मेरी उनी

कविता भीम बिष्ट October 30, 2025, 9:06 am

भीम बिष्ट
भीम बिष्ट
मेरी उनी—

जीवनको आकाशमा टाँगिएको

पूर्णचन्द्रमा हुन्,

जसरी अँध्यारो रातलाई

न्यानो उज्यालोले सजाउँछ।

उनको मुस्कान—

फूलको सुवास जस्तै,

देख्ने बित्तिकै मुटुमा

वसन्त पलाउँछ।

उनको नजर—

समुद्रको गहिराइ हो,

जहाँ डुबेर फर्कन मन लाग्दैन,

म भने नाव बिना यात्रु जस्तो,

हराएर पनि रमाइरहेछु।

उनको मौनता—

कविता नलेखिएको पाना जस्तो,

तर त्यो खालीपनमै

सबैभन्दा गहिरा अर्थहरू लुकेका छन्।

उनले मेरो नाम बोल्दा—

घण्टी बजेको ध्वनि जस्तो लाग्छ,

जहाँ प्रत्येक तरङ्ग

स्वर्गीय राग बनेर फैलिन्छ।

मेरी उनी—

सपना मात्र होइन,

मन्दिरको मूर्ति हुन्,

जसलाई हृदयले पूजा गरिरहन्छ,

तर स्पर्श गर्न सक्दैन।

धनगढी, कैलाली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।