रातो झ्याल

कथा तेजराज दाहाल November 3, 2025, 6:38 am

तेजराज दाहाल
तेजराज दाहाल
काठमाडौंको मनहराफांटको पुर्वमा थोरै भिरालो परेको ठाउँमा एउटा पुरानो बंगला थियो - “कप्तान निवास”। ठूला चिनेका ढुंगाले बनेको गारो, भुइँतला काठका बुट्टा कॅुंदिएका झ्यालढोका, माथिल्लो तलामा वरिपरि पुरानो बार्दली, बुट्टेदार डिजाइनका पुराना झिंगटीले छाएको छाना, कतैकतै कमेरो माटोको लिउन उप्किएका भित्ताहरू र छानामा कतै कतै झार पलाएर वनेका बुच्काहरू - समग्रमा बंगला पुरानो समयको बैभवको प्रतीक देखिन्थ्यो। घरको अगाडि यौटा बूढो समीको रूख वर्षौदेखि त्यो घर र समयचक्रको साक्षी थियो।

वि.सं. २०३० सालतिर बनेको उक्त बंगला पछिल्लो समय रमेशसिंह खत्रीको स्वामित्वमा थियो - पचास वर्षभन्दा पुरानो इतिहास बोकेको खत्रीहरूको पुर्खौलीघर। रमेश काठमाण्डौ शहरको 'ख' बर्गको यौटा राम्रो वाणिज्य बैंकमा अफिसर थिए, श्रीमती अनु, छोरा आयुष, र आमा पार्वतीसँगै त्यहि पुरानो घरमा बस्दथे। रमेशले पुर्ख्यौली घरको संरक्षण र मजबुतीकालागि मर्मत र संरचनात्मक सवलीकरण गरी मौलिक रूप जोगाएर राखेका थिए।

***

उक्त बंगलाको माथिल्लो तल्लाको दक्षिणतर्फ बूट्टादार काठको ठूलो झ्याल भएको एउटा कोठा कसैले पनि खोल्दैनथ्यो। त्यो ठूलो झ्याल रातो पर्दाले ढाकिएको थियो। त्यसैले गाउँका मानिसहरूले त्यसलाई “रातो झ्याल” भन्थे।

जिवीत छँदा रमेशका बुबा बलराम त्यही कोठामा सुत्दथे। वि.सं. २०६२ भाद्र २४ गते बेलुकाको खानपीन पछि परिवारका सवैसॅंग एकछिन गफिएर त्यही कोठामा सञ्चै सुतेका बलराम भोलिपल्ट बिहान ढीलोसम्म उठेनन्। परिवारका सदस्यहरूले खोज्दा उनी भित्रबाट चुकूल लगाएको कोठामा मृत भेटिए। बलरामको मृत्युबारेमा त्यसबेला धेरैले विभिन्न लख काटे - कसैले भने, "उच्चरक्तचाप भएका उनी अचानक मुटुको धड्कन रोकिएर बिते।" कुरोमा तर्क थियो - मोटो जिउ भएका बलराम अत्यधिक मदिरा सेवन गर्दथे। कसै कसैले शंका गरे, "बलराम मरेका बेला कोठामा अरू कसैको उपस्थिति थियो" किनकि कोठाका सम्पुर्ण सामानहरू छरपस्ट भएका थिए। अनि, कप्तान बलरामको मृतशरीरमा लगाएको लुगा च्यातिएको र लाश भुईंमा सिरक ओढेर सुतेको जस्तो अवस्थामा थियो। तर, खै के बिचार गरेर हो, खत्री परिवारले बलरामको मृत्युलाई स्वाभाविक नै मानेर अन्तीम संस्कार गर्यो।

बुवाको सम्झनामा भनेर बलरामले प्रयोग गरेका सामान, लुगाफाटा, बिछ्यौना सवै नचलाई सुरक्षित राखेर कोठामा ताल्चा लगाइएको थियो। धेरैले मानिस मरेको कोठा भएर बन्द राखेको भन्ने सोचे तापनि रमेशको परिवारकोलागि त्यो बलरामप्रतिको श्रद्धा थियो। रमेशले आफ्नी आमालाई पनि सम्झाउंदै भनेका थिए, "आमा, त्यो कोठा नचलाओैं, हामीलाई कोठाहरू पुगेकै छन्। त्यसमा बुबाका सामानहरू छन्, सम्झनाहरू छन्। अरू कुराको डरले चैं होइन है, आमा!”

***

एकरात रमेशको छोरा आयुषको अनलाइन गेमिङ टुर्नामेन्ट ढीलो सकिएकोले उ अबेलासम्म ब्यूँझै थियो। उसले माथिल्लो तलाबाट आवाज आएको सुन्यो, “ठक… ठक… ठक…”, कसैले काठको झ्याल ठोकिरहेको जस्तो। आयुषले कानबाट इयरफोन निकाल्यो, फेरि आवाज सुन्यो, “खोल! झ्याल खोल!”

ऊ सास दवाएर बस्यो, मोबाइलको बत्ती बाल्यो। सारा घर सुनसान थियो। रमेश, अनु र पार्वती अघि नै सुतिसकेका थिए। आवाज फेरि आयो, “खोल! रातो झ्याल खोल!”

आयुष डरले बाबाको कोठातिर दौडियो। रमेशले हतारमा बत्ती बाले, “के भयो?” “माथिको तलाबाट आवाज आयो, बाबा! कोही बोल्यो।” रमेश हाँसे, “हावा चल्दा पुरानो झ्यालहरूको आवाज होला, कोठा त बन्द छ।”

अनुले केहिबेर सोचेर बोलिन्, “तर रमेश! हामीले त्यो कोठाको झ्याल र ढोका त बन्द नै गरेका हौं नि, हावा भित्र जान सक्दैन।”

त्यो रात, कोही पनि फेरी सुतेन।

***

अर्को दिन बिहान, पार्वती आमाले बिस्तारै भनिन्, “रमेश! तिमीले त्यो रातो झ्याल बन्द गर्दा, तिम्रो बुबाको कुरा बिर्सियौ?” रमेश झस्कियो, “के कुरा, आमा?” पार्वतीले भनिन्, “बुबाले भन्नु भएको थियो, त्यो झ्याल कहिल्यै बन्द नगर्नु, म मरेर गएपनि कहिले कहिं म आउने छु। मेरो संसारिक दायित्व बांकी नै रहनेछ।"

“कस्तो दायित्व?” रमेशले चासो राखे।

पार्वतीले केहिबेर रोकिएर भनिन्, “तिमी पांच बर्षका थियौ, तिम्रो बुबा भरखर सेनामा कप्तान हुनुभएको थियो। त्यो कोठामा हाम्रो घरमा कामगर्ने महिला लक्ष्मी झुण्डिएर मरेकी थिइन्।" पार्वतीको स्वर केहि थर्थराएको जस्तो भयो, "लक्ष्मीसँग तिम्रो बुबाको लसपस थिएछ, हामीले थाह पाउँदा लक्ष्मी पांच महिनाकी गर्भवती थिई। पारिवारिक इज्जत र समाजको डरले लक्ष्मीलाई हामीले घरभित्र लुकाएर राखेका थियौं। वि.सं. २०५२ साल भाद्र २४ को रात लक्ष्मीले त्यही कोठाको झ्यालमा झुण्डिएर आत्महत्या गरिछ। त्यो बेला तिम्रो बुबाले कप्तानी पहॅुंचको भरमा लक्ष्मी मरेको केश सामसुम पारेका थिए। तर औंसी पुर्णिमाका रातमा लक्ष्मीको आवाजमा, ‘यो घरमा म फेरि फर्कन्छु र ममाथि भएको अन्यायको बदला लिन्छु’ भनेको मैले धेरैपटक सुनेकी थिएँ।”

रमेशले आमाको कुरा छोट्याउन विषयान्तर गरे, "भनेपछि, म सानै रहेंछु, मलाई केहि सम्झना छैन।" पार्वती आमा केहि बोल्न खोज्दा खोज्दै घाँटीमा केहि सर्किए जस्तो भयो, र बोल्न सकिनन्। अचानक आमा बोल्न छोडेपछि रमेशले आमातिर हेरेर सोधे, "के भयो, आमा?" आमाले डराएको स्वरमा भनिन्, "मैले लक्ष्मीलाई देखें अहिले।" रमेशले वरिपरि हेरेर हाँस्दै भने, "खै, कतै कोहि छैन त!" "आमालाई मनको डरले त्यस्तो लागेको हुनसक्छ।" भनेर रमेशले कुरो टुंग्याए।

***

त्यसदिन रमेशको अफिस बिदा थियो। रमेशले दिउँसो माथिल्लो तलामा गएर त्यो कोठा खोलेर भित्र हेरे। रातो झ्यालको पर्दा आधा सरेको र यौटा खापा खुलेको थियो, "कसले खोल्यो?" अनायसै रमेशको मुखबाट निस्कियो। रमेशलाई यकीन थियो त्यो झ्याल उनी आफैंले केहि हप्ता अघिमात्र धेरै प्रयत्न गरेर बन्द गरेका थिए। रमेशको मुटुको धड्कन बढ्यो, छाती फुलेर श्वास प्रश्वास असजिलो भयो। उनले तल्लो तलामा भएकी अनुलाई बोलाए, "ए अनु! के गर्दैछौ? छिट्टो माथि आऊ।" अनु दौडेर माथि आइन्। रमेशले आधा पर्दा खुलेको र यौटा खुला खापा देखाउॅंदै अनुलाई सोधे, "अस्ति हामीले यो झ्याल बन्द गरेर पर्दा पनि राम्ररी लगाएको थियौं, होइन र?" अनुले अचम्म मान्दै भनिन्, "हो, हामीले बन्द गरेका थियौं।" रमेश र अनुले डराएको भावमा एकअर्कालाई हेरे । रमेशले खुलेको झ्यालबाट टाउको निकालेर बाहिर हेरे। त्यसैबेला घर अगाडिको समीको रूखबाट यौटा लाटोकोशेरो, "मैले खोलेको रातो झ्याल!" भन्दै उड्यो। त्यो स्वर एक महिलाको जस्तो थियो, रमेशले लक्ष्मीको स्वर अनुमान गरे। आफ्नै घरभित्र रमेश आज जति कहिल्यै डराएका थिएनन्।

त्यो कोठामा एउटा पुरानो काठको टेबुल थियो। टेबुलमाथि धुलो लागेको यौटा कालो रंगको पुरानो डायरी थियो। रमेशले संझे - त्यो डायरी बुवाका अरू कागजपत्रसँग उनले टेबुलको घर्रामा राखेका थिए तर आज डायरी टेबुलमाथि देख्दा उनी फेरि झस्किए।

तल्लो तलामा भान्साकोठाबाट प्रेसर कुकरको आवाज आयो, अनु हतार गर्दै तल झरिन्। रमेशले विस्तारै टेबुलमाथिको धुलोसहितको डायरी खोलेर हेरे। शुरू पानामा, "कप्तान बलरामसिंह खत्री, सानो गौचरण अड्डा, २०५२" लेखिएको थियो। डायरीका त्यसपछिका केहि पानाहरूमा व्यक्तिगत खर्चको हरहिसाव, पुराना नेपाली गीतका केहि लाइनहरू, कतै जागीरको क्रमका तालिमहरूमा गरेका टिपोटहरू र कतै साथीहरूका नाम, फोन नं. र ठेगाना लेखिएका थिए।

अन्तीमतिरको यौटा पानामा लेखिएको थियो, "२०५२/०५/२४ आज मैले उसलाई मेटाएँ। उसले मेरो नाम बिगार्न खोजी, अब यो घर शान्त हुनेछ।” अर्को पानामा रगतका जस्ता दागहरू थिए। त्यसपछिको पानामा लेखिएको थियो, "उसले हरेक दशबर्षमा बदला लिने दागा धरेर गएकी छ। त्यसैले उसको फर्कने बाटो बन्द गर्न यो कोठाको झ्याल र ढोका सँधै बन्द राख्नुपर्ने भयो।"

रमेशले थाह पाएदेखि नै त्यो कोठाका झ्याल र ढोका सँधै बन्द रहन्थे। जिवीत रहँदासम्म बलराम एक्लै त्यो कोठामा सुत्दथे, पार्वती आमाको भुईंतलामा छुट्टै कोठा थियो। डायरीमा 'झ्याल-ढोका बन्द राख्नुपर्ने भयो' भनेर लेखेका बलरामले पछि किन 'झ्याल खुला राख्न पार्वती आमालाई भने होलान्' भन्ने सोच्दै रमेश त्यो कोठा बन्द गरेर भुईंतलामा ओर्लिए ।

आमासँग रमेशले माथिल्लो तलामा देखेका र पढेका कुराहरू सुनाए। यी सव कुरा भइसकेपछि रमेशलाई आमाले भनिन्, "मलाई भूतप्रेतमा विश्वास लाग्दैन, डर पनि लाग्दैन। मैले त्यो कोठामा लक्ष्मी झुण्डिएकी र तिम्रो बुवा बित्नुभएको देखेकी छु। म नडराई बस्छु। यो सॅंधैको आवाज के रहेछ, त्यो पनि पत्तालाग्छ। म आजदेखि त्यो कोठामा सुत्छु - मेरा सवै लुगाफाटा र ओछ्यान माथि लगिदिनु।" रमेशले एकछिन सोचेर भने, "खै, के हो के हो आमा! किन जोखिम मोल्नु? सवैकुरा लुकाउन सकिन्छ, तर मनको डर लुकाउन सकिन्न।" आमाले जिद्दी गरिन्, "केहि हुन्न! म बस्न सक्छु। मलाई डर लाग्दैन। बरू यो सँधैको संत्रास त मेटिन्छ!" रमेश त्यसपछि केहि बोलेनन्, दिउसो रमेश र अनु मिलेर पार्वती आमाको सामानहरू र ओछ्यान माथिको कोठामा सारिदिए।

त्यो दिन रमेशले डायरी आफुसँगै राखे। बुवाको डायरी बारेमा रमेश अझ उत्सुक बनेका थिए। डायरीको यौटा पानामा बलरामको अक्षरमा, "यो लक्ष्मीको छाँयाले कहिले नछोड्ने भयो, बदलाको ईख मरेको रहेनछ, कस्तो दशा आइलाग्यो?" लेखिएको थियो। यो पढेपछि रमेशलाई माथिको कोठामा आमालाई एक्लै सुत्न दिएकोमा मनमा चिसो पसिरह्यो।

***

रातको करिब दुई बजेतिर अनु अचानक कराइन्, “रमेश! रमेश! माथिको तलामा आमा आत्तिएर चिच्याउनु भयो, एकपटक तुरुन्त माथि जाउँ।" दुवैजना दौडिएर माथि गए, आमा सुतेको कोठाको ढोका भित्रबाट बन्द थियो। रमेशले ढोका ढकढक गरे, चुकुल राम्रो लागेको थिएनछ, सजिलै खुल्यो। रमेशले बत्ती बाले। पार्वती भुईंमा लडेकी थिइन्, जिउ थर्थराएको र अनुहार एकदम डराएर फुंग उडेको थियो। रमेशले हतार हतार आमालाई उठाएर ओछ्यानमाथि राखे। आमाले झ्यालतिर देखाइन्, झ्याल खुला थियो। रमेश र अनुले झ्यालबाट बाहिर हेरे। उनीहरूले घरको आंगनको पल्लोछेउबाट सेतो लुगा लगाएकी एउटी महिला र शिरदेखि पैतालासम्म कालो लुगा लगाएर यौटा भर्यांग बोकेको एकजना पुरूष बाहिरतिर निस्कँदै गरेको देखे। आंगन बाहिरको बाटो पार गरेर ती दुई आकृति ओह्रालोतिर लागे। बोटबिरूवाले छेलेको र ॲंध्यारो भएकोले रमेश र अनुले धेरैपरसम्म देख्न सकेनन्।

पार्वतीले भनिन्, "लक्ष्मी र उसको भाई झ्यालबाट छिरेर आए, मैले आज प्रष्ट चिनें लक्ष्मी र उसको भाईलाई। लक्ष्मी प्रेतात्मा थिई, तर उसको भाई जिउॅंदो मान्छे। मलाई उनीहरूले सिरानीले मुख थुनेर मार्न खोजे, कसो कसो गरेर म कराउँन सकें। 'हामी फेरि आउँछौं, बदला लिनलाई' भन्दै हतार गरेर निस्के।" अनु र रमेशले मुखामुख गरे, दुवैको अनुहारमा डरका रेखा दौडिरहेका थिए। पार्वतीको शरिर काँप्दै थियो। बिहानीपखको हावाले रातो पर्दा आफैं हल्लिंदै थियो ।

रमेशले पार्वतीलाई सामानहरूसहित तल्लो तलामा लिएर गए। अनु आफ्नो कोठामा सुतिन्, रमेश आमाको छेउमा बसे, रात धेरै बाँकी थिएन। पार्वती निदाउन सकिनन्, उनलाई ज्वरो आयो। रमेशले आफ्नो कोठाबाट सिटामोल र भान्साबाट तातोपानी ल्याएर आमालाई दिए। सिटामोल लिएपछि आमा निदाइन्। रमेश पनि झकाए।

शहरबाट फर्किंदै गर्दा जडिबुटी चोकमा एउटी महिलाले रमेशसँग कारमा लिफ्ट मागिन्। साँझ पर्न लागेको बेला उज्यालोको दो-छांयामा रमेशलाई कोहि चिनेको महिला होलाभन्ने लाग्यो। कार रोकेर पछाडिको सीटमा बस्न भने। कार पुरानो सिनामंगल चोक पुग्न लागेपछि पछाडि सीटमा बस्ने महिला बोलिन्, "ए रमेशबाबु! तिमीले मलाई चिन्दैनौ, म लक्ष्मी हूँ। रक्सीको सूरमा तिम्रा बाबुले धेरैपटक मेरो यौवन लुटे, म गर्भवती भएपछि उल्टै मलाई स्विकार नगरेर तिम्रा बुबा र आमाले जवरजस्ति घांटी थिचेर मारे। तिम्रो घरको माथिल्लो तलाको कोठाको झ्यालमा झुण्ड्याएर मैले आत्महत्या गरेको भन्ने बनाए र घटनालाई सामसुम पारे। मेरो परिवारले राम्रोसॅंग मेरो काजक्रिया पनि गरिदिएन। म न यो संसारको रहें, न अर्को संसारको नै हुन सकें। मलाई दुःखदिनेहरूसँग बदला लिने सोच आयो, मेरो भाईलाई मैले मेरो अदृश्य शक्तिले पकडमा लिएर दशवर्ष अघि तिम्रा बाबुको हत्या गरेर बदला लिएँ। दशवर्ष भयो, अब तिम्री आमाको पालो आएको छ। अनि फेरि दशबर्ष पछि...." ती महिलाको कुरा नटुंगिदै रमेशले डराई डराई सोधे, "तपाईं लक्ष्मी नै हो भनेर मैले कसरी पत्याउने?" ती महिलाले गाडी सडक किनारामा रोक्न भनिन्। गाडीभित्रको बत्तीको उज्यालोमा उनका घाँटीमा नीलो डामहरू, छाती र पेटमा रगतपच्छे चोटहरू रमेशलाई देखाइन्। रमेशले ती महिलाका लामा नंग्रा, टल्कने आँखा, मैलो कपाल, खुट्टाका पैताला पछाडि फर्केका देखे। ती महिलाले सोधिन्, "अब पत्यायौ कि अरू पनि प्रमाण चाहिन्छ।" रमेश ज्यादै डराएर कतै केहि उपाय लागि हाल्छ कि भनी जोडले चिच्याए तर आवाज निस्किएन। ऐठन भएको रहेछ, उनको निद्रा खुल्यो। बिहानको आठ बज्न लागेको थियो। छेउमा आमा छट्पटाइरहेकी रहिछन्, पार्वतीलाई कामज्वरो आएछ, रमेशले ओड्ने खापिदिए। एकैछिनमा आमा बेशुरा कुरा गर्न थालिन्, छिन छिनमा के आयो, के ले तान्यो भन्न थालिन्। बिरामी हेर्न छरछिमेकीहरू पनि भेला भए। अनुले घरमा भएको ब्लड प्रेसर नाप्ने मेशिनले प्रेसर जाँचिन् धेरै नै घटेको रहेछ। अलिअलि गर्दै आमाले मान्छे चिन्न छाडिन्, अस्पताल लाने कुरा भयो। भीडबाट छिमेकी एकजना बृद्धले भने, "एकपटक घरको कूल, आफुले मान्ने सिमेभूमे, गाउँका देवीदेवता, भूतप्रेतलाई धूपबत्ती दिनुपर्छ, लागलगान पनि हुन सक्छ।" रमेशले पूजाकोठा गएर त्यो सबै पनि गरे, आमालाई बत्ती छुवाएर आगनको पल्लो छेउमा मन्छाइदिए। त्यसैबेला माथि कोठाबाट रमेशका बुबाकोआवाज आयो, "पार्वतीलाई अस्पताल लैजानु पर्दैन, म लिनआएको छु। लक्ष्मीको प्रेतात्माले हामीलाई नछोड्ने भयो।" पुराना मानिसहरूले बलरामको स्वर चिने, बीसबर्ष अघिको लक्ष्मीको आत्महत्या पनि धेरैले संझिए। दशबर्ष अघिको बलरामको मृत्यु हुँदा त्यो कोठाको अवस्था पनि सम्झिए।

हुने हुनामी कसै गरी टर्दैन, एकैछिनमा पार्वतीले अन्तीम श्वासफेरिन्। त्यो दिन वि.सं. २०७२ भाद्र २४ गते - ठ्याक्कै बलराम बितेको दशबर्ष पूरा भएको थियो। सवैले अदृश्य शक्तिको अगाडि मान्छेको केहि लाग्दैन भन्ने राय राखे। हुन पनि अघिल्लो दिनसम्म सारसौंदो भएकी पार्वतीको चौबिसघण्टापनि नहॅुंदै स्वर्गबास भएको थियो।

***

समय वित्न बेर लाग्दैन, पार्वती आमाको सद्गतपछि तेह्रदिनको मृत्युसंस्कार पनि सकियो। रमेशको घरायसी र जागीरको नियमित काम शुरूभयो। रमेश र अनुको एक मात्र छोरा आयुष एक निजी विद्यालयमा होस्टल बसेर पढ्दै थियो। आमा बितेको केहि महिनापछि अनु र रमेशले पनि टंगालमा फ्ल्याट किनेर उतै बस्न थाले। मनहराफांटको पुरानोघर रमेशले बाबुबाजे देखि नजीक रहेको नेपाली कांग्रेस पार्टीलाई प्रयोगको लागि दिए। माथिल्लो तलाको त्यो कोठा बन्द नै राख्ने शर्तनामा थियो। पुर्ख्यौली कोठेबारी एकजना ठुलोबुबाको छोरालाई रेखदेख गर्ने शर्तमा जिम्मा दिए ।

रमेश र अनुलाई अब त्यस बंगलासँग सम्वन्धित शंका उपशंका र त्राशबाट मुक्त भएको महशुस भएको थियो। हरेक देवीदेवताका मठमन्दिरमा उनीहरू दर्शन पूजापाठसँगै लक्ष्मीलाई पनि सम्झेर उसँग बुबा आमाले गरेको अन्यायको लागि माफी माग्दथे। रमेशलाई एकरात सपनामा लक्ष्मीले, "अब तिमीहरू डराउनु पर्दैन, समाजको डरले तिम्रा बुबाआमाले मलाई मारे नत्र म तिम्रो कान्छी आमा भएर अहिले पनि ज्युँदो हुँन सक्दथें। जेहोस्, ईखले गर्दा मैले लिने बदला लिईसकें। अब तिमीहरूको परिवारसँग केहि बदला लिन्न तर मैले हरेक दशबर्षमा गर्छु भनेको बिमाख त भएरै छोड्छ।" रमेशले लक्ष्मीसँग दोहोरो केहि सोध्न नपाई सपना टुट्यो।

सपनाबारे रमेशले कसैसँग पनि कुरा गरेनन्। यहाँसम्म कि डराउँछिन् भनेर अनुलाई समेत भनेनन्। समय बित्दै गयो।२०८२ भदौ २४ का दिन मनहराफांटको रमेशको पुरानो बंगलामा पनि कांग्रेस पार्टीको अफिस रहेको भन्दै अज्ञात समूहद्वारा आगजनी भयो। निहूँ जेन्जीहरूको आन्दोलन भएपनि अरू कसैले बदमासी गरेको आशंका सवैले गरे। आगजनी भइरहेको बेला रातो झ्याल भएको बन्द कोठाबाट कोही मानिस चिच्याएको आवाज छरछिमेकीले सुने तर उद्धारका लागि गर्न सक्ने केहि उपाय थिएन। आगो मत्थर भएपछि मानिसहरू भेला भई खोजविन गर्दा एकजना लोग्ने मानिसको डढेर चिन्न नसकिने अवस्थाको लाश भेटियो।

दुर्घटनाको खवर पाएपछि रमेश, अनु र आयुष पनि मनहराफांट आए। गाउँलेहरूपनि रमिता हेर्नेदेखि लिएर सहानुभुती दिनेहरूसम्म जम्मा भएका थिए। भीडबाट कसैले अनुमान गर्यो, "यो लाश त चन्द्र थापाको हो, पहिला त्यहि कोठामा झुण्डिएर मरेकी लक्ष्मीको भाई!" तुरुन्तै उनीहरूका आफन्तहरू बोलाइयो। सवैले लाश चन्द्रकै भएको पुष्टी गरे। लाश परिवारलाई जिम्मा लगाइयो। उपस्थित धेरैले, "चन्द्र कसरी र किन बन्द कोठाभित्र थियो?" खोज्नुपर्छ भने। रमेशले केहि बोल्न खोजे तर घाँटीमा केहि सर्किए जस्तो भएर बोल्नै सकेनन्। त्यसैबेला आगनको समीको रूखबाट अनौठो आवाज निकाल्दै यौटा लाटोकोशेरो उड्यो। लाटोकोशेरोले आफ्नो चुच्चोमा बंगलाको झ्यालको रातो पर्दाको कपडा चेपेको थियो। रमेशले केहिबर्ष पहिले त्यसरी नै उडेको लाटोकोशेरो र उसले बोलेको घटना संझे र आज केहि बोलेनन्। बरू उनले मनमनै हिसाव गरे, बंगलामा आगजनीको घटना उनका बुबा बलराम बितेको ठीक बीसबर्ष र उनकी आमा पार्वती बितेको ठीक दशबर्ष पुगेको दिन भएको थियो। रमेशले आफ्नो बंगला डढेकोमा पीर भन्दापनि लक्ष्मीले सपनामा आफूलाई भनेको बचन पूरा गरेकोमा खुशी माने र मनमनै लक्ष्मीलाई धन्यवाद दिए।

लाटोकोशेरो रातो झ्यालको पर्दाको कपडा लिएर पर क्षितीजमा अझ उड्दै थियो। यता रमेश सोचमग्न देखिए, उनको मनमा लागिरहेको थियो, "पुस्तौनी सम्पत्ति खरानी भएर पनि 'रातो झ्याल' को रहस्य पूर्णरूपमा खुल्न बाकी नै रह्यो - 'अबको दश बर्षपछि के हुने हो?'"

कोटेश्वर, काठमाण्डौ, हाल - ब्रिसवेन, अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।