जीवनको निरन्तरता

कथा तेजराज दाहाल November 13, 2025, 6:14 am

तेजराज दाहाल
तेजराज दाहाल
पन्द्र-बीस बर्षअघिसम्म कठमाण्डौ शहरको बीचभागमा एउटा धुलो हिलोमा अव्यवस्थित पुरानो बसपार्क थियो - शहरको नक्सामा अझै पनि “पुरानो बसपार्क” भनेर चिनिने, तर पछिल्लो समय राजनैतिक खिचातानीबीच त्यहाँ बहूतले अत्याधुनिक नयाँ बसपार्क भवन बन्ने भनिएको योजना अलपत्र भई बसपार्क पनि बन्द भएको अवस्था थियो।

हिजोआज पहिले बसपार्कभित्र पस्ने सडक किनार मै बस चढ्ने र ओर्लने मान्छेहरू हतारमा आउँथे, जान्थे, भीडमा हराउँथे, र कहिल्यै कोही स्थिर रहँदैनथे। त्यही भीडको किनारमा, एउटा जीर्ण बेञ्चमा अर्जुन बस्थ्यो। हरेक क्षण ऊ मान्छेहरूलाई निहाल्थ्यो - जानेहरू, फर्कनेहरू, रुनेहरू, हाँस्नेहरू, अनि ती सबैका बीच ऊ, तर उसको आफ्नो गन्तव्य कहिल्यै तय भएन। अनुहारमा कुनै लक्ष्यको रेखा र भाव पनि थिएन, तर उसका आँखा अनगिन्ती प्रश्नले भरिएका देखिन्थे। कहिलेकाहीँ ऊ आफ्नो नोटबुकमा केहि लेख्थ्यो र दोहोर्याई तेहर्याई आफैं पढ्थ्यो, “म कुन दिशातिर जाने बस चढेर कुन ठाउँ जाँदैछु? कि म पहिले नै पुग्ने गन्तव्य पुगिसकेको छु?” यसरी हेर्दा अर्जुन त्यहाँ थियो पनि थिएन पनि। उसलाई आफु को हुँ? कहाँ जाने हुँ? केहि थाह त थिएन, भनेपछि भौतिक रूपमा अर्जुन त्यहाँ हुनु र नहुनुले के अर्थ राख्थ्यो र? अनि झन् अरू मानिसहरू जसले न अर्जुनको अहिले (बर्तमान) बुझ्दथे, न उसको बिगत नै। अर्जुन फगत एक अस्तित्व विहिन सडक-मानव बनेर सास फेरिरहेको थियो, निरर्थक जीवन बाँचिरहेको थियो।

***

अर्जुन वि.सं. २०७१ फागुन महिनामा सिन्धुपाल्चोकको मेलम्चीबजारबाट सपनाको शहर काठमाण्डौ आएको थियो। आफ्नै गाउँका चिनेका दाई गोपालको किराना पसल बागबजारमा सहयोगीको रुपमा काम गर्दै आईए र बीए रत्नराज्य क्याम्पसमा पढ्यो। त्यसपछि, वि.सं. २०७८ को शुरुमा अर्जुन स्नातकोत्तर पढ्न त्रिविवि, केन्द्रीय क्याम्पस, किर्तिपुर भर्ना भयो। काभ्रेतिरका दूईजना साथीहरूसँग ट्याँङ्गला फाँटमा डेरा गरेर बस्थ्यो। सोही वर्ष २०७८ असार १ र २ गते बर्षातपछि मेलम्ची खोलामा आएको लेदो र बाढीले मेलम्चीबजार बगाएको खवर आयो, टिभीमा अर्जुनको घर र परिवार भएको ठाउँबाट ठूलो बाढी बगेको भिडियो समाचार देखायो। अर्जुनले धेरैबेर प्रयत्न गरेर मेलम्चीमा आफन्तहरूलाई सम्पर्क गर्यो। उताबाट आफन्तहरूले दुःखको खवर सुनाए, "तिम्रो परिवारका कोहीपनि यो संसारमा रहेनन्।" अर्जुन थचक्क भुईंमा बस्यो, उसलाई भित्र कता तिखो सुईरोले रोपेको जस्तो पीडा भयो र तत्कालै उक्त पीडा हरायो। अर्जुन खित्का छाडेर हाँस्दै उठ्यो र कसैसँग केहि नबोली डेरा बसेको घरको गेटबाट बाहिर निस्कियो। यता उता हेर्यो, कता जाने निश्चित गन्तव्य नभएको जस्तो अलमल गर्यो, फेरि के सोचेर हो केहि परसम्म हिंडेर पुरानो बसपार्क जाने बसमा चड्यो। किर्तिपुर देखि रत्नपार्क जाने बसमा अरूबेला चिनेका साथीहरू, चिनेका अनुहारहरू धेरै हुन्थे, आज त उसले चिनेका जस्ता लाग्ने मानिसहरू समेत देखेन। शायद, देखेर पनि चिनेन। पुरानो बसपार्कमा ओर्ल्हियो तर त्यसपछि कहाँ जाने के गर्ने उसलाई केही याद भएन। दिन बित्यो, रात पर्यो अर्जुनले गन्तव्य पत्ता लगाउन सकेन। बसपार्कबाट बागबजारतिर छिर्ने गल्ली छेउमा यौटा बेन्चलाई आफ्नो बस्ने ठाउँ वनायो। एक दिन, दुई दिन, हप्ता दिन गर्दै अर्जुन पुरानो बसपार्कको 'रैथाने पागल' बन्यो, मागेको र कसैले दया गरेर दिएको खानेकुरा खान्थ्यो, कहिले भोकै तिर्खै दिनरात कटाउँथ्यो। कतिपटक पुलिसले चोर पाकेटमारको शंकामा लगेर थुने पनि। कहिले दुर्व्यसनी र फटाहा केटाकेटीले उसलाई अकारण पिटे। भुस्याहा कुकुरहरूले टोके कुनैदिन। तर पनि अर्जुनको अरूतिर जाने कहीं कतै जोरजाम र उपाय थिएन। जे थियो त्यही जीर्ण बेञ्च थियो। दिन प्रतिदिन उसको शारीरिक र मानसिक अवस्था खच्किंदै गयो।

एकदिन दिउँसो काम विशेषले बसपार्क आएर फर्कँदा गोपाल दाईले त्यो झुत्रो झाम्रो परेको केटालाई सामुन्नेमा देखे। शुरूमा त उनले चिनेनन् तर जब त्यो केटाले, "म भोकै छु, पैसा देऊ न दाई!" भन्यो, गोपाल दाईले अर्जुनलाई चिने। "अर्जुन! तिमी यहाँ यस्तो हालतमा?", उ केहि बोलेन र गोपाललाई चिनेको जस्तो पनि गरेन। उल्टै पछाडि फर्केर अरू कसैलाई बोलाएको हो कि भनेर हेर्यो। गोपालले कुरा बुझे। छेउको पसलेलाई त्यो केटाको बारेमा सोधे। पसलेले भने, "यो केटो असारको शुरुतिर देखि नै यतै बसपार्क छेउछाउमा बस्छ, कसैलाई केहि बिगार गरेको छैन, मागेर खान्छ। कहिले कहिं फटाहा केटाकेटीहरू र पुलिसले दुःख दिन्छन्। आफ्नो नाम, थर, घर ठेगाना केहि सम्झँदैन, पढे लेखेको मान्छे जस्तो छ। के गर्नु? बिचरा!"

गोपालले भने, "म यसलाई चिन्छु, यो अर्जुन हो, यो केटा मसँगै छ बर्ष यहिं बागबजार बसेर बीए पास भएपछि कीर्तिपुर मास्टर्स पढ्न गएको थियो। अस्ति असारको १ र २ गतेको मेलम्ची खोलाको पहिरो र बाढीले यसको सम्पुर्ण परिवार र घर बगाएपछि अर्जुन अचानक सम्पर्क बिहीन भएर हरायो। यसको आफन्त कोही छैन। अहिले यो हालतमा देख्दा मेरोपनि मन रोयो, के गर्ने होला? मसँग जान चाह्यो भने म लिएर जाने थिएँ। हेरचाह गर्दा केहि उपाय लाग्छ की?" गोपालका कुरा सुनेर पसलेले भने, "यसलाई खानेकुरा देखाएर 'यो खान दिन्छु, यस्तो काम गर' भन्यो भने गर्छ"। पसलबाट गोपालले पाउरोटी र बिस्कुट किने र अर्जुनलाई देखाएर, "यो खान दिन्छु, मसँग आइज" भनेर हात र मुखले संकेत गरेर आफु अघि लागे, नभन्दै अर्जुन गोपालको पछि लाग्यो। घरमा पुगेर गोपालले अर्जुनलाई प्लास्टिकको बोतलमा पानी पिउन दिए, उसले पानी हातको हत्केलामा खन्याएर आधासरो पोख्दै पियो। गोपालले पाउरोटी र बिस्कुट पनि दिए, हाँपझाँप गरेर यताउता हेर्दै कसैले खोसेर खाइदिन्छ कि भने जस्तो गरी खाइसक्यो। गोपालले उसलाई नाम लिएर, "अर्जुन!" भनेर बोलाए, उसले यताउता हेर्यो - कसलाई बोलाएको होला जस्तो गरेर । गोपालले हातले देखाएर तिमीलाई बोलाएको भने, उ मुस्कुरायो। गोपाललाई मनमा लाग्यो, यसलाई एकपटक मनोचिकित्सकलाई देखाइ हेर्नुपर्यो केहि उपाय लागिहाल्छ कि? उनले आफ्ना नजिकका साथी मनोचिकित्सक डा. बि.सी. थापालाई फोन गरे, डा. थापाको क्लिनिक पुतलीसडकबाट रत्नपार्कतिर पस्ने मुलबाटोको छेउमा थियो। बिरामीको अवस्था गोपालले सवै बताएपछि साँझमा डा. थापाले घरमै आएर हेरिदिने भए।

गोपालले अर्जुनलाई बिस्कुट र पाउरोटी देखाएर फकाउँदै सावुन दली दली सम्पुर्ण शरिर सरसफाई गरिदिए। आफ्नो पुराना लगाउने कपडाहरू फेर्न दिए, कपाल कैंचीले काटीदिए, यो सव गर्दा अर्जुनले बच्चाहरूको जस्तो घरी लजाएको, घरी खुशी भएको र घरी केहि थाह नपाए जस्तो व्यवहार गर्यो। उसले गोपाललाई निहालेर हेर्यो, मुस्कुरायो अनि हात समातेर आफ्नो टाउकोमा राख्यो। गोपाललाई अझ आशा पलायो, उनका आँखा आँसुले भरिए। एक मनले सोचे, "यसले संसारमा आफ्ना कोही छैनन् भन्ने फेरि थाह पायो भने कति दुःखी होला? अहिले केहि थाह नहुँदाको पीडा र थाह पाएपछिको पीडा अर्कै हुनेहोला?" तर अर्को मनले तुरुन्तै सोचे, "हैन, यस्तो जिउँदो लाशजस्तो जीवनभन्दा त जति नै पिडा भएपनि चेतनशिल भएर बाँचेको राम्रो"।

***

डा. थापाले अर्जुनलाई हेरिसकेर गोपाललाई भने, "हेर गोपाल! यो बाबु ८०-९०% ठीक हुन्छ, उसलाई शुरुमा नै भेटेको भए पूर्णरूपमा ठीक पार्न सकिने थियो। अलिक ढिला भयो, यो बिचमा उसले अरू खालको दुर्घटना र डरहरू पनि भोग्नु पर्यो होला। सडकमा बास हुँदाको पीडा र डर - दुर्व्यसनी र फटाहाहरू र पुलिसको कुटपिटबाट मर्छु भन्ने डर, खान पिउन नपाएर मर्छु भन्ने डर, रात बिरात एकान्तमा मरिने डर।" डा. थापाले गोपाललाई सोधे, "तिमी यो बाबुलाई हप्ता दश दिन राम्रोसँग हेरचाह गर्न र आश्रय दिनसक्छौ भने, म उपचार शुरु गर्छु। दुई-तीन दिनमै सुधार देखिनेछ।" गोपालले छेउमा सवै कुरा सुनिरहेकी आफ्नी श्रीमती कल्पनातिर हेरे। कल्पनाले खुशी हूँदै भनिन्, "हुन्छ, सकिन्छ! हाम्रो सानो सहयोगले उसको जीवन बन्छ भने किन नगर्ने?" डा.थापाले दैनिक बिहान र बेलुका खानुपर्ने दूई खालको ओैषधि लेखिदिएर भने, "यो हाम्रो मनोचिकित्साको भाषामा भन्ने हो भने - Dissociation ('आत्म बिच्छेद / अस्मिताको ह्रास') भएको अवस्था हो। सरल भाषामा भन्दा यो बाबुको मस्तिष्कमा समय, आफु र स्थानलाई जोडेर 'म को हुँ, अहिले कहाँ छु?' भनेर बुझ्ने बुझाउने भागमा असर परेर यस्तो भएको हो। अचानक धेरै ठूलो अप्रिय घटनाको समाचार सुन्दा वा दुर्घटनामा दिमागको त्यो भागमा चोटलाग्दा यस्तो हुनसक्छ।" गोपालले अर्जुनको बारेमा डा. थापासँग कुरा गरिसकेका थिए। तीन दिनपछि फेरि घरमै आउने सल्लाह गरेर डा. थापा निस्किए। डा. थापासँगै चोकसम्म गएर गोपालले ओैषधि किनेर ल्याए।

अर्जुनको लागि भुईतलामा सानो कोठा, जहाँ ऊ कलेज पढ्न ६ बर्ष बसेको थियो, मा बस्ने व्यवस्था भयो। बेलुकाको खाना गोपालले कोठामा आफुसँगै बसेर खान दिए, अर्जुनले हातले अफ्ठ्यारो गरी थालबाट बाहिर पोख्दै खाना खायो, हरेकक्षण उ वरिपरि कसैले केहि गरिहाल्छ कि जस्तो गरी डराएर हेर्दथ्यो। उसलाई बस्न दिएको कोठाका भित्ता, सिलिंग उसले अचम्म मान्दै नियालेर हेर्यो। गोपालले अर्जुनलाई बेलुकाको ओैषधि दिनुअघि बाथरुम जान सघाइदिए। ओैषधि खाएको एकैछिनमा अर्जुन निदायो। गोपाल पनि आज यौटा पुण्यको काम गर्न पाएकोमा दंग परेर सुत्न गए।

***

मध्यरात भएको हुँदो हो, अर्जुन निद्राबाट ब्युँझियो, झ्यालको पर्दाछेउबाट बाहिरको बत्तीको उज्यालो छिरेको थियो। त्यहि उज्यालोमा उसले कोठामा वरिपरि हेर्यो, कता कता आफुले जानी राखेको ठाउँ जस्तो लाग्यो उसलाई। खै किन हो? उसलाई उठेर हिड्न मन लागेन, हात गोडा थर्थराएको भान भएको थियो। अर्जुनले आफैलाई छामेर हेर्यो, केहि कुराहरू खोजेको जस्तो गर्यो तर फेरि डराएको भावमा ओछ्यानमा डल्लो परेर सुत्यो, उसलाई थाह भयो, सँधै सुत्ने ठाउँ होइन। यसरी नै अलिअलि निदाउँदै र ओल्टेकोल्टे फेर्दै उसले रात कटायो।

बिहान गोपाल पानी, चिया र पाउरोटी लिएर अर्जुन सुतेको कोठामा पसे। अर्जुन ब्युँझेर पनि सुतिरहेको थियो, गोपाललाई देखेर खिस्स हाँस्यो र अर्कोतिर कोल्टे फेरेर सिरकले मुख छोप्यो। गोपालले नाम लिएर बोलाए, "अर्जुन! उठ्!" उसले सिरकबाट टाउको बाहिर निकालेर हेर्यो। उसले 'मलाई नै बोलाएको रहेछ' भनेर बुझे जस्तो गर्यो। गोपाललाई धेरै बेर हेर्यो र बिस्तारै, "गोपाल दाई?" भन्यो। गोपाल झन धेरै खुशी भए। अर्जुनले चियासँग पाउरोटी खायो, गोपालले बिहानको ओेषधि खान दिए। डा. थापाले भने जस्तै गोपाल र कल्पनाले समय दिएर अर्जुनको स्याहार र हेरचाह गरे। तेस्रो दिन डा. थापा आए, अर्जुनसँग कुराकानी गरे। अर्जुनले आफुलाई एकखालको डर लागिरहने बतायो। डा. थापाले, "बिस्तारै त्यो पनि ठीक हुन्छ, धेरै चिन्ता लिनुपर्दैन", भने। गोपालसँग डा. थापाले बिरामीको अवस्थामा सोचेभन्दा छिटो र राम्रो सुधार भएको बताए। केहि असजिलो भयो भने फेरि सम्पर्क गर्नु भन्दै डा. थापा बिदा भए।

***

एकहप्ता पनि नहुँदै अर्जुनले आफु पहिला त्यहाँ गोपालदाई र भाउज्यूसँगै बसेको कुराहरू सम्पुर्ण सम्झियो, घरभित्र बाहिरका अह्राएको कामहरू पनि गर्न सक्ने भयो। एकदिन गोपालले अर्जुनलाई लिएर कीर्तिपुर गएर उसका लुगाफाटा र किताबहरू लिएर आए। बाटोमा हिड्दा, बस चढ्दा, साथीहरू भेट हुँदा अर्जुन प्राय: कम मात्रमा बोल्यो। तर ठाउँ र मानिसहरू चिन्न चैं उसलाई खास समस्या भएन। गोपालको घरकै भुईतलाका दूईसटरमा किरानापसल थियो, कल्पना ढुक्कै पसलमा बस्दथिन्। एक्लोपनको अनुभव र याद नगरेको जस्तो नहोस् भनेर अर्जुनलाई सवैतिर साथै लिएर हिड्थे गोपाल। तीन महिनापछि डा. थापासँग फलोअप भेट गरे। पहिलेको ओैषधि बन्द गरेर अर्को नयाँ ओैषधि बेलुका सुत्ने बेलामा मात्र तीन महिना खाने सल्लाह डा. थापाले दिए। "अब अर्जुन नर्मल जीवनचर्यामा फर्कन सक्छ, तर अझै केहि समय उसमा सुस्तता र आलश्यपन रहन्छ। उसले आफुलाई व्यस्त राखिरहन सक्यो भने त्यो पनि ठिक हुन्छ", डा. थापाले गोपाल र अर्जुनलाई संझाए।

एकदिन अर्जुनले गोपाललाई भन्यो, "मलाई मेलम्चीबजार पुग्न र आफ्नो गाउँठाउँ हेर्न मन लागेकोछ।" "एकदुई दिन पर्खि ल अर्जुन!, म मेलम्चीबजार जाने मेलो मिलाउँछु", गोपालले जवाफ दिए। दुईदिन पछि मेलम्चीबजारमा बस्ने गोपालका आफ्नै काकाको छोरा भाईसँग भरपर्दो साथ लगाएर अर्जुनलाई मेलम्ची पठाइदिए। ओैषधि खान नछुटाउन र छिट्टै फर्किन पनि उसलाई सम्झाए। अर्जुन मेलम्ची बस्दा गोपालका काकाको घरमा बस्ने व्यवस्था समेत उनले गरिदिएका थिए। मेलम्ची पुगेपछि अर्जुन आफ्नो घरबारी भएको ठाउँमा उभिएर धेरै बेर रोयो। पहिले घर भएको ठाउँमा अहिले ठूला ढुंगाहरू र ढिस्को भएको बगर बनेको थियो, केहिपर पानी बगिरहेको थियो। अर्जुनले आफु उभिएको ठाउँबाट हातले खोस्रिएर अलिकति माटो-बालुवा हत्केलामा लिई बगेको पानीमा बगायो। उसले हात, खुट्टा, अनुहार पानीले पखाल्यो। पानी उठाएर पुर्व फर्केर नदीमा जल अञ्जुली दियो। गोपालको काकाको घरमा फर्केर गयो, बेलुका अर्जुनले केहि खान मन गरेन। गोपालका काकाको छोराले ओैषधि खान चै संझाए। अर्जुनसँगै आएका गोपालका काकाको छोरा तीन दिनपछि काठमाण्डौ फर्कनु पर्ने थियो, तर अर्जुनले अरू दुईचार दिन मेलम्ची बस्ने मन गर्यो। गोपालका काकाले पनि, "उसलाई बस्न मन छ भने बसोस् न त! म उसको याद गरौंला", भने। अर्जुन बस्ने भयो। बिहान बेलुका घरमा मानिस हुँदा समय राम्रै बित्दथ्यो तर दिउसो सवै काममा व्यस्त हुँदा अर्जुनसँगै बसिरहने गफ गर्ने कोहि पनि नहुँदा अर्जुन पनि छरछिमेकी गाउघरमा यताउता जान्थ्यो। फुर्सद हुनासाथ आफ्नो पुरानोघर भएको बगरमा गएर सासाना ढुंगाका घर बनाउँदै भत्काउँदै गरेर समय कटाउँथ्यो। यो एकान्तपन र बिगतका सम्झनाले होला अर्जुनको अनुहारमा कहिले खुशी कहिले दुःखी भावहरु फेरिएका देखिन्थे। ऊ हरेकदिन एक्लै एकपटक त्यो पुरानो घडेरी भए ठाउँमा पुगेर समय बिताउन थाल्यो। शायद, उसका बिस्मृत यादहरू क्रमशः फर्कँदै थिए।

***

अर्जुनले आफु फेरि काठमाण्डौ जानु छ भन्ने कुरा बिर्सियो। गोपालका काका स्थानिय नेता पनि रहेछन्, उनले अर्जुनले पालिकाबाट पाउने राहतको रकम प्रक्रिया पु्र्याएर बैंकमा खाता खोलेर जम्मा गर्न लगाइदिए। अर्जुनले राहत बापत करीब दशलाख रूपैया पायो। स्थानिय बोर्डिंग स्कूलले होस्टलका बिद्यार्थीको गृहकार्य र होम ट्युसन् हेरिदिने कामका लागि बस्न र खानको व्यवस्थासहित मासिक रू. छ हजार दिने शर्तमा काम दियो अर्जुनलाई। अर्जुनले गोपाल दाईसँग यताको बेलिबिस्तार लगाएर फोनमा कुरा गर्यो, गोपाल दाई पनि खुशी भए - यौटा माटोमा पुगिसकेको मान्छेले पुनर्जिवन पाएर फेरि एक नयाँ जीवन शुरु गर्दै गरेको सुन्न पाउँदा।

अर्जुनले आफुलाई पूर्णरुपमा सम्हालिसकेको भएतापनि डा. थापाले भनेजस्तै आक्कल झुक्कल ऊ अलिक एकान्तप्रेमी भएको जस्तो लाग्दथ्यो। उसको काममा केहि समस्या थिएन, छात्र छात्राबीच एक असल शिक्षकको रुपमा छोटै समयमा चिनिएको थियो।

काममा व्यस्त हुँदा - बिहान बेलुका - अर्जुनको दिनचर्या उसलाई चाहिने जस्तै थियो। तर दिउँसोको फुर्सदिलो समय उतै पुरानोघर भएको हालको बगरमा बित्दथ्यो। त्यहाँ घण्टौं सम्म बस्दा ऊ सोच्दथ्यो - उसको अहिलेको जीवन कुनै एक घटनाले मात्र बनाएको थिएन। के बन्न भनेर कति सपना पालेर तिनलाई पछ्याउँदै आफ्नै रोजाईमा छोडेको ठाउँमा फर्केर ऊ भर्खर अंकुराउन थालेको थियो। उसलाई चिन्ता पनि लाग्छ, "गोपालदाईले उसलाई बसपार्कमा नभेटेका भए अहिलेसम्म के भईसकेको हुन्थें म? त्यसबेला म केवल बाँचिरहेको थिएँ - जसरी घडी चलिरहन्छ, आफैले बजाएको - सेकेण्ड, मिनेट, घण्टा, दिन - समयको अर्थ नबुझी पनि।" बसपार्कको जिन्दगी अहिले सम्झिंदा त्यो एक कहाली लाग्दो विपना थियो। अनि त्यो भोगाई उसको लागि भयंकर र डरलाग्दो ऐठन पार्ने सपना जस्तो थियो। तर अहिले पछि फर्केर हेर्दा उसलाई लाग्छ - बसपार्कको उसको जिन्दगीले धेरैकुरा कहिल्यै नबिर्सने गरी सिकाएर गयो। बिहानको घाम जब बसपार्कका छेउछाउमा झर्थ्यो, ऊ त्यो प्रकाशमा मान्छेका अनुहार पढ्थ्यो। कसैको आँखामा हतार, कसैकोमा डर, कसैकोमा शुन्यता। घरिघरि ऊ सोच्थ्यो, “यी सबै कहाँ जाँदैछन्? अनि किन?” फेरि, आफूतिर हेर्थ्यो, किनकी आफैसँग ती प्रश्नको जवाफ थिएन। अनि ऊ आफैभित्र प्रश्न र उत्तरमा अड्किन्थ्यो, "शायद गन्तव्य भन्ने कुरा नै भ्रम हो। जीवन भनेको कुनै ठाँउ पुग्ने यात्रा होइन, केवल मृत्युको समय प्रतीक्षा हो। प्रतीक्षा? हो, जसको कुनै अन्त्य छैन, कुनै आरम्भ पनि छैन।"

अर्जुन बगरमा बसिरहेको बेला केहिपर एउटी केटी ऊ भएतिर आइरहेकी देख्यो। बिगतको बसपार्कको जीवनबारे घोत्लिरहेको उसको सोच तत्कालै बर्तमानको बगरमा आयो। मध्यान्ह टन्टलापुर घाम लागेको थियो। ती केटी बिस्तारै छेउमा आइन्, उनका केशहरू हावाले उडाइरहेका थिए। ती केटीले अर्जुनलाई सोधिन्, “तपाईं पनि कसैको प्रतीक्षामा?”अर्जुन हल्का मुस्कायो र भन्यो “प्रतिक्षा भनेको के हो? मान्छे पर्खन्छ, र फेरि अर्को कुरा पर्खन थाल्छ। पर्खाईको अन्त्य त कहिल्यै छैन।” ती केटीले केही सोच्दै भनिन्, “त्यो त निरर्थक कुरा भयो।” अर्जुनले जवाफ दियो, “हो, हाम्रो जीवन पनि त निरर्थक छ। जीवनको अर्थ खोज्ने हामी मात्र मूर्ख हौँ।” त्यतिबेलै बगरमा तातो बतास चल्यो, अर्जुनका यी शब्दहरू वायुमण्डलमा हराए। बगरको वालुवासहितको धूलोले दुवैको अनुहार ढाक्यो। केटी उठिन्, “म त जान्छु, तपाईलाई एक्लै देखेर आएकी थिएँ, फेरि पनि आउनेछु तर कहिले हो थाह छैन।” अर्जुनले उनको पछाडिबाट भन्यो, “कहाँ पुग्नुहुन्छ? त्यहाँ पनि तपाईले खोजेको पाइनेछैन। तर जानुहोस्, फेरि आउँदा लामो गफ गर्ने गरी आउनुहोला।” ती केटी मुसुक्क हाँसिन् - थोरै उपहास, थोरै दया मिसिएको हाँसो - र अगाडि बढिन्। त्यो रात, अर्जुनले आफ्नो सानो नोटबुकमा लेख्यो, “उत्तरहरू मर्छन्, तर प्रश्नहरू सधैं बाँचिरहन्छन्।”

***

अर्जुन आफुले अन्तरक्रिया र सहकार्य गर्नेहरूसँग शत प्रतिशत विशुद्ध व्यवशायिक, सामाजिक र सन्तुलित व्यवहार गर्दथ्यो। कसैले उसको व्यक्तित्वमा असन्तुलितपन महशुस गर्दैनथ्यो। तर ऊ एक्लै हूँदा उसको सोच र ध्यान दार्शनिक जस्ता लाग्ने मानव जीवनका अत्यन्तै सुक्ष्मदेखि गहन प्रश्नहरूको उत्तर र तिनको अर्थ खोज्नतिर लगाउँथ्यो। शायद डा. थापाले उपचारका क्रममा भनेको १०-२०% पूर्ण निको नभएको मानसिक स्वास्थ्य अवस्थाको कारणले यस्तो भएको हो की वा उसको व्यक्तिगत दार्शनिकता?

अर्कोदिन बिहानको ड्यूटी सकेर खाना खाएर आराम गरेर अर्जुन नदी बगरमा गयो। खै किन हो, उसलाई भित्री मनमा ती केटी आज फेरि भेट्न आउँछिन की भन्ने लागेको थियो। धेरैबेर शुन्यतामा ऊ हराएर बस्दा पनि उनी नआएपछि उसले आफैलाई सोध्यो, "म के पर्खँदै छु? किन पर्खँदैछु?" उसले आफु बसेको ठाउँभन्दा केहिपर सेतो कागजको टुक्रा हावाले फ्यार्फ्यार पारेको देख्यो। के रहेछ भन्ने चासो राखेर त्यहाँ गएर हेर्यो - त्यसमा लेखिएको थियो, "म त यात्रामा नै छु तर तपाईले 'प्रतिक्षा के रहेछ' उत्तर पत्ता लगाउनु भयो भने मलाई भेट हुँदा भन्नुस् है।" अर्जुनलाई चिठीको यो कुराले खिज्याए जस्तो महशुस भयो, किनकी भर्खरसम्म ऊ त्यहाँ बसेर कसैको ब्यग्र प्रतिक्षा गर्दैथियो।

चिठी पढेपछि अर्जुन खोला किनारै किनार उत्तरतिर पैदल हिँड्यो। न बाटो निश्चित, न लक्ष्य। करीब दुईघण्टाको हिडाईपछि ऊ दूईनदीको दोभानमा पुग्यो। दुईमध्ये एउटा नदीको पानी धमिलो र अर्को नदीको पानी सफा थियो। दोभानमा पानी मिसिएर निरन्तर बग्दै गर्दा निकै तलसम्म दूईकिनारामा अलग रंगका पानी देखिन्थे। अर्जुनले सोच्यो, "अस्तित्वको लडाई त होला।" तर अझ तलपुग्दा सम्पुर्ण पानी धमिलो भएर बगेको देखिन्थ्यो।

दोभानमा नजिकै एउटा सानो मन्दिर थियो - भगवानको मूर्ति धूलोले ढाकिएको। अर्जुन मन्दिरमा पस्यो, मूर्तिलाई नियालेर हेर्यो। पलेंटी मारेर बसेका महादेवको मानव आकृतिको मूर्ति थियो। मूर्तिलाई हेरेर अर्जुनले भन्यो, “भगवान! हजुर पनि कसैलाई पर्खदै हुनुहुन्छ? कि हजुरलाई पर्खनुको आवश्यकता छैन, अब?” भगवान, मानवकृत पत्थरका मुर्ति, को कुनै प्रतिक्रिया आएन। उसले सोच्यो, "भगवान मौनव्रतमा हुनुहुँदो रहेछ"।

दिन ढल्कँदै थियो, बेलुकाको ट्यूसन पढाउन होस्टल पुग्नु थियो। अर्जुन हतार गरेर फर्क्यो। अर्जुनको मनस्थिति एकैछिन अघिको भन्दा पूरै फरक - समयको ख्याल, कामको प्रतिको जिम्मेवारी। ऊ समय अगावै होस्टल गेटमा पुग्यो।

अचम्म भयो, अर्जुनसँग बगरमा भेट भएको केटी गेटभित्रबाट निस्कँदै थिइन्। उनले त्यहि बोर्डिंग स्कूलको शिक्षिकाको ड्रेस लगाएकी थिइन्। काँधमा लेडीज ब्याग बोकेकी, हातमा मोबाइल लिएकी र हल्का मेकअप गरेको अनुहार - उनी समग्रतामा सुन्दर देखिएकी थिइन्। अर्जुनले अचम्म मानेर उनलाई हेर्यो, अर्जुनले केही भन्न नपाई उनले भनिन्, "प्रतिक्षाको अर्थ भेट्टाउनु भयो?" अर्जुनले मसिनो स्वरमा भन्यो, "खोज्दैछु।" फेरि उनले भनिन्, "म गोपालदाईको काकाकी छोरी हूँ, पहिले तपाई आउँदा बसेको घर मेरो ठूलोबुबाको घर हो। मलाई गोपालदाईले तपाईको बारेमा सवै कुरा भन्नुभएको छ। बरु, अब छिट्टै 'प्रतिक्षा'को अर्थ खोजेर राख्नुहोला, आज बिहीबार भयो, म अस्ति भेटेको समय र ठाउँमा तपाईलाई भेट्न पर्सि शनीबार आउनेछु।"

उनीहरू त्यहाँबाट छुटे, अर्जुन होस्टलतिर लाग्यो, ती केटी पनि आफ्नो घरजाने बाटोतिर लागिन्। राति अर्जुन धेरैबेर निदाउँन सकेन, ओल्टेकोल्टे फर्केर कहिले शनिबार होला जस्तो गर्दै रह्यो। "भेटमा के कुरा गर्ने होला? किन भेट्न खोजेको होला?", यस्तै सोच्दा सोच्दै अर्जुन निदायो। भोलिपल्ट गोपालदाईलाई फोन गरेर उसले ती केटीको बारेमा सोध्यो। गोपालले आफुले सानैमा उनलाई देखेको तर ठूलो भएपछि भेट नभएको र नदेखेको बताए।

***

शनिवार अर्जुन मध्यान्हभन्दा केहिसमय अघि नै बगरमा पुगेको थियो। उसले आजपनि साना ढुंगाहरू जोडेर यौटा घर बनायो, त्यो घरको बाहिर दूईवटा अलिक ठूला चेप्टा ढुंगा खोजेर दुईजना अलग अलग बस्न मिल्ने बनायो। मध्यान्हपछि ती केटी अर्जुनलाई भेट्न आइन्। उनी परैबाट नमस्ते गर्दै छेउमा पुगेपछि अर्जुनले आफुले तयार पारेको ढूंगा देखाउँदै, "बस्नुस्" भन्यो। उनी मुस्काउँदै बसिन्, "आज धेरैबेर यहाँ राख्ने बिचार हो कि क्या हो? घर पनि बनेछ, अनि बस्ने सजिला ढुंगा पनि छँदैछन्।" अर्जुनले अलिक लजाएको स्वरमा भन्यो "हो, धेरैबेर बसाउने मन छ तर मलाई किन र के कुरा गर्ने हो केहि थाह छैन।" "एजेण्डा राखेर पनि गफ हुन्छ र? मलाई त बिना एजेण्डाको भेटघाट मनपर्छ", उनले भनिन्। "मैले हिजोअस्ति को भेटमा नाम भनेको थिइन, मेरो नाम सरिता हो। मलाई सवैले सरू भनेर बोलाउँछन्, तिमी पनि मलाई सरू भन्न सक्छौ" उनले थपिन्। "हस्" अर्जुनले भन्यो। वास्तवमा उनीहरू बीच कुराकानी थाल्न न कुनै विषय थियो, न कुनै प्रसंग थियो।

सरूले कुरो कोट्याइन्, "अनि प्रतिक्षाको अर्थ पत्ता लगायौ त?" अस्ति बोर्डिंगको गेटमा भेट भएदेखि आजसम्मको बिना अर्थको पर्खाइलाई अर्जुनले प्रतिक्षा नाम दियो। उसले भन्यो, “छैन! तर मेरो भोगाईमा, यदि मानिसलाई प्रतिक्षाको अर्थ नै अर्थहीन लाग्छ भने, त्यसको अर्थ खोज्नुको अर्थ के रहन्छ?” अर्जुनले सरूलाई उल्टै त्यहि प्रश्न सोध्यो, सरूले, "मलाई पनि थाह छैन" भनिन्। "भै गो! अब यो कुरा यहिं छोडौं", सरूले प्रसंग बद्लिन्।

"तिमीलाई फोटोहरू मन पर्छ? मसँग यो ठाउँको पुराना फोटाहरू छन्, हेर्ने हो?" सरूले आफुसँग भएका ३-४ वटा फोटोहरू देखाइन्, असारको पहिरो र बाढीले मेलम्चीबजार बगाउनु अघि खिचेका फोटा थिए। ती मध्ये एउटा फोटो अर्जुनको घर र परिवारको थियो। अर्जुनले त्यो फोटो आफ्नो हातमा लियो र टोल्हाउन थाल्यो। सरूले सोधिन्, "अरू फोटा मन परेनन्?" अर्जुनको जवाफ थियो, "मेरो घर र परिवार मैले चिने, मलाई प्यारो भयो। अरू म चिन्दिन सरू। मन त पर्थ्यो होला तर नचिनेको भएर मैले मन पराउनु नपराउनुको खासै अर्थ भएन।" सरूले यौटा अर्को फोटो देखाउँदै भनिन्, "यो मेरा बुवा, आमा, भाई र बहिनीको फोटो हो, यो हाम्रो घर थियो, सवै पुरियो बग्यो, त्यो ठाउँ पनि यतै कतै थियो। असार २ गते देखि म पनि तिमीजस्तै यो संसारमा एक्लो भएँ" अर्जुनले अचम्म मानेर सरूलाई हेर्यो। तर केही बोलेन। सरू भन्दै गइन, "हेर अर्जुन! सवै मानिस कहाँ भाग्यमानी हुन्छन्? तिमी र म धेरै भाग्यमानी! सवै गुमाएर पनि हामी ज्यूँदै त छौं, बाँचेका त छौं अनि गोपाल दाई र डा. थापाको साथ त हामीसँग छ।" अर्जुनले सहमतिको संकेत टाउको हल्लायो।

फेरि सरूले यौटा चित्र अर्जुनलाई देखाइन जसमा यौटा रूखबाट भूईंमा झरेको बिऊ उम्रिएर सानो बिरूवा हुँदै ठूलो रूख बनेर फल लागेको र फेरि बिऊ तयार भएको चक्रलाई चित्रमा उतारिएको थियो। अर्जुनले उक्त चित्रलाई सिकारू विद्यार्थीले जसरी राम्ररी दोहोर्याई तेहर्याई हेर्यो, केहि अर्थ लगाए जस्तो गरी मुस्कुरायो। सरूले यसबारेमा केहि भनिनन्।

सरूले कुराको प्रसंग बद्लिंदै अर्जुनलाई सोधिन्, "तिमी किन सँधै यो बगरमा यहि ठाउँमा आउँछौ?" अर्जुनले भन्यो, "किनकी यो ठाउँमा मेरो सर्वस्व गुमेको छ। आफ्नै पीडा भुल्न म यहाँ आउँछु।" सरूले फेरि भनिन्, "फोटोहरूमा देख्यौ त! पीडा र दुःख परेका हामी कति धेरै छौं, तिमी एक्लै मात्र होइनौ।" अर्जुन केहि दृढ स्वरमा बोल्यो, "मैले तिम्रो कुरा बुझें, तर म एक्लै अझै पनि के गर्न सक्छु र जस्तो लाग्छ।" सरूले बिऊको जीवनचक्रको कुरा सम्झाइन्। अनि अर्जुनलाई अझ उत्प्रेरित गर्न प्रश्न सोधिन्, "तिमी एक्लै छु भन्छौ तर एक्लै छैनौ, तिमी भित्र प्रश्नहरू छन् तिमी उत्तर खोज्दैछौ। तिमीले खोजेका उत्तरहरूमा म छु, गोपालदाई हुनुहुन्छ, डा.थापा हुनुहुन्छ अनि हाम्रो समाज छ। तिमीले देख्नुमात्र पर्यो!"

त्यसैबेला नजिकै गोपालदाई र डा. थापा हात हल्लाउँदै सरू र अर्जुन भएतिर आउँदै गरेको देखियो। दुवैजना उठेर नमस्कार गरे। यौटा खुशीको माहौल बन्यो। डा. थापाले हाँस्दै सरूलाई सोधे, "सरू! अनि अर्जुनको पाठ कहाँ पुग्यो?" "पाठ तीन! डा. साहव", सरूले भनिन्। अर्जुन अलमल पर्दै थियो, ऊ केहि बोल्न नपाई डा. थापाले सोधे, "अर्जुन! तिमीलाई कुन पाठ सवभन्दा मन पर्यो?" अर्जुनले भन्यो, "बिऊको जीवनचक्र! मेरो बिचारमा जीवनको अर्थ त्यहि हो - निरन्तरता।"

गोपाल अहिलेसम्म बोलेका थिएनन्, उनले भने, "यो मेरी बहिनी सरू हो, उसले व्यवस्थापन विषयमा मास्टर्स गरेकी छ, उसका पनि घरपरिवार कोही हुनुहुन्न, अर्जुनकै जस्तो कहानी हो। अहिले आएर डा. थापाको कुशल उपचार र तिमीहरूको आफ्नो आत्मबलले दुवैले उस्तै र यौटै डरलाग्दो मानसिक आघात र त्यसको असरलाई जित्न सक्यौ। सवैजना यस्ता बिरामीको उपचार सम्भव भएपनि समयमा सही ठाउँमा पुग्न नसक्दा र हेरचाह नपुग्दा सवै बिरामी तिमीहरू जस्तो भाग्यमानी हुन्नन्। फेरि जब तिमीहरू बिऊको जीवनचक्र-लाई बुझ्न सक्नेभयौ, तिमीहरू १००% पुर्ण स्वस्थ्य भयौ।" डा. थापाले थपे, "अब तिमीहरू एकअर्काका जीवन साथी बनेर बस, हामी तिमीहरूका अभिभावक बनेर सँधै साथ हुनेछौं।" सरू र अर्जुनका आँखा भरिए। गोपालले हाँस्दै भने, "अब यी आँसुलाई खुशीको आँसु बनाउँ, शुभ काममा ढीलो नगरौं"। सरू र अर्जुनले पनि "हुन्छ" को संकेतमा टाउको हल्लाए।

***

भोलिपल्ट बिहान मेलम्ची नयाँबजारको बीचमा रहेको शिवालयमा सरू र अर्जुनको विधिवत जोडी बाँधियो, डा. थापा र गोपालदाईले उपस्थित सबैका अगाडि उनीहरूका अभिभावक बन्ने घोषणा गरे। मेलम्चीबजारबाट केहि पश्चिम दिशामा १०-१५ मिनटको दूरीमा रहेको गोपालदाईको घरमा अर्जुन र सरूको बस्ने व्यवस्था गरेको कुरा गोपालदाईले समाजलाई जानकारी गराए। अर्जुन र सरूले अहिलेको काम - बोर्डिंग स्कूलको शिक्षक र शिक्षिकाको कामलाई निरन्तरता दिने घोषणा गरे। अर्जुन र सरूको नयाँ जीवनको शुरूवात भएकोमा सवै खुशी भए। मन्दिरको घण्टी बज्यो, सहभागी सवैले सरू र अर्जुनलाई नयाँ शुरुवातको लागि बधाई र शुभकामना दिए! सवैले खुशीको ताली बजाए। सवैभन्दा खुशी गोपाल दाई र डा. थापा देखिएका थिए। अर्जुन र सरूको अनुहारमा केही लाज र धेरै खुशीको भाव देखिएको थियो।

अन्तीममा शिवालयका पूजारीले अर्जुन र सरूलाई भने, "हेर अर्जुन! हेर सरू! तिमीहरूले मलाई धेरैदिनदेखि छुट्टाछुट्टै भेट्दा 'प्रतिक्षा'को अर्थ सोध्थ्यौ। 'प्रतिक्षा'को साँचो अर्थ निरन्तरताको खोजी हो - जीवनको निरन्तरता!"

कोटेश्वर, काठमाण्डौ, हाल - ब्रिसवेन, अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।