शरणार्थी झुसिलकिरा

कविता लक्ष्मण थापा December 10, 2025, 10:22 am

लक्ष्मण थापा
लक्ष्मण थापा
तेजाबकुण्डमा खेलिरहेछन्

हाम्रा केटाकोटी

रहरका मट्याङ्ग्रा खेलाएका ‘जेन्जी’ पुस्ता

पत्तै नपाइ

अपहरणमा परेपछि जिल्लाराम परेका छन्

उनीहरु बुझ्दैनन्

धमिलो पानीलाई के धमिल्याउँनु छ र ?

सङ्लो पानीलाई पो धमिल्याउँन सक्छन्, फोहरी हातले

फर्सीका भेट्नातिर

आयातित ‘फंगस’ प्रत्यारोपण गरिएको छ

केटाकोटी त्यही फर्सीका संवाहक बनेका छन्

लाखुले खोलेको केश कर्तनालयमा

जिलेटको पत्ती प्रयोग गरी

नाक कर्तनालय प्रतियोगिता सञ्चालन गरिरहेका छन्

आफ्ना हातहरु

भूमिगत प्युसालाई बुझाएर

आगोसंग खेलिरहेका छन्, वीरका सन्तति

आँगनमा

आततायी बुटले खुनी परेड खेल्दा

घरबेटी घोडा बेचेर सुतिरहेका छन्

शम्सुद्दीनको तरबारको टुप्पाले

पटक पटक कोट्याएको घाउ

बेला बेलामा ओकल्चिइरहन्छ

मझेरीमैं

ऐयारी पाठशाला खोलेर

आत्महन्ता प्रत्यारोपण गरिएको छ

हामी तक्मा झै छातीमा सजाउँन सक्दैनौं

एडस पढाउँने स्कुलहरु

कोरोना र डेङ्गुलाई अँगालो हाल्ने पाठ्यक्रम

प्रायोजित ‘होलीवाइन’ पिएर

ढुनमुनिदै गरेको राष्ट्रियता

अहिले ‘कोमा’मा पुगेको छ

राजधानीको ‘ट्रमा सेन्टर’मा

पीडा समनकर्ता चिकित्सकहरु

नङमा ‘पोटासियम साइनाइड’ लुकाएर पर्खेका छन्

परिणामतः सिस्नाको झ्याङमा

स्वाभिमानको भोटो फालेर

टाईको टुप्पाले आफ्नै मुटु घोचिरहेछन्

अहिले धूमिल पारिएको देशको मुहारमा

देख्दैमा घीनलाग्दा

शरणार्थी झुसिलकिरा सल्बलाइरहेका छन्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।