विसंगतिमाथि प्रहारको दस्तावेज : अन्त्यारम्भ

कृति/समीक्षा अनुप ‘विज्ञप्ति’ November 25, 2025, 5:35 pm

डा. टीकाराम पोखरेलको दोस्रो कथासङ्ग्रह अन्त्यारम्भ (२०८२) सार्वजनिक भएको छ । सरसर्ती पढ्दा यो पुस्तक जीवनका वहुपक्षीय अनुभूति, मानवीय जटिलता र समाजका तहतहमा छोपिएका यथार्थहरूको सूक्ष्म अन्वेषण हो । पद, प्रतिष्ठा, धन र दौडधुपमा हराउँदै गएको आधुनिक मानिसको अस्तित्वगत प्रश्नहरूका बिच कथाकारले मान्छेको मूल पहिचान, उसको संवेदना, पीडा, चाहना र विसङ्गतिलाई कथाको केन्द्र बनाएका छन् । २१ कथाहरुको यो सङ्ग्रहका कथाहरु जीवनदर्शन, राजनीति, लैङ्गिकता, मानव अधिकार, सामाजिक मनोविज्ञान र सामाजिक चेतनाको परिचायक बनेका छन् ।

समकालीन नेपाली कथालेखनको परिवेश केवल मनोरञ्जनको साधन मात्र नरही समाज, राजनीति, मनोविज्ञान र मानवीय अस्तित्वको बहसको माध्यम बन्न खोजेको छ । यही परिवर्तनशील साहित्यिक प्रवाहमा डा. टीकाराम पोखरेलको अन्त्यारम्भ कथासङ्ग्रह देखिन्छ । वास्तविक जीवनका दुरुह जटिलता, मान्छेको अन्तर्मन, सामाजिक विसङ्गति र राज्य–नागरिक सम्बन्धका विडम्बनाहरु आत्मपरक शैलीमा कथामा अभिव्यक्त भएका देखिन्छन् ।

सङ्ग्रहका कथाहरूमा यथार्थका विविध पक्ष छन् । कहीँ जीवनका अन्तरद्वन्द्व, कहीँ प्रेम–यौनको जटिलता, कहीँ दिग्भ्रमित राजनीति, कहीँ अधिकारविहीन मानिसको मौन पीडा कथाहरुमा प्रष्फुटित भएका छन् । हरेमुरारे, गाउँ हराएको सूचना, भूतपूर्व प्रेमिका, वर्गशत्रु, अधिकार हराएको चित्र, नजन्मेकी वीराङ्गना लगायतका कथाहरूले नेपाली समाजको गिर्दो अवस्थाको चित्रण गर्दछन् ।

सङ्ग्रहमा सङ्कलित लिलामीमा प्रेम, कामोद्यान, चरित्रहीन जस्ता कथाहरूले आधुनिक समाजभित्र प्रेममा आएको विचलनलाई तार्किक रूपमा विश्लेषण गर्छन् । आजको प्रेम किन प्रदर्शनमा सीमित हुँदैछ, यौन किन व्यापारीकरणतर्फ धकेलिँदैछ भन्ने प्रश्नहरू कथाकारले तेस्र्याएका छन् । ‘यौनमा प्रेम छ कि छैन भन्ने प्रश्न पनि वाहियात हो’ (कथा ः कामोद्यान) जस्ता कथनहरूले कथाकारको दार्शनिक चेतना, सामाजिक अवलोकन र मनोवैज्ञानिक दृष्टिकोणलाई एकैसाथ प्रतिबिम्बित गर्छन् । ‘लिलामीमा प्रेम’ र ‘कामोद्यान’ यौन–मनोविज्ञानका सशक्त कथा हुन्, जहाँ प्रेम, वासना र नैतिकताको सीमाना धुमिल बन्छ । सङ्ग्रहभित्रका कथाहरुमा प्रेम केवल भावनात्मक अनुभूति मात्रै होइन, मनोवैज्ञानिक द्वन्द्व पनि हो भन्न खोजिएको छ । कथाभित्रका पात्रहरु प्रेममा होस् वा यौनमा, उनीहरू सधैँ सिधासादा छैनन्, बरु उनीहरू संशयग्रस्त, अपूर्ण र कहिलेकाहीँ अपराधबोधले भरिपूर्ण छन् ।

कथाकार पोखरेल समाजको सतहमा मात्र होइन, भित्री संरचनामा छिरेर कथा लेख्छन् । ‘अधिकार हराएको चित्र’, ‘जनताको पार्टी’, ‘वर्गशत्रु’ जस्ता कथाहरूले राजनीतिक छद्मभेष, मानव अधिकारको व्यापारिकता, अनि राज्यका नाममा भइरहेको स्रोत र साधनको दोहनलाई कलात्मक तर कटु ढङ्गले प्रस्तुत गरेका छन् । कथाकार भन्छन्– ‘बालकको नाममा सबैले जिते, मात्र बालकले हा¥यो ।’ (कथा : अधिकार हराएको चित्र) यसप्रकारका कथनले जतिसुकै पैसा बगाए पनि देशको मानव अधिकारको अवस्थामा सुधार नआएकोे भन्दै दयनीय मानव अधिकारको अवस्थाको चित्रण गर्दछन् ।

कथासङ्ग्रह ‘नजन्मेकी वीराङ्गना’, ‘मातृत्व भोक’, ‘चरित्र(हीन)’ भगवान् जस्ता कथाहरूले नेपाली समाजमा विद्यमान महिला जीवनका अदृश्य पीडा, सामाजिक दमन, लैङ्गिक पूर्वाग्रह, लैङ्गिक विभेद, स्त्री शरीरमाथिको उपभोग र मातृत्वको दारुण यथार्थलाई उजागर गर्छन् । कथाहरुमा महिला पात्रहरुको भोगाई, आक्रोश र पीडामा सहानुभूति प्रकट गरिएको छ । भ्रुणहत्या, यौन–व्यापारीकरण, सामाजिक हिंसा र मानसिक यातनाजस्ता विषयवस्तुको उठान गरी यसमा सुधार हुन नसकेकोमा कथाकारले असन्तुष्टि पोखेका छन् ।

विषयको विविधता रहेका कथाहरुमा राजनीतिक विकृति र विसङ्गतिमाथि चोटिलो प्रहार गरिएको छ । जनताको पार्टी, वर्गशत्रु, अधिकार हराएको चित्र जस्ता कथाहरूले देशको राजनीतिक विघटन, नेताहरूको दम्भ र प्रभावहीन संस्थाहरूको वास्तविकता प्रस्ट्याउँछन् । कथाहरुमा सामाजिक राजनीतिक विषय मात्र छैनन्, कतिपय कथाहरुमा लेखकका व्यक्तिगत भोगाइहरूका छायाँ पनि भेटिन्छन् । विशेषगरी ‘भकुण्डो जिन्दगी’ र ‘अन्त्यारम्भ’ जस्ता कथामा लेखकका आत्मिक अनुभूति छन् । तर यी आत्मकथा भने होइनन्, बरु आत्मानुभूतिको प्रकटीकरण बनेर आएका छन् । ‘जिन्दगी एक भकुण्डो’ वा अन्त्यारम्भ जस्ता कथाहरूमा मान्छेलाई नियतिको कठघरामा राखेर आधुनिक मानवको अस्तित्वको अनिश्चितता देखाइएको छ । सम्पूर्ण कथाहरुको केन्द्रबिन्दु मान्छेका पीडा, असन्तोष, अपूर्णता र विवशता देखिन्छ । पोखरेलका कथाहरूले पाठकलाई चुप बस्न दिँदैनन् । पढिसकेपछि कथा त सकिन्छ, तर पाठकभित्र खुल्दुली सुरु हुन्छ– आखिर जिन्दगी के हो त ? यो कथाकारको सिर्जनात्मक शक्ति हो ।

अन्त्यारम्भ कथासङ्ग्रहका कथाहरुमा कथाकारले कतै कथामार्फत जीवन बोलेका छन्, कतै जीवनमार्फत कथा बुनेका छन् । जुन कोणबाट बोलेका भए पनि समग्रमा समाज बोलेका छन् । यो कथासङ्ग्रह समाजको समसामयिक दस्तावेज, मानवीय संवेदनाको दर्पण, राजनीतिक–सामाजिक बेमेलको आलोचना र आधुनिक मान्छेका मनोवैज्ञानिक गहिराइमा गरिएको प्रवेश हो । मानव जीवनका पीडा, असन्तुष्टि, प्रेम, यौन, राजनीति, अधिकार र अस्तित्वका विषयलाई यथार्थ र शिल्पगत संयोजन गर्न कथाकार सफल भएका छन् ।

भाषिक एवम शैलीका दृष्टिले कथाहरु जनजीवनका शब्द, बोलीचालीको भाषा, सटिक व्यङ्ग्य र दार्शनिक अन्तर्दृष्टिले लेपिएका छन् । परम्परागत कथात्मक ढाँचालाई नछोडीकन नयाँ प्रस्तुतिको खोजी गरेको देखिन्छ । यही प्रयोगशीलता कथाकारको विशेष चिनारी बन्न पुगेको छ । कथामा प्रयुक्त बिम्बहरूले कथामा दृश्यात्मकता मात्र होइन, मानसिक प्रभाव पनि सिर्जना गरेका छन् । कथाहरू न लामा छन् न अत्यधिक छोटा । उनीहरू ठीक त्यति नै छन्, जति पढेर पाठकलाई ‘अझ केही सोचौँ’ जस्तो अनुभूति हुन्छ ।

अन्त्यारम्भ कथासङ्ग्रहले नेपाली कथासाहित्यमा नयाँ आवाज, नयाँ दृष्टि र विषयगत परिपक्वताको पहिचान स्थापित गरेको देखिन्छ । साहित्यिक मूल्य, विषयगत विविधता, भाषिक कौशल, सामाजिक प्रतिबद्धता र सैद्धान्तिक गहिराइ सबै दृष्टिले अन्त्यारम्भ गुणात्मक रूपमा समृद्ध कृति हो । यदि कुनै सिर्जनात्मक कृतिले पाठकलाई नयाँ ढङ्गले सोच्न बाध्य पार्न सक्छ भने त्यो सफल कृति हो । अन्त्यारम्भका कथाहरुले केवल घटना वर्णन मात्र गर्दैनन्, उनीहरूले समाजलाई, पाठकलाई र कहिलेकाहीँ स्वयम् लेखकलाई पनि प्रश्न सोध्छन् र कहिलेकाहीँ उत्तर दिन्छन् ।

अन्त्यारम्भ मानव पीडा, आक्रोश र जीवन–दर्शनको केन्द्रबिन्दु हो । सङ्ग्रहका धेरै कथाले मानिसको जीवनमा नियतिको पकड र समाजको कठोर स्वरूप उजागर गर्छन् । अन्त्यारम्भ जीवनका क्षणहरूको लेखाजोखा हो । कथाकारले समाजको वास्तविक नक्सालाई कुनै आवरण वा अलङ्कारले नछोपीकन सिधै प्रष्ट्याएका छन् । उनका कथाका पात्रहरू कुनै मिथकीय व्यक्ति होइनन्, बरु उनीहरू हाम्रै वरिपरि सडक, गल्ली, चोक र महलमा भेटिने मान्छेहरू हन् ।

कथाहरू न अति जटिल छन्, न अति सरल छन् । प्रत्येक वाक्यमा अर्थको घनत्व छ, चिन्तनको गहिराइ छ । ती एक बसाइमै पढिसकिने भए पनि भाव, विचार र प्रतीकात्मक अर्थले पाठकलाई लामो समयसम्म पछ्याइरहन्छन्

कृतिको शीर्षक अन्त्यारम्भ नै जीवनको द्वन्द्वात्मक प्रकृतिको प्रतीक हो, जसमा अन्त्यभित्रै आरम्भ र आरम्भभित्रै अन्त्यको बीउ लुकेको हुन्छ भन्ने दार्शनिक दृष्टिकोण पाइन्छ । प्रत्येक कथाले पाठकलाई जीवनको चक्रबोध गराउँछन् । नेपाली कथाको फाँटमा अन्त्यारम्भ सफल, प्रभावकारी र समयसापेक्ष भएर उभिनेछ भन्ने आसा मात्र होइन विश्वास गर्न सकिन्छ ।

कथाकार : डा. टीकाराम पोखरेल

कृति : अन्त्यारम्भ

विधा : कथासङ्ग्रह

प्रकाशक : सुन्दर स्वदेश पब्लिकेशन, काठमाडौँ

मल्य : रु. ४००

प्रकाशन : २०८२

पृष्ठ : १६२

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।