मलाई आरक्षित गरिराख

कविता कृष्ण बाउसे November 8, 2025, 10:36 am

कृष्ण बाउसे
कृष्ण बाउसे
मै किन जानुपर्यो र !

धेरै तयार छन् तिम्रो जन्ती जान ।

मलाई आरक्षित गरिराख

तिम्रो मलामीको रूपमा ।

जब तिमी

आफ्नो मलामी बनाउँछौ कसैलाई

तबमात्र

तिमी आफ्नो दानवीय रूपबाट मुक्त भएका हुन्छौ ।

तिम्रा दुष्ट आकाङ्क्षाहरू पूरा गर्न

तिमीले स्वरूप दिएका

लडाइँका बर्बर शृङ्खलाका निर्देशकको भूमिकाबाट

तिमी त्यही दिनमात्र

निवृत्त भएका हुन्छौ ।

र त्यही दिनदेखि मात्र

तिमी मेरो मित्र भएका हुन्छौ ।

तिम्रो निर्देशनमा चलेको

कुनै पनि नाटकको पात्र भएर

मलाई खेल्ने रहर छैन ।

कृपया

नायक बनाएर खेलाउँछु भन्दै

जाल नथाप ।

मै किन चाहियो र !

अरू नै तयार छन् तिम्रो नाटकको नायक बन्न

दम्भको लडाइँमा

मार्न र मर्न ÷ मर्न र मार्न !

कोही बँच्दैन तिम्रो नाटकमा

तिम्रो द्वन्द्वको दृश्यपछि ।

नाटकको समाप्तिपछि

रङ्गमञ्चको पर्दा झार्न पनि कोही त चाहियो !

त्यसैले त भन्दै छु

जबर्जस्ती नगरेर नाटकको मूल पात्र बनाउन

आत्मघातबाट जोगिन चाहने

औद्योगिक युगका सचेत मान्छेले रुखको आरक्षण गरेझैँ

मलाई आरक्षित गरिराख

तिम्रो मलामीको रूपमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।