सोच

लघुकथा ईश्वर पोखरेल November 18, 2025, 4:30 pm

ईश्वर पोखरेल
ईश्वर पोखरेल
दुइटी छोरी थिए पहिले । र, सौरभीको यो तेस्रो गर्भ ।

यसपटक जटिल थियो– सौरभीको प्रसूति ।

प्रणयले नै ल्याएको थियो– सौरभीलाई अस्पताल । र, पछि घरका अरु आएका थिए ।

अहिले सबै बाहिर छन्; र, सौरभी अप्रेसन कक्षमा ।

नर्सले गेटबाट मुन्टो निकालेर निस्सासिएको स्वरमा भनी “आमा र शिशुमध्ये एउटा गुमाउनु पर्ने अवस्था देखा पर्यो ।"

सबैले मुखामुख गरे ।

प्रणय नर्सको नजिकै पुग्यो ।

र, नर्सलाई प्रणयले मसिनो स्वरमा सोध्यो– “शिशु छोरा हो कि छोरी?"

मुखभरिको थुक नर्सले बलैले घुटुक्क निली र गेटभित्र पसी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।