कवि बन्ने लहडमा

कविता सन्ताेष लुइटेल किंसुका December 18, 2025, 7:53 am

सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका
कवि त पानी झैँ हुन्छ रे

म पानी बन्न सकिनँ

केही भिजाउन, कतै रसाउन, कुनै बिज टुसाउन सक्तिनँ

खै किन, किन ?

म शब्द देख्छु आँखाले; केबल आँखाले

फोस्रो बालुवासरि, केबल बालुवासरि

सायद मुटु छैन कि ?

हृदयविहीन आँखाले स्पर्श गर्छु शब्दहरूलाई

फाेस्राे लाग्छ, सारै खस्राे …

काेमलता पाउन त कपास बन्नुपर्दाे रहेछ

भिज्दैन बालुवा त वर्षातले पनि

भावनाकाे मुहान हृदय नै ढुङ्गाे भएपछि

निस्कने आखिर बालुवा न हाे

हृदय नै नहुँदा खै के बन्छ ?

हृदय भए पाे भाव निस्कन्छ

कलम समात्छन् यी हातहरू

सन्दर्भले मुटु छेडेपछि

उम्लन खाेज्छन् भावका सागर अनि

वाष्प उठ्छ माथि माथि कतै आकाशतिर

बर्सन्छन् सिर्फ शब्द-बालुवा,

आँखा पग्ली गङ्गा बहँदा

चल्दैनन् भाव लहर

मुटु भए पाे पग्लन्छ

हराए झैँ भागीरथी अश्रुगङ्गा हराउँछन् कता कता विवश बनी

शबद हाे एक आधार भावगङ्गा त्यसकाे सार

भावविहीन शब्द रहन्न मुटु नबाेली भाव रहन्न

अब समाऊँ कलम मुटुले, बगाऊँ शब्द शब्द भावका धारा

कवि पानी हाे, पानी कवि रे

भावभकारी कविकाे छवि रे

कवि म बनेर शब्द सजाऊँ

शब्द शब्दमा भाव बगाऊँ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।