भन्नोस् न हजुर कता जाउँ ?

कविता गायत्री लम्साल November 16, 2025, 5:56 am

गायत्री लम्साल
गायत्री लम्साल
(हाँस्यव्यङ्ग्य कविता)

मङ्सिर लागिसक्यो,

धान काट्न जाउँ कि

रुख काट्न जाउँ ?

घाम ताप्न जाउँ कि

आगो ताप्न जाउँ ?

आँखाको इशाराले

बोलाएकै छन्

चिया—कफिको चुस्किमा

फकाएकै छन् ।

भन्नोस् न हजुर कता जाउँ ?

विहेको लगन पनि छ रे

घण्टी बजाउँ कि पञ्चेबाजा ?

सित्तैमा पाएदेखि

जे—पनि दिन्छु भन्छन् ।

केही चाहिँदैन तेरो

मात्र इमान लिन्छु भन्छन् ।

ए तिर जाउँ कि

जेड तिर जाउँ ?

नयाँले हात तान्छन्

पूरानाले खुट्टा तान्छन् ।

विचकाले शरीर तान्छन्

मिडियाले मष्तिस्क खान्छन् ।।

भन्नोस् न हजुर कता जाउँ ?

अहिले सम्म अँ हँ

निशुल्क अवसर आएकै छैन

सित्तैमा कुनै टिकट पाएकै छैन ।

वसन्त नआउँदै घरजम गर्नुछ

त्यसैको लागि अहिले

सुटुक्क कतै जानुछ ।।

धेरैले चूलो निम्तो पठाएका छन्

चियोचर्चो गर्नलाई

सि.आई.डी खटाएका छन् ।

मामातिर जाउँ कि

आमातिर जाउँ ?

जोईसँग जाउँ कि

पोइसँग जाउँ ?

चौबिसै घण्टा निम्तो आउँछ

आफूलाई भने अचम्म लाउँछ ।

हँसिया तिर जाउँ कि

तारा तिर जाउँ ?

मादल बजाउनु कि

लौरो समाउनु ?

फुल खाएर गाई पाल्नु कि

गाई पालेर फुल खाउँ ?

ए हजुर भन्नोस् न ढुक्कले

अब कता जाउँ ?????

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।