मानिसको सुन्दर भावनाको सिर्जनात्मक अभिव्यक्तिको एउटा प्रमुख माध्यम साहित्य हो| साहित्यलाई पनि सामान्य साहित्य र लोकसाहित्य गरी दुई प्रमुख प्रकारले वर्गीकरण गरिएको पाइन्छ| लोकबाट रचिएको साहित्यलाई लोकसाहित्य भनिन्छ| यो लोकजीवनको सरल, सहज र स्वाभाविक अभिव्यक्ति हो| लोकभाषा र लोकसाहित्य कुनै पनि भाषा-साहित्यको मूल आधार हो| जब मानिस सभ्य भएको थिएन, त्यतिबेला उसले आफ्ना मनका सुख-दुःख, जीवन-मरणका भाव, आफूले देखे-भोगेका घटना तथा आवेग-संवेग अरूलाई सुनाउँथ्यो| त्यसै बेलादेखि लोकसाहित्यको प्रादुर्भाव भएको हुनुपर्छ| यसलाई मानिसको आदिम अवस्थाको अवशेष पनि मान्न सकिन्छ| मान्छे आदिम र असभ्य अवस्थादेखि सभ्यताका अनेक सिँढ़ीहरू उक्लिसकेको छ तर पनि उसमा आदिम प्रकृतिका कतिपय अवशेष विद्यमान छँदैछन्| परम्परागत रूपमा मान्छेले भाषालाई ग्रहण गर्दैआएको छ र त्यसका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त पनि गर्दछ| यसरी भाषाका माध्यमबाट व्यक्ति-व्यक्तिमा सर्दै र फिँजिदै जाने क्रममा समाजको साझा सम्पत्तिका रूपमा लोकसाहित्यिक सामग्री विकसित भएका हुन्छन्| अतः आदिम मानस, लोकमानस, मौखिक अभिव्यक्ति, श्रुतिपरम्परा, भाषिक माध्यम, साझा सामाजिक सम्पत्ति आदिसँग लोकसाहित्य सम्बद्ध हुन्छ|
२. लोकसाहित्य सामान्य परिचय
लोकसाहित्यका विशेषतालाई निम्न बुँदामा बाँड्न सकिन्छ-(क) सामूहिकता (ख) पारम्परिक (ग) मौखिकता (घ) गतिशालता (ङ) रचनाकार अज्ञात र गौण (च) रचनाकाल अज्ञात (छ) स्थानिकता (ज) हार्दिकता (झ) अनौपचारिकता (ञ) अशास्त्रीयता (ट) अभिधामूलक अभिव्यक्ति इत्यादि| सामान्य साहित्यमा झैँ लोकसाहित्यका पनि विभिन्न विधा-उपविधा हुन्छन्| अतः यसलाई लोककथा, लोककविता, लोकगीत, लोकगाथा, लोकनाट्य, उखान-तुक्का, वाग्धारा, गाउँखाने कथा, प्रहेलिका आदि विधाहरूमा विभाजन भएको पाइन्छ|
३. सिक्किममा लोकसाहित्य र लोकसांस्कृतिक परम्परा
नेपाली लोकसाहित्य धनी छ| नेपाल, भारतका विभिन्न प्रान्त, भूटान आदि देश नेपाली लोकसम्पदा सम्पन्न छन्| सिक्किम पनि एउटा ठूलो नेपाली लोकसांस्कृतिक समाज छ| त्यहाँका जनमानसमा पनि आफ्नो सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक परिवेश छ| त्यहाँ भोटे-लाप्चे-नेपाली तीन मूलवासीको आ-आफ्नै सांस्कृतिक, भाषिक, परम्परा छ| गोर्खालीबीचमा पनि राई, लिम्बू, मगर, खस, तामाङ, शेर्पा, गुरुङ, नेवार आदिका पनि आ-आफ्नै सांस्कृतिक, भाषिक, सामाजिक र लोकपरम्परा छन्| यी सबैको मिश्रणबाट सिक्किमेली लोकसंस्कृति विकसित भएको छ| यी सबै जात र जाति एकार्कासित मिलेर सांस्कृतिक माला उनेर एउटा मिश्रित समाज गठित भएको छ| सिक्किमका पहाड़का गाउँमा पनि आफ्नै कथा, व्यथा, अनुभव, अनुभूति हुन्छन्| आफ्नै जीवनशैली, कर्मशीलता, सामाजिक व्यवस्था छ| त्यहाँका लोकजीवनमा उब्जेका मनोभावहरू लोकसाहित्यमा उद्भाषित भएका छन्| त्यहाँबाट आफ्नै लोकगीत, लोककथा, लोकपरम्परा विकसित अवश्य भएको छ| तिनका बारेमा समुचित अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिन्छ| पश्चिम सिक्किमका लिम्बू र शेर्पा लोकसांस्कृतिक परम्परा, दक्षिण सिक्किमका मगर, गुरुङ सांस्कृतिक परम्परा, पूर्व सिक्किमको खस र उत्तर सिक्किमका लेप्चा, तामाङ आदि प्रमुख रूपमा पाइन्छन्| सिक्किममा पालाम, धाननाच, साकेला, सङ्गिनी, मारुनि, बालन आदि हाम्रा लोकगीत परम्परा पाइन्छन्| सिक्किमका गाउँ-घर, गोठाला जाँदा, घाँस दाउरा गर्न जाँदा, हिमालका फेदीतिर ओहोर-दोहार गर्दा देखिएका रोचक घटना र दृश्यादिलाई कुनै कथाका रूपमा कुनै गीतका रूपमा, कुनै गाथाका रूपमा पनि विकसित भएको हुनपर्छ| कुनै घरका नारी पीड़ा, धनाभाव, कृषिजन्य पीड़ा, सुखद अनुभूतिलाई गीतका रूपमा पनि उतारेका हुनसक्छन्| तिनलाई अध्ययन र लिपिबद्ध गर्न नसकिएको पनि हुनसक्छ|
सिक्किमका केही लोकसाहित्य र लोकवार्ता अध्येताहरूले आ-आफ्नो अध्ययन, सर्वेक्षण, चिन्तन गरेका छन्| आफ्नै पारिवारिक परिवेश, सर्वेक्षण, अवलोकन आदिबाट अध्ययन-सङ्कलन कार्य सम्पन्न भएका छन्| सिक्किमबाट सम्पन्न भएका लोक सांस्कृतिक पक्षहरूलाई मूलत पाँच प्रकारले वर्गीकरण गर्न सकिन्छ-क. लोक सांस्कृतिक सामग्री अध्ययन, ख. लोककथाको अध्ययन, ग. लोक गीतहरूको सङ्कलन सर्वेक्षण र अध्ययन, घ. लोकोक्ति उखानादि सङ्कलन अध्ययन कार्य, ङ. जातगोष्ठीगत सांस्कृतिक पक्षहरूको अध्ययन|
क. लोकसांस्कृतिक सामग्री अध्ययन
सिक्किमका गाउँ-बस्तीमा प्रचलित लोकसामग्रीहरूको अध्ययन र अवलोकन गरिएका पुस्तकहरू प्रकाशित भएका छन्| सिक्किमका भित्री गाउँहरूमा प्रचलित व्यावहारिक घरेलु वस्तुहरू, रीतिथिति, परम्परा आदिबारे अध्ययन गरिएको पाइन्छ| यस क्षेत्रमा प्रकाश भट्टराईको ‘नेपाली सभ्यताको परिचय’, (२००८), ‘नेपाली लोकपरम्परा’ (२०२०) र ‘नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी’ (२०२३)| उनको पछिल्लो पुस्तकमा भने अघिल्ला दुईका सामग्रीहरूको एकमुष्ट र थपनी गरिएका सामाग्री पाइन्छन्| सुचन प्रधानको पुस्तक ‘नेपाली चाड़-पर्वहरूको सांस्कृतिक अध्ययन’ (२०१६) नामक प्रकाशित छ| यसमा संस्कृतिको सामान्य परिचय, भारतीय चाड़-पर्व, नेपाली चाड़-पर्वहरूको सांस्कृतिक अध्ययन गरी तीनवटा अध्ययन प्रस्तुत गरिएको छ| यय ग्रन्थलाई शोधमूलक अध्ययन ग्रन्थ मान्न सकिन्छ| यसमा कुनै पनि चाड़को वैज्ञानिक अध्ययन, पृष्ठभूमि आदिको चर्दा गरेका छन्| यसमा हाम्रा सबै चाड़-पर्वहरूको परिचय र वर्णन गरिएको छ|
ख. लोककथाको सङ्कलन
सिक्किमका वा सिक्किम भूमिबाट नेपाली लोककथाको सङ्कलन अध्ययन गरेर प्रकाशित गर्नेहरू पनि रहेका छन्| यसतर्फ महानन्द पौड्यालको ‘हाम्रा केही लोककथा’, पुष्प शर्माको ‘गोलसिमल’, रूद्र पौड्यालको ‘केही लोककथा’, दलमान डी. गुरुङको ‘सुनकेसरी रानी’ मुख्य रहेका छन्| यी पुस्तकहरूमा नेपाली समाजमा प्रचलित लोक कथाहरूको सङ्कलन गरिएको छ| यसबाहेक अन्य सङ्कलकले पनि अझै केही लोककथाहरू सङ्कलन गरेका हुनसक्छन्| सिक्किमेली भोटे-लाप्चे-नेपाली सामाजिक दीर्घ परम्परामा आ-आफ्ना मौलिक लोककथा रहेका हुन्छन्, तिनलाई अझै खोज्न सङ्कलन गर्न बाँकी नै छ| सिक्किमका हिमाली र पहाड़ी स्थानहरूमा कति लौकिक अलौकिक घटनाहरू घटे, समाजमा कस्ता-कस्ता मानिस आए, कस्ता-कस्ता किंवदन्ती थिए तिनलाई समुचित अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ|
ग. लोकगीतहरूको सङ्कलन सर्वेक्षण र अध्ययन
यस क्षेत्रमा एकनिष्ठ समर्पित हुन नरेन गुरुङ| उनका लोकायनमा बाँचेका नेपाली लोकगीत-सङ्गीत र लोकदर्पणभित्र भञ्ज्याङका भाकाहरू प्रमुख हुन्| यी दुई ग्रन्थहरूमा हाम्रो जीवनशैली, भूगोल, स्वभाव, धार्मिक विश्वास, लोकरीति आदि झल्काएका छन्| यहाँ डाँड़ा, देउराली डाँड़ा, पानी परेको विम्ब, खेतबाली, पहाड़का उँधो र उँभो, सैलुङे डाँड़ा, खोला, गुयाँलाको फूल, गाउँ, बतास जस्ता भौगोलिक परिवेश झल्काएका छन्| रोपाइँ, दाइँ, घुम्न जाने, डाँड़ा काट्नु आदि जस्ता हाम्रा कर्म झल्किएका छन्| डम्फू, सारङ्गी, चुड्का, मारुनि, दोलखे, सेलो, विरहिनी, समला, सेलो, मादले गीत आदि जस्ता लोकगीतहरू झल्काएका छन्| रत्नकमल देवान, बेञ्जामिन राई आदि पनि नेपाली लोकगीत सङ्कलक र गायक हुन्| सिक्किमेली लोकगीतमाथि देवकुमार दुमीले पनि लेखादि लेखेका छन्|
घ. लोकोक्ति उखानादि सङ्कलन अध्ययन कार्य
हाम्रो उखान, तुक्का, लोकोक्ति आदिको सङ्कलन र अध्ययन कार्य सिक्किमबाट पनि भएको छ| यस क्षेत्रमा शङ्करदेव ढकाल, के. एन. शर्मा आदि रहेका छन्| शङ्करदेव ढकालको ‘उखान-लोक प्रचलित कथनको व्याख्या’ (२००७) प्रकाशित छ| के. एन. शर्माको ‘नेपाली लोक अभिव्यक्ति कोश’ आदि जस्ता कृति रहेका छन्|
ङ. जातगोष्ठीगत लोकसांस्कृतिक पक्षहरूको अध्ययन
सिक्किमेली लोकसंस्कृति, लोकसंस्कार, परम्परा आदिबारे सङ्कलन र अध्ययन कार्य भएका छन्| यस क्षेत्रमा के. एन. शर्मा अग्रणी छन्| उनको खस जातिको परिचय र लोकसंस्कृति, डा. कमलचन्द्र दाहालको परम्परागत सोह्र संस्कार, डा. उदय छेत्रीको सम्पादनमा रहेको अङ्ग्रेजीमा सङ्कलित पुस्तक Intangible Heritage आदि प्रमुख हुन्| यो पछिल्लो पुस्तकमा अङ्ग्रेजीमा जम्मा दशवटा लेखहरू रहेका छन्| यसमा रहेका लेखमा भिम्चु, जुम्सा, बोन्बो, का-ग्युद, क्वाँटी पुन्हे, मारुनि, पाङ लाब्सोल, साकेवा, सिसे क्व तुम्हें, तीज हुन्| सन्तोष आलेको सिक्किमका मगर जातिको इतिहास अनि संस्कृति, जे. आर. सुब्बाको लिम्बू जातिमा मृत्यु संस्कारहरू, पूर्ण योञ्जनको ‘तामाङ जातीय चिन्हारी एक झलक’ (२०२१) प्रकाशित छन्| पछिल्लो तामाङ जातीय चिन्हारी एक झलक पुस्तकमा तामाङ जातिको परिचय दिँदै यसका रीतिथिति, लोक सांस्कृतिक परम्परा, विभिन्न संस्कार आदिबारे चर्चा गरिएको छ|
वर्ष २०२४-मा सिक्किमका टी. बी. चन्द्र सुब्बाको एउटा गतिलो, विशालकाय ग्रन्थ ‘विश्वमा मानव सभ्यता, जातीय वृहत् इतिहास : संस्कृति र परम्परा’ प्रकाशित भएको छ| उनले बीस वर्ष कठोर मेहनत, श्रम र निरन्तरता लिएर तयार पारेको ग्रन्थ नेपाली संस्कार र सांस्कृतिक अध्ययनको कोसेढुङ्गा सावित भएको छ| जम्मा बाइस सय पृष्ठहरूमा रहेको यस विशाल ग्रन्थ न भुतौ न भविष्यति भन्ने भनाइ चरितार्थ भएको छ| यस ग्रन्थमा हाम्रा सबै जातगोष्ठीको उत्पत्तिदेखि लिएर इतिहास, परम्परा, संस्कार पद्धतिहरूबारे विस्तृत वर्णन गरिएको छ भन्ने सूचना प्रकट गर्दै यस ग्रन्थबारे यस लेखमा सविस्तार वर्णन गर्न नसकिएको जनाउँदछु| यसका निम्ति गम्भीर अध्ययन र समयको आवश्यकता पर्दछ|
४. सिक्किमका केही लोकसाहित्य सङ्कलक र अध्येताहरू
सिक्किमबाट पनि नेपाली लोकसाहित्यमाथि केही अध्ययन भएका छन्| त्यहाँका स्थानीय जनगोष्ठीका पीड़ा, सुस्केरा, लोकव्यवहार, लोकरीतिबारे केही खोजी कार्य भएको पाइन्छ| यस क्षेत्रमा केही उल्लेखनीय अध्येताहरूमा प्रकाश भट्टराई, के. एन. शर्मा, रूद्र पौड्याल, महानन्द पौड्याल, नरेन्द्र गुरुङ, पुष्प शर्मा, दलमान गुरुङ, चन्द्र दुलाल, डा. कमलचन्द्र दाहाल, शङ्करदेव ढकाल आदि प्रमुख रहेका छन्| यी अध्येताहरूका पुस्तककार रूपमा अध्ययन सङ्कलन कृति रहेका छन्| यसबाहेक पृथ्वीराज सुब्बा, देवकुमार दुमी, डा. उदय छेत्री आदि रहेका छन्| तीमध्ये केही प्रमुख सङ्कलक र अध्येताहरूका बारेमा संक्षिप्तमा प्रकाश पारिन्छ-
४.१. प्रकाश भट्टराई
पश्चिम सिक्किमका प्रकाश भट्टराई लोकसांस्कृतिक परम्पराका रूपमा देखिएका छन्| उनको नेपाली लोकपरम्परा ग्रन्थले हाम्रो लोकपरम्परा, लोकरीति, लोकवस्तु, लोकव्यवहार, लोकचिकित्सा, लोकबाजा, लोकसामाग्री, लोकमनोरञ्जन, लोकखाद्य आदि विषयमा विस्तृत अध्ययन-विवरण गरेका छन्| हाम्रा पुर्खा नै वैज्ञानिक थिए, उनीहरूले आफ्नो दैनिक जीवनमा चाहिने सामाग्रीहरू वैज्ञानिक तवरले तयारी पार्दथे भन्ने यस ग्रन्थको टेक रहेको बुझिन्छ| पुर्खाहरू आफ्नै सीप, कला, कौशल, तक्निकी प्रविधिले युक्त थिए| ठूला ठूला मशिन नभए पनि आफ्नै किसिमका औजारले आफ्ना निम्ति आवश्यक सर-सामाग्री तयार पार्थे| प्रस्तुत ग्रन्थ २३७ पृष्ठहरूमा आबद्ध छ भने यसमा ‘वल्लोपट्टि’ र ‘पल्लोपट्टि’ गरी दुई खण्डमा जम्मा छब्बिसवटा मूल अध्ययहरू रहेका छन्| यसमा ‘वल्लोपट्टि’ खण्डमा सोह्रवटा र ‘पल्लोपट्टि’-मा एघारवटा लेखहरू रहेका छन्| वल्लोपट्टि खण्डका लेखहरूमा नेपाली जनविश्वास र धामी-झाँक्रीहरू, नेपाली सभ्यतामा आरन र यसको महत्त्व, चुँदारा र औजारहरू, ध्वनि कौशल, हाम्रा लोकप्रिय खेलहरू, शिला कौशल, काष्ठ कौशल, धातु कौशल, स्वच्छकर कौशल र प्रयोग, पासो, हरियो सागपात, केही जङ्गली फलविशेष, ओखती मूलो, केही अचार-विचार, खेती-पाती, पेय/तरल पदार्थ| यसैगरी ‘पल्लोपट्टि’ खण्डअन्तर्गत लेखहरू हाम्रो जाति र संस्कृति, नेपाली लोकसाहित्यमा लोकगीत, नेपाली जीवनमा सिलोक ः एउटा रमाइलो पक्ष, कवित, घर, दाइँ, मृत्यु संस्कार, देउराली, मीत, पौराणिक वस्तु र आधुनिक रूप रहेका छन्| यहाँ केही घरेलु वस्तुका निर्माण प्रक्रियालाई कौशलका रूपमा प्रस्तुत गरिएका छन्- ध्वनि कौशल, शिला कौशल, काष्ठ कौशल, धातु कौशल गरी चारवटा देखिन्छन्| यद्यपि चुँदार र औजारहरू, नेपाली सभ्यतामा आरन र यसको महत्त्व आदि लेखहरू पनि कौशलसित सम्बन्धित नै हुन्|
४.२. चन्द्र दुलाल- चन्द्र दुलालको ‘हाम्रो चिनारी’ नामक पुस्तकमा पनि हाम्रा घरेलु लोकसामग्रीहरूको परिचयात्मक अध्ययन गरेका छन्| यसमा वस्तुहरूलाई सूचीकृत गरी तिनका बारेमा छोटा छोटा परिचय दिइएको छ| यसमा नेपाली घर, साइनु-सम्बन्ध, आहार, भाँड़ाकुँड़ा, वस्त्र बिछ्यौना, हात हतियार, गरगहना, नृत्य-गीत, वाद्यवादन, चाड़-पर्व, संस्कार, हाम्रा केही लोक विश्वासहरू र कतिपय लोकप्रिय र लोप हुनलागेका शब्दहरू जस्ता शीर्षक दिएर तत्तत विषयसम्बन्धित शब्दहरूको सङ्कलन र तिनको अर्थ र छोटो छोटो विवरण प्रस्तुत गरिएको छ|
३. नरेन्द्र गुरुङ - दार्जिलिङ, सिक्किम, असम आदि स्थानहरू नै नेपाली लोकगीतका स्थान हुन्, जहाँबाट लोकगीतहरूको विकास भएको पाइन्छ| यसै क्रममा सिक्किमका नरेद्र गुरुङले पनि नेपाली लोकगीत सम्वर्द्धन र प्रवर्द्धन गर्न कम्मर कसेका छन्| उनी नेपाली लोकगीत, नृत्य र लोकसङ्गीतका अनुसन्धाता, सङ्कलक र स्वयं कलाकार हुन्| उनी एक लोकसाहित्यका लेखक पनि हुन्| उनले हालसम्म नेपाली लोकगीत र लोकसङ्गीतसम्बन्धित दुईवटा पुस्तक प्रकाशित गरेका छन्- १. लोक दर्पणभित्र भञ्ज्याङका भाकाहरू (२०१७) र २. लोकायनमा बाँचेका नेपाली लोकगीत—सङ्गीत (२०२१)| हालसम्म उनका तेह्रवटा लोकगीत अल्बम रेकर्ड रहेका छन्| रेली रेशम (१९९२, लोकगीत), ए नि बरी लै लै (२०००, लोकगीत), केही भनूँ कि (२००३, आधुनिक) रानी रूमालमा (२००४, लोकगीत), स्पन्दन (२००५, आधुनिक), मालश्री (२००६, लोकगीत), असारे बेठी (२००७, लोकगीत), साँझको तारा (२००८, आधुनिक गीत), मिलनको चिनो (२००९, आधुनिकगीत), सुन्दर शहर नाम्ची (२०११, दोहोरी लोकगीत), आकाङ्क्षा (२०१२, आधुनिकगीत), नैना रेशम (२०१५, लोकगीत) बेनीको बजार (२०१५, लोकगीत)| उनले तेह्रवटा गीत अल्बममा आंशिक रूपमा सङ्गीत भरेका छन्|
नरेन्द्र गुरुङ जन्मजात कलाकार हुन्| उनको घर परिवारको पृष्ठभूमि नै लोकसङ्गीतसित सम्बद्ध छ| उनी जन्मे हुर्केको घरमा नै लोकगीत-सङ्गीतको परिवेश थियो| बालकैमा घरमा लोकगीत-सङ्गीत सुन्ने परिवेश र अवसर पाएका थिए| आफ्नै घर नै लोकगीतको थलो थियो, बाजे र मामाहरू नै लोककलाकार लोकसङ्गीतका पारखी र प्रेमी थिए| दैनिक रूपमा नै लोकगीतको साधना र सङ्गत हुन्थ्यो| यसरी सानैदेखि लोकगीत सङ्गीतमा भिज्न सकेका नरेनले यसैलाई आफ्नो जीवनको आधार बनाए, आफ्नो छुट्टै परिचय बनाए, सिक्किमलाई चिनाए|
४.३. के एन शर्मा
यसै गरी लोकसाहित्य र लोकसंस्कृतिलाई परिचय दिने क्रममा सिक्किमका के. एन. शर्मा पनि एक अध्येता र चिन्तक हुन्| उनको २०१७-मा गहन अध्ययन गरी लेखेको पुस्तक खस जातिको परिचय र लोकसंस्कृति नामक पुस्तक प्रकाशित गरेका छन्| यसमा खस जातिको परिचय, खसहरूका थरहरू, भाषा, पहिरन, जीवन यापनका पेशाहरू, धामी-झाँक्री र शमन विधि, पारम्परिक पूजाआजा, घरेलु सामाग्री, साइनो सम्बन्ध, लोक आस्था र देवी देवताहरू, खसका चाड़पर्व र उत्सवहरू तथा खसका खेलहरू आदि विषयमा सम्यक अध्ययन प्रस्तुत गरिएका छन्| खस अध्ययनका निम्ति श्री के. एन. शर्माको उक्त पुस्तक अत्यन्त उपयोगी छ| यसमा खसेली परम्पराका बिहा, रीतिथिति आदि कुरामा निकै अध्ययन गरिएको पाइन्छ| यद्यपि, यी प्रत्येक पुस्तकहरूको आ-आफ्नै विशिष्टता, उपयोगिता र महत्त्व छन्| यसभित्र रहेका केही अध्ययनपरक लेखहरूमा खसको ऐतिहासिक परिचय, थरहरूको मौलिकता, खस भाषाको उत्पत्ति र अध्ययन, पहिरन, जीवनयापनका पेशाहरू, धामी-झाँक्री-शामन आदि, पारम्परिक पूजाहरूको मौखिक परम्परा, पूजनीय स्थानहरू, घर, घरेलु सामग्री उपकरण र वर्तनहरू, साइनो सम्बन्ध वा सामाजिक सञ्जाल, लोकआस्था, देवी देवताहरू, जीवन चक्रमा गरिने कृत्यहरू, लोकआस्था र विश्वासका कुराहरू, चाड़पर्व र उत्सवहरू, गीत र नृत्यहरू तथा बाजा गाजाहरू, खेलकूद, आमोद प्रमोदहरू, सिक्किममा नेपालीहरूको इतिहास, केही लोकथाहरू समावेश छन्| नेपाली लोकसांस्कृतिक अध्ययनमा यस पुस्तकलाई पनि आधिकारिक मान्न सकिन्छ| यसमा इतिहास, सन्दर्भग्रन्थ लोकरीति आदिका आधारमा अध्ययन अनुसन्धान गरी लेखहरू तयार पारिएको छ|
यसैगरी उनको लोकअभिव्यक्ति कोश पनि नेपाली लोक वाङ्मय अध्ययनका निम्ति एक उत्कृष्ट ग्रन्थ बनेको छ| जम्मा ८६१ पृष्ठहरूमा विशालकाय यस ग्रन्थमावर्णानुक्रममा अ देखि ह सम्म नेपाली वाग्धाराहरूको सङ्कलन, तिनका अध्ययन, उदाहरण प्रस्तुत गरिएको छ| हाम्रो समाजमा चलेका वाग्धाराहरू यति विघ्न रहेछन् भन्ने कुरा जानिन्छ| लेखकको यो कार्य अत्यन्तै श्रमसाध्य र स्तुत्य छ|
४.४. महानन्द पौड्याल - महानन्द पौड्यालद्वारा सङ्कलित हाम्रा केही लोककथामा लोकतत्वका विविध पक्षहरू देखा पर्छन्| यसमा लोकविश्वास, लोकव्यवहार, लोकसंस्कृति, लोकरीतिका विभिन्न कुराहरू पाइन्छन्| यसमा सङ्कलित गोलसिमल लोककथामा लोकतत्व सबैभन्दा बढी पाइन्छन्| यस सङ्ग्रहभित्रका बाघ र बिरालो, किन रुन्छन् कुर्ले ढुकुर?, चौंरी र भैंसी, इत्यादि पशुकथाहरू हुन् भने नीतिकथाहरू पनि पाइन्छन्| यसभित्र नैतिक उपदेश, लोकव्यवहारिक कुराहरू पाइन्छन्| यस सङ्ग्रहको अभिव्यक्त भाषा र शैली पनि लोक-लवज र लोकभाषामा नै बढ़ी गरिएको छ| यसमा प्रयुक्त कतिपय शब्दहरू ठेट ग्रामीण र लोकमा प्रचलित नै पाइन्छन्| यसको आयाम छोटो भए तापनि भारतमा नेपाली लोककथा सङ्कलन कार्यमा महत्वपूर्ण स्थान ओगटेको छ|
४.५. पुष्प शर्मा - डा. पुष्प शर्माको गोलसिमल नामको लोककथा सङ्कलन प्रकाशित छ| यसमा आफूले आफ्नी आमाको मुखबाट र सिक्किमतिर सुनेका लोककथाहरूलाई उक्त लोककथा सङ्कलनमा प्रस्तुत गरिएको छ| यसको भूमिकामा गोपालप्रसाद दाहाल र बलराम पाण्डेले लोककथाको सैद्धान्तिक पक्ष र यसभित्र रहेका लोककथाहरूबारे प्रकाश पारेका छन्| यसमा जम्मा चौधवटा लोककथा गीतहरू समावेश गरिएका छन्| ती हुन्-ओर्ल न ओर्ल सुनकेशरी मैंया, स्वर्ग जाने सिँढ़ी, सुम्निमा र पारूहाङ, रोंगीत र रोंगनू, उत्तिस र गुराँसको प्रेम कथा, गोलसिमल... गोलसिमल, आतेकको बाँसुरीको धुन, पाण्डा किङको मोहभङ्ग, सुनौलो रेशमी मजेत्रो, आँकको रुखको जन्म, बिहेको प्रस्ताव, पक्षीपोशाकधरी राजकुमार-१, पक्षीपोशाकधारी राजकुमार-२, बुढ़ो बाबु फाल्ने डोको| यसमा रहेका लोककथाहरू प्रचलित नै हुन् तर पाठभेद पनि रहेका छन्| यसमा लेप्चा लोककथा, लिम्बू लोककथा, किराँत लोककथा, खसेली लोककथा आदि पनि समावेश छन्| यसमा सङ्कलन गरिएका लोककथाहरूमा हाम्रो समाजका विभिन्न पक्षहरूको प्रतिनिधित्व भएको छ| सौतेनी डाह, लोभ-लालच, प्रेम, आमा-बाबु हेर्ने कर्तव्य आदि जस्ता विषयवस्तु रहेका छन्| यसमा रहेका दुई तीन लोककथाहरू पहिलोपटक गोलसिमलमा सङ्ग्रहित भएका छन्|
४.६. रूद्र पौड्याल - सिक्किमका एक विद्वान् र साहित्यिक अध्येता रूद्र पौड्याललाई पनि लोककथा सङ्कलकका रूपमा पाइन्छ| उनको लोककथा सङ्ग्रहमा जम्मा चौधवटा लोककथाहरू सङ्ग्रहीत छन्| सङ्कलक आफै गाउँमा बस्ता ठूला बड़ाका मुखबाट सुनेका पढ़ेका कुरालाई पुनर्लेखन गरेका छन्| कतिपय सिक्किमकै गाउँ-घरका सिर्जित लोककथाहरू पनि समावेश छन्| यसमा रहेका लोककथाहरूमा चोर र चण्डाल, बाठो मूर्ख, दश वचने आमास वीस वचने छोरी, नारद बुद्धिले बाँचे, बुद्धिको काम, तीन छोराहरू, सेती र काली छोरी, डेढ़ हाते मान्छे, तीन गफाड़ीहरू, केही छोटा दन्त्य कथा, आमाको माया, आँखा पैंचो माग्ने कथा, बहिराहरूको पारिवारिक कथा, आहारिसे मान्छे र गुणी पशुको कथा, आखिर हार मान्नै पर्यो| यसमा रहेका लोककथाहरूले मानव जीवनका विभिन्न स्वभाव र प्रवृत्तिलाई सङ्केत गरेका छन्| पशुकथा, नीतिकथा, पारिवारिक लोककथाहरू रहेका छन्|
४.८. दलमान डी. गुरुङ- सिक्किम नाम्चीका दलमान गुरुङको पनि सुनकेशरी रानी (२०१९) नामक सानो पुस्तिका प्रकाशित छ| यसमा सातवटा छोटा छोटा लोककथाहरू सङ्ग्रहित छन्| यसमा रहेका लोककथाहरू हुन्-पश्ताताप, गौतमी, सुनकेशरी रानी, विश्वासघात, चिहान, सर्वशक्तिशाली राजा, भालू र स्याल| यी सातवटा लोककथाहरू प्रायः सुनिएका र परिचित नै हुन तर केही पाठभेद भने रहेका छन्| जस्तो सुनकेशरी रानी लोककथामा अन्य पात्र पनि गाँसिएका छन्|
५. सिक्किमबाट प्रकाशित लोकसाहित्य पत्रिका र पत्रिका विशेषाङ्क :
स्रष्टा, निर्माण, अर्चना, सिक्किम एकाडेमी जर्नल, कनका, प्रक्रिया आदिले सिक्किमका केही पत्रिकाहरूमा नेपाली लोकसाहित्य र लोकसांस्कृतिक विशेषाङ्कहरू प्रकाशित गरेका छन्| पश्चिम सिक्किम साहित्य प्रकाशनको मुखपत्र स्रष्टाको वाङ्मय विशेषाङ्कमा पनि लोकसाहित्यिक अध्ययन सामाग्री पाइन्छन्| विशेषगरी १९८९-मा प्रकाशित स्रष्टाको वाङ्मय विशेषाङ्कमा केही लोकसाहित्यिक र लोकसांस्कृतिक लेखादि समावेश छन्| घनश्याम नेपाल, चूड़ामणि दाहाल, गीता शर्मा, बेञ्जामिन राई, बी. बी. सुब्बा, देवकुमार दुमी आदिका केही लेखहरू पनि प्रकाशित छन्| अर्चना, निर्माण र प्रक्रिया जस्ता पत्रिकाहरूले पनि सिक्किमेली लोकसाहित्यिक र लोकसांस्कृतिक परम्परामाथि केही लेख प्रकाशित गरेका छन्| यसैगरी निर्माण पत्रिकाको संस्कृति अङ्क भने निकै गहकिलो र धेरै लेखादियुक्त रहेको छ| यसले लोकसंस्कृति र लोकपरम्पराबारे धेरै गहिरो अध्ययन गरेको छ|
निर्माणको संस्कृति अङ्क - सन् १९९९ मा प्रकाशित निर्माणको संस्कृति अङ्क नेपाली लोकसाहित्य समाज, संस्कृति आदि अध्ययनका निम्ति अत्यन्तै महत्त्वपूर्ण ग्रन्थ बनेको छ| यसमा नेपाली महाजातिका विभिन्न जात जातिका पारम्परिक संस्कार, संस्कृति, लोकरीति आदिबारे विभिन्न लेखादि रहेका छन्| यसमा जम्मा ९२० जति पृष्ठहरू रहेका छन्| यसमा खण्ड क-मा संस्कृतिको सैद्धान्तिक विवेचनपरक पच्चीसवटा लेख, खण्ड-ख मा जाति भाषा र लिपिमा जम्मा पैंतीसवटा लेख, खण्ड-ग अन्तर्गत कला, सङ्गीत र लोकपरम्पराबारे दशवटा लेख, खण्ड-घ मा विविधअन्तर्गत तेह्रवटा गरी जम्मा ८३ वटा गहकिला र शोधमूलक लेखहरू समावेश भएका छन्| यसमा नेपाल र भारत दुवै तर्फका विद्वान्-अध्येताहरूको संस्कृतिका बारेमा लेखहरू नेपाली साहित्यको अध्ययनमा माइलखुटी सावित भएको छ| यसमा हाम्रा समस्त जातगोष्ठीका विभिन्न संस्कार र संस्कृतिका साथै हाम्रो साझा संस्कृतिबारे सम्यक् छलफल र अध्ययन प्रस्तुत गरिएको छ|
स्रष्टाको वाङमय अङ्क - पश्चिम सिक्किम साहित्य प्रकाशनको पत्रिका स्रष्टाको वाङ्मय विशेषाङ्क निकै महत्त्वपूर्ण रहेको छ| यसमा लोकसाहित्य र लोकसंस्कृतिका बारेमा केही लेख समावेश छन्| यसमा रहेका लेखादिले केही जात र जातिका विभिन्न संस्कार र लोकतत्वलाई प्रकाश पारिएको छ| स्रष्टाका अझै अन्य अङ्कको राम्रोसँग अध्ययन गरे त्यसभित्र यस्ता लोकसमाग्रीहरू धेरै प्रकाशित भएका छन्| स्रष्टाले पनि सिक्किमेली समाजका लोकपरम्परा, जनविश्वास, जनसंस्कृति, सरोकार, संस्कार लोकसंस्कृति र समाजका विभिन्न तह र तप्काका आन्तरिक पक्षहरूलाई समेटेको छ|
५. उपसंहार -
नेपाली लोकसाहित्य, लोकसंस्कृति र लोकपरम्पराको अध्ययनमा सिक्किमको पनि योगदान रहेको छ| सिक्किम पनि नेपाली सांस्कृतिक केन्द्र हो| सिक्किम पनि साझा फूलबारी हो जहाँ विभिन्न जात जातिका सांस्कृतिक फूलहरू फुल्ने गर्छन्| त्यहाँका हिमाल र पहाडका गाउँ-घरतिर भोटे-लाप्चे र नेपाली संस्कृति एकीकृत रूपमा प्रवाहित हुन्छ| शान्त, सुन्दर सिक्किमको जनजीवनका अनुभव र अनुभूतिहरू त्यहीँ सिर्जना भएर लोकपरम्पराको रूपमा अघि आएका छन्| सिक्किममा आफ्नै प्रकारको लोकसाहित्य र लोकसंस्कृति विकसित भएको छ| यहाँबाट लोकगीत, लोककथा, लोकसंस्कृति आदिबारे त्यहीँकै अध्येता, अनुसन्धाताहरूले अध्ययन अनुसन्धान गरिरहेका छन्| सिक्किमका केही यस्ता अध्येताहरूमा मुख्यतः के. एन. शर्मा, प्रकाश भट्टराई, महानन्द पौड्याल, नरेन गुरुङ, पुष्प शर्मा, बलराम पाण्डे, पृथिवीराज सुब्बा, रूद्र पौड्याल आदि लोकसामग्रीको अध्ययन अनुसन्धानमा लागिपरेका छन्| अझ नयाँ पीढ़ीका अनुसन्धाताहरूले अझै काम गर्नसक्छन् भन्ने कुरामा आशा राख्न सकिन्छ|