तिमी मेरो साथी हौ

कविता डा. बच्चु कैलाश कैनी November 18, 2025, 4:32 pm

डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी
मेरो माया, प्रेम र बिछोडको साक्षी

पास र फेलको सहयात्री

कहिले नडग्ने

मेरो इतिहास रच्ने

वर्तमान देख्ने

भविष्यको बारेमा सोच्ने

मनको कुरा

जस्ताको त्यस्तै लेख्ने

मेरो सुख दु:खमा सँगै रहने

कलम तिमी मेरो साथी हौ ।

मेरी 'उनी' लाई मैले सम्झंदा

कलम तिमी मलाई साथ दिन्छौ

मैले केही कुरा भन्नु पर्दा

मेरा भावनाहरु

जस्ताको त्यस्तै

ब्यक्त्त गरी दिन्छौ

उनी समक्ष

मेरा मनका कुराहरु पुर्याई दिन्छौ

मेरो र मेरो 'उनी' बीच

कलम तिमी पुल बनि दिन्छौं।

मेरो हातमा ठक्क अडिएर

मैले सोचेका

मेरा मनका कुराहरु

तिमी लेख्छौ

मेरा भावनाहरुलाई

दुरुस्त अभिब्यक्त्त गर्ने

हरदम साधन बन्यौ कलम तिमी।

मेरो छातीमा सान सँग उभिने

कलम तिमी मेरो गहना हौ

म जहाँ गए पनि

सँधै सँगै रहने तिमी मेरो मित्र हौ

जीवनको हरेक रंगमा

रंग भर्ने

मेरा लागि र सबैका लागि

तिमी एक कलाकार हौ।

मेरो आँसु बग्दा

बियोगका पिडा पोख्ने

म खुसी रहँदा

हाँसोको बिम्ब उतार्ने

तिमी मेरो सुख र दु:खको साथी हौ

हो कलम पक्का तिमी मेरो

भरपर्दो र दिगो साथी हौ

कलम तिमी मेरो संधैको साथी हौ।

डार्टफोर्ड, बेलायत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।