जीवन नित्य-यात्रा

कविता तेजराज दाहाल December 13, 2025, 6:44 am

तेजराज दाहाल
तेजराज दाहाल
क्षण–क्षण ढल्छ स्वरुप,

तर अस्तित्व अडिग रहन्छ ।

मनभित्र कतै निस्कन्छन् सूक्ष्म

चेतना, प्रकाश, र गति बन्दै

अनेकार्थी चलचित्र बिचित्र,

जसलाई हामी जीवन भन्छौँ ।१।

बितेका दिनहरू थिए अनित्य,

आउँदो समय अनिश्चित र

खुल्दैछन् अज्ञेय स्वरमा ।

हामी त केवल - जिउँदो,

श्वासका लघु-तरङ्ग हौं,

छल्किने, थामिने, र हराउने ।२।

संसार यो चलायमान छ,

हाम्रो चित्त भने कहिले नदी,

कहिले समुद्र, गुणवत्ता एकै

तर, पहिचान अलग थलग,

आखिर सत्य - जहाँ शान्ति,

त्यही बस्छ स्व-धर्म ।३।

दुःख सँधै प्रश्न भएर आउँछ,

सुख उत्तरको भेषभुषामा ।

दुवैलाई अङ्कुरझैँ स्वीकार्दा

मानिस बन्छ - पूर्ण, प्रबुद्ध,

स्व-प्रज्वलित आत्माभित्रको

एक उज्वल दीपशिखा ।४।

अन्त्य कहीँ हुँदैन - जीवन,

केवल परिवर्तनको संगीत ।

समात्न खोज्छौँ निरर्थक,

वास्तवमा हो - अपृश्य सत्य

आत्माको नित्य-यात्रा,

एक अदृश्य र अनन्त मार्ग ।५।

कोटेश्वर, काठमाण्डौ, हाल - ब्रिसवेन, अस्ट्रेलिया।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।