्व सम्हाले । उहाँका चेलाहरूले संसदीय व्यवस्था र संविधान सभाको चुनाव लड्नका लागि टिकट पाए; सांसद् र मन्त्री पनि बने । बराललाई यस सम्बन्धमा पार्टीहरूले प्राथमिकतामा पारेनन् । वामपन्थीहरू बहुदलको प्राप्तिपश्चात् पटक–पटक सत्तामा पनि पुगे । उहाँकै सहयात्रीहरू अर्थात् कतिपय पुराना वामपन्थी नेताहरूलाई नेकपा एमालेले राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्‍यो । कतिपय अग्रज कमरेडहरूको निधनपछि उहाँहरूकै नाममा प्रतिष्ठानको स्थापना गर्‍यो । उहाँजस्तै ऐतिहासिक कमरेडको योगदानको कदरस्वरुप अभिनन्दन ग्रन्थ एवम् स्मृति ग्रन्थहरूको प्रकाशन पनि गर्‍यो । यस मामिलामा बराललाई आजसम्म पनि ओझेलमा पारिएको छ । समाजको परिवर्तनका लागि आजीवन सङ्घर्ष गर्नुभएका बरालले राज्यका महत्वपूर्ण पदहरूमा भूमिका नपाए पनि अथवा पार्टीहरूका दृष्टिमा नपरे पनि अविचलित रुपमा राजनीतिक, शैक्षिक एवम् सांस्कृतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँ विशुद्ध मार्क्सवादी चिन्तकका रुपमा परिचित हुनुहुन्छ । वामपन्थी पार्टीहरूको राजनीतिक एवम् साङ्गठनिक इतिहासमा बरालको योगदान अविस्मरणीय रहेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।