सपनाको नदी

कविता राजु “हिमांशु” November 8, 2025, 10:27 am

राजु “हिमांशु”
राजु “हिमांशु”
तिमीलाई अझै थाहा भएन, बाबा?

रुपियाँको विलासले चिन्तनको विलाप भएको छ

वेदनाको विकासले मनको विनाश भएको छ

अहँ! तिम्रो रगते विप्लवले काम गरेन

अहँ! तिम्रो सुक्खा विप्लवले पनि काम गरेन

अझै पनि पसेन मानचित्रमा तिम्रो गाउँ

अझै पनि लेखिएन इतिहासमा तिम्रो नाउँ

रगतले भिजाएको सपनालाई

कति देख्छौ हँ तिमी फेरि?

बोधे हतियार लिएर कति लड्छौ हँ तिमी फेरि ?

नूनको अभावमा जिन्दगी खल्लो भएको बेला

सुनको सपना देख्छौ तिमी,

खूनको बिपना भोग्छौ तिमी।

पसिनाले असल दाम नपाएको बेला

विरोधको कविता लेख्छौ तिमी,

समानताको इन्द्रेणी देख्छौ तिमी।

तर अहँ,

तिम्रो कविताले रुपियाँ पस्किन सकेन चियाबारीलाई

तिम्रो इन्द्रेणीले जाती पार्न सकेन बिरामी चियाबारीलाई

तिमी भने ठूलो मान्छे हुनुको अहम् पालेर

कुर्लिबस्छौ, डुक्रिबस्छौ, रगतपच्छे पनि हुन्छौ

तर अहँ,

यत्रो वर्ष बितेर पनि तिम्रो रगतको मूल्याङ्कन भएन

त्यत्रो पसिना खर्चेर पनि तिम्रो पसिनाको मूल्याङ्कन भएन

र पनि सुनको सपना देख्छौ अझै

खूनको बिपना भोग्छौ अझै।

तिमीलाई अझै थाहा भएन, बाबा?

चाहिन्छ यहाँ हरथोकमा रुपियाँ

विकासको पेट भोकै हुन्छ रुपियाँबिना

शिक्षाको तरुणी अनुहार चाउरिन्छ रुपियाँबिना

रुपियाँबिना बाबा,

योग्यताको रूप खस्किएको छ

जोशको हिमाल धस्किएको छ

रुपियाँबिना बाबा

फुलेको मन ओइलिन्छ

पाकेको विचार पनि कुहुन्छ

मुस्कान उदाउँदैन

आँसु पुछिँदैन।

रुपियाँ! रुपियाँ! रुपियाँ!

राजा पनि यो

रानी पनि यो

सन्तुष्टि पनि यो, ख्याति पनि यो

खुशी पनि यो, उन्नति पनि यो।

माग न बाबा माग रुपियाँ !

सपनाको मूल्य के छ र माग्दै छौ?

कराउँदै डरले जङ्गलतिर किन भाग्दै छौ?

रुपियाँले एकताको समुद्र बहाउन खोजेको बेला

रुपियाँले अनेकताको पर्खाल बनाउन लागेको बेला

निहत्था विचारहरूले कहाँ रोक्न सक्छन् र

राजनीतिको बुलेटलाई !

गरीब सपनाहरूले कहाँ थाम्न सक्छन् र

रुपियाँको कुबेरलाई !

रुपियाँको होड़मा कस्तो दौड़ चल्दै छ

तिम्रो सपना भने त्यही दौड़मा गल्दै छ

तिमी भने अझै ढलेको छैनौ

टाउकोभरि विचारको सगरमाथा बोकेर पनि !

सलाम छ त भन्नैपर्छ तिम्रो आँटलाई

तिम्रो निरन्तरतालाई।

म त थाकिसकें

कलिलो उमेरमै पाकिसकें

रित्तो भएर निराशा पिउँदैछु

खोक्रो भएर पनि जिउनु त जिउँदैछु

खै,

कहिले पार लाग्नु

सपनाको नदी !

डाउहिल, खरसाङ, भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।