कैलाश कोरा अर्थात् कैलाश प्रदक्षिणा हरेक मानवको धार्मिक आस्थासँग जोडिएको पदयात्रा हो। ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्णाली नदीको उद्गम कैलाशक्षेत्र तिव्बती पठारमा पर्ने प्राकृतिक र साँस्कृतिक उचाइ पनि हो। कैलाश परिक्रमा गर्ने विभिन्न बाटा छन्। तीमध्ये नेपालको रसुवागढी नाकाबाट प्रवेश गर्ने बाटो प्रयोग गर्नुभएको छ नियात्राकार। केरुङ (तिव्वती लवजमा किरोङ अर्थात् ह्यापी भ्याली), जिलोङ, सागा, पारयाङ हुँदै मानसरोवर पुग्छ यात्रा। अनि धार्चेन, दिरापुक हुँदै डोल्मालाको उच्चतम विन्दु छोएर गौरीकुण्ड, जुथुलपुक निस्की फेरि धार्चेन फर्किन्छ र परिक्रमा पूर्ण हुन्छ। करिब दुईसाता लगाएर गरिएको यो यात्राले नेपाली नियात्रा साहित्यमा नौलो अभिलेखाङ्कन गर्न सफल भएको छ। त्यही पदयात्राका पाइलाबाट बनेको अद्वितीय नियात्रा कृति हो- कैलाश कोरा।
राजेन्द्रमान भन्नुहुन्छ- "तिव्बतमा हावासँगै मन्त्र बग्छन्। आकास निहुरेर कैलाशको धर्ती छुन्छ। हरेक उचाइ पार गर्दा आफूलाई नयाँ रूपमा चिन्न सकिन्छ।" सुन्दै मनले कोर्छ एउटा कल्पनाको स्वर्ग र अलौकिक संसार। पुस्तकमा तिव्बती उचाइ, मानसरोबरको गहिराइ र डोल्मा लाको कठिनाइ मात्र हैन आस्थाका उच्चतम आकर्षण पनि भेटिन्छन्। हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीले कैलाश पर्वतलाई कसरी हृदयमा सजाउँछन् र हरदम पूजा गर्छन्, सचित्र वर्णन छ यस कृतिमा।
संसारको छानो तिब्बती पठारका फराकिला फाँट, हिमाली सभ्यता र सौन्दर्य चित्रित छन् कैलाश कोरामा। तिव्बती भूमिमा पुग्दा समेत नेपाली हिमाल, नदी, कुण्ड र गाउँबस्तीप्रति अपार माया र गहिरो सम्झना छ नियात्राकारको मनमा। धार्मिक गुरुहरूका भनाइ, मिथक र सहयात्रीका अनुभवहरू पनि बग्रेल्ती छन् पुस्तकमा। सान्दर्भिक, सटिक र मन छुने लेखाइले नियात्रा सौम्य, शालीन र गतिशील नदीझैँ बगेको छ। पाठक बिनाडुङ्गै सजिलै मानसरोबर वारपार छिचोल्छन्, आत्मा शुद्ध पार्छन् र शिवजीको बासस्थान कैलाशको दिव्य दर्शन गर्छन्।
एउटा लयबद्ध कविता सुनेजस्तो, मन पर्ने पात्रले सुनाएको आत्मकथाजस्तो वा सुन्दर उपन्यासको सजीव कथाजस्तो लाग्छ कैलाश कोरा। बौद्धिक सहयात्रीहरू यात्रामा सचेत रहँदै हरेक पाइलालाई अद्भूत गन्तब्य बनाउन सफल भएका छन्। यस नियात्राभित्र तिव्बती जनजीवन छ, हिमाली सभ्यता छ र तिनका जीवन्त कथाहरू छन्। नियात्राहरू घरि इतिहाससँग, घरि मिथकसँग त घरि सहयात्रीका अनुभवसँग हातेमालो गर्दै अघि बढ्छन्।
सौम्य पहाडले बनाएका दृश्य, घामको उज्यालो र बादलको छायामा नुहाइरहेका घाँसेचौरहरूको जति सुन्दर वर्णन छ उति नै चित्ताकर्षक छ आङ्सी हिमनदीबाट उत्पत्ति भई बगेको आर्लुङ जाङ्बो अर्थात् ब्रह्मपुत्र नदीको जीवन्त यात्रा। सृष्टिकर्ता ब्रह्माले समस्त देवताहरूलाई स्नान गर्न बनाइदिएको मानसरोबर अर्थात् मायाङ युम्छोको सुन्दरता, पवित्रता र विशालताको गुणगान छ यस कृतिमा। गुरला मान्धता हिमालबाट बग्ने हिमनदी पग्लिएर मात्र कहाँ बन्न सक्छ र यति विशाल सरोवर। पृथ्वीभरका मान्छेको पवित्र आस्थाले सङ्लिएको हो मानसरोवर। यो पुस्तक पढ्दा मानसरोवरमा डुबुल्की मार्ने कैलाश पर्वत र अरू हिमाली शिखरहरूको प्रतिच्छायाँसँगै नुहाउँछन् हरेक तीर्थालु मन। हिन्दू, बौद्ध, जैन आदि धर्मावलम्बीले मानसरोवरको जल छुँदा आत्माको पवित्रता र असीम आनन्द अनुभूत गर्दछन्।
मानसरोवर नजिकैको चिउ गुम्बाका ऐतिहासिक पत्र केलाउनुहुन्छ नियात्राकार- "आठौँ शताब्दीमा गुरु पद्मसम्भव भंगेरोलाई पच्छ्याउँदै गुफाभित्र प्रवेश गरे। उनी एकसाता गुफामा तपस्या गरे। त्यसबेलादेखि त्यो स्थान चिउ गुफा भनेर चिनिन थाल्यो। स्थानीय भाषामा चिउको अर्थ भंगेरो हुन्छ।" (पृष्ठ ७१)
शान्ति र पवित्रताका अनेक गाथा सुनाउने यी कथाभित्र गहिरो आस्था, विश्वास र सम्मानका नालिबेली भेटिन्छन्।
"शिवत्व भनेको बाहिरी चिज होइन्। जब हामी आफ्नै अहङ्कार, लोभ र क्रोधलाई जित्छौँ तब प्रकट हुन्छ यो। यो परम सत्य, प्रेम र मुक्तिको मार्ग हो।"(पृष्ठ ८०)
आहा, कति प्रष्ट, सरल र सुन्दर अभिव्यक्ति छ नियात्राकारको।
नीलो आकासे पृष्ठभूमिमा अडेस लागेर बादलु च्यादर ओढेको विलक्षण शिलाखण्ड हो कैलाश पर्वत। यो पर्वतलाई अध्यात्म, आस्था र मोक्ष प्राप्तिको उचाइ मानिन्छ। कैलाश पर्वत वरपर शिवको वाहन नन्दी र पञ्चगणेशका प्रतिरूप मानिने पहाडहरू छन्। यो यात्रामा पाँच हजार मिटरभन्दा अग्लास्थान कैलाश नियाल्ने दिरापुक, चरणस्पर्श र डोल्मा लाका उचाइ हुन्। बौद्ध परम्परामा डोल्मा हरित तारा हुन् भने हिन्दू परम्परामा पार्वती। डोल्मा लाको उचाइमा ती देवीका पदचिन्ह अङ्कित छन्। ब्रह्माण्डको उर्जा मानिने कैलाश पर्वत ६,७१४ मिटर मात्र अग्लो भए तापनि यो धार्मिक आस्था र सौन्दर्यको अनुपम र अग्लो चुली हो। भूगोल र आस्थाका यी उचाइ स्पर्श गर्ने हरेक वर्णनले पाठकको मनभित्र सिरिङ्ग पार्छ र श्रद्धाले नतमस्तक हुन्छन् पाठक।
बोन धर्मावलम्बीले कैलाशलाई आकासदेवीको आसन मान्दछन्। जैन धर्मअनुसार प्रथम तीर्थङ्कर ऋषभनाथले मोक्षप्राप्त गरेको स्थान कैलाश पर्वत मानिन्छ। महाभारतका पञ्चपाण्डव कैलाश क्षेत्रको यमद्वार हुँदै स्वर्ग जान लागेका थिए कि ? पाण्डवहरूको मोक्षको पदचिन्ह पनि पहिल्याउन खोज्नुहुन्छ नियात्राकार।
कैलाशलाई संसारकै नाभी मानिन्छ, जहाँबाट चारैदिशातर्फ शक्तिशाली उर्जा प्रवाहित भइरहन्छ। एघारौँ शताब्दीमा महायोगी मिलारेपाबाहेक कुनै मानवले नटेकेको अजेय पर्वत हो कैलाश। कैलाशलाई आरोहणको सट्टा नमन गरिन्छ। यो त आत्माको यात्रा हुने आध्यात्मिक धुरी हो।
यस्तै आस्थामाथि उभिएर हेर्दा आफ्नी आमाले हरघडी छातीमा टाँस्ने शिशुझैँ अद्भूत सुन्दर आकृति बन्न पुगेको छ कैलाशको- "कैलाश पर्वत जे कल्पना गर्नुहुन्छ, त्यो देख्न सक्नुहुन्छ। हेर्नुस् त त्यो गणेश हो, त्यो माता पार्वती अनि माथिको आकृति चाहिँ शिवजी !" (पृष्ठ ११६)
यस कृतिमा दार्शनिक चिन्तन र जीवनको मोहक चर्चा छ- "दुख्ख नै तपस्या, सङ्घर्ष नै मुक्ति र हरेक उकालो पुनर्जन्मको प्रतिकजस्तो !" (पृष्ठ १२९)
दक्षिणावर्त वा त्यसको ठीक विपरित वामावर्त जुन हिसाबले गरे पनि कैलाश प्रदक्षिणा हरेक ढुकढुकीले हृदय स्पर्श गरेजस्तै हो। जसरी हरेक धड्कनमा जीवनको लय माधुर्य गुञ्जिन्छ। हरेक श्वासमा अस्तित्वको अमीट छाप चम्किन्छ।
कैलाश पर्वतको बीचोबीच कोरिएर धर्सो सम्बन्धी मिथकीय प्रयोगले झन् सुन्दर लाग्छ कैलाश पर्वत।
बोन गुरु नारो बुङ् चुङ् र बौद्ध महायोगी मिलारेपाबीच कैलाश पर्वत छिटो उक्लने प्रतिस्पर्धा भएछ। चमत्कार र गतिका सिद्ध बोन गुरु ढ्याङ्ग्रो बजाउँदै शिखर नजिक पुगेछन्। दृष्टिकोण, आत्मशुद्धि र शान्तिका साधक मिलारेपा तान्त्रिक योगबलले उडेर सबभन्दा पहिला कैलाशको टुप्पोमा पुगेछन्। तब बोन गुरु हार स्वीकार गर्दै ढ्याङ्ग्रोसहित लडेछन्। उनी लड्दाको चिन्ह रे बीचको हिउँ लछार्दै झरेको कैलाश पर्वतको गहिरो धर्सो।
कैलाश प्रदक्षिणा गर्दा कुबेरकुण्ड हुँदै जुथुलपुक निस्कने मध्यम परिक्रमा पथसमेत चिनाउनुहुन्छ नियात्राकार। त्यसैगरी मायुमबाट शुरु गरी ब्रह्मपुत्रको मुहान, मानसरोवर, राक्षसताल, कर्णालीको मुहान, तीर्थपुरी, सिन्धुको मुहान हुँदै बोन रिसम्मको एकमहिने महापरिक्रमा पथसमेत बताउनुहुन्छ।
धार्चेन छु, ल्हा छु र मानसरोवरको पानी राक्षसतालमा खसे पनि ताल कहिल्यै भरिँदैन भन्नुहुन्छ नियात्राकार। कुनै रहस्यको बाटो हुँदै त्यो पानी कर्णालीमै मिसिएको भए पनि नेपालको सबैभन्दा लामो र जीवनदायिनी नदीलाई अशुद्ध ठान्न मिल्ला त ? पुस्तकमा उठाइएको सवाल मेरो मनमझेरीमा पनि उभिन्छ उसरी नै।
कर्णाली नेपालमा त उपेक्षित छँदैछ, उद्गममा समेत अपहेलित पो रहेछ।
नेपालमा कर्णालीको बाटो हिँड्नेहरू कर्णालीका द्रष्टा ठहरिन्छन्। कर्णाली भोग्नेहरू गरिबी र विकटताका पत्रमा लुटपुटिएर अदृश्य नै छन्। सपादलक्ष कर्णाली अर्थात् सवालाख पहाडमा हुर्किएको सभ्यता हो कर्णाली। कर्णालीको सभ्यता र विशेषता बोध नहुनेहरूले कर्णाली राक्षसतालको आँसु बोकेर बग्छ भन्छन्। कैलाश पर्वत र मानसरोवरको समग्र पवित्रता र विशालता बोकेर गंगा भेट्न कुद्ने कर्णाली नदी र यसले हुर्काएको उन्नत सभ्यतालाई कसरी बिटुलो ठान्न मिल्छ ?
गौरीकुण्डको स्वच्छता र शीतलताबाट उत्रेपछि पहाडहरूको सौन्दर्यमा तैरिनुहुन्छ नियात्राकार। देखिन्छ घोडाले टाउको उठाएजस्तो शिलास्तम्भ। हयग्रीवबारे सहयात्रीबीच अनेक चर्चा चल्छ। म तानिन्छु विष्णुको हयग्रीव अवतारतर्फ पनि।
भगवतीको आशिर्वादले अजेय राक्षस हयग्रीवबाट समस्त ब्रह्माण्ड आतङ्कित हुनथाल्छ। पूजा, यज्ञ, तप आदि हुन नदिन ब्रह्माबाट वेद खोसेर समुद्रमा फालिदिन्छ। विष्णु र हयग्रीवबीच लामो समयसम्म भयानक युद्ध चल्छ। दुबै पक्ष थाकेर विश्राम गर्छन्। विष्णु आफ्नो सारङ्ग धनुषमा शीर अड्याएर योग निद्रामा मस्त रहन्छन्। विष्णु लामो समय नव्युँझदा ब्रह्माले किरो उत्पन्न गरी धनुषको प्रत्यञ्चा काट्न लगाउँछन्। प्रत्यञ्जा काटिँदा विष्णुको शीरसमेत काटिएर गायब हुन्छ। कसैले विष्णुको शीर हयग्रीव राक्षसले नै काटिदिएको समेत मान्दछन्। ब्रह्माको आदेशअनुसार घोडाको शीर विष्णुको शीरमा जोडिन्छ। यसरी विष्णुको हयग्रीव अवतार प्रकट हुन्छ। हयग्रीव विष्णुले हयग्रीव राक्षसको विनास गरी चारवेद र समस्त चराचर जगतको रक्षा हुनगएको हिन्दू धर्मग्रन्थमा वर्णित छ।
कैलाश मानसरोवरको धार्मिक आस्था र प्राकृतिक सुन्दरतालाई आफ्नो शिल्पजादूले राम्ररी सिङ्गार्नुभएको छ वरिष्ठ नियात्राकार राजेन्द्रमान डङ्गोल। नियात्रामा प्रयुक्त कलात्मक शैली र सिर्जनात्मक मिठासले हरेक पाठकको मन जित्छ। प्रकृतिसँगको निकट सम्बन्ध र अन्तरङ्ग वार्तालापले मोहित पार्दछ। कैलाश कोरा नेपाली नियात्रा साहित्यको कोशेढुङ्गा मात्र होइन नयाँ क्षितिज भेट्टाउने नयाँ बाटो समेत सावित भएको छ।