यात्राको मन

नियात्रा कृष्ण उपाध्याय December 5, 2025, 8:07 am

कृष्ण उपाध्याय
कृष्ण उपाध्याय
धेरै देश, धेरै संस्कृति र भाषासँग मानवाधिकारको कामको सिलसिलामै परिचय भएको हो । एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिका र यूरोपका धेरै मुलुकहरु घुमियो । कतै कतै लामो समय पनि बसियो तर तिनका बारेमा लेखिएन । यति आनन्द विभोर भैएछ, लेख्ने जाँगर नै चलेन । अन्यत्रको बारेमा चर्चा गर्दै नेपाली पाठकलाई सरस ’जानकारी’ दिनु यात्रा स्मरणको एउटा पक्ष हो । तर मलाई भने हामी आफ्नै वरिपरि, आफ्ना परमपरा सागै सम्बन्धित क्षेत्र र विषयमा आपनै अन्तर्मनलाई पस्किनु कस्तो हुँदो हो भन्ने भाव आई रहन्छ । यात्रा मनले गर्छ, यसैले स्वाद लिन्छ । यसैले भाव पोख्छ । खासमा लेख्ने पनि त मनै हो ।

मनले अनुभूत नगर्दो हो त, दिल्लीको गर्मीमा कनट प्लेस पुग्दा लन्डनको मार्बल आर्च र हाइडपार्क छेउको कनट प्लेसमा न्यानो घाम ताप्दै कफी खान पाए कस्तो हुन्थ्यो भन्ने भाव कहाँ आउथ्यो ? पुर्व र पश्चिमका अलग उत्कर्षमा पुगेका दुई देशमा एउटै नाम भएका दुई स्थान कसरि बन्दथ्यो ? अनि मनले इतिहास खोज्न थाल्छ र मस्तिक डोहोर्याउन थाल्छ । घर उस्तै उस्तै छन, बजार पनि उस्तै उस्तै । समयले केहि फेरेको त छ । अनौठो त त्यति खेर हुन्छ जब मनले सोध्छ मेरो कनट प्लेस कुन चाहि हो ? नचाहिदो प्रश्न ! मन त्यस्तै हुन्छ, यस्तै भाव ल्याउछ ।

कान्छो भाइ युवराज, बुहारी अनिता, सरिता र म २ नोभेम्बर २०२५ साँझ कनट प्लेसको एउटा रेस्टुराँमा खाई रहदाँ यस्तै प्रश्नले घेरिएको थिएँ म । बेलायतका कनट र स्त्राथर्नका ड्युक राजकुमार आर्थरको नाममा बेलायती शासनकालमा सन् १९२३ र १९३३ बीचमा दिल्लीको कनटप्लेस बनाइएको थियो । तिनै राजकुमार आर्थरसँग सम्बन्धित लन्डनको कनट प्लेस सन् १८१० तिर सुरु गरिएको थियो । पहिले त यो आवासीय क्षेत्रको रुपमा बिकसित गरिएको थियो । बेलायती औपनिवेशिक शासनले निर्माण पनि गथ्र्यो । दरवार, सडक, विश्वविद्यालय, रेल यातायात, उद्योग भारतमा त्यो प्रत्यक्ष देखिन्छ । अन्य औपनिवेशिक शासनमा त्यस्तो देख्न पाइन्न । म नब्बेको दशकमा आफैं कम्बोडियामा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा लामै समय बस्दा पनि एउटा चर्च बाहेको अन्य कुनै त्यस्तो फ्रान्सेलीहरुले निर्माण गरको संरचना देखिन । दिल्लीको कनट प्लेस वेलायती शासनद्वारा एउटा ब्यापारिक केन्द्रका रुपमा निर्माण गरिएको थियो । अहिले पनि निकै चहल पहल हुने स्तरिय रेस्टुराँ र ब्यापारिक संस्थानहरुले भरिएको छ सर एडविन लुटेइन्सले डिजाइन गरेको कनट प्लेस ।

त्यसको केही अगाडि उनैको डिजाइनमा पहिलो विश्वयुद्धमा वीरगति प्राप्तहरुको सम्मानमा निर्माण गरिएको दश वर्ष लगाएर १९३१ मा बनेको इण्डिया गेटमा सरिता, म, अनिता र युबराज जादाँ पनि पर्यटकको उस्तै चहल पहल थियो । ठुलो क्षेत्रमा बिस्तृत यो गेट भारतको संसद भवन र रास्ट्रपति भवनको अर्को छेउमा छ । संसद भवन (पुरानो संसद भवन) बेलायती शासनकालमै सर एडविन लुटेइन्सकै डिजाइनमा १९२१ मा थालेर १९२७मा निर्माण सम्पन्न गरिएको थियो ।

यी खुल्ला क्षेत्रमा विचरण गर्दा हामी चारै जना निक्कै उल्लासित थियौ, फोटो खिचियो, भिडियो बनाइयो । यस्तै टिकटक सामग्री त अक्षरधाम भित्र पनि बन्थे होलान् तर क्यामेरा लाने अनुमति थिएन । स्वामी नारायाण परम्परामा आधारित यो दिव्य र बृहत मन्दिर पथ्थरकलामा मात्र होइन यसको क्षेत्रफलको हिसावले पनि दर्शनीय छ । ३० करोड श्रम घण्टाको स्वयंसेवी श्रमयोगदान गरेर बनेको यो मन्दिर ६ नोभेम्बर २००५ मात्र शुरु भएको हो ।

सरिता र अनिता टिकटके हुन तर टिकटक बनाउन पाएनन् । भारतमा टिकटक प्रतिबन्धित छ । चीन र भारतबिच तनाव बढेको बेला टिकटक बन्द भएको अझै खुलेको छैन । तथापी टिकटक सामग्री संकलन गर्न पाएको मा खुशी थिए दुवै जना । टिकटकेको लागि अलिक व्यस्तनै हुने ! भोलि पल्ट दिल्ली वाट पंजाव पुग्दा र वागाबोर्डर (आटारि बोर्डर) पुगेर भीआइपी सिटमा बस्दा त भारत र पाकिस्तानी दुवै तर्फका सेनाको परेड हेर्दा त उनीहरुको लागि प्रसस्तै टिकटक सामग्री बने । मेरो मन भने उद्विग्न भै रहेको थियो । आधा शताब्दी अगाडिसम्म यो एउटै जाति थियो । वारि पंजावी पारि पनि पंजावी । म एक पटक २००७ अघि एन्टीस्लेभरी इन्टरन्यासनलको कामको शिलशिलामा लाहोरमा भएको बेला एउटा अन्तर्राष्ट्रिय पंजावी कवि सम्मेलन भएको थियो । वारि र पारिका पंजावी भेला भएका थिए । एक अर्काका कविता सुन्न सक्थे, बुझ्थे तर पढ्न सक्दैन थिए । वारिका पंजावीले गुरुमुखीमा लेख्छन, पारिकालाई फरक देखाउनु थियो त्यसैले उनीहरुले पंजावी पनि अरबिक अक्षरमा लेख्ख्छ्न । आखिर भारत पाकिस्तानको बिभाजन पंजावी, बंगाली र सिन्धीहरुको विभाजन न थियो । त्यो पीडादायी इतिहास बोकेको विभाजन पछिको रस्साकस्सी दुवै तर्फ हुने परेडमा देखिए जस्तो लाग्ने । सम्झेर ल्याउँदा कसरी राजनीतिले आपसमै विभाजन ल्याउदो रहेछ र फरक परिचय बोक्न बाध्य तुल्याउछ भन्ने भाव आउँदा आफैले पनि पिडाको अनुभव गरियो । धेरै देशका एउटै भाषा बोल्ने हरुको यहि अवस्था छ । हाम्रो पनि । पिडानुभूति वेलुकी अमृतसरको स्वर्ण मन्दिरमा दिव्यतामा आई पुग्दा त्यसैमा बिलिन भयो । मन मस्तिकमा शान्ति छायो ।

यो शिखहरुको पवित्रम मन्दिर हो । स्वर्ण मन्दिरलाई हरमन्दिर (हरि मन्दिर) साहिब पनि भनिन्छ । यो मन्दिर पहिलो पटक सन् १६०४ मा बन्यो । अफगानी आक्रमणकारीले धेरै पटक विध्वंस गरेपछि सन् १७७६मा यसको पुनर्निमाण गरियो । मुगल र राजपुत शैलीको मिश्रण देखिने यो मन्दिरलाई शिख सम्राट महाराजा रंजित सिंह (शासन काल १८०१–१८३९) ले तल्लो तलामा मार्वल र मोति÷मणि, स्वर्ण पत्र जडान गराएर अहिलेको यो दिव्य स्वरुप प्रदान गरे । यहि स्वर्ण मन्दिर भिण्डरवालेको नेतृत्वमा खालिस्थान आन्दोलनको केन्द्र बन्यो र १९८४मा ’अपरेसन ब्लु स्टार’ मा उनि र उनका धेरै सहयोगी मारिए ।

३ नोभेम्बर साँझ हामी त्यहाँ पुग्दा किर्तन गुन्जदै थियो, हजारौ यात्रीहरु दर्शनार्थ लामबद्ध थिए । गुरु नानक (१४६९–१५३९) बाट शुरु भएको गुरु परम्परा गुरु गोविन्द (१६६६–१७०८) सम्म १० गुरु पछि शिखको मुलग्रन्थ ’गुरु ग्रन्थ साहिब’लाई नै गुरु(वाणीको) रुपमा लिईन्छ । अलग्गै धर्मको रुपमा स्थापित यो ओमकार परिवार भित्रको धर्म, इतिहासकारहरुले भक्ति आन्दोलनबाट निशृत भएको तर्क गर्छन् । गुरु ग्रन्थ साहिव र किर्तन परम्परा हेर्दा हो कि जस्तो लाग्ने !

आदि सचू जुगादी सचू।। है भी सचू नानक होसी भी सचू ।। (आदि गुरुग्रन्थ साहिब, अंग १ः१ )

(अनुवादः निरंकार (अकाल पुरुष) सृष्टिको रचना पुर्व पनि सत्य थियो, युगको प्रारम्भमा पनि सत्य (स्वरूप) थियो, श्रीगुरु नानकको कथन छ, भविष्यमा पनि तिनै सत्यस्वरूप निरंकारको अस्तित्व हुने छ ।)

अर्थात् सनातनी शास्त्रमा ’सत्’ अथवा ’त्रिसत्यम’ भाव यहाँ देखिन्छ । भक्ति आन्दोलनमा नामको महत्व वताउने पदावली पनि धेरै छन् । जस्तैः

सुणिए इशरु बरमा इन्दु।। सुणिए मुखी सालाहण मंदु ।।

सुणिए जोग जुगति तानी भेद ।।सुणिए सासत सिम्रिति वेद ।।

नानक भगता सदा बिगासु ।। सुणिए दूख पापका नासु ।।

(अनुवादः शिव ब्रह्मा इन्द्रले पनि नाम सुनेर (उत्तम पद प्राप्त गरे), मन्द मति भएका भगवन् नाम सुनेरै (प्रसंसा का पात्र हुन्छन), भगवान्नाम संग जोदिदा नै योगादि (शरीरका विशुद्ध मणिपुरक, मुलाधार, आदि षट्चक्र आदि)को बोध हुन्छ, नाम सुनेर नै (सांख्य, योग, न्याय आदि षट्) शास्त्रको, स्मृति (मनु, याज्ञबल्क आदि), र (चारै) बेदको ज्ञान हुन्छ ।)

यीनै भावमा थिएँ, स्वर्णमन्दिर प्रवेश गर्दा । एक हुँदा मान्छे भावमा हुन्छ, चार हुँदा क्रियामा । हामी चार छिरे पछि फोटो र भिडियोमा लागि हालियो । फरक फरक पोजमा । दर्शन गरियो प्रार्थना गरियो तर फोटो र भिडियो किन छोडिन्थ्यो र ? एउटा फोटो मन्दिरलाई पछाडी पारेर खिचिएछ । त्यहाँका क्रिपाण भिरेका र परम्परागत भेषमा रहेका गार्डहरुले लामो लामो भाषण सुनाएर खोजि खोजि सवै मेटी दिए । त्यसपछि टोलीले कुनै मन्दिरमा जाँदा पनि मन्दिरका मुर्ति/बिग्रहलाई पछाडि पारेर कुनै फोटो भिडियो खिच्ने धृष्टता गरेन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।