त्यसपछि कवि त्यस सम्भावित सिर्जनाको ऊर्जाबाट अलिअलि गर्दै टाँढिन थाल्छन्। कवि हुनु भनेको खतरनाक कुरा हो। कवि जे पनि हुन सक्छ। त्यति सोच्दा-नसोच्दा कविको दिमागमा आँधीबेहरीजस्तै नाना प्रकारका विध्नबाधाका प्रतीकात्मक सङ्केतहरू पालैपालो आउन थाल्छन्।
यस्तो पाराले हुँदैन भन्ठानेर आफैमा थप ऊर्जा सिर्जना गरी कविता ती ऊर्जा र सङ्केतहरूलाई चिर्दै अघि बढ्छ। जतिपल्ट कविको अवचेतन मनमा पस्न खोज्छ उति बाहिरिन्छ। डरले थरथर काम्दै भन्न थाल्छ, “कवि! म तपाईँको सम्भावित कविताको भ्रूण। मलाई चाँडाभन्दा चाँडो कि त स्मरणमा बस्न दिनुहोस्, होइन भने मलाई कुनै आकार दिनुहोस्। अस्तित्व दिनुहोस्। म कुनै पनि रूपमा आउन तयार छु। मलाई थाहा छ कि तपाईँ संसारसित दुखी हुनुहुन्छ, तर त्यो तपाईँको दोष होइन। मैले तपाईँको आवाज नैराश्यता र शून्यतामा पनि सुनिसकेको छु, र दर्शन पाइसकेको छु। मलाई बचाउनुहोस्। म तपाईँको मोक्ष सिर्जनाको सायुज्यमा सीमित बस्न चाहन्नँ।”
कवि आफ्नै संसारमा भुल्लिरहेका छन्। समय सँगसँगै मन पनि निरन्तर परिवर्तण भइरहेको छ। आफू बाँच्ने र मुक्ति पाउने सङ्कल्पको चीत्कारमा त्यो भ्रूण कविता ऊर्जादेखि कवितामा रूपान्तरित भइरहेको छ। तर मुक्ति भने अझै बाँकी नै छ।
मानिस आख्यानात्मक संसारमा बाँचिरहेका छन् साथै सत्य जटिल छ भन्ने जान्दा-जान्दै पनि कविलाई सत्य लेख्न सक्नुपर्छ भन्ने कुराको आत्मसात छ। कवि हुनु भनेको कुनै चानचुने कुरा होइन भन्ने कुराको पूर्ण ज्ञात छ। तर संसारमा चलिरहेको असंवेदनशीलता र सामाजिक बिडम्बनाबाट उनमा वितृष्णा जागिरहेको छ। कविता निर्दोष छ र आफूबाट एउटा हत्या हुनै आँटेको छ भन्ने कुरा बोध हुँदा-हुँदै पनि उनी आफैसित भागिरहेका छन्। उनलाई यो पनि राम्ररी थाहा छ कि उनी बारम्बार बेतुकापनमा झरिरहेका छन्।
अन्त्यमा कविता मृत ऊर्जामा परिणत हुँदै एकान्तको ढोकामा उभिएर बरबरिरहन्छ। कवि चाहिँ कविताको देवता जगाउँदै आफूभित्रको महाकविको खोजमा हराउँदै जान्छन्।