नेपालको नेपाली भाषामा बढ्दो उर्दू मोह

विचार नवीन पौड्याल December 5, 2025, 7:45 am

नवीन पौड्याल
नवीन पौड्याल
नेपालको नेपाली भाषामा उर्दूको प्रभाव बढ्दो देखिन्छ। त्यहाँका पत्र पत्रिका साहित्यिक पुस्तक आदिमा उर्दूका शब्दहरूको प्रयोगाधिक्य देखिन्छ। यो एक प्रकारले चिन्ता र चिन्तनको कुरा हो। कुनै पनि भाषामा आगन्तुक शब्दहरूको प्रयोग हुनु भाषाको विकास मानिन्छ। एउटा भाषाको शब्दभण्डारमा जति शब्द बढ्दै गए त्यो भाषा उति नै धानी मानिन्छ। अङ्ग्रेजी भाषामा अन्य भाषाका धेरै शब्दहरू भित्रिएर धनी बनेको हो। भारतको हिन्दी भाषा पनि स्थानीय अवधी, बघेली, छत्तीसगढी, कनौजी, मैथिली, भोजपुरी आदिसित अरबी, फारसी आदि मिसिएर बनेको हो। हिन्दी भाषा र उर्दू भाषा एकै सिक्काका दुई पाटा हुन्। उर्दू भाषा पनि शुद्ध भारतीय भाषा हो। यसको उत्पत्ति पनि भारतका स्थानीय बोलीहरू र अरबी फारसी तुर्की शब्दहरूको सम्मिश्रणबाट बनिएको हो। वाक्यको सङ्गठन यसका नामपद र क्रियापदको प्रमुख स्थान हुन्छ। हिन्दी भाषामा नामपदमा अरबी फारसी शब्दको प्रयोग बढी तर क्रियापदमा संस्कृतनिष्ठ धातु र सर्गहरू हुन्छन्। उता उर्दू भाषामा भने स्थानीय शब्दको नामपद भए पनि क्रियापदमा अरबीमूलका क्रियापद बढी हुन्छन्।

भारतको हिन्दी भाषा भने पूरै अरबीमूलको उर्दूबाट लपेटिएको छ। यो त उम्किन सक्दैन। बलिउड हिन्दी चल्चित्रमा आधा भाषा नै अरबीमूलका शब्दहरू सामान्य रूपमा प्रयोग भएका छन्। यसो हुनुमा भारतमा ईश्वीको प्रायः दशौं शताब्दीदेखि भारतमा घोरी, खिलजी, मुघल दास वंशका शासकहरूले पालैपिलो गरी शासन गरेका थिए। भारतका अधिकांश भागमा यसरी लगभग एक हजार वर्ष लामो इस्लामको प्रत्यक्ष वा पोरक्ष शासनकोको समाजमा व्यापक प्रभाव परेको थियो। मुघलकालमा आएऱ उर्दू भाषाको उत्पत्ति र विकास हुने अवसर पायो। त्यसपछि भारतमा अङ्ग्रेज शासणन तीनसय वर्ष जति चल्यो। यसो हुँदा अङ्ग्रेजी भाषाको ठुलो प्रभाव पर्यो। यसले भारतीय समाजमा सकारात्मक नकारात्मक दुवै खालको प्रभाव पर्‌यो। भारतभूमि एकीकरण भयो, देशमा शिक्षा व्यवस्था नयाँ प्रणालीमा प्रारम्भ भयो।

नेपालको सन्दर्भमा नेपाली भाषामा उर्दूको किन बढी प्रभाव पर्‌यो एउटा आशचर्यको विषय वन्छ। नेपाल त स्वतऋत्र देश हो जहाँ न अङ्ग्रेजले शासन गर्‌यो न मुस्लिम शासकहरूले। त्यहाँ त संस्कृत परम्पराका साथै स्थानीय जनजातिका भाषाहरू को बाहुल्यो थियो। त्यहाँ शासकहरूले उर्दू नाटक खेलाउने गर्दथे। देशको कानुनी प्राविधिक श्दरू भने प्राय जम्मै फारसी-अरबी मूलका प्रयोग हुन थाले। यद्यपि अहिले आएर त धेरै उर्दू शब्दहरू बढी मात्रामा प्रयोग हुने गरेको पाइन्छ।

नेपालीमा यति बढी मात्रामा अरबी शब्दहरू प्रयोग हुनु कुन मनोविज्ञानले काम गरेको होला भनेर विचार गर्नुपर्ने देखिन्छ। सरकारीबाहेक सामान्य चलन चल्ती बोलीमा समेत उर्दू शब्द प्रयोग भइरहेका छन्। हामीले सचेत भएर अङ्ग्रजी शब्दलाई बहिष्कार गरेर विशुद्ध नेपालीमा बोल्नु पर्दा उर्दू शब्द चलाउँछौं। हाम्रो निम्ति उर्दूका धेरै शब्द हाम्रा पेवा हुन् जस्तो भान भइसकेको छ। हामी ‘इन्साफ’ पाउन ‘मुद्दा’‘दायर’ गर्न अड्डा अदालत जान्छौं। मुजरिमलाई इजलासको कठघरामा पेशी गरेर गगावको बयान लिई तदारूख गर्छन्। उकिल लाएर मामिला रफादफा गर्छन्। ‘साजिस’ गरेको ‘इल्जाम’ लाएर ‘मुद्दा’‘पैरवी’ गर्दछौं। ‘ऐन-कानुन’को आड खोज्दै ‘अख्तियारी फाँट’मा ‘मुचुलका’ जाहेरी गरी ‘दाखिला’ गर्दछौं। लाशको ‘सनाखत’ ‘बाद’मा ‘पहिचान’ गरी ‘दफ्नाएर’ काज ‘रफादफा’ गरी ‘खत्तम’ गर्दछौं। हामी ‘मोलाहिजा’ गरेर ‘बेकुफ’ बन्छौं। ‘हिफाजतमा’ राखेको‘मुजरिम’ ‘फरार’ भएको छ। हाम्रो भाषा उर्दू ‘लब्ज’ को ‘गलत’ ‘चंगुल’मा फँसेको छ, यसबाट निजात पाउन रास्ता खोज्दै छ।

अब त ‘मुल्क’ नै ‘दलाल’ र ‘बिचौलिया’हरूको ‘दबदबा’ छ। मुल्कको ‘पहिचान’को ‘मुस्किल’ परेको छ। ‘मुल्क’ ‘आबरू’ ‘फतेह’ गर्न ‘दुस्मन’हरू ‘इर्दगिर्द’ ‘मौजूद’ छन्। अब भूमिका पनि बखुबी निभाउन थालेका छन्। खासगरी बत्ती निभाउनु हुन्छ तर भूणिका निभाउनु उचित होइन जो हिन्दीबाट सोझै ओसारिएको हो।

भारतको नेपाली भाषाको तुलनामा नेपालमा लेखिने र बोलिने नेपाली भाषा बढी मात्रामा अरबीकरण हुँदैगरेको छ। यता भारतको नेपाली भाषालाई अङ्ग्रेजी भाषाले गाँजिरहेको छ भने नेपालको नेपाली भाषालाई अरबीमूलको उर्दूले चेपरप्टाइरहेको छ। नेपालबाट प्रकाशित हुनेगरेका पुस्तक, पत्र-पत्रिका, समाचार पत्र, सामान्य बोलीचाली आदिमा अरबी शब्द धेरै मात्रामा देख्न सुन्न पाइन्छ। यो क्रम बढ्दो छ। हाम्रै शब्दरू हुँदैहुँदै यसरी उर्जददू मोहले नेपाली भाषा र संस्कृतिलाई पर्तकूल प्रभाव पारिरहेको हुन्छ। काठमाडौंको सडकमा सेनाको ‘बख्तरबन्द’ गाडी चल्यो, उसले बकाइदा करारनामा गरेको छ। समाचारपत्रमा आधिकारिक रूपमा नै करार सूचना आउन थालेको छ। दिलको धड्कन बढेर हलचल भएको छ। बेदखल, हाबी, रूबरू, दखलअन्दाजी, नामीगिरानी, फन्टुस, तकरीबन, करिब, करिबन, वावजूद, सामान्य रूपमा चल्न थालेको छ।

नेपालको गजल लेखन पनि उर्दूको शब्द छिराउन खुल्ला ढोकासरह भएको छ। नेपाली गजलमा उर्दूको ठुलो प्रभाव देखिन्छ। अरबीबाट नै गजल आएको हुनाले गजलको माध्यमबाट भटाभट नै खुल्लमखुल्ला अरबी शब्दहरू भित्रिदै छन्। गजलमा इश्क, दीवाना, आवारा, आबरू, दिलको दर्द आदि सामान्य रूपमा चल्न थालेका छन्। अब त गजलसङ्ग्रहको नाम नै ‘फाजिल जिन्दगी’ हुन थालेको छ।

गजल लेखनबाट पनि उर्दू शब्द बढी नै भित्रिदै छन्। समालोचक राजु प्रधान हिमांशुले त खोलेरै भनेका छन्- ‘तर उर्दू र हिन्दी गजलमा प्रयुक्त जाम, शाम, आम, मजबूर, बारात, सफर, इल्जाम, आवारा, एहसास ,इन्तजार, दीवाना, निसार, इरादा, इश्क, मोहब्बत, शिकायत, बेचैन, मन्जिल, महफिल, कातिल, तमाम, फरार, आबाद, शराब, तराना प्रभृति शब्दहरूले भारतीय नेपाली गजलमा प्रविष्टि पाएका देखिन्छन्। नेपाली शब्द ढुकुटीमा बसेका शब्दहरूले पनि भारतीय नेपाली गजलमा ठाउँ पाएको हुनुपर्छ जस्तो लाग्छ मलाई। कोड मिश्रणको नाममा आगन्तुक शब्दको अधिक प्रयोग हुनु स्वागतयोग्य ठहर्दैन नै भन्नुपर्छ। मलाई त लाग्छ गजल आगन्तुक विधा भए पनि नेपाली गजलले नेपालीयता बोकेकै असल हुन्छ अनि नेपालीयता भित्र्याउन देशज शब्दहरूको उचित प्रयोग हुनुपर्छ जस्तो लाग्छ। दिन कर लगाउँछ। (राजु प्रधान हिमाशु, समकालीन साहित्य वेबपत्रिका, २२ जून, २०२५)

माथिका शब्दहरूमा हामी यति अभ्यस्त भएका छौं कि लाग्छ यी शब्दहरू नेपाली माटामा नै उब्जेका ठेट नेपाली शब्द हुन्,यस्ता शब्द हाम्रा पेवा हुन् भन्ने लाग्छ। अङ्ग्रेजी शब्दलाई तर्काएर यस्ता शब्द बोले लाग्छ कि हामी ठेट बोल्दैछौं। अब यो उर्दू शब्दकोश आएको छ। यो कोश हेरेर शब्दखोज्दै गए हामी त उर्दूको ठुलो खाडलमा पुरिएको पाउँछौं। एकपट्टि भारतीय महासागर र अर्कापट्टि अरब सागरका बिचमा चेटिएको छ नेपाली भाषा। नेपाली भाषाको खेतमा एकपट्टिको पानीको कुलो थुने अर्को पट्टिको कुलाबाट पानीको भल पस्दछ। आफ्नो मासेर अर्काको पोस्ने, भएकालाई गुमाउने तर नभएकालाई ल्याउने नीति राम्रो होइन।

भाषिक सीमानाको काँडेतारबाट ‘अवैध’ रूपमा ‘घुसपैठ’ भएर आएका शब्दहरूलाई रोक्ने ‘चौकीदार’ थिएन। यस्तै बढ्दो अरबीकरण भएको देखेर काशी हिन्दू विश्वविद्यालयका प्राध्यापक डा दिवाकर प्रधानले नयाँ भाषिक सुधार अभियान चलाएका छन्- नेपाली भाषा शुद्धिकरण अभियान। उनको यो यो पहिलो चरण अभियानमा हाम्रो भाषामा बढ्दो अरबी फारसी उर्दू शब्दको अत्याधिक प्रयोगलाई रोकथाम। उनले आफ्नो पक्षबाट जतिसक्दो यस शुद्धिकरण अभियानलाई अघि बढाइरहेका छन्। उनले आफ्नो समप्रकमा आएका विद्यार्थी, सहकर्मी, साथीभि, परिचित सबैसमक्ष सन्देश पठाएर, लेखेका कुरालाई सच्याएर आफ्नो अभियानलाई गति प्रदान गरिरहेका छन्। डा प्रधानले नेपाली भाषाको पश्चिमी सीमाको चौकीदारीको भार उठाएका छन्। पश्चिम सीमाबाट छिरेर हिन्दीमार्फत् आएका अरबी फारसी मूलका शब्दहरूको प्रयोगाधिक्य रोक्न उनी अघि आएका छन्। त्यस्ता अरबी शब्दको बद्ली आफ्ना मौलिक शब्द प्रयोग गर्न जोड दिन्छन्। दिवाकर प्रधानको अभियान पनि आफ्नो ठाउँमा समयोचित र आवश्यक छ। उनको आशय छ हाम्रै आफ्ना शब्द हुँदाहुदै अरबीमूलका शब्द प्रयोग हुनु उचित होइन। भाषाका क्षेत्रमा नेपाली भाषा धेरै धनी छ। कुनै शब्दको अभाव भए हाम्रै कतिपय जातगोष्ठीका शब्द प्रयोग गरेर त्यसको पदपूर्ति गर्न सकिन्छ। यो कुरा हाम्रै आफ्नै जातगोष्ठीका भाषाको शब्द प्रयोग गर्न सक्छौं।

नेपाली भाषा अङ्गेजी र अरबीका तानातानीमा परेको छ। आफ्नैमा प्रशस्त मात्रामा शब्दहरू हुँदाहुँदै अरूबाट शब्द बढी सापटी लिनुपर्ने जस्तो देखिन्छ। कतिपय विज्ञान, प्रविधि, विद्युतीय वस्तु, ज्ञान-विज्ञानका कतिपय शब्दहरू बाहिरबाट आएका हुनाले शब्द पनि सँगसँगै आएका हुन्। नेपालमा कतिपय ऐन कानुन र सरकारी र प्रशासनिक क्षेत्रका लागिका अरबीमूलका शब्द प्रयोग भएका हुन्। यद्यपि अरबी र उर्दूको शब्दमोह यति बढेर गएको छ कि ठेट शब्द, नयाँपन, आकर्षक बनाउने नाममा यस्ता शब्द बढी प्रयोग हुन थालेको पाइन्छ।

एकपट्टिबाट नेपाली भाषालाई अङ्ग्रेजी भाषाले ढाकिरहेको अवस्था छ। अङ्ग्रेजी विद्यालय पढेर आउने नयाँ पुस्ताबाट अबको नेपाली भाषालाई जोगाउन कठिन परेको अवस्था छ। हरेक वाक्यमा एक दुईवटा अङ्ग्रेजी शब्द प्रयोग भएको हुन्छ। अर्कापट्टिबाट अरबी फारसी शब्दको बढ्दो प्रयोग पनि चिन्तनीय छ। बानी सप्रिए रानी हुन्छ, बानी बिग्रिए खरानी हुन्छ भन्ने उखान झैं अब नेपाली भाषालाई अङ्गेरजी र अरबी-फारसीबाट जोगाउनु परेको छ। यब दुवैको बढता प्रयोगले हाम्रो भाषा बिटुलिनु, विलयन हुने सम्भावना छ हुन्छ।

संस्कृत परपर अर्बी फारसी वरवरको नीति-

नेपालमा पछिल्ला दुई दशकमा कम्युनिष्ट वर्गका मानिसहरूको शासन रहेको छ। नेपालको भाषानिती र भाषिक निकायमा उनीहरूको बढ्दो प्रभाव छ। ती कम्युनिष्टहरूमा सम्भवत संस्कृत र हाम्रो संस्कृतिप्रति नकारात्मक भाव राखेका हुन्छन्। हाम्रा मौलिक परम्परा, सनातनता, भाषिक परम्पराप्रति एकप्रकारको द्वेष हुनुपर्छ। त्यसो हुँदा हाम्रो मूल र मौलिक संस्कृतमूलका शब्दप्रति पनि एक प्रकारको द्वेष, दुराग्रह, पूर्वाग्रह छ। बरू संस्कृतलाई परपर राखेर उनीहरूको परिवर्तनको सिद्धान्तलाई अपनाउने हुँदा बरू अरबी फारसी उर्दू नजिक ठानेका हुन् कि? संस्कृत भाषा र वैदिक परम्परालाई उनीहरूले रूढिवादी, प्रतिगामी, बुर्जुवा, यथास्थितिवादी देख्छन् । सो हुँदा परिवर्तन, रूपान्तरण, वैज्ञानिकीकरणका नाममा अरबी फारसी शब्द र संस्कार चाहिँ अपनाउने जस्तो नीति लिएको हो। सांस्कृतिक रूपान्तरणका नाममा आफ्ना मौलिक कुरालाई मास्ने, छास्ने र फ्याँक्नु हो भन्ने ठानेको हुनपर्छ। संस्कृत मूलका शब्दलाई पन्छाएर परायमूलका शब्द अपनाउने मानसिकता छ।

यद्यपि कतिपय अरबी फारसी मूलका शब्दहरू हामीले पेवा बनाइसकेका छौं। हाम्रा शब्दभण्डारमा उर्दूमार्फत् आएका अरबी फारसी शब्दहरू हाम्रा ठेट शब्द जस्ता बनेका छन्। त्यस्ता हाम्रा आफ्ना ठानिएका शब्दले हाम्रै शब्द भण्डारमा वृद्धि भएको छ। मुलुक, मुनाफा, शुरूआत्, शुरू, सवाल, जवाफ, दराज, कलम, नाबालिग, जिन्दगी, जिन्दगानी, तबल्ची, जबर्जस्ती, कहानी, दरोगा, चोकीदार, किताव, आदि हाम्रो भाषामा घुममिल भैसकेका छन्। पचाइसकेका यस्ता कतिपय शब्द प्रयोग गर्नु सामान्य कुरा हो। कतिपय गीतमा यस्ता शब्दहरू प्रयोग नगरी हुदैन। यद्यपि डा दिवाकर प्रधानले यस्ता अरबी शब्द प्रयोग गर्नै हुँदैन भन्ने आशय व्यक्त गरेका छन्। पचाइसकेका शब्द पनि प्रयोग गर्नै हुँदैन भन्ने डा प्रधानको सुझाव भने एक प्रकारको अतिवाद हो। यसले गर्दा हामीले हाम्रा शब्दभण्डारका शब्दहरू घटाउनुसरह हो। हामीले पचाइसकेका ठेटसरह भएर परम्परादेखि चलेका, हाम्रो शब्दभण्डारमा पसिसकेका शब्दको प्रयोग गर्नु हुँदैन भन्ने विचार पनि उचित होइन। एउटा नदीमा अर्को नदीको पानी मिसिएर त्यो नदी ठुलो भएको राम्रो हो। यद्यपि अर्को नदीको भल पसेर त्यो मूल नदीको पानी नै धमिल्याउनु दिनु पनि उचित होइन। डा प्रधानको अभिमतलाई पनि विचार गर्नुपर्ने देखिन्छ। उर्दू-फारसी, अङ्ग्रेजी शब्दको खोलै नेपाली भाषातिर फर्काउनु एकप्रकारको दास मनोवृत्ति हो तर अरुतिरबाट शब्द आउँदै आएन भने त न गङ्गा बनिन्छ, न ब्रह्मपुत्र बनिन्छ। यसकारण हामी बुद्धले भनेझैँ मध्यममार्गी बन्नुपर्छ। छोराले तीस वर्षअघि बिहे गरेर ल्याएकी बुहारी पराईजातकी भई भनेर घरबाट निकाल्नु त अमानवीयता हो। यसैले शुद्धीकरणका नाउँमा सबुत, मुद्दा, जिन्दगी, शुरूआत्, शाही, कानून, मजबुरी, बबुरो, इनाम, इमानदार आदि जस्ता पचिसकेका शब्दहरू आफल्नु हुँदैन। अतिले खति गर्छ। मध्यममार्गी बन्नु नै उचित हो।

अर्को प्रकारले अध्ययन दिवाकर प्रधानको विचार पनि उपयुक्त नै छ। उनको विचार हो अरबी उर्दूमूलका शब्दहरूहरू जानीजानी भित्र्याउनु, आफ्नो हुँदाहुँदै अर्काको शब्द बेसी प्रयोग गर्नु उचित होइन। त्यसकारण उनले भाषाका कतिपय शब्दकहरू गोडेर बगैंचालाई बाहिरका झारहरूबाट जोगाउन समयसमयमा गोड़मेल गर्नुपर्दछ। डा दिवाकर प्रधानको उद्देश्य यही हो। यसकारण डा प्रधानको मूल उद्देश्य उत्तम छ। भाषामा नचाहिँदो रूपमा अर्को भाषाको शब्दलाई ल्याएर घुसार्नु उचित होइन ।

हुन पनि विगत केही वर्षदेखि यता नेपालको नेपाली भाषामा अरबीमूलका उर्दू शब्दरू अनाश्यक र बढी मात्रामा भित्रिरहेका छन्। आफ्ना ठेट शब्द प्रशस्त छन्, आफ्ना शब्दले नपुगे हाम्रा जातगोष्ठीका भाषाका शब्द प्रयोग गर्न सकिन्छ। त्यसले पनि नपुगे संस्कृतका तत्सम शब्द पनि प्रशस्त मात्रामा छन्। यद्यपि राजनैतिक, अर्थनैतिक, वैज्ञानिक विकास आदिका कारण र मानसिकताले बढ्ता उर्दूमोहले नेपालीको भाषा, संस्कृति, संस्कार, मानसिकता, लगाव कता जाँदैछ भन्ने कुरा सङ्केत गरिरहेको छ। घरको भँड़ार खनेर आँगन पुर्ने जस्तो काम भएको छ। हाम्रो सुन्दर फूलबारीमा यता भारतपट्टि अङ्ग्रेजी र उता नेपालपट्टि उर्दूरूपी बनमाराले ढाकिरहेको छ। आफ्नो माउभाषा संस्कृतलाई परपर र परायलाई वरवरको नीतिले कुन दिशा दिने हो भविष्यले तय गर्ला।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।