छठपर्वकै दिन पारेर पोखराथोक साहित्य सङ्गम बगनासकाली-२, पोखराथोक पाल्पाद्वारा आयोजित रजत जयन्ती समारोहमा सङ्गमको मुखपत्र 'वाटिका' विमोचनपश्चात् बगनासकाली गाउँपालिकासहित वर्दघाट प्रज्ञा-प्रतिष्ठानका कुलपति डा. घनश्याम परिश्रमी, किरण पुस्तकालयबाट प्रकाशित हाम्रो पुरुषार्थ गुल्मीका सम्पादक शशि पन्थी ,वाल्मीकि साहित्य सदन चितवनका संस्थापक अध्यक्ष केशवराज आमाेदी, रुपन्देही भैरहवाबाट वरिष्ठ साहित्यकार विजय सागर श्रेष्ठ , पाेखराथाेक साहित्य सङ्गमका पूर्व प्र. सम्पादक कृष्णप्रसाद काेइराला लगायत २६ जनालाई सम्मान गरिएको थियो । सोही समारोहमा सुप्रसिद्ध कवि कृष्णप्रसाद कोइरालाबाट उपहार स्वरूप 'मातृकाव्याञ्जलि' ( लघुकाव्य- २०८० ), 'भूकम्प' ( खण्डकाव्य-२०७९ ) र ' कविरत्न माधवप्रसाद देवकोटा' ( स्मृतिग्रन्थ ) प्राप्त भएको थियो । यो देवकोटा स्मृतिग्रन्थ मेरो खोजी र चासोको महत्वपूर्ण कृति थियो तापनि सातवर्ष अघि आदरणीय गुरु कृष्णप्रसाद कोइरालाजज्यूले मलाई "माधवप्रसाद देवकोटा प्रतिभा पुरस्कार-२०७५ " ले पुरस्कृत - सम्मानित गरी कृत्य-कृत्य तुल्याउनु भएको थियो । सोही अवसरमा पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनालद्वारा 'अनुभूतिका प्रहरहरू' ( कवितासङ्ग्रह-२०७५ ) , डिल्लीराज अर्यालद्वारा 'टोलटोलमा राजा' ( व्यङ्ग्य निबन्धसङ्ग्रह-२०७८ ), रुद्र ज्ञवालीबाट 'विमानघाट' ( लघुकथासङ्ग्रह-२०८१ ) ,राजेन्द्र गोपाल सिंहबाट 'बन्न नसकेका कविताहरू'-( २०८२ ), पाल्पा साहित्य समाजद्वारा वितरित पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहका सहलेखनमा आधारित शोधपरक कृति 'पाल्पामा नेपाल भाषा साहित्यको इतिहास' ( २०८१), रामप्रसाद अर्यालबाट 'घुस्सा' ( हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह-२०८०) पुष्कर अथक रेग्मीका दुई कृति 'अमोघ' ( त्रिपदीय काव्य उपविधा / सैद्धान्तिक विमर्श र त्रिशूल काव्य )अनि 'अर्घ्य ' ( शीत : रचना विधान र चतुष्पदीय लघुकाव्य सङ्ग्रह शीत कल्प-२०८१ ) , पोखराथोक साहित्य सङ्गमको रजत समारोहमा विमोचित 'वाटिका'( रजत वर्ष विशेषाङ्क-२०८२ ) उपहार कोसेली स्वरूप प्राप्त भएका थिए । यी अनमोल कृतिहरूको अध्ययन क्रमैले गर्ने विचारमा छु ।
कार्यक्रमको भोलिपल्ट बिहान पाल्पाका साहित्यकार राजेन्द्र गोपाल सिंहजीले रणउजिरेश्वरी भगवतीको दर्शन गराई आफ्नो आवासमा लगेर चाहिंदो सेवा सत्कार गरी सिमसिमे पानीमा पनि शीतल पाटी , वसन्तपुर, टक्सार, लहरे पीपल, नारायण स्थान, देववाणी संस्कृत मा. वि.लगायत विभिन्न स्थानको अवलोकन गर्ने अवसर प्राप्त भयो । सिमसिम परिरहेको पानीमा पाल्पाका दर्शनीय ठाउँहरू घुमाइदिएका पलहरू निकै आनन्ददायी रहे ।
काठमाडौंबाट भैरहबासम्मको हवाईजहाज उपयोग गरी रम्भा मा. वि. ताहूँका पूर्व प्र अ र हाल सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कालिदास श्रेष्ठले फोनबाट बर्तुङ चोकमा पर्खेेर बस्नोस् म ११ बजेतिर आइपुग्छु भन्ने आग्रहलाई स्वीकार्दै बसिरहँदा उहाँ समयमै आइपुग्नुभयो । मेरो उहाँसँगको पहिलो भेट र चिनाजानी भए पनि खुलेर बोल्ने आकर्षक व्यक्तित्व र विचारले तानिंदै र उहाँका मीठा र घतलाग्दा कुरा सुन्दै सिमसिम पानी परिरहेका अवस्थामा रम्भा गाउँपालिकातिर सोझियौं । कालिदास सर र चिरञ्जीवी दाहाल सरको चौतीस वर्षपछिको यो हार्दिकतापूर्ण भेटघाट र कुराकानीबाट म पनि आकर्षित र प्रभावित भइरहें । मेरा मित्र दाहालजी नेपाल सरकारको जागिरे हुँदा सङ्गत गरेका गाउँले मित्रहरूसँगको मिलन उत्तिकै रोमाञ्चकारी बनिरहेको थियो । दिनभरिजस्तै तप्कने पानी परिरहे पनि रम्भा मा. वि. ताहूँको निरीक्षण र नयाँ शिक्षकहरूसँग समेत परिचयपछि कालिदास सरको निवासमा आइयो । केहीबेरको भलाकुसारी पछि दाहालजीका अर्का अभिन्न मित्र रामप्रसाद श्रेष्ठको अनुरोध स्वीकार गर्दै साँझको बसोबासका लागि हामी उहाँको ताहूँ स्थित घरमा गयौँ । त्यो साँझ हामी रामप्रसाद र उहाँकी अर्धाङ्गिनी जानकीजीको स्नेहपूर्ण सद्भाव भरिएको मीठो भोजन गरी निद्रादेवीको शरणमा परियो ।
भोलिपल्टको सूर्योदय भएसँगै दैनिक कार्यबाट निवृत्त भएउपरान्त कालिदास श्रेष्ठ , चिरञ्जीवी दाहाल र म ताहूँ स्थित राना गाउँ , नाचनडाँडा हुँदै रम्भा भगवतीको दर्शन गरी उहाँकै गृह-मन्दिरमा आई भोजन गरी बुटवलतिर लाग्यौं । बुटवलबाट कालीदास सरसँग छुट्टिन मनले नमाने पनि बलै कालिदास सर भने काठमाडौं उडानका लागि भैरहबसतिर मोडिनु भयो भने हामी दुई दाहाल सर म चितवनतिर लागियो ।
रत्ननगर चितवन ।