बाबुरामको जीवन गोधूली झैँ थियो, न उज्यालो, न पूरै अन्धकार । उनका सपनाहरू पनि घरमाथिको कुलोको पानीजस्तै निरन्तर बगिरहन्थे । तर कहिल्यै पूरा भएनन् । श्रम र संघर्ष त बाबुरामका सहयात्री नै हुन् । जीवनको सौन्दर्य खोजीको धूपमा तप तप पसिना झथ्र्यो । टुप्पी समेत पलाउन नसक्नेगरी खुइलिएको तालु कहिलेकाहीं पोल्थ्यो पनि । तर जीवनमा सौन्दर्यको विहानी ल्याउने इच्छाशक्ति भने हटेको थिएन । उनकी श्रीमतीलाई त गरिबीले नै खायो । न औषधि समयमा पर्याप्त पाइन्, न आहार नै । केही वर्षअगाडि उनले रोग, शोक र भोकको पीडासहित संसार छाडेर गइन् । यो विछोडले दिएको पीडाको ढकनी बाबुरामले अझै उघार्न सकेका छैनन् ।
अलिमाथि खत्री साहुको कृषि फर्ममा बाबुरामको सानोतिनो नोकरी छ । उनले नोकरीको ठूलो हिस्सा छोरी सुनिताको पढाइमा खर्चेका छन् । बचत भएको पैसाले दुःखले परिवारको गुजारा चलेको थियो । छोरी सुनिता पाँच कक्षामा पढ्छिन् । उनलाई पढ्न मन त धेरै लाग्छ, तर कहिलेकाहीँ कापीमा अक्षरहरू धुमिलिन्छन् । बल्दै गरेको दीयोमा बर्तन सकिन्छ । दैनिकी चल्नै कठिन थियो । अभावकै कारण पेट र सपनाबीच सन्तुलन मिलाउनु बच्चा मनस्थितिका लागि कहिलेकाहीँ भारी हुन्थ्यो ।
तिहार नजिकिँदै थियो । गाउँभरि झिलिमिली लाइट, देउसीभैलोका रियल्र्सल, बजारमा भीडभाड । मानिसहरू सजावटका सामान र नयाँ कपडा किनिरहेका थिए । मिठाइका पसलहरूबाट तेलसँगै पीठो र चिनीको गन्ध फैलिरहेको थियो । तर बाबुरामको कुटीमा तिहार एउटा मौन सम्झनाको कथा जस्तै छ । पीडाले पोतिएको, मौनताले ढाकिएको । करसा र पिँढीका कुनाहरुमा मखमली ढकमक्क छन् तर मन बचैन छ ।
एक साँझ सुनिताले चम्किलो स्वरमा भनिन्, ‘बाबा, हामी पनि झिलिमिली बत्तीका लहराले घर सिँगारौं न । मैनबत्ती बालौँ न । सबै साथीहरूलेको तिहारमा घर झिलिमिली हुन्छ रे ! छिमेकीहरु पनि उज्यालोको रमझममा नाचेका छन् । मस्तीमा छन् सबै ।’ बाबुरामले छोरीतिर हेरे । थकित आँखा, झुलिरहेको अनुहारमा मुस्कानको झल्को आयो, ‘छोरी, हाम्रो तिहार फरक हुन्छ । हामी बत्ती होइन, उज्यालो मनले तिहार मनाउँनु पर्छ ।’ बाबुरामको साहित्यले सुनिताको बाल मष्तिस्कलाई छुन सकेन । बरु उल्टै बाबाको बुझाइप्रति खिन्नता प्रकट गर्दै कोल्टे फेरिन ।
त्यो रात बाबुराम चुपचाप ढोका बन्द गरेर पल्टिए पनि निदाउन सकेनन् । सुनिताका आशातित आँखामा देखिएको एउटा सानो निराशाको लप्कोले उनलाई भतभती पोलिरहेको थियो । नोकरीबाट आएको पैसापनि तिहार अगाबै छोरीको परीक्षा शुल्क तिरेका थिए । बाँकी रहेको केही पैसा छरछिमेकमा तिरोभरो गर्न पनि अपुग थियो । बिहान सबेरै उठे । भारी मन । उनले पुरानो झोला काँधमा हालेर नजिकैको बजार चोकतिर हान्निए, पैसाको खोजीमा । तिहारको छुट्टी भइसकेको थियो । बजारमा काम भेटिने छाँटकाँट नदेखेपछि पुनः उही खत्री साहुँ सम्झिए । उनीसँगै अनुनय विनय गरे । केही समय पसिना बगाउने मनसाय पोखे । तर साहुले नसुने झै गरेपछि बाबुराम मनमनै कुँडिए, ‘खत्रीसाहु त कामका भोका न हुन् । गरिबको अनुनय त उनीहरुलाई जोक्करको नखरा जस्तो लाग्छ ।’ तरपनि बाद्यता थियो, भोली पनि खत्रीसाहुलाई बाबुरामको पसिना चाहिने सम्झिएर काम दिए । दिनभरको टन्टलापुर घाममा भर्खरै बाँझो पल्टाएको साहुको टारबारीमा मलका भारी पोखे । पसिना झारेर जीवनको एउटा सानो उज्यालो किन्ने उनको इच्छा मनभरी तैरिएको थियो, जस्तोसुकै कडा परिश्रम पनि यो बेला उनकोलागि बाद्यताको मुखारी बनेको थियो । भोक र थकान पत्तै भएन ।
साँझ घर फर्किंदा उनको हातमा दुई थान साना मैनबत्ती थिए, आधा किलो चिनी, र कुलामाथिको डाँडाबारी दमाईं दाइका गोठको बलेँसीबाट छिमेकी दमेनी कान्छीले टिपेर तिहार मनाउन थमाईदिएको एक मुठ्ठी बोडी, करेला र एकझुप्पो सयपत्री फूल । किनेको होइन, छिमेकीको भावना बुझेर थमाइदिएको त्यो बोडी, करेला र फूलको झुप्पो बाबुरामका लागि अमूल्य थियो । उनी घर फर्किए । मैनबत्ती, चिनी र फूलको झुप्पो छोरी सुनितालाई थमाइदिए । साँझ सुनिता फूलको माला गाँथिरहेकी थिइन् । उनका साना औंलाहरू धागोमा फूल उनिँदैगर्दा बाबुरामको मनमा एउटा चेतना आयो, संसारको सबैभन्दा सुन्दर सजावट भनेकै ‘खुशी’ हो, त्यो पनि बालापनको निष्कलंक ‘खुशी’ । भनिन्छ, हरेक बाबुआमाको सन्तुष्टी छोराछोरीको खुशीमा छचल्किएको हुन्छ ।
बाबुछोरी भित्र पसे, दीयो बाले र मैनबत्तीको उज्यालोमा बाबुरामले सुनितालाई टिका लगाइदिए, अनि लक्ष्मी सम्झिएर ढोगीदिए । दुई मैनबत्तीको मधुरो उज्यालोमा लक्ष्मीपूजा सकियो । त्यो साँझ गाउँभरी मैनबत्ती बलेको थियो, सहरमा विजुली बत्तीका लहराको थुप्रो थियो । तर साँचो तिहार न त बत्तीको संख्या थियो, न मिठाइको महक । साँचो तिहार त त्यो अनुहार थियो, जहाँ बाबुले छोरीको हाँसो हेरेर जिउन चाहन्छन् । त्यहीँ लक्ष्मीको बास थियो, जहाँ बाबुरामले बगाएको पसिनामा लक्ष्मी मुस्कुराएकी थिइन् । त्यो दृष्टि लक्ष्मीको थियो, जहाँ बोडी, करेला र सयपत्रीको झुप्पो उपहार आाएको थियो । छिमेकीले छिमेकीको दर्द बुझ्नसके उज्यालो केवल करेन्टले हैन, करुणाले पनि जन्मिन्छ । बाबुरामलाई लाग्छ, तिहारको सन्देश पनि यही हो । शरीर र मनको सफाई, माया र ममताको उज्यालो, अनि जीवनप्रति समर्पणको श्रद्धा । दीप पैसाले किनेर होइन, भावना साटेर बाल्नुपर्छ, ताकि उज्यालो भित्रबाट फूटोस् ।
घरको भित्तामा खोपीमा राखिएको पुरानो रेडियोमा देउसी गीत बजिरहेको थियो, आँगनमा ओल्लो पल्लो घरका साना नानीहरु भेला भएर ‘भैलो रे...भैलो रे... भनिरहेका थिए । त्यो स्वर हावाको गतिसँगै तरंगित भएर कुटीको चिसो भित्ताबाट टुक्रिँदै भित्र पस्दै थियो । सुनिताले थालमा चिनी र अलिकति चामल राखेर छिमेकीहरूसँगै भैलो गाइन् । छिमेकी दिदीहरु हाँस्दै बोले, ‘ओहो ! सुनितापनि आएकी ! भैली त मिठो गाउँदी रहिछ्यौ’ ।
बाहिरको संसार झिलिमिली थियो, रंगीचंगी थियो । तर त्यो रंगहरूभित्र कतिपय अनुहारहरू थाकेका थिए, नमीठो मौनताले भरिएका थिए । बत्ती त बलेकै थियो, तर उज्यालो चमक थिएन । बाबुरामको कुटीचाहिँ सानो थियो, अध्यारो थियो, तर भित्र पारशमणीको ज्योति झै चमक दिने उज्यालो थियो, जसको एउटै कारण हो ‘छोरीको खुशी’ । जहाँ छोरीको हाँसोमा बाबुले सारा पीडा र गरिबीको थकान पनि भुलेको थियो ।
त्यो रात बाबुरामले बुझे, तिहार झिलिमिली बत्तीले होइन, ममताको उज्यालोले रमाइलो बन्दोरहेछ । बत्तीको प्रकाश क्षणिक हो, तर छोराछोरी (परिवार)को मुस्कान सदाबहार अनि सार्थक रहेछ । छोरी रेडियोको तालमा स्वर मिसाउँदै थिइन्, बाबुराम लय थप्तै छोरीको खुशीमा थपडी बजाएर रमाइरहेका थिए ।
(कथाका पात्र काल्पनिक हुन्, कसैसँग मेल खाए संयोगमात्रै हुनेछ- लेखक ।)