चौध वर्ष

कथा इ. विनोद खनाल November 12, 2025, 6:48 am

इ. विनोद खनाल
इ. विनोद खनाल
बसबाट ओर्ले पछि टाढा दृष्टि लगाएँ । सन्ध्याले आफ्नो लालीमा फैल्याउन सुरू गरी सकेको थियो, नेटो पारिको आकाश रक्तिम लालीमा मुस्कुराएर मलाई स्वागत गरी रहेको थियो । यस्तो मनोरम दृश्यको अवलोकन चौबिस वसन्तमा प्रथम पटक मैले मेरै जन्म स्थलमा गर्दै थिएँ । सायद समयको बगाइमा त्यतातिर मनमस्तिष्क कहिल्यै भौतारिन नपाएकोले नै होला थाहा नभएको, अन्यथा मेरो देशको कुन भूभागमा यस्तो आकर्षण, यस्तो विमोहित दृश्य नहोला ! एउटा कपडाको सानो झोला काँधमा हालेर म अघि बढेँ । मलाई अँध्यारो नहुँदै घर पुग्नु थियो ।

घर ! हो घर । यो घर शब्दले मलाई मेरो मनलाई चञ्चल बनाई दियो । मेरो चञ्चल मन पखेटा हालेर घर पुगी सकेको थियो र म आफू पनि सँगसँगै पुग्न खुट्‍टालाई पखेटा बनाउन असफल कोसिसमा शरीरलाई सकेसम्म छिटो घर तिर हुत्याई रहेको थिएँ । पखेराको घरले मलाई बोलाई रहेको थियो । यो गोरेटेमा मैले आफ्नो चौध वर्ष अघिको पाइतालाको छाप खोज्ने हास्यास्पद कोसिस गरेँ । यही बाटोले मलाई चौध वर्ष पछि प्रथम पटक स्वागत गर्दै थियो ।

उकालो सुरु भयो । अब करिब डेढ घण्टा उकाली ओरालीका गोरेटोमा हिँडे पछि म घर पुग्छु भन्ने अन्दाज गरेँ । सानो छँदा बुबासँग दुई चार पटक हाट लाग्दा यता बेँसीतिर आएको थिएँ तर आज यो गोरेटोबाट म नौलो जीवन लिएर घर फर्कँदै थिएँ, एक्लै । कहिलेकाहीँ बुबा पछि दौडी रहेको अनुभूति गर्दै म पनि दौडिन्थेँ र आफ्नो यो बालापना प्रति आफैँ मुस्कुराउँथेँ ।

एक हुल केटाकेटी मेरो नजिकैबाट दौडिँदै गए । मलाई मेरो बाल्यकालको सम्झना भयो । हो त, म पनि यही उमेरमा स्कुल जाने निहुँमा सधैँका लागि घरबाट भागेको थिएँ आफैँ जस्ता दुई चार जना गाउँका केटाहरुसँग । मलाई पढ्न भन्दा खेल्न मन लाग्थ्यो तर घरमा बुबा आमा आफ्नो एक्लो छोरालाई केही बनाउन चाहनु हुन्थ्यो र सधैँ पढ्नको लागि जोड दिनु हुन्थ्यो । एक्लो छोरा भएर होला बढी पुल्पुलिएको थिएँ । घरको आर्थिक स्थिति त्यति राम्रो पनि थिएन । अलिअलि घरायसी काम पनि गर्नु पर्थ्यो सानै भए तापनि । समष्टिगत रूपमा भन्ने हो भने मेरो सङ्गत नराम्रा चालचलन भएका केटाहरुसँग थियो । त्यही केटाहरुको लहैलहैमा बुबाको खल्तीबाट सय रुपैयाँ चोरेर सखारै वा सबेरै सहर आएँ । पैसा भइन्जेल त मोज गरेँ तर पैसा सकिए पछि घरको सम्झनाले सतायो । घर फर्कन लाज लाग्यो, कुन मुख लिएर बुबाको अगाडि पर्ने ! गाउँलेले के भन्लान ? बरु जे होला जसरी होला यतै बस्ने निधो गरेँ ।

एक जना अधबैँसे कोदाली बोकेर नजिकैबाट गयो । कता कता देखेको जस्तो लाग्यो तर यति लामो अन्तराल र त्यस माथि बाल्यकालको स्मृतिले यी सबै कुराको हेक्का राख्‍न दिन्थ्यो र ! चौध वर्ष ! विगत चौध वर्षमा मैले के अनुभव गरिन र ! चौध वर्षको कहाली लाग्दो समयलाई के मैले दुई चार हरफमा कोर्न सक्छु र ! अहँ, त्यो अव्यक्त क्षणलाई समेट्ने कोसिस गर्नु त व्यर्थ नै हुन्छ तर ती भुल्न नसक्ने दुई चार ओटा कुराले के मलाई यसरी नै जिन्दगीभर लखेटी रहने छ त ? तर अब मैले प्रायश्चित पनि त गरी सकेँ । आज म त्यो फोहोरी जिन्दगीबाट बाहिरी सकेँ र एउटा जिम्मेवारीपूर्ण अभिभारा बोकी सकेको छु । त्यही जिम्मेवारीपूर्ण पदले गर्दा चौध वर्ष पछि आफूलाई घर फर्काउन सफल भएको छु । बुबाले बनाउन खोज्नु भएको ठुलो मान्छे हुन नसके पनि यस देशको जिम्मेवार नागरिक भैसकेको छु ।

बाटोको छेउको चौतारोमा एकै छिन सुस्ताउन बसेँ । सिर्सिरे बतासले मनलाई हलुको बनायो । आहा कस्तो अनुभूति ! कस्तो आफ्नोपन ! कति सुगन्धित वातावरण ! कहाँ यो मेरो आफ्नो स्वर्गभूमि कहाँ त्यो धुलो, धुवाँ र होहल्लाले गुम्सिएको कहाली लाग्दो सहर ! यो शीतल बतासले हल्लाई रहेको पात र चञ्चल, हर्षित मनमा के फरक छ र ! त्यो पात हावासँग मस्त झुमी रहेछ र यो मन आफन्तसँगको पुनर्मिलनको कल्पनासँग । निधारको पसिना ओभाए पछि म बाटो लागेँ ।

भोक लागेको अनुभव भयो । भोक ! हो, आज भन्दा चौध वर्ष अगाडि मैले भोकले गर्दा के के गरिन ! सम्झनाले मात्रै पनि मन अमिलो भएर आउँछ । कन्टेनरमा फालेको खानेकुरा भुस्याहा कुकुरसँगै खाएको हिजै जस्तो लाग्छ । बोरा ओढेर छिँडीमा, पेटीमा आफू जस्तै अनेकौँ खातेसँग रात कटाएको क्षण म बिर्सन सकुँला र ! आफैँसँग गाउँ छोडेर हिँडेका साथीहरु पैसा सकिए पछि कहाँ पुगे मलाई थाहा भएन तर म भनेँ खातेहरुको हुलमा पुगेँ । कुकुरले हालेको जुठोबाट उठेर विस्तारै म प्लास्टिक बटुल्ने दुनियाँमा पुगेँ । खानामा केही स्तरीयता आएता पनि आवास चाहिँ छिँडी र फुटपाथ हुन छाडेन । दिनभरि एउटा ठुलो बोरा काँधमा झुण्ड्याएर कन्टेनर र फोहरको थुप्रामा प्लास्टिक बटुल्ने दिनचर्यामा आफूलाई जिन्दगीको गोरेटोमा डोर्‍याउन थालेँ । त्यसबाट आउने पैसा तास, खोपी, गुच्चा खेल्न र भिडियो हेर्दैमा सकिन थाल्यो । जति कमाए पनि नपुग्ने स्थितिले करिब एक वर्ष पछ्याई रह्यो । त्यसै बेला अलि अलि नशाको कुलतमा पनि लागेँ । त्यस पछि भने मैले आफ्नो कार्य क्षेत्र फेरेँ । म धेरै जसो भिडभाडमा छिर्न थालेँ । कहिले गौशाला कहिले लगनखेल, कहिले कोटेश्वर त कहिले बालाजु, कहिले महाराजगञ्ज त कहिले कलङ्की तिर जाने बसमा म आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्न तल्लीन भएँ । दुई तिन जना साथी विना त यो क्षेत्रमा टिक्नै मुस्किल । सुरु सुरुमा त अर्काको खल्तीमा हात हाल्न डर लागे तापनि पछि पछि बानी लाग्न थाल्यो । आम्दानी बढेकोले मेरो बस्ने ठाउँ पनि फेरियो । तिन जना साथी सँगसँगै एउटा कोठामा बस्न थाल्यौँ । लवाइ खवाइमा पनि भिन्नता आयो साथसाथै जुङ्गाको रेखीले पनि ममा अर्को भिन्नता ल्याएको थियो । पैसाको मातले ती साथीहरु सहित म नशाको लतमा झन फस्न थालेँ । एकातिर पाकेटमारी र अर्को तिर नशा । मान्छेलाई बिग्रन कति समय लाग्दो रहेछ र !

हिँड्दा हिँड्दै ठोक्किएँ । अँध्यारो फैलिन सुरु भई सकेको थियो । पाइलालाई अझै गति दिएँ अन्यथा घर पुग्न ढिलो हुने छाँट देखेँ । जे होस् चौध वर्ष पछि घर फर्किन त पाएँ । सोचेको थिइन कहिल्यै घर फर्कन्छु होला भन्ने तर तिन वर्ष अगाडिको घटनाले मेरो जिन्दगीको सोचाइ र लक्षलाई नै परिवर्तन गराई दियो । त्यो घटना सम्झँदा पनि आङ्ग सिरिङ्ग हुन्छ, मुटु काँपेर आउँछ ।

तिन वर्ष अगाडिको एक रात हामी तिन जना साथीहरु नशामा लठ्‍ठ थियौँ । बाटो एकान्त थियो र हामी लठ्‍ठिएर एउटा कुना तिर बसेका थियौँ । टाढाबाट दुईजनालाई आई रहेको देख्यौँ, अलि नजिक आइपुग्दा ती भर्खरका केटीहरु रहेछन् भन्ने थाहा भयो । उनीहरुले टाढैबाट हामीलाई देखे र अलि छिटो छिटो हिड्न थाले । हामी नशाले झनै विवेकहीन भएका थियौँ । एकान्त बाटो, छोरी मान्छे त्यसमाथि नशाले मातिएका विवेकहीन प्राणी हामी । हामीले एक अर्कालाई हेर्‍यौँ, मौन आँखाबाट कुरा गर्‍यौँ र सहमति जनायौँ । हामी ती दुवैको बाटो छेक्न पुग्यौँ । उनीहरु नराम्रोसँग झस्किए । मैले एउटीको हात समात्न पुगेँ, ऊ भाग्न खोजी । उसले मलाई हेरी, उसको मृगनयनी आँखा मलाई बाघको बिचमा परेकी त्रसित हिरणी जस्तो लाग्यो । भय र त्रास मिश्रित आँखामा याचनाका छालहरु दौडिए । एक्कासी अर्की चिच्याउँदै भागी । मैले समातेकी केटी डरले काँपी रहेकी थिई । म राक्षस भई सकेको थिएँ । नशाले मलाई पिशाच बनाई सकेछ । मैले त्यो डराएकी हरिणीलाई आफू तिर तान्न लागेँ । एक्कासी कसैले मलाई पछाडिबाट हिर्कायो । म लड्न पुगेँ । टाउको भुईँमा ठोक्कियो, आँखा तिरमिरायो । दुई ओटा प्रहरीको पकडमा आफूलाई पाएँ । साथीहरु कति खेर भागेछन् थाहै पाइन ।

घरमा बाबुआमाको लाडप्यारमा पुल्पुलिएको छोरोले रातभर प्रहरीको बुट र लात्तीको प्रहार खानु पर्‍यो । मेरो साथबाट बरामद भएको नशाको प्याकेटले मलाई झन् अप्ठ्यारोमा पार्‍यो । लागुऔषध अन्तर्गत कारवाही सुरू भयो । कहाँबाट, कोसँग, कसरी र कतिमा किनबेच हुन्छ भन्ने सोधपुछ हुने क्रममा मैले जीवनमा नसोचेको शारीरिक तथा मानसिक यातना सहनुपर्‍यो । मसँग सबै जानकारी लिए पछि लागुऔषध सेवनको नशा छुटाउन मलाई सुधार गृहमा पठाइयो ।

म एक वर्ष सुधार गृहमा रहेँ । यस एक वर्षको समयमा मलाई मेरो विगतको पेशा, नशाको लत र मैले बिताएको दश वर्षको समय र त्यसको वातावरण सम्झँदै घृणा लाग्न थाल्यो । मैले घर सम्झिएँ, आमाको माया, बुबाको सपना सम्झेँ । गाउँमा छुटेको साथी सम्झेँ, स्कुल, आफन्त अनि वितेको दश वर्ष सम्झेँ । भक्कानो फुटेर आयो, रोएँ, खुब रोएँ, यति रोएँ कि दश वर्ष देखि दबिएको आँसु सबै पोखेँ । मैले आफूलाई सुधार्ने अठोट गरेँ । सुधार गृहमा मैले आफ्नो शरीर बनाउन सुरू गरेँ ।

एक वर्ष सुधार गृहमा बसे पछि म त्यहाँबाट निस्किएँ । एकजना वरिष्ठ प्रहरीको सहयोगमा मैले केही समय पछि प्रहरीमा नाम निकाल्न सकेँ । बुबाको सपना सायद मलाई ईन्जिनियर वा डाक्टर बनाउने थियो होला तर समयले मलाई सिपाही बनाई दियो । केही समयमै सिपाहीको तालिम पनि सकियो । मलाई घरको सम्झनाले सताई रह्यो र चौध वर्ष पछि मैले केही दिनको लागि घर जाने निर्णय गरेँ ।

आज चौध वर्ष पछि म घर फर्कँदै छु । यतिका वर्ष पछि मलाई देख्दा आमा बुबाले चिन्नु हुन्छ कि हुन्न होला ! आमाबुबा पनि बुढो हुनु भयो होला । घर अगाडिको त्यो ठुलो आँपको बोट अझै छ कि छैन होला ! साँच्ची, त्यो मेरी चार वर्षकी सानी बहिनी त अहिले ठुली भई सकि होली ! त्यसले त झन् के चिन्छे र ! चौध वर्ष भयो घर छोडेको । म त धेरै फेरिसकेँ, चौध वर्षमा त परिवर्तन भनेको त ठुलै हुन्छ नि ! मलाई त कतिले चिन्दै चिन्दैनन् होला !

पाखामा झ्याउँकिरी कराउन थाल्यो । टाढा टाढाको घरका पिँढीमा टुकीको उज्यालो देखियो । म पनि आफ्नो घर नजिक पुगी सकेको थिएँ । केही छिन पछि नै म मेरो जन्म घरमा आमा बुबाको साथमा हुन्छु भन्ने मिठो तरङ्गले शरीरमा स्फूर्ति जगायो । पाइला छिटो छिटो चाल्न थालेँ ।

म आँगनमा पुगेँ, भित्र लालटिनीको उज्यालो थियो । सायद आमा भान्छामा हुनु हुन्थ्यो । लालटिनी लिएर बुबा बाहिर निस्किनु भयो । त्यति बुढो त देखिनु भएको रहेनछ । रात भए तापनि बुबाको आँखा लालटिनीको उज्यालोमा पनि निराशाले ढाकिएको प्रष्ट देखेँ । मलाई देखेर पिँढीमा टक्क उभिनु भयो । चिन्नु भएन, अँध्यारोले हो कि ! गएर ढोगेँ । लालटिनी उचालेर मेरो अनुहार नजिक ल्याएर केहीबेर नियाल्नु भयो । उहाँको ओठ थर्थरायो । आँखामा अविश्वासनीय हर्षका रेखा दौडिए ।

'बिनु' काँपेको अस्पष्ट स्वर निस्कियो ।

मेरो आवाज फुटेन, आँखाबाट भल फुट्यो । बुबाको आँखा त्यो अँध्यारोमा चम्कियो, खुशी र हर्षोल्लासको रेखा अनुहार भरी फैलियो ।

'बिनुकी आमा, बाहिर आइज त ।' वहाँको कम्पित स्वर निरव रात्री चिर्दै निस्कियो ।

'किन बोलाउनु भएको ?' एउटा छायाँ घरको मूल ढोकाबाट बाहिर निस्कियो । आमा चाहिँ अलि बुढो देखिनु भएछ । सायद पिर, चिन्ता अनि घरको बोझले होला ।

'हेर त को आएछ ?' बुबाको स्वरमा अझै कम्पन थियो ।

आमा नजिक आउनु भयो । बुबाले लालटिनी उचालिरहनु भएको थियो । मैले आमालाई ढोगी दिएँ । आमाले मलाई नियाल्नु भयो । कालो जुँगाले मेरो रूपमा चौध वर्ष पछि निकै भिन्नता ल्याएको थियो तर आमाबाबुलाई यस जुँगाले फेरिदिएको त्यो स्वरूपले केही फरक पार्दो रहेनछ भन्ने कुरा आमाको आँखाको चम्काईबाट थाहा पाएँ । आमाको आँखा रसायो, बरर आँसु खस्यो । मेरो आँसु पनि थामिएन । एक्कासी आमाले मलाई अँगाल्नु भयो । बुबाको आँखा पनि भरिएर आयो । आमा निकै बेर रुनु भयो, म पनि सँगै रोई रहेँ । चौध वर्षको आँसु आमाको आँचलमा पोखी दिएँ । केही बेर पछि बुबाले स्थिति सम्हाल्नु भयो । मलाई आमाले अँगालोमा नै कसेर भित्र लानु भयो । आमा भान्छामा पस्न मान्नु भएन त्यसैले बुबा र म पनि आमासँगै भान्छामा गयौँ । मैले सोचेकै थिइन बुबा आमाले मलाई यति माया गर्नु हुन्छ भन्ने । यदि थाहा भएको हुँदो हो त आज भन्दा चौध वर्ष अघि म घरबाट किन भाग्ने थिएँ र !

आमाले धेरै परिकार बनाउनु भयो । मैले यति बिघ्न कहिल्यै खाएको थिइन । आमाले थपी थपी खुवाउनु भयो र मैले पनि पुग्यो, भयो भन्न सकिन । मैले खाएको आमा बुबाले हेरी रहनु भयो रसिलो आँखाले, मेरो पनि आँखा रसाएर आयो । रातभर कुरा गरी रह्यौँ ।

'अब त बस्छस् होला नि !' आमाले सुस्तरी भन्नु भयो ।

'एक महिना जति बस्छु ।'

'अब जानु पर्दैन ।' आमाले रुन्चे स्वरले भन्नु भयो । यो आमाको माया बोल्दै थियो । बुबालाई थाहा थियो सिपाही भनेको के हो तसर्थ उहाँ केही बोल्नु भएन तर आँखाले चाहिँ आमाको कुराको समर्थन गर्दै थियो ।

'अनि बहिनी खोई ?' मैले सोधेँ ।

'मामाघर गएकी छे । भोली खबर पठाउँला, उँडेर आउँछे ।' बुबाले हाँस्दै भन्नु भयो ।

कुखुरा बास्ने बेलामा सुत्यौँ । बिउँझिदा घाम एक हात माथि आई सकेको थियो । दिन भरी गाउँलेले हाम्रो घर ढाकियो । दिन बितेको पत्तै भएन । साँझ पर्‍यो, म कोठामा छिरेँ र ओछ्यानमा पल्टिएँ । शरीर थकित भएको थियो ।

'बुबा, दाजु आउनु भएको हो ? खोई दाजु ?' मैले एउटा सुरिलो स्वर सुनेँ ।

'भित्र कोठामा छ ।' बुबाले भन्नु भयो ।

'दाजु......' बाहिरैबाट हर्षित स्वर चिच्याउँदै नजिक आउँदै गरेको सुनेँ । एउटा छाया द्रुतगतिमा ढोकाबाट भित्र छिर्दै 'दाजु' भन्दै कोठाको बिच भागमा आइपुग्यो र टक्क अडियो । म जुरुक्क उठेँ । मेरो श्वासप्रश्वास रोकियो । मुटु फुटेर रगत मुखमा आएको भान भयो । मेरो आँखा अगाडि बाघैबाघले घेरिएकी त्रसित हरिणीको आँखामा ठोक्कियो । उसले पनि मलाई हेरी, त्यही भय मिश्रित आँखाले । मैले जडवत् उसलाई हेरी रहेँ । मैले त्यहाँ उसलाई देखिन, देखेँ त केवल मृगनयनी आँखा र बाघको बिचमा घेरिएकी त्रसित हरिणी ।

भोलिपल्ट कुखुरोको डाँकसँगै म ओछ्यानबाट उठेँ । लुगाफाटा झोलामा हालेँ र बिस्तारै ढोका खोलेर आँगनमा आएँ । घरलाई फर्केर आँखा भरी हेरेँ । बिस्तारै बाटो लागेँ । चौध वर्ष पछि फेरि चौध वर्ष अघि झैँ यो घर, गाउँ, आमाबुबा र आफन्तलाई छोडेर जाँदै थिएँ । त्यति खेर जाँदा देख्ने कोही थिएन तर आज एक जोडी त्रसित आँखाले झ्यालबाट चिहाइ रहेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।