नेपाली गीतको फाँटमा दार्जीलिङका पुरण गिरी नबिर्सने र नछुट्ने नाम हो। उनको जन्म कालिम्पोङमा सन् १९६१ मा भएको हो।उनी बाबु स्व. टेकबहादुर गिरी र आमा स्व. डम्बर कुमारी गिरीका कान्छा छोरा हुन्। उनी एकनिष्ठ रूपमा गीत लेखनमा समर्पित छन्। हालसम्म उनका प्रकाशित कृतिहरूमा जिन्दगीको लयान्तर (गीत सङ्ग्रह), बिम्बहरू (गीतसङ्ग्रह), चन्द्र सूर्यको प्रेम कथा (गीतिकाव्य), मर्मको मिठास (गीतिकाव्य) हुन्।
उनी जन्मजात गीतकार हुन्। ‘कविता लेख्न खोज्दा स्वतः गीत नै जन्मन्छ’ भन्ने स्वयम् उनको भनाई पनि चरितार्थ हुन्छ। यद्यपि हल्ला, विज्ञापन, बडप्पनदेखि अलग्ग रही एकनिष्ठ, समर्पित, आफ्नै सिर्जनाको संसारमा रमाउने सर्जक हुन् पुरण गिरी। उनी गीतभित्र डुबेका छन्, गीतमा हुनुपर्ने गुण, विशेषता र लक्षण चिनेका छन् औ गीतको मर्म बुझेका छन्। उनका गीतहरू संगीतकारहरूले संगीत दिएर तथा गायकहरूले गाएर साँच्चै न्याय दिएका छन्। सबै गीतहरू मिठा बनेका छन्। पेमा लामाले गाएका ‘तिमी जिन्दगीसित सम्झौता गर’, ‘आमाको माया बरै गंगाको पानी’, अनुपमा प्रधानले गाएकी ‘मायाका ती मीठा कुरा’, उदय–मनिलाले गाएका उनका सबै गीतहरू, हिरा रसाइलीले गाएका गीतहरूलगायत सबै गीतहरू मीठा छन्। संगीतका सन्दर्भमा भने दीप वाइबाले अधिकाङ्श गीतलाई संयोजन गरेका छन्।.यसमा जम्मा एकसय आठवटा गीत छन् भने जम्मै गाइएका छन्। नेपाली गीत रचनाको फाँटमा गीतकारको कम नाम चले तापनि गीतकारको आफ्नै महत्व हुन्छ। गीतमा रहेका शब्द माधुर्य, गेयात्मकता, कोमल वर्ण प्रयोग, लयान्विति, आक्षरिक संरचना, अनाख्यानात्मकता, एकान्विति, शब्द-शब्दगत सुशृङ्खला इत्यादि कुराहरूका तालमेल नै असल गीतका लक्षण हुन्छ। गिरीका गीत पनि यी सबै लक्षण पाइन्छन्। कल्पना माधुर्य, शाब्दिक क्रीडा-कौतुक, भावगत वैचित्र्य, संवेदनात्मक तरलता, संगीतात्मक सचेतता र अनुभूतिजन्य लालित्यले उनका गीत उत्कृष्ट बनेका छन्। एकजना संवेदनशील मान्छेको मनमा आउने कल्पनामा जे जे आउँछन् तिनलाई प्रगीतात्मक अभिव्यक्ति दिने सामर्थ्य पुरण गिरीमा पाइन्छ।
२. नारायण गोपालको संक्षिप्त जीवनी-
गायक कलाकार नारायण गोपालको संक्षिप्त जीवनी- नेपाली साङ्गीतिक क्षेत्रमा नारायण गोपाल एक अविष्मरणीय नाम हो। नारायण गोपालको जन्म ४ अक्टोबर, १९३९ तदनुसार असोज १८ गते १९९६ मा काठमाडौंको किलागलमा भएको थियो। उनका बाबुआमाको नाम आशागोपाल गुर्वाचार्य र आमारामदेवी गुर्वाचार्य थिइन्।नारायण गोपालको गीतगायन प्रायः सन् १९६0 देखि १९९० सम्म गरी लगभग तीस वर्ष जतिको रहेको थियो। तीस वर्ष जतिमा उनले धेरै धेरै गीत गाएका होइन्न्। जम्मा एक सय सत्तरवटा जति मात्रै गीत गाएका हुन। उनले आफ्नो जीवनकालमा पोखराको अमर माध्यमिक विद्यालयमा शिक्षण, राष्ट्रिय सांस्कृतिक संस्थानका निर्देशक, ललितकला क्याम्पसमा सङ्गीत शिक्षक आदि रही सेवा प्रदान गरेका हुन्। उनी नेपाली सङ्गीतलाई उचाल्न चाहन्थे। कलाकारिता क्षेत्रमा भ्रष्टाचार, सिफारिस, राजनैतिक प्रभाव आदिबाट जोगाएर स्वस्थ्य, निष्पक्ष, निर्मल राख्न चाहन्थे। उनका आफ्ना सन्तान नहुनाले आफुले आर्जन गरेको आयलाई ‘नारायण गोपाल संगीत कोष’ बनाउन चाहेका थिए। आफ्नो मृत्यु शय्यामासमेत यो इच्छा व्यक्त गरेका थिए। अहिले ‘नारायण गोपाल सांगीतिक कोष’ सक्रिय रूपमा कार्यरत छ। यसले वार्षिक रूपमा नारायण गोपालका नाममा पुरस्कार पनि प्रदान गर्दै आएको छ। उनको व्यक्तिगत जीवनबारे धेरैले धेरै कुरा लेखेका छन्। नाम्ची सिक्किमका मोहन प्रकाश राईको सम्पादन प्रकाशनमा प्रकाशित नाराण गोपाल स्मृति ग्रन्थ नामक पुस्तकमा उनीबारे धेरै कुरा संस्मरणमा लेखेका छन्। उनका आनीबानी, खानपीन, स्वभाव आदिबारे धेरथोर जानकारी दिएका छन्। उनकी श्रेमतीदेखि लिएर घनिष्ठ मित्रहरू, प्रशंसक आदिका संस्मरण प्रस्तुत गरिएको पाइन्छ। त्यतिमध्येबाट उनको मदपानको चर्चा प्रायः सबैले गरेका छन्। दार्जिलिङका गीतकार पुरण गरीले नारायण गोपालको यही एउटा कुलत र त्यसको परिणामबारे प्रकाश पारेर एउटा सिङ्गै गीतिकाव्य सिर्जना गरेका छन्।
३. मर्मको मिठास-गीतिकाव्य कि गीतिनाटक?
पुरण गिरीले इश्वी २०२२ मा मर्मको मिठास नामक एउटा गीतिकाव्य भनेर लेखेका छन्। यद्यपि यसमा संवाद शैली र दृश्याङ्कन गरिएकाले गीतिनाटक हो भन्ने पाठकलाई लाग्छ। यसमा चार चार पंक्तिमा रहेका एक श्लोक बनाइएको छ। यद्यपि दुई छोटा छोटा पंक्तिलाई एक पंक्ति बनाउँदा भने अन्त्यानुप्रास मिल्दछ। दुई द यो यद्यपि यसको मूल काव्य नै लाग्छ। यो अत्यन्तै मिठासले भरिएको छ। यसको अध्ययन गर्दै जाँदा पाठकलाई नारायण गोपालको जीवनी रहेछ भन्ने लाग्छ। यस काव्यको पृष्ठभूमि पात्र नारायण गोपाल हुन् र उनलाई नै काव्यनायक तुल्याएर गीत काव्य रचिएको छ। प्रमुख पात्रको नाम हरि राखिएको छ। यस नामबाट नै पाठकले छनक पाउँछन् किनकि नारायणको अर्को नाम हरि पनि हो। यस काव्यमा जम्मा १७९ पृष्ठभित्र पच्चीसवटा दृश्यहरू रहेका छन्। यसमा रहेका संवाद योजना र दृश्यविधान हेर्दा यसलाई गीतिनाटक पनि भान हुन्छ। कुनै उल्लेखनीय घटना र प्रसङ्गको परिवर्तन हुँदा नयाँ दृश्य पारिएको छ। यद्यपि यसलाई गीतिनाटक भन्दा गीतिकाव्य नै भन्न उचित हुन्छ। यसमा काव्यकारको स्थिति वर्णन, सङ्केतन र मनोभाव विवरण गर्दा गीत नै पाइन्छ।
४. मर्मको मिठास काव्यको वस्तु विधान
यसमा हरि नामक पात्रसित कुनै शारदा नामकी युवतीसित घनिष्ठ प्रेम बसेको हुन्छ। गायनमा लट्टिएर नै शारदा हरिसित मोहित हुन्छिन्। दुईजनाको प्रेम विवाहमा परिणत गर्न खोज्दा हरिको रक्सी पिउने बानी स्पष्ट हुन्छ। शारदाका आमा बाबु हरिको कलाकारितालाई स्वीकार गरे पनि मदपानको कुलतमा डुबेको मत्थुलाई छोरी दिन कदापि राजी हुँदैनन् बरू शारदाकै मन फर्काएर हरिसित छुटाएर अर्को पात्र उदार भन्ने युवकसित बिहा गराइदिन्छन्। बिहेपछि शारदाले आफ्नो पति उदारलाई आफ्नो र हरिका बीचको विगतको प्रेमकथा सुनाउँछे तर पनि पतिले सहजै स्वीकारी उदारता देखाउँछ। यसपछि हरि र उसको गायनमा मोहित हुने लक्ष्मीको प्रेम हुन्छ र उनीहरूको बिहा भने सजिलै हुन्छ। लक्ष्मीका बाबु आमाले यति ठुला गायक हरिलाई छोरी सजिलै दिन्छन्। बिहेपछि पनि हरिले शारदालाई फोन गरी गीत र अन्य भावना पोखाउँदै गर्छ। पछि हरि बिरामी भई अस्पतालमा भर्ती हुँदा शारदाको पति उदार पनि विमार भएर त्यहीँ भर्ती भएको हुन्छ। त्यहाँ फेरि शारदा र हरिको भेट हुन्छ। शारदा र लक्ष्मीको भेट भएर शारदा हरिको प्रशंसक भएर हरिको सेवा गरेको कुरा जनाउँछे। एकदिन लक्ष्मी बाहिर गएका बेला शारदाका हातमा हरिको निधन हुन्छ। त्यतिबेला दुईजनाको प्रेमको विजय भएको सार्थकता पाएको उल्लेख छ। हरिको अन्तिम दिनमा शारदाको हातमा उसको निधन हुनु प्रेमको शाश्वत सम्बन्ध हुन् भन्ने कुरा सिद्ध छ। यस गीतिकाव्यको कथालाई तीन अवस्थामा राखेर हेर्न सकिन्छ- प्रारम्भ, मध्य र अन्त्यभाग। त्यसमा हरि र शारदाको प्रेमको शुरूवात्, हरि शारदाका घरमा रात विरात आएर बोलाउनु, आमाबाबुले उसलाई हेला गर्न लागेको अवस्था आदिभाग हुन्। त्यसपछि शारदाको बिहा उदार भन्ने युवासित हुनु यसको मध्यभाग र काव्यको चरमोत्सर्ग मान्न सकिन्छ। हरिले शारदालाई जति नै माया गरे पनि शारदाले उसको पिउने बानीको सुधार नआएकाले बाध्य भएर आमाबाबुको वचनलाई शिरोपर गरी उदार नामक युवकसित बिहा हुन्छ। त्यसपछि शारदा र हरिको फोनमा बातचित यथावत् हुन्छ। एक दिन शारदाका पति उदारलाई पनि हरिसित आफ्नी श्रीमतीको नेपाली समाजका एक लोकप्रिय गायक हरिसित प्रेम थियो भन्ने जानारी पाए। त्यसबाट उनलाई नराम्रो लागेन बरू खुशी नै व्यक्त गरेको छ। पछि हरिको लक्ष्मी नामक युवतीसित बिहा हुन्छ। उनीहरूको सुमधुर समबन्ध कायम रहन्छ। हरिको गायनको कार्यक्रम दिनप्रति दिन हुन्छ, उ व्यस्त हुन्छ। उसले नाम र धन दुवै अझ आर्जन गर्छ। अन्त्यमा उ बिरामी भएर अस्पतालमा भर्ना हुन्छ। त्यहाँ शारदाको पति पनि बिरामी भएर भर्ती भएको हहुँदा शारदा र हरिको भेट हुन्छ।
५. कथावस्तुको स्रोत
मूल कथा नै नारायण गोपालको जीवनी हो। यसमा भएको कथावस्तु नारायण गोपालकै जीवनका वास्तविक घटनाहरूलाई आधार बनाएर तयार पारिएको हो। एउटा उत्कृष्ठ गायकको प्रेमकथालाई गीतकै माध्यमबाट प्रकाश पारिएको छ। रक्सी पिउने बानीले गर्दा उसको प्रेमिका छुट्यो, स्वस्थ्य छुट्यो। शारदालाई मगनी गर्न जाँदा हरिले गोपाल र कर्मलाई लिएर गएको कुरा उठाइएको छ जुन उनका मित गोपाल योञ्जन र मितदाजु कर्म योञ्जन हुन्। पछिल्ली प्रेमिका लक्ष्मी सम्भवतः उनकी धर्मपत्नी पेमाला थिइन्। कथामा केही थपघट, काल्पनिकता, भावुकता आदिका फुलबुट्टा भरेर काव्यलाई सुन्दर र मौलिक पारेका छन्। यद्यपि यसका काव्यनायक नारायण गोपाल नै हुन्। यसरी नारायण गोपालको प्रेमकहानीलाई पुरण गिरीले बडो सरल गेयात्मक र काव्यात्मक भाव र शैलीमा उतारेर एउटा कलाकारलाई जीवन्त तुल्याइदिएका छन्।
यस काव्यमा हार्दिक संवेदनशीलता अत्यन्तै तीब्र रूपमा पाइन्छ। शारदाका निम्ति एकापट्टि उत्कृष्ट गायक हरिसितको गहिरो प्रेम छ। हरि शारदालाई अत्यन्तै माया गर्छ। शारदालाई हेर्न उ शारदाको घर जान्छ। शारदा पनि हरिको अतिनै प्रशंसक र प्रेमिका बनेकी छ। शारदाले हरिलाई अघोरै माया गर्छे । अर्कापट्टि भने हरिको रक्सी पिउने बानी थाहा पाएर शारदाका आमाबाबु शारदालाई हरिदेखि टाडिन लगाउँछन्। मत्थुसित प्रेम गर्नु हुँदैन, बिहा गर्नु हुँदैन, यस्ता मत्थुको कुनै भरोसा हुँदैन। हरिको गायनकला शारदाका आमाबाबुका निम्ति नगण्य छ। मदपान गर्ने बानी नै मानिसको सबैभन्दा निकृष्ट स्वभाव हो भन्ने कुरा व्यक्त गर्छन्। हरि मातेर टुन्न भएर शारदालाई भेट्न घर आउँदा आमाबाबुले घृणा व्यक्त गर्दछन्। शारदाको हरिको पिउने कुलतभन्दा उसको गायन कलाप्रति आकृष्टता पाइन्छ भने आमाबाबुका दृष्टिमा भने हरिको गायनकला नगण्य तर पिउने कुलतलाई प्राधान्य दिन्छन्।
६. काव्यको पात्रविधान-
यस काव्यमा चरित्रप्रधान काव्य मान्न सकिन्छ। यसको मुख्य पात्र नै हरि र शारदा हुन्। शारदका अर्को नाम बेबी पनि पाइन्छ। हरिले सम्बोधन गर्ने नाम चैं बेबी पाइन्छ। उनीहरूको परस्परमा गहिरो प्रेम छ। हरिको रक्सी पिउने कुलतले गर्दा उनीहरूको साथसङ्गत छुट्छ। तर अर्काअर्कैसित बिहा भएर पनि उनीहरूको सामान्य गफ जारी हुन्छ। हरिको गायन कलाप्रति आकृष्ट बनेकी शारदाको मानसिक अवस्थार हरिको स्वभाव नै यस काव्यको प्रवल पक्ष हो। शारदाका आमा, बाबु, राधा, कुसुम,सन्तोष, गोपाल, अविनाश, उदार, लक्ष्मी, डाक्टर आदि यसका अन्य पात्र-पात्रा हुन्। यहाँ सङ्केत पाइएको गोपाल र कर्महरू सम्भवत् हरिका मित्रहरू गोपाल योञ्जन र कर्म योञ्जन हुन्।
७. काव्यको शिल्प पक्ष-
मर्मको मिठास एउटा गीतिकाव्य हो। यसमा स्वतञ्त्र मुक्त लय मिलाएर गेयात्मक र सांगीतिक बनाइएको छ। यसमा विषय वर्णन र संवाद गरी दुई किसिमको प्रस्तुति पाइन्छ। यसमा संवाद प्रस्तुतिमा पात्र-पात्राहरूको अन्तसम्वाद र अन्तर्संवाद दुवै किसिमका संवादको प्रयोग पाइन्छ। यसका प्रत्येक पंक्तिमा गीति चेतना पाइन्छ। एक प्रकारले गयात्मक प्रवाह, संक्षिप्तता, सरलता, सरसता जस्ता गुण पाइन्छ। सघन भावलाई सम्प्रेषण गर्न गीतकार सचेत छन्। शारदा र हरिको मनको संवेदनशीलतालाई समेट्न गीतकारले जतिसक्दो प्रयत्न गरेका छन्। प्रत्येक पंक्तिमा नै भावगुम्फन पाइन्छ। यहाँ मूलतः दुई प्रकारले भाव व्यक्त गरिएको पाइन्छ- संवादकथन र लेखकीय सङ्केतकथन।यसका अधिकांश संवादकथन पाइन्छ भने लेखकीय कथन पनि गीतात्मक रहेको छ।यसभित्र चारवटा गीतहरू पनि समावेश गरिएको छ। यसमा चार चार पंक्तिको एक श्लोक बनेको छ यद्यपि प्रत्येक श्लोकको दोस्रो र चौथो पंक्तिको अनत्यानुप्रास मिलेकाले यसलाई दुई दुई पंक्तिको एक श्लोक बनाएर लेख्न पनि सकिन्छ। जस्तै –
गाउनु त मेरो धर्म हो
नगाइ बस्न सक्दिनँ
गाउनु नै हो भने उसको यादमा
गाएर कैले थाक्दिनँ
यति कोमल निश्छल बेबी
पाउनलाई म कहाँ चुकेँ
निश्चय पनि निशा नै हो
जान्दा जान्दै पनि रक्सीमा झुकेँ
जे भो अब उसो म
आफ्नै जिन्दगी जिउने छु
उसलाई कुनै बाधा नपुर्याइ
आफ्नै मन सिउँदैछु।
अब यसैलाई दुई दुई पंक्तिमा मिलाए यस्तो पंक्ति मिल्दछ-
गाउनु त मेरो धर्म हो नगाइ बस्न सक्दिनँ
गाउनु नै हो भने उसको यादमा गाएर कैले थाक्दिनँ
यति कोमल निश्छल बेबी पाउनलाई म कहाँ चुकेँ
निश्चय पनि निशा नै हो जान्दा जान्दै पनि रक्सीमा झुकेँ
जे भो अब उसो म आफ्नै जिन्दगी जिउने छु
उसलाई कुनै बाधा नपुर्याइ आफ्नै मन सिउँदैछु।
जम्मै पंक्तिहरू नै यस्तै मुक्तलयका चार चार पंक्तिमा आवद्ध रही गीतकारले आफ्नो गीतिचेतनालाई प्रकट गरेका छन्। गीतैको माध्यमबाट चरित्राङ्कन, मानसिक स्थितिको वर्णन, प्रेमको मिलन र विछोड, वार्तालाप सबै प्रकट गरेका छन्।
८. उपसंहार
पूरण गिरीको गीतिकाव्य मर्मको मिठासमा जुन हरि नामक पात्रको चरित्राङ्कन गरिएको छ, ती हरि अवश्य नै नारायण गोपाल हुन् भन्ने सङ्केत पाइन्छ। उनको जीवनको प्रेमप्रसङ्गलाई आधार लिएर यो काव्य तयार पारिएको छ। काव्यमा संवेदनशीलता,हरिको रक्सी सेवनको कुलत, हरिको शारदा नामकी युवतीसितको प्रेममा आइपरेका बाधा, अधुरो प्रेम, दुवैको अर्कै अर्कैसित विहे हुनु तर पनि शारदा र हरिको फोन वार्ता जारी रहनु, शारदाले आफ्नो लोग्नेलाई आफ्नो विगतको हरिसितको गायक हरिसितको प्रेमबारे बताउनु, पछि हरि बिरामी परेको बेला अस्पतालमा शारदासित भेट हुनु, हरि मर्ने बेलामा संयोगवस् शारदाको हातमा प्राण जानु जस्तो आत्मिक मिलनको कथावस्तु भएको गीतिकाव्य बनेको छ।
गीतिकाव्यको वस्तुविधान, चरित्राङ्कन, परिवेश विधान, संवाद योजना, भाषा –शैली अत्यन्त रोचक आकर्षक रहेको छ। मनमा परेको औडाहा, विरक्ति, विछोडको भाव आदिलाई गीतको माध्यमद्वारा समेटिएको छ। काव्यको बीचबीचमा गीत हालिएको छ। शारदाको कलाकार चिन्ने पारखीकला र विवशता, आमाबाबुको अघिको कर्तव्यताले गर्दा दार नामकसित बिहा भएर पनि उदारलाई आफ्नो बारे खुलस्त बताएकीले उ एक आदर्श नारीको रूपमा प्रस्तुत गरिएको छ। यसैगरी हरिको रक्सी पिउने कुलत भए पनि मतिहीन, गतिहीन चरित्र भने पाइन्न। उ त गीतलाई उच्च शिखरमा पुर्याउने,सम्पूर्णरूपेन गायकीलाई उचाल्ने, कलाप्रेमी, सौन्दर्यप्रेमी, साँचो प्रेमी, इमानदार र कर्तव्यशील व्यक्तिका रूपमा महिमामण्डित गरिएको छ।