जुटफुटको मज्जा !

कविता गायत्री लम्साल November 8, 2025, 10:29 am

गायत्री लम्साल
गायत्री लम्साल
(हाँस्यव्यङ्ग्य कविता)

जुटेर सुतिन्छ

फुटेर उठिन्छ ।

माफ गर्नोस महाशय,

राष्ट्रिय नियम हो यो

खेलाडी भनेका हामी सबै

बेरोजगार छाँै हजुर

जुटाउने र फुटाउने

हाम्रै हातका कुरा

त्यसैले,

जुट्दा पनि ताली ठोकिन्छ

फुट्दा समेत ताली ठोकिन्छ ।।

जे गर्छौ मज्जाले गर्छौ

हातको प्रमुख काम

ताली ठोक्ने हो ।

आँखाको मुख्य काम

रमिता हेर्ने हो ।।

हर्छ त हार्छ देश हार्छ

कसलाई के भो र ?

सिद्धान्तको चुरो कुरो

खेलाडी फेर्ने हो ।

विकासको मुलमन्त्र

जुटफुटको ताण्डव नृत्य हेर्ने हो ।।

चारखुट्टे दुईखुट्टे

जे को भए तापनि

टुक्रा चाहिँदैन झोल भएपछि

कौडीमा मिल्ने ,

मतको मोल भएपछि

जुट्नु र फुट्नु

सबै कालको, सबै तन्त्रको

एक मात्र उद्देश्य

दिनरात एकछत्र

विकास भन्ने कुरो

वाकेर सक्नेहरु ।

श्री ३, श्री ५, श्री १७ का

नाइकेहरु,

अझै पनि जुटफुट मै मस्ती छन्

हामी उनैका भक्तजनहरु,

दिनरात धूप बालेर

पूजा गर्छौ र नौवेद्य चढाउँछौँ ।

उनीहरुलाई शीरमा बोकिरहन्छौँ

मस्तले ताली ठोकिरहन्छौँ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।