लन्डिनियमको नियात्रा

कविता योग राज ढकाल December 7, 2025, 12:43 am

योग राज ढकाल
योग राज ढकाल
सुरू हुन्छ नियात्रा

शब्दहरूको झोलामा इतिहासका छायाहरू भारी बोकेर,

मानवताको घाउ खोज्दै अघि बढ्न

नियात्रा यहाँ केवल देखिने सडकको होइन

यो त ओझेल परेका ठाउँहरूको पुनर्जन्म हो;

इतिहासका धुलोले ढाकिएका रहस्यहरू

फेरी उठेर प्रकाशको अँगालो खोज्ने क्षण हो।

लन्डिनियम

पुस्तक मात्र होइन,

समयको गुफाभित्र टल्किएको

एक दीपज्योति,

जहाँ पन्नाहरूले बोल्छन्

रगतले भिजेका युगका चिरा-चिरा आवाजहरू

हिटलरका कारागारका छायाहरू,

ग्यास च्याम्बरको कर्कश चीत्कार,

नभुलिने पीडाहरू

जुन पढ्दा कापिन्छ मुटु,

र सास पनि थामिन बाध्य हुन्छ

कार्ल माक्र्सको विस्थापन

शरणार्थीको नुनिलो हावा,

अभावले चिसिएको डेरा,

अन्तरआत्मामा छोडिएको

विचारको अटल क्रान्ति

सबै बग्छन् यी लाइनहरूको भित्रतिर

बाथ सहरको सेतो न्यानोपन,

नेदरल्यान्ड्सको बतासे गाउँमा

हावाको बुद्धिमानी प्रयोग,

हाम्बर्गरको रोचक इतिहास

यी सबै ज्ञानका नालयहरू,

लन्डिनियमको यात्रामा

घामजस्तो चम्किन्छन्

यही पुस्तकले सिकाउँछ

ज्ञानको मार्ग उज्यालो हुन्छ,

तर उज्यालोसम्म पुग्न

छेउछाउका छायाहरू बुझ्नैपर्छ।

अन्त्यमा

“लन्डिनियम”

हाम्रो नियात्राको केवल साथी होइन,

हाम्रो समयको मौन साक्षी हो,

हामीलाई देखाइदिन्छ

कति ठूलो छ मानवीय पीडाको सीमा,

र कति अमर छ ज्ञान र प्रेमको प्रकाश ।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।