तर तलब/इमानको कमाइ नाथे त तपाईका लागि
उही घुरहु महतोको थलियामा धनियाँको चट्नी जस्तो न हो;
पहुँच बढाउनु भो;
पहुँचको दुरुपयोग गर्नु भो;
र शुद्ध बिचौलिया हुनु भो;
र, धन थुपार्नु भो;
धन थुपार्नका लागि–
पेशागत नैतिकताको ख्याल गर्नु भएन
सामाजिक मर्यादा नाथे हेर्नु भएन
भाइभतिजा जाबालाई गन्नु भएन
यस राज्यका नियम कानूनलाई
मज्जाले 'धोती’ बनाउनु भो;
अब बुढो हुनु भो;
अंकल, सञ्चै हुनुहुन्छ ?
हरेक आन्दोलनलाई पासो थाप्नु हुन्छ– तपाई,
र, उपलब्धिलाई फड्केमा पार्नु हु्न्छ;
हरेक पटकको परिवर्तनमा दङ्ग पर्छौं– हामी
र, बाजी तपाई मार्नु हुन्छ ।
र, आफ्नो बर्गत खर्च गर्नुहुन्छ–
समाजलाई विषाक्त बनाउन;
र, जोड्नु हुन्छ– मौजामौजा
बनाउनु हुन्छ– लालपूर्जाको खात
बढाउनु हुन्छ- बैङ्क ब्यालेन्स
पचाउनु भयो–
लाज, घिन, बन्धुत्व, मर्यादा र मानवीयता;
र, सबै विरोध, आन्दोलन र परिवर्तनलाई पचाउँदै आउनु भयो;
पाचन प्रक्रिया अब कस्तो छ ?
अंकल, सञ्चै हुनुहुन्छ ?
छोरीले विदेशमै घरजम गरी
ऊ अब कसरी फर्केली र !
छोरो आफै पढ्न विदेश गयो;
जानु के थियो–
ऊ झन् सम्पर्कमै नआउने भयो;
नियमकानून मिचेर
सज्जनलाई थिचेर
पाँच पुस्तालाई सुतीसुती खान पुग्ने
यत्रो जो थुपार्नु भो;
वाह, क्या थुपार्नु भो!!
तर कसका लागि थुपार्नु भो?
मानसिक स्वास्थ्य ठीक छ ?
निदाउनु हुन्छ ?
ट्याब्लेट नलिई निन्द्रा लाग्छ ?
अंकल, सञ्चै हुनुहुन्छ ?