तिमीलाई सजिलै छ भने यता पनि ठिकै छ; सर्मिला!

कविता ईश्वर पोखरेल December 4, 2025, 10:48 am

ईश्वर पोखरेल
ईश्वर पोखरेल
छोरी ज्वाइँ दुबैजना काममा गएपछि

'के गरौं; कसो गरौं’ थुप्रिदो हो तिम्रा अगाडि

न बात मार्ने मान्छे

न कपाल कोरी दिने बहिनी

न नङ्पालिस लगाई दिने नानी

न दुखेसो सुनिदिने आफन्त

अब त छोरी ज्वाइँले सुन्नु नहुने

र, हामी दुईका बीचमा मात्र हुनसक्ने कुराको पनि

खात लाग्यो होला

तिमीलाई सजिलै छ भने यता पनि ठिकै छ; सर्मिला!

बिहान पसलबाट दूध ल्याउने बानी

तिमीले नै पारिदिएकी हौ

दूध तताउने पनि बानी पारिदिएकी भए हुन्थ्यो

दूध ल्याउन सम्झिन्छु

दूध तताउने कुरा ख्यालमा आउँदोरहेनछ

धेरैपटक दूध फाटी सक्यो

तर दूध सधैं ल्याउँछु

नलिईकन घर आएँ भने

'गर्नै पर्ने एउटा काम आज गरिएन’ जस्तो लाग्छ

त्यो काम बिस्तारै बिर्सिदै जाने पो हुँ कि जस्तो लाग्छ ।

ल्याएको दूध

कहिले तताउँछु,

कहिले फाट्छ र मिल्काउँछु

तिमीलाई सजिलै छ भने यता पनि ठिकै छ; सर्मिला!

टिसर्ट र पैन्ट लगाएको फोटो पोस्ट गरेकी रहिछ्यौ

न्युरोडमा दिनभर ट्राई गरेर बेलुका रित्तै फर्किएको सम्झिएँ

टिसर्ट र पैन्टका लागि तिमीलाई न्युरोड पुर्‍याउन मलाई कम्ती गाह्रो परेको थिएन

तैपनि टिसर्ट र पैन्टमा घर फर्काउन मेरो केही लागेन

त्यहाँ लगाइछ्यौ

लगाएर फोटै खिचिछ्यौ

खिचेको फोटो फेसबुकमा पोस्ट नै गरिछ्यौ

यी सबै हुन पनि त्यहीँ छोरी-ज्वाइँनेरै पुग्नु रहेछ

तिमीलाई सजिलै छ भने यता पनि ठिकै छ, सर्मिला!

सुत्छु–

निद्र आउँदैन

कुरा आउँछन्

कुरामै आँकुरा पलाउँछन्

कहिले कुराले निदाउन दिदैंनन्

कहिले मुसाले निदाउन दिदैंनन्

यिनै बीच खोई कतिखेर झकाउँछु

हिजो झकाएकै बेला आएछ- तिम्रो कल

त्यता जाने मान्छे र यता घर कुर्ने मान्छे

दुबै संगसंगै बुढा हुन्छन्;

तर त्यसो भन्दैमा

त्यता र यता

दिन र रात

संगसंगै हिड्दैनन् नि; लाटी!

तिमीलाई सजिलै छ भने यता पनि ठिकै छ; सर्मिला!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।