'हाँस्न बिर्सिएको मान्छे' कविता सङ्ग्रहको विवेचना

कृति/समीक्षा सदानन्द अभागी December 29, 2025, 7:58 am

सदानन्द अभागी
सदानन्द अभागी
परिचय –

हाँस्न बिर्सिएको मान्छे े कविता सङ्ग्रहको सिर्जनाकार हुन् डा. मित्रपाठक ‘काँचुली’ ।उहाँको जन्म गल्याङ न.पा. ७ पेलाकोट –७, चोक, स्याङ्जा रहेता पनि उहाँको स्थायी ठेगाना भने देवचुली न.पा. –७, नवलपरासी हो । हाल उहाँ वनस्पति अनुसन्धान केन्द्र सल्यान वनस्पति विभाग,वन तथा वातावरण मन्त्रालयमा कार्यरत हुनुहुन्छ । यस कृतिको दीपक पाण्डे(हाल अष्ट्रेलियां) र पारु भूसाल (कावासोती)ले संयुक्त रूपमा प्रकाशन गरेका छन् । यसको मूल्य रु १००(४ द्द।ण्ण्०,राखिएको छ ।यस कवितासङ्ग्रहमा विविधताले सजिएका ६७ कविताहरू समावेस गरिएका छन् ।

प्रकाशित कृतिहरू –

 भलाद्मी श्रीमती (लघुकथासङ्ग्रह, २०६३)

 मन चोर्नेलाई के भन्ने (लोक कथा दोहोरी गीत एल्वम् ः लय तथा शव्द, २०६९)

 गजल आकाश (गजलसङ्ग्रह २०७०)

 देवचुली त्यो शिखर चढ्दा सगरमाथा चढेसरी (स्वदेशगान, शव्द रचना २०७६)

 देवचुली देवचुली हाम्रो देवचुली (गीत शव्द एवं भिडियो निदेशन २०७७)

 हाकिमको देश (लघुकथासङ्ग्रह, २०८०)

 हाँस्न विर्सिएको मान्छे (कवितासङ्ग्रह, २०८२)

प्रकाशोन्मुख मुख्य कृतिहरू –

 आधा खुशी (उपन्यास)

 देवचुली देखि ग्रेटवालसम्म (नियात्रा)

सम्पादन –

 दियाँलो साहित्यिक द्दैमासिक (पधान सम्पादक, २०६० –०६५)

 इन्दु गजल प्रदान द्दैमासिक (अतिथि सम्पादक २०६१–०६२)

संलग्नता –

 अनुपम साहित्य प्रतिष्ठान (।सचिव, २०६१)

 श्री भिमसेन आदर्श मा.वि. एलमुनाई एसोसियसन (संस्थापक अध्यक्ष २०६०)

 श्री देवचुली लाली गुराँस युवा क्लव (उपाध्यक्ष २०५८

 विजय एफ. एम.१०१.६ कार्यक्रम प्रस्तोता÷ संवादाता (२०६१÷२०६२)

 निजामति कर्मचारी युनियन जि.का.स. ललितपुर सचिव (२०७१–०७२)

 शारदा एफ.एम. ९९.२ कार्यक्रम प्रस्तोता (२०८१÷०८२)

 कर्मचारी मिलन केन्द, सल्यान, उपाध्यक्ष (२०८१÷०८२)

कृतिभित्र प्रवेश गर्दा –

१. आउ एउटा सेल्फी ठोकौं –यस कवितामा कविले आजको अवस्थालाई केलाएका छन् र यस बाट निम्त्याएको विकृतिलाई प्रष्ट्याएका छन् । विकास र विनाश सँगै सँगै हिडछन् । कवि यसरी प्रस्तुत भएका छन् –

नयाँ नेपालको विकासमा छलाङ् मार्दै गर्दा

भौतिकताले जमाना फेरियो

जमिनको माटो पानी र जङ्गल कंक्रिटले घेरियो

भावी पिढी रोउन् या हाँसुन् बाल भो ।

आऊ कंक्रिटको रूख समाएर

एउटा भाइरल सेल्फी हानौं

पृष्ठ १

जमाना फेरिएको छ । परम्पराको ज्ञानलाई त्यागिएको छ । जडीबुटीको स्थान सिटामोलले लिएको छ । पानीका मूल सुक्दै छन् । बाटा बन्दै छन् तर बाढी पहिरो पनि बढ्दै छन् । बास्तवमा कविले विकासको सूचकको रूपमा यसरी लिएका छन् –‘‘ज्ञानलाई विज्ञानमा विज्ञानालाई प्रविधिमा बदल्नु विकासको सूचक हो ।’’ ‘‘ विज्ञानले कोर्ने विकास खाका दिगो हुन्छ राजनीतिले गर्ने विकाश चुनावी हुन्छ । राजनीतिक कर्ताले विकास निर्मााण भन्दा आपूmलाई कहाँबाट कति आउँछ भन्ने भावनामा पेरित हुन्छ ।’’ विकास निर्माणलाई अगाडि लान कवि आतुर छन् र भन्छन् –

बिलम्ब भो भावी पिढी अट्ने गरेर

भविष्य कोर्ने खाका कोर्न

संकल्प गरेर सुन्दर भविष्यको

ज्ञान बाँडौँ अनि त्यही उपलक्ष्यमा

एउटा दिगो र दिर्घकालीन

विकासका नाममा एउटा नमूना सेल्फी ठोकौँ ।

पृष्ठ २

सेल्फी आजको निकै प्रचलित शब्द हो जस्मा स्वयमले क्यामेरा वा स्मार्ट फोनबाट खिचिन्छ ।

२. मलाई ‘‘मानामर्थ” सहिद घोषणा गरियोस सरकार – मानिसमा रहेका अनेकौ रहरहरू सबैलाई पूरा गर्न क्षमतावान नहुन पनि सकिन्छ । तर पनि प्राप्त गर्ने रहरको लागि, मानार्थ महाकवि बनाउन सरकारलाई आग्रह । बढदो महगीको मारले गाँस बास कपासको आपूर्ति गर्न कठिनाइ छ । यस्तो पीडित अवस्थामा मानिस पलपल मरेर जिउनु बाध्यता छ । यसरी जिउनु भन्दा एकै पटक गायव हुन तयार रहेकोले मानार्थ सहिद घोषणा गरियोस भन्दै सरकारलाई आग्रह गरिएको छ । देशलाई विस्तारवादीहरूले निल्न खोजी रहेका छन् । उदाहरणको लागि काला पानीलाई लिन सकिन्छ । यस्ता घटनालाई हेर्दै हाम्रा देशको नक्सा भावी पिढीको जानकारीको लागि पाठ्यक्रममा राख्ने कुरा सपना धूलोमा मिसिदै क्षयिकरण हुँदै गएकोले शान्त सुरक्षित नेपाल, सारा नेपालीको ओठमा एक चिम्टी हाँसो ल्याई अमृत पिलाउन रहर भएकोले यी सबै कर्म पूरा गर्न कवि भन्छन् –

मात्र एक वर्षलाई ट्रायल सही

सारा जिम्मेवारी सहित

मलाई ‘‘मानार्थ सरकार’’

घोषणा गयिोस्

सरकार !!!

पृष्ठ ४

३. म त हनुमान भईसके छु – हनुमान रामका भक्त हुन । हनुमानलाई सकरात्मकपक्षमा हेर्दा त राम्रो मान्न सकिन्छ । तर यहाँ कविले आजका युवाको गतिविधिलाई केलाउँदै व्यङ्ग कस्तै हनुमान भै सकेको धारणा राखेका छन् । आजका शिक्षित युवा, बाठो युवा, शानले जिएका युवाले सहिलाई सही र गलतलाई गलत भन्न सक्नु पर्ने । तेरो र मेरो भन्नुको सट्टा हाम्रो भन्न सक्ने हुनु पर्नेमा, पार्टीगत रूपमा लागेर सबैको साझा हुन नसकेर एउटा समुहको भएका कारण यिनीहरू न यताका न उताका भएका छन् । देश र जनताका मुद्दामा पनि बाँडिएका छन् र एकलौटी पार्टीको भएका छन् । सत्यलाई सत्य भन्न हिचकिचाउँछन् । यसरी युवाहरू देशका र जनताका हुनु पर्नेमा नभएर बाँडिएर कहिले देशी र कहिले विदेशी मालिकहरूको हनुमान हुन पुगेका यथार्थता कविताले प्रष्ट पारको छ ।

४. हे सर।कार ! हे प्रतिपक्षी !! – यस कवितामा कविले सरकार पक्ष र प्रतिपक्षलाई चेतनाको दीयो जलाउने प्रयास गरेका छन् । सरकार र प्रतिपक्षको काम डुवेका जनतालाई उतार्नु , भोकालाई खाना, जनताले सरकार छ भन्ने अनुभूति, मानवताको अनुभूति, माया र आत्मियता बाँड्नु, जीवनको महत्व,बाँचौं र बचाऊँको छन् र यिनमा चेतना पसेको छैन भन्ने धारणालाई कविताले समेटेको छ । भावना, माननवीय व्यवहार देशलाई सम्पन्नतातिर लानु पर्ने हो तर यी दुबै पक्षले अझै पनि सपना र आश्वासन बाँडेका

५. तपाइँ हामी सबैमा भोटे ताल्चा – देश आत्मनिर्भर भएर अघि बढ््न सकेमात्र कसैको दवावमा पर्न पर्दैन । देशले सियोदेखि लिएर सुनसम्म र जहाजदेखि लिएर नूनसम्म आयतमा निर्भर रहने भएकोले यसको परिणतिलाई कविताले दर्शाएको छ । निर्यात गर्ने देशको हातमा भोटेताल्चा हुन्छ । उसको चाहना अनुकुल नभए नाकाबन्दी लगाउन सक्छ , लिपुलेक, कालापानी, सुस्ता र सीमाहरू अतिक्रमण गर्न सक्छ । कोशी गण्डकी, महाकाली नदीमा भाोटेताल्चा लगाउन सक्ने धारणा सहित कविले लेख्छन् –

हजुर नै जानकी माता

म निरिह बलवानलाई

आशिर्वाद बक्सिओस प्रभु

पृष्ठ ९

६–जिन्दगी बल्दै निभ्दैछ उसैगरी – जिन्दगीको यात्रा सहज छैन । कहिले बल्छ अनि कहिले निभ्छ । ओराली उकाली, उत्साह, अपेक्षा, इर्षा डाहा, कुण्ठा, सिधा मार्गको कल्पनामा, वाङ्गो टिङ्गो मार्गमा हुस्सु कुहिरो,तुसारो, पर्गेल्दै, अनगिन्ती अवसर गुमाउँदै, शिखर चढेको सपना सिङ्गारदै, जिन्दगी चल्दछ । यसरी जिन्दगीको यात्रा गर्दा उसले सुनौलो अक्षरले इतिहास लेखाउन र आउने पिढीलाई सुमार्ग देखाउन चाहान्छ । यसरी सुन्दर शान्त भविष्य चाहाना भएमा लोभ मोह तेरो मेरो भावनलाई हाम्रो भन्ने भावानामा रूपान्तरण गर्नु पर्छ, हरेक जिजिविषा लाई तिलाञ्जलि दिनु पर्छ र खट्न सक्नुपर्छ भन्ने धारणा बोकेको छ कविताले ।

७. हे जुझारु युवा –युवा देशका कर्णधार हुन् । देश निर्माणमा यिनको गहन भूमिका हुन्छ ।आज कोही युवा हातमुख जोड्न, घर चलाउन विदेशीएका छन् । कोही युवा उनले पठाएको रेमिटेन्सले आन्दोलनको लागि टायर, झण्डा, राता टाला किनेर अझै जुझारु बन्छन् । संघ, युनियन संघटनमा लागेर अरू क्रान्तिकारी बनेका छन् । कापी कलम बोक्ने झोलामा पम्पलेट बोकेर ढुङ्गा इट्ट ठोक्ने, पढने कोठामा ताला लगाउने हरेक रात हेड क्वाटरमा ब्रिफिङ्ग गर्ने गरेर युवा उर्जा यसरी सकेका छन् । आफ्नो अमूल्य जीवन कसरी अगाडि लाने हो र आफ्नो युवा उर्जा कसरी निर्माणमा लगाउने हो, त्यो आफ्नै हातमा छ । युवा खाडीमा बेच्ने र पासपोर्ट बेच्नेहरू, आगो ओकल्ने , ¥याली र आन्दोलन गर्नेहरूसँग कवि सहमत छैनन् र यस्तो कर्मबाट भावी पिढीले के सिक्छन्, ।भावी पिढीले हामीलाई झुट ढाँट भन्लान् भन्ने कुराले कवि चिन्तित छन् । ¥याली र हडतालमा लाग्न कवि सहमत छैनन् । कवि भन्दछन् –

मलाई एउटै डर छ

आउने पिढीले मलाई

झुट र ढाँट नभनून्

कतिन्जेल ढाँटु म ?

कलिला लाला–बालालाई

तिम्रो त्यो जनता झुक्काउने आन्दोलन

विकास र सम्पन्नताको लागि

देशको मुक्तिको लागि हो भनेर ।

पृष्ठ ११

८. चिसो छिडीमा भगवान – हाम्रो विश्वास छ कि अन्याय अत्याचारले सीमा नाघेपछि यसलाई नास गर्न र पृथ्वीमा शान्ति बहाल गर्न भगवानले अवतार लिएर आउँछन् र अन्याय र अत्यचारबाट मुक्ति दिलाउँछन् । यहाँ कविले तीखो व्यङ्ग कस्तै भन्छन् – गाउँ गाउँमा हजारौं कंस, रावण र हिरण्यकशिपु छन् । तिमीले कार्वाही गर्नु भन्दा तिमीलाई भ्रष्टचारी बनाउने छन् र पत्रिकामा ‘‘दुष्टहरूको बध गर्न आएका भगवान भ्रष्टचारको मुद्दामा आँफै चिसो सिढीमा’’ भनि छापिने छ । भ्रष्टचारी निकै बलिया छन् भन्ने सन्देश बोकेको छ कविताले ।

९. बा म स्कुल जान्न – आजको शैक्षिक परिस्थितिलाई र शिक्षामा देखिएको विक्रितिलाई कविताले समेटेको छ ।स्कुलमा इमान, इज्जत, मिहिनत र लगनशीलता सिकाइन्छ तर आजको परिस्थितिलाई केलाउँदा झुटो बोल्न, आस्वासन बाड्न, सपना बाँड्न, गाली बैइज्जती, छेड छाड गर्न सिकाइदैन । पढेर पास भएकाहरू ठूलो जहाज चढ्छन् ( विदेश पलायन हुन्छन् ) बरु पास नभएकाहरू यही देशमा जम्छन् र रम्छन्, डनवादमा रमाउँछन्, चुनाव लड्छन् नसके सपना बाड्छन् , जित्नेवालाको झोला बोक्छन् । असल मान्छेलाई बाँच्न हम्मे हम्मे परेको छ । विदेश पलायनवालाको कहानी पनि उदेक लाग्दो रहेकोले सधैं दिने गरेको आशीर्वाद बदली गर्नु पर्ने र आशीर्वादमा ‘‘ समय अनुसार चल्न सकेस् बाबू” मुन्छे, मान्छे,। मानिस चिन्न सकेस् बाबू” भन्न पर्ने छोराको बाबुप्रति आग्रह छ ।

१०. टेन्डर पार्ने दाऊ – नेपालमा राजनीति गर्नको लागि चुनाव जित्नको लागि घडेरी बेचेर दाम खर्च गरेर प्रतिनिधि सभा नभए प्रदेश सभामा भए पनि हात पार्न तयार हुन्छन् । भविष्यमा पाइने कुर्ची र त्यबाट नाफा कमाउने भनेर सपना बाड्दैछन् । बास्तवमा राजनीति भनेको सेवा हो तर राजनीति गर्नेले राजनीतिलाई सेवा नसम्झी लगानी, जुवा, पेसा र पैसाको रूपमा लिन्छन् भन्ने कुरा कविताले दर्शाएको छ ।

११.ढल एक्सप्रेस चढेर –यस कवितामा कविले स्थानीय बस्तुमा प्रेम हुन्छ । यही स्थानीय हिलो, ढलमा पौडेर मनोरेलमा कुदेर मजा लिदै गर्दा सरकारको अर्को आदेश आयो भने ढलमा स्विमिङ्को मज्जा लिन र स्मार्ट सिटीको फोर जी चलाउन नसकेमा अन्याय हुने भएकोले कविले सरकारलाई जानकारी दिदै भन्छन् –

म तिम्रो वालुवा टार आउँदैछु

गुनासो टिपाउन

गाउँ गाउँमा सिंह दरबार पुगेपछि

एक क्षत्र सेवा दिन थालेका

सिटी ढल एक्सप्रेस रेल चढेर ।

पृष्ठ १५

१२. नायकको खोजी – देशको बागडोर सञ्चालन गर्ने प्रमुख व्यक्ति नायक हुन्छ । देशले कुशल नायक पाउन सकेको छैन । कविले देशलाई बहुआयमिक नेतृत्य दिन सक्ने यस प्रकारको नायक खोजेका छन् –

सबैको ओठमा मुस्कान ल्याउन सक्ने

अझ भनौं मेरो देशको काँचुली फेर्न सक्ने

एउटा सामान्य मान्छेबाट विवेकी मानिस भएको

एउटा नायकको खोजीमा छु म !

एउटा इमान्दार नायक !!

पृष्ठ१७

१३. महा अभियोग – आजका बृद्ध÷बृद्धाले भोग्न परेको यथार्थतालाइ कविताले समाएको छ । छोरो हातमुख जोड्न मरुभूमिमा गएको, बुहारी सहर पस्नु, नातिलाई कुनै वास्ता नहुनु, सकृय हुँदा प्यारो भए पनि हाल बोझ भएकोले सरकार सँग पद, कुर्सी, कमिसन, गडतन्त्र प्रजातन्त्रको चिचिलो निमोठ्न पनि नचाँहने भएकोले ‘‘यो राष्ट्रलाई बोझ शीर्षक”मा महाअभियोग लगाउनको लागि उनको कारुणिक आवाज यसरी गुँजेको छ–

कम्तिमा नेल बाधेर भित्र पस्न पाए

भिजेका सुकेका ओठ भिजाउन पाउँथे

पृष्ठ १८

देशमा कमिसन खानेहरूलाई कार्वाही हुन पर्नेमा खादा ओढाइन्छ, देश निर्माण गर्दा चुनावी घोषण पत्रमा सिङ्गापुर स्विजरल्याण्ड लेखेकाहरूलाई चुनावहारे पनि सिंहासनमा राखिने र ठूलालाई चैन सानोलाई ऐन हुने यो देशमा बेकार वेरोजगार उर्जा विहिनलाई क्षिमेकीको ल्याप्चे लगाएर भए पनि महाअभियोग लगाइ दिन आग्रह गर्दै व्यङ्ग हानिएको छ ।

१४. रोगी देशको डाक्टर– आजकल उच्च शिक्षा हाँसिल गर्न विद्यार्थीहरू विदेश पलायन हुन्छन् र उतै बसोबास गर्ने गर्छन् । धेरैजसोले देशमा भविष्य छैन भनि उतै बस्छन् । कोही बाबु आमाले उसप्रति गरेको लगानी, भोग्न परेको कष्टलाई स्मरण गर्छन् । देशको राजनीति र नेताहरूको गरेको क्रियाकलापलाई नियाल्दै लेन्डुपहरूले कालो मसीले हस्ताक्षर नगरेको खण्डमा रोगी देशलाई उपचार गर्न डाक्टर आउने प्रतिवद्धता जाहेर गर्दछ ।

१५. ठेकेदारहरू – देशका सडक पुल बनाउन ठेक्का लिने ठेकेदारहरूले निर्माणको काम सही समयमा र सही रूपमा गर्लान् भन्नुभन्दा राष्ट्रियता नै खतरामा पारेको र ‘ती कच्ची पुल र कच्ची धुलाम्य बाटाहरू’ भोली कित्ता कट गर्दा छिमेकी ठेकेदारको भागहमा पर्छन् कि भन्ने चिन्तामा छन् कवि ।

१६. हाँस्न विर्सेको मान्छे – यही कविताबाट यस कृतिको नामाकरण गरिएको छ । यस कवितामा व्यस्ततामा भौतारिनु, बहानाको खोजी गर्नु, अतितलाई सम्झनु, हाँस्न खोज्नु तर हाँस्न नसक्नु, अतितलाई खोतल्दा हाँस्न विर्सेको त युगौं भएको महसुस हुनु, महसुस भएपछि पनि अतितमा डुब्न खोज्नु तर स्मरण गर्न नसक्नु, हाँसो विर्सेको दिनलाई यकिन गर्न खोज्दा बालक कालमा पाएको खुसी र हाँसोको स्मरण गर्दा डाह लाग्नु, हाँस्नलाई वाहना खोज्नु र अहम्ताको कारणले गर्दा निरासा र दुःख भेटनु । स्मरण गर्दा आर्जन गरेका कुर्ची, हात मुख जोर्न पुग्न गरी कमाएको दौलत लगायत आपूmले आर्जन गरेका खुसी र उपलब्धी यिनै होइनन् भनि प्रश्नवाची हुनु । हाँस्न विर्सेका कारण के हुन् त भनि खोज गर्दा यस प्रकारको धारणा आर्एको छ –

नाम मात्रैको व्यस्तता

भौतिक संसारको लोभ मोह र इश्र्या

नियन्त्रण बाहिरका इन्द्रियरू

संसार जित्नै पर्ने मेरा

असिमित महत्वकाँक्षाहरू

पृष्ठ २२

१७. पदक– गहना, बक्सिस वा ललिपप– यस कवितामा पदक राम्रो काम गरेवापत पाइने भएकाले पदक गहना र सम्पत्तिको रूपमा लिने गरिन्छ तर आजकल पदक साँच्चिकै पदक नरहेर चाकडी, चापलुसी, आफ्नालाई खुसी तुल्याउने ललिपप र बक्सिसको रूपमा परिणत भएकोले र पदक सहिद शब्द जस्तै अपमानित भएकोले वकालत गरेर यस्को अस्तित्व जोगाउन पर्ने धारणा आएको छ ।

१८. खजुरको बोटमुनी –खाडीमा गएकाले गर्मीलाई सहन नसकी खजुरको रूखमुनी एक झप्को आँखा चिम्लदा सपनामा आमाको काखमा पुग्नु, भाइ र बहिनीले मकैका ठेउला खोसाखोस गर्दा भाग नपुगी बासी सुक्का रोटी तताएर थालमा राख्दा तातो रोटीले पोलेर आथ्थु गर्दा खजुरको बोटबाट छाया हट्दा पो थाहा लाग्यो पचाास डिग्रीको रापले पोलेको रहेछ । कविताले खाडीको गर्मी, त्यहाँ गर्न पर्ने कठिन श्रम र त्यसवेला आफ्ना घरका परिवार श्रीमती र साथीभाइसँगको खेल आदि सपना देख्नु आमाले फोन गर्दा, सकुसल रहेको,काम सजिलो भएको मोवाइल, आइफोन मगवाउने सबैलाई खजुरको बोटमुनिबाट सम्झेको छ भनि दिनु है आमा जस्ता अभिव्यक्तिले खाडी मुलुकमा काम गर्दा भोग्न परेको कठिनाइ र त्यसबखत घरको यादलाई प्रष्ट्याएको छ ।

१९. यौन प्यासी – यस कवितामा विदेशबाट फर्केको पतिलाई विमान स्थलमा गएर हर्षका आँसु झार्नु, मायाको अङ्कमाल गरौं जस्तो हुनु तर पतिले खर्लप्पे निल्न खोज्नु, उपभोग गर्न खोज्नु, भाको मानिसले एकै गासमा खाए जस्तो खान खोज्नु, भोली दिन आउँदैन जस्तो देखिएपछि पत्नीले पतिले सुन्ने गरी भन्छे –

हे मेरा प्राणनाथ

म तिम्री

अर्धाङ्गिनी कि जवानी बेत्च्न

ग्राहक पर्खेकी

यौन प्यासी

पृष्ठ २८

यस कविताले यौन प्यास मेटाउन कति आतुर हुन्छ मान्छे भन्ने यथार्थ खोलेको छ ।

२०. चोर खोला, काली खोला र सिमलताल– यी खोलाहरूले प्राकृति प्रकोप निम्त्याउँछन्् । यी खोलाहरूले पनि अधर्मीहरूलाई, कमिसनको जालोमा निर्दोष जनता मार्ने, हाइकमाण्डहरूलाई पनि चिन्दैनन् तर गरिब हरूलाई मात्र प्रकोपमा पारिन्छ । सक्छौ सबैलाई एक चिहान पार सक्दैनौं भने अन्याय नगर । कुर्चीमा बस्नेले जस्तो घुस नखाऊ ।कहीं कमिसनको जालो तिमसम्मै पुगेको त छैन भनी व्यङ्ग कसिएको छ । गरिबलाई प्रकृतिले पनि साथ ंिददैन । तिनैमाथि आपद विपद आइलाग्छ ।

२१. हामी भाग्य मानी –यस कवितामा व्यङ्ग कसिएको छ । घाम लाग्दा धुलो, पानीपर्दा हिलो बाटो यी बाटा राष्ट्र वैंक स्मार्ट सिटीको घरको नजिकमा तथा यत्रतत्र देखिन्छ । यिनमा उभय चर र झिंगाले फुल पार्छन् र रोगका कारणा बन्छन् । यसमा सम्बन्धित निकायको ध्यान जानु पर्ने । , बारपाकका भूकम्प पिडितले समयमै प्राप्त गर्न नसकेको राहत, सप्तरीका बाडी पीडितलाई दिएको एक घर एक स्विमिङ पुलको आश्वासन पुरा हुन नसकेको र राहतबाँडने अफिसमा नयाँ हाकिम आउनु, हाकिमलाई राजा समान आदर गर्नु , छोटे राजा र नयाँ राजाको आवत जावपत जारी हुनु यस्तो क्रममा कविले व्यङ्ग कस्तै भन्दछन् –

हाए मेरो देश !

‘तिमलाई पाउने म अभागी कि

हरेक कुरामा हस् भनेर आरामले बस्ने

मलाई पाउने तिमी भाग्यमानी ।’

स्मार्ट सिटी बनाउने नेता, जनताको सेवामा काम गर्न खटिएका राष्ट्र सेवक जस्ले अरौबौंको धरौटी राख्न पर्ने राष्ट्र पाउने को भाग्यमानी भन्दै निष्कर्षमा ‘म र मेरो प्यारो राष्ट्र हामी दुबै भाग्यमान्ी’ भन्नेमा कवि पुगेका छन् ।

२२. पार्थिव शरीर – यस कवितामा कविले जीवन छँदा आश्वासन खाएर, अविश्वास पिएर, अभाभै अभाव र गरिबीमा धोकेबाजी रिस राग र ईश्र्या पोको पारेर बाँच्न परेको र मरेपछि फोटो खिच्ने पार्टीको झण्डा ओढाउने, शोकसभा मनाउने र सदगत गर्ने कृयाकलाप माथि कटाक्ष गरिएको छ ।

२३. सर्टिफिकेट – यस कवितामा जातिय विभेदलाई दर्शाइएको छ । एकले अर्कोलाई हेर्न पाइने तर छुन नपाइने छुन हेर्नको लागि औंसी कुनु पर्ने किन कि एकले अर्कोलाई हेरेर मुस्कुराउनु पाप र कुल घरानको इज्जतको बर्बादी सम्झिन्थ्यो तर आज सँगै, एकले अर्कोलाई चुम्दै, छुँदै, मन लागे चाट्दै पुकफाल भएर बस्न पाउनुको कारण कविले यसरी पस्केका छन् –

सदियौं देखि प्रेममा साटेको मुटुलाई

जोड्न औंसी नकुर्न पर्ने भो अब

देखावटी कर्मकाण्ड सकेर

लगन गाँठो कस्नु नै त रैछ

फुक्का फालको सर्टिफिकेट

पृष्ठ ३३

२४. हो मेरो देश त्यही हो – यस कवितामा प्राकृति सम्पदाले भरिपूर्ण भएको सगरमाथाको र बुद्धको देश, सुन्दर, सबैलाई लोभ्याउने र छिमेकीले जिउँदै निल्न ¥याल काटेको देशमा प्रगतिले उच्चाइलाई छुन पर्नेमा भोकमरी, शान्ति सुरक्षामा भरपर्र्दो अवस्था नभएका,े धुलो, धुवाँ, हिलो, मैलो, नियम कानुन र विधानमा समानता भए पनि व्यवहारमा समनता नभएको, ठूलालाई चैन स्यानालाई ऐन, प्राकृतिक प्रकोप, माफिया, घुसखोरी, लुटतन्त्र भ्रष्टचार हुने गरेकोमा कवि चिन्तित छन् । आफ्नो देशको सुन्दर होस् ,विकसित होस् भन्ने चाहना सबैको हुन्छ ।

२५. अर्को साल फेरी सम्झने छु बा – हाम्रो परम्परामा वर्षको दुई पटक श्राद्ध गर्ने चलन छ । परिवर्तित अवस्थामा पिण्ड दिंदा फेस बुकमा फोटो झुण्ड्याउने चलन छ । पिण्ड दिइने गरिन्छ । सोह्रश्राद्धमा १६ दिन शुद्ध आचारणमा रही पृतिउद्धारको लागि श्राद्ध गरिन्छ । मादक पदार्थ ग्रहण गर्ने, माछा मासु खाने चलन भएकोलाई यी दिन निकै कष्टकर हुन्छन् । यस वर्षको श्राद्धबाट पितृलाई स्मरण गरेको र अर्को साल पनि भव्यताको साथमा श्राद्ध गर्ने धारणालाई समटेको छ कविताले ।

२६.नआऊ मेरो देश बरू– हाम्रा छिमेकीहरू बहाना बदनाएर केही माग्न या केही फकाएर लिन, अनि केही ललिपप देखाएर कुर्सीको आयु बढाइ दिन या घटाउन अर्थात स्वार्थ पूर्ति गर्न आउने गर्छन् । यसमा कविले सिधै भन्छन् – सुस्ता कालापानी, लिपुलेक,लिम्पिया धुरा, सुस्ता मिचिएका सिमाना सबै फिर्ता गर्ने गरी आऊ, नत्र नआऊ ।

२७. यो नेपाल हो यहाँ जस्ले जेगरे पनि हुन्छ –यस कवितामा कविले देशमा राजनीति गर्नेले गलत काम गर्दा पनि लाज लाग्दैन । देश गाइजात्रे बनेको छ । नेपाली सहनशील छन् । भूकम्प तथा बाढी पीडित बर्सौ वर्ष पालमुनि बस्न बाध्य छन् । धनी मानीले मात्र चुनाव लडे हुन्छ । देश व्यपार घाटामा छ । विदेशी कम्पनी आएकै छन् । जग्गा बाँझीदै छन् । अन्न विदेश बाट आएकै छ । नेतालाई जनता भोट लिनमात्र चाहिन्छिन् । युवा विदेश भासिनु पासपोर्ट बेचेर र रेमिटेन्सबाट पैसा आर्एकै छ भन्दै कविल वर्तमान राजनैतिक विकृतिमा व्यङ्ग कसेका छन् । यो नेपाल हामी सबैको दुहुनु गाई हो । यसलाई दुहिराखेका छन । यो सबैको गुनी नेपाल हो । यहाँ जस्ले जसो गर्दा पनि हुन्छ ।

२८. मलाई नामर्द नभन है आमा –यस कविताले पनि स्वाभीमानी भएर गर्व गर्दा आनन्द आउने धारणा यहाँ आएको छ । ढुकुटीको पैसा सिध्याएर सालिकको निर्माणको ठाउँमा फोटोको प्रयोग गर्दा मितव्ययिता हुने । विदेशमा गएर पैसा कमाएर महल ठड्याउनको साटो स्वदेशको स्वआर्जनमा पलास्टिकको झोपडीमा विताउँदा शान्तिको आभास हुन्छ तर दुर्भाग्य स्वदेशका उद्योग बन्दभएर कामकाजको नरहँदा र जिन्दावाद र मुर्दावादका नारा फलाक्नु र स्वार्थी राजनीतिमा लाग्नु भन्दा मरुभूमिमा पसिना बगाएर भए पनि नाना बालाको हातमुख जोर्न सक्दा र लाखौ आत्मा रुवाएर अरुले देख्ने ।सुख भन्दा गरिव भएर स्वाभीमानमा बाँच्नु गर्व लाग्ने कुरा कविताले समेटेको छ ।

२९. मात्रै प्रकृति सत्य हो – यस कवितासङ्ग्रहमा प्रकृति सम्बन्धी कविताहरू पनि समावेश छन् । अलग अलग यी विषयको संक्षेपीकरण गरिएको छ । प्रकृति शक्तिवान छ । कवि भन्छन् – ‘ हो, जीवन भनेको प्रकृति हो मात्र प्रकृति जीवन हो । अरु देखिएका तडक भडक रमझम कर्कलाको पानीको फोका सरह, समुद्रका छाल सरह,बिजुलीको झिल्का सरह क्षणिक हुन् । सत्य के हो त कविको धारणा छ । घाम, जून, पहाड,समय चक्रमा आउने नयाँ पालुवा , पूmल,आगो, पानी वायु अपरिहार्य तत्व सत्य एवम् अमर हुन् । अरू सबै मानिसको जीवन जस्तै भूmठो संसारका दुई दिने पाहुन हुन् भन्ने कविको धारणा छ ।

३०. आऊ ! एउटा फरक दशैं मनाऊँ र ए दशैं ! तलाई धेरै धन्यवाद – नेपाली चाडपर्व सँग सम्बिन्धित छ कविता । नेपालीहरूको लागि दशैं एउटा महत्व पूर्ण चाड हो । पहिलेदेखि मनाउँदै आए भन्दा विल्कुल फरक परम्परा र औपचारिकतालाई थाती राखेर यो वर्षको दशैलाई अनौठो रूपमा मनाउने कविको चाहना छ । यस पर्वमा ईष्र्या,रिस, राग,सबै प्रकारका र सबैसँग भएका कुण्ठालाई त्यागी, स्वच्छ प्रतिस्पर्धामा जुटी, एकले अकोर्ससँग राख्ने जलनलाई त्यागि अति नहुँदै नयाँ पहिरनमा सजिई कवि भन्छन् –

अब सीमा नाघेर अति नहुँदै

हामी कसैलाई खती नहुँदै

जीवनको यथार्थ मनन् गरेर

यस पटक

एउटा फरक दशैं मनाऊँ

पृष्ठ ४३

कसरी मनाउने भन्दा कविको धाराणा छ । बाला पनको खुशी, उमङ्ग,सौहार्दता, अहम्ताबाट माथि उठेर, आधुनिकताको आडम्बरलाई चुनौति दिदै आफ्नो पुरानो दशैंलाई फिर्ता ल्याउने गरी मनाउँ भनिएको छ ।

दशैंमा स्वदेश विदेशमा रहेका नेपालीहरू एकै ठाउँमा जम्मा भएर दशैं मनाउने परम्परा छ हाम्रो तर आज युवा युवतीले स्वदेश विदेशमा पलायन हुँदा घर खाली भएका, गैरी खेत जस्ता खेत बारी बाँझिएका स्थानमा केही दिनको लागि भए पनि इष्टमित्र मान्यजनसँग, आत्मीयता र सौहार्दता बाँड्ने सौहार्दता जुटाउने दशैंलाई धन्यवाद दिइएको छ । हाम्रो संस्कृतिको संरक्षण गर्नको लागि कवि प्रयत्नशील छन् ।स्वच्छ भावनामा महान चाडलाई मनाउनु पर्छ ।

३२. रत्नाकरहरू र नेपाल – रत्नाकर एउटा डाँकु थिए । नारदलाई मार्ने र लुट्न लाग्दा नारदले यस्तो कुकर्म गर्न हुन्न भन्न्े सुझाव दिंदा डकैती छाडे र निर्दयी शिकारीले भाले सारसलाई मारेर पोथीको विलौनमा दया पलाई रामायण लेखे र वाल्मीकिमा रूपान्तरित भए यसै सन्दर्भमा कविको कथन छ–

तर उस्तै र उही पारामा

हत्य, हिंसा, बलत्कार

महँगी र भष्टचाारले

यति धेरै जनताको विलाप

छ यहाँ र पनि

हाम्रा लाइसेन्स प्राप्त

रत्नाकहरू

लुटमै व्यस्त छन् ।

नेपाली जनताले यिनै रत्नाक।लाई वाल्मीकिको स्थान दिएका छम् । यस्ता कुनियती कर्मबाट जति आत्मरती फलाके पनि सन्तोष प्राप्त हँुदैन र दुःखी हुने छन् र पश्चतापको पिरो नुनिलो आँसु सँगै आफ्नै मनसँग हारेर रुनेछन् भन्ने कविको धारणा आएको छ ।

३३. प्रिय ! आऊ हाम्रो डिभोर्स सेलिब्रेसन गरौं –आजकल विवाहमा देखिएको विकृतिलाई कविताले समाएको छ । प्रेम गरिन्छ विवाह गरिन्छ केही दिनमै डिभोर्स हुन्छ । यो एउटा रोगको रूपमा देखिदै छ हाम्रो समाजमा । प्रेम दिवस सदियौं देखि मनाउँदै आइएको छ । अहम्ता, घमण्डको कारणले गर्दा डिभोर्स हुनु पछि पश्चताप पनि गर्नु, एक आर्काले माफी माग्न नसक्नु , यसको अगतिलो छाप छोडिने भए पनि नयाँ प्रयौग गरौं भन्दै कविले व्यङ्ग ठोक्दै भन्दछन्–

आऊ

आयोजना गरौं हाम्रो डिभोर्स दिवस

र देखाऔं दुनियाँलाई

हाम्रो डिभार्स सेलिब्रेसन्

पृष्ठ ४८

३४. तिमीलाई भ्रम हुँदो हो तिमी श्री ५ हो – आज देशमा गणतन्त्र आएको छ । दलीय सरकार छ । सरकार सबैको साझा हुनु पर्ने थियो । तर अवस्था यस्तो छ –

सिमित मान्छेको लागि शासन गर्दैछौ

तारिफ गर्नेलाई आफ्नो ठान्छौ

ज्यू हजुर गर्नेलाई बुद्दिजिवी मान्छौ

हिजो जनताकै हौ कि झै गथ्र्यौ

भूल्यौ मार्सीको वासनामा

पृष्ठ ४६

रैती सम्झनु, आपूmलाई शासक सम्झनु, अरूलाई शासित सम्झनु, आसे पासे भन्दा माथि उठ्न नसक्नु, जनतालाई न्याय दिनु पर्छ भन्ने नठान्नु, देशका जनतालाई औषधी उपचार नपु¥याउनु, शासक भनेको जनताको सेवक हो भन्ने नठान्नु न्याय खोज्नेलाई न्याय दिनु, यी कर्म नगरी आपूmलाई श्री ५ सम्झनु सिक्का फालेर शिर झुकाउन भन्ने मान खोज्नु, आफैलाई श्री ५ र श्री ३ सम्झनु र अहम्ताको भ्रम बोकेर कात्रोमा खल्तीहाल्न तल्लीन रहनु जस्ता कर्म देखेर कविले भन्दछन् – ‘अलिकति दया देखाइदेऊ, भविष्यका श्री ५हरूसँग लडन पनि दूरदराजका गरीबको प्राण बचाई देऊ !!’ भनि आग्रह गरिएको छ ।

३५.सरकार आइज मेरो झोला खोतल्न – यस कवितामा राजनीति सत्ता र स्वार्थमा केन्द्रित रहेको धारणा आएको छ । सरकारले आफ्नो नजर चारैतिर घुमाउनु पर्छ । देशमा ठूला ठूला भ्रष्टचार भएका छन् । एयरपोर्टमा हुने भ्रष्टचारमा कुन्टल कुन्टल सुनको तस्करीमा सरकारको नजर पुग्दैन । एनसेलबाट भएको अरवौंका कर छली र करोडौं घुस खानेलाई दण्डित गर्नुको साटो प्रमोशन गरिन्छ । जेल नेल त सय हजार खानेले पाउँछन् । सरकारले आपूmलाई समाजवादी ठान्छ । जनतालाई कर बढाउने विदेशमा गएर पसिना बगाएर घरमा आउँदा ल्याएको मोवाइल, आमालाई ल्याएको धोती,सकुनको लागि ल्याएको एक बोत्तल रक्सीको लागि झोला खोतल्ने काममा कवि आक्रोसित देखिन्छन् र आइजा सरकार ढिला नगरी खोतल् मेरो झोला भन्दछन् । भ्रष्टचार देशको ठूलो शत्रू हो ।

३६. माटाको आशीर्वाद – हरेक क्षेत्रमा, हिमाल, पहाड र तराई जहाँ रहे पनि हामी नेपालीले इमान्दारिता अपनाएर गास, बास, कपासको व्यवस्था, जल जमिन र जडिबुटीको प्रयोग, रोग, भोक, अशिक्षामा जुद्धेर रमाउनु छ भन्दै कविले यस्तो धारणा पस्केका छन् –

एक असल प्रशासक र सुशासनको एक सच्चा पहरेदार

सँगै मिल्नेछ यो देशका कर्मठ राष्ट्र सेवक हामीलाई

यो निश्चल सुन्दर सान्त नेपाल आमाको आशीर्वाद

यो विशाल सार्वभौम धर्ती माताको आशीर्वाद, अनि

हरेक पल हामीले कुल्चेको यो माटोको आशीर्वाद

पृष्ठ ५३

३७. फेसबूकले भन्यो – छि ! अरू कामछैन तेरो – आजको जमाना इन्टनेटको छ भन्दा फरक पर्दैन । गरिब भन्दा गरिबको हातमा मोवाइल हुन्छ । फेसबुक र यू टुब हेर्न थाले पछि मानिस त्यसैमा मग्न हुन्छन् र सबै कुरा भुली दिन्छन् । अधोगतितिर लागेको पत्तै पाइदैन, सबैमा भाइरल हुने भूतले समाउँछ, यसमा रमेपछि लाज पनि पचि सकेको हुन्छ ।अमूल्य समयलाई खेर फालेको यस अवस्थामा फेस बुक, यूटुव भाइरल र इमोले ‘ जिन्दगीमा न कुनै मिसन छ भिजन छ छि ! अरू केही काम छैन तेरो भनि फेस बुकले प्रश्न तेस्र्याउँछ । यसरी कविले व्यङ्ग कसेका छन् ।

३८. अरिङ्गाले शुक्रकिट – मानिसले विवाह गर्छ, सन्तानको इच्छा राख्छ, छोरा जन्मन्छ पढाउँछ, हुर्काउँछ, आफ्नो खुट्टाकमा उभिने गराउँछ । यस अवस्थामा पुगेपछि बाबुले देखदाएको मार्गदर्शनमा लाग्नु भन्दा आफ्नो बाटो लाग्न थाल्छ । बाबुले उसप्रति लगाएका लगानी सबै भूलेर बाबुलाई नै दुस्मन ठान्छ । बाबुका महलका सपना माटोमा मिलाउँछ । छोराको क्रियाकलापले गर्दा उसको सोच परिवर्तन हुन्छ र उसको शुक्रकिटलाई ठिकठिकै ठान्दछ । विवाह भएपछि आमा बाबुप्रतिको माया भन्दा परिवारतिरको माया बढ्छ आमा बाबु अर्गेला हुने। बाबु आमाको अमृत बचान विषक्त हुन्छन् र समाजसँग रोइकरमई गरेर घरलाई बाँडफाँड हुन्छ र बाबु आमालाई गर्न पर्ने सहयोग ऋणमा परिणत हुन्छ । यसमा बाबुलाई लाग्छ शुक्र किट त मिटरव्याजी रहेछ । यसैक्रममा बाबुले बसेका आधा घरबाट पनि खेदेर बृद्ध आश्रामतिर लखेटिन परे पछि बाबुले भन्छ –

तब तेरो आमा र म दुबैले

निष्कर्ष निकाल्यौ

उनको अण्डा र मेरो शुक्र किट त दुबै

अरिँगाल पो परेछ ।

पिृष्ठ ५७

हाम्रा धर्म ग्रन्थलाई केलाउँदा खास गरेर गरुडपुराडले छोरा र छोरीका जन्म कस्तो प्रकेयाबाट हुन्छ भनी प्रष्ट पारेको छ ।राम्रो, गुणवानपुत्र पाउन बाबु आमाले अपनाउन पर्ने सावधानीहरूको साथै रजस्वला भएको १४ रातमा गर्भ रहदा सुपुत्र जन्मिन्छ भनिएको छ ।

३९. हे मेरो सकार ! हाम्रा घरवेटीलाई भन्दिनु न है – यस कवितामा कविले मानिसमा समानता,गाउँ सहर जहाँ बसे पनि हामीमा भर छ ,घर छ तर समय परिस्थितिले गर्दा सहर पस्न बाध्य भएर सहर पसिन्छ । मानिस हुँदा खाने र हुने खाने जे जस्तो भए पनि मौका पायो भने उसले आकाश छुन सक्छ । मानिस उदार मन भएका हुनसक्छन् । उसँग केही धन हुन सक्छ । बाँचुन्जेल जोहो गर्नु हो चााहे धनी होस् या गरिब होस् । मानिसले सुख दुख साट्न चाहान्छ । जहाँ जसरी बसे पनि नेपाली भएकाले नेपाल र नेपालीको जय चानहन्छ । त्यसो हुँदा घरबेटीलाई बस्नको लागि भनि दिने आग्रह गरेको भावना पोखिएको छ कवितामा । द्वन्द्वको समयमा द्वन्द्वको कारणले गाउँ बाट सहर पस्दा डेरा पाउन कठिनाई भएको कुरालाई यहाँ प्रष्ट्याइएको छ ।

४०. मलाई ठूलो अफर नआओस !– यस कवितामा कवि साधारण कवि र कथाकार भएर तवसम्म रहन चाहान्छन् जवसम्म जनताको लागि वाँच्ने हुन सकिदैदन ।कविलाई सबका अन्तर आत्मा छुन मन पर्दछ । उनलाई निगाहको बक्सिस , राजनीतिको टिके पद, कठपुतली बन्न पर्ने ठूलो कर्मचारी बन्ने रहर छैन । राजनीतिको भूत नचढोस्, व्यस्तताको नाममा अस्तव्यस्त हुन नपरोस् , विना कसुर शक्तिका पेलाई पर्न नपरोस् , जनताको वाही वाही नपाउने मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न मन छैन, लोभको भकारी नजागोस्, विशुद्ध साहित्यकार भएर देशको शिर उच्च राख्न सकिओस । त्यसो हुँदा आफ्नो औकातले नभ्याउने ठूलो अफर नआओस् भनिएको छ कवितामा ।

४१. देश अझै विग्रीसकेको छैन– देश विग्रियो, देश खतम भयो, देशमा भ।विष्य छैन भन्नेहरूलाई कविले देश अझै विग्रिएको छैन भनेका छन् । देश सपार्न हामी सुध्रिनु पर्छ, व्यवस्था सुधार्नु पर्छ सहिनेता चुन्नु पर्छ, विदेशमा लगाएको श्रमशक्ति स्वदेशमै लगाएर खेतबारी हराभरा पारी देश निर्माणमा लाग्नु पर्छ । कविले यसरी आह्वान गरेका छन् –

आऊ साथी सडकमा आऊ

मन बचन र कर्मले

माटोको सपथ लिएर आऊ

अल्छिपनालाई उतै कतै रोकेर

देश बनाउने हुटहुटी बोकेर आऊ

हातमा हात अनि काँधमा काँध

मिलाएर

देशप्रेमी सै जिन्दावाद भनौं !

राष्ट्रप्रेमी सबै जिन्दावाद भनौं !!

पृष्ठ ६१

४२. हाँसेरै बाँचौ ! नाचेरै बाँचौ –

यस कवितामा एक अर्काेसँग द्वन्द्व हैन आपसमा मिल्नु पर्छ , इर्षा , डाहा गर्नाले अनुहार कालो हुन्छ , आयु घटेर जान्छ , जन्मजात कोही शत्रु हुँदैन, मन मिल्नु पर्छ ,असक्षम शासकले फुटाएर राज्य गर्छन् । यी फुट गराउने र गर्नेको कारण हुन केवल कुर्सीका लागि । त्यसो हुँदा विचार र मन मिलायो भने घर, समाज र संसार चल्छ । चल्नु नै ठूलो कुरा हो । यदि चलेन भने चिता बल्छ र चितासँगै पीर अनि चिन्ता बल्छ भन्दै कविले यसरी द्विपक्षीय, सर्वपक्षीय हाँसेर बाँचौ नाचेर बाँचौं विषयमा वार्ता गरौं भनेका छन् ।

४३. किन कि म तिम्रो बा हुँ ! – एउटा गृहस्थीले घर चलाउनु पर्छ ।उसले छोरा छोरी श्रीमतीलाई पालन पोषण गर्न एउटा युद्ध गर्न निस्केको सिपाही सरह मर्ने या बाँच्ने अवस्थामा संघर्ष गर्नुपर्छ । घर छाड्नु पर्छ । साग सिस्नु होखाएर प्रियाको अँगालोमा बेरिने मन सबैको हुन्छ । प्रियाले भोग्न पर्ने अथाह दुःखलाई उसले जान्दा जान्दै पनि लाचार हुँदै मुखमा माड लगाउनको लागि नुनको सोझो गर्नु पर्छ र उसले भन्छ –

‘हरेक पल जिन्दगीले चिमोटीदिँदा

आफ्नै कर्ममा काबिल हुन्छु

किन कि म तिम्रा लाला बालाको बा हुँ प्रिया ।’

पृष्ठ ६३,

४४. भाइरलम मन प्रसन्नम् !– यस कवितामा कविले इन्टरनेटको सुविधा नहुँदासम्म आफ्ना खुसी आफ्नो परिवार भित्रै पाइन्थ्यो भने आज आएर यो खुसी देखाउनु पर्छ, सञ्जालमा लेखाउनु पर्छ ,सेल्फी हानेर मस्किनु पर्छ लाइफ कमेन्ट गर्नु पर्छ यसो गर्दा पनि खुसी हुन सकिदैन । पहिला पहिला परिवार,सन्तान, आफन्त जन र छरछिमेकको माया सुख हो र सन्तोषम् परमम् सुखम हो । तर आज आएर अनावश्यक जालोले घेरिए छ र परिवर्तित रूपमा ‘भाइरलम धन सम्पन्नम् भाइरलम् मन प्रसन्नम्’ भएको छ ।

४५. संसारको जीतमा हारेका हामी – यस कवितामा विश्वकप खेलमा अर्जेन्टिना मेक्सिकोले जितेको देख्दा र तेईस वर्षे ठिटो एम्पाले सारा संसारको मन जितेको साथै ‘अरबौं दर्शकले आफ्नो आफ्नो तर्फबाट जिते, संसारले जित्दै गर्दा हामी नेपालीले पनि जित्नुपर्ने हो तर योहप्ता जितेका हामी बारम्बार हार्ने गर्छाै नमज्जाले ।’ ५÷५ वर्षमा हुने यो खेलमा सहभागी हुन ५ वर्ष निरास हुँदै कुर्नुपर्ने हुन्छ । यसरी हार्नको कारणमा कविले भन्छन् –

एघार थरी

राजनीतिक खेलाडीको चपेटाले

देश पछाडी धकेलिँदा

तीन करोड नेपालीले हारिरहेछ बारम्बार

विकास र सुशासनका लागि ।

पृष्ठ ६५

बास्तवमा चौतर्फी विकासको लागि राजनीतिे सही दिशामा चल्नु पर्छ र राजनीतिले सही मार्गदर्शन दिनु पर्छ ।

४६. भाग्य आफ्नो आफ्नो हो – जिन्दगी चलाउन रोयर, टाउको फोरेर,अरुको भरपरेर चल्न सक्दैन । परिश्रम गर्न सके चल्छ । परिश्रम गर्नाले एक दिन सफलताले शिखर छुन्छ । कसैको विकस देखेर कसैले ईष्र्या डाहा तथा गुनासो गर्नाले पनि केही हुँदैन । देखेका सबै कुरा राम्रा र हाम्रा हुँदैनन् । यिनकापछि लाग्दा पछारिन सकिन्छ । उठेर हिड्नु पर्छ । उठेर हिड्नु नै महानता हो । गन्तव्यमा पुग्न सहज छैन । पाइलाले गन्तव्य नछुन सक्छ । मानिसका आवश्यक्ता र चाहना असंख्य हुन्छन् । ती सबै पुरा नहुन सक्छन् । जति प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट हुनु पर्छ । धन हुनेको मन स्थिर रहदैन । नहुनेलाई गुम्ला भन्ने डर हुँदैन । जिन्दगी यसरी नै चलेको हुन्छ । कर्म गरे फल ढिलो चाँडो हात लाग्छ । यी सबै चिज प्राप्त गर्नु भनेको आफ्नो आफ्नो भाग्य हो कविताको यही सन्देश बोकेको छ ।

४७. साउनको महिना र मेरो घरबार – यो शृङ्गार रसले पूर्ण छ कविता । साउनको महिनालाई शिवजीको महिना भनिन्छ । यस महिनामा शिवजीको पूजा विशेष रूपमा गरिन्छ । पुरुष भन्दा महिलाहरू शिवजीको पूजा गर्न रातो साडीमा सजिएर मन्दिर जाने गर्दछन् । यस्तो पहिरनको साथमा पत्नीसँग भएको पूरुष अगाडी जाँदा घरबार विग्रने सम्भावना हुन्छ । यसरी नै हातभरी हरिया चुरा, पहेंलो कुर्थाको सल सर्लक्क पार्दै, पुरुषप्रति आँखा तर्दै,उसलाई नै ओभरटेक गर्दै हिड्दा र मेहन्दीले रङ्गीचङ्गी भै हात हल्लाउँदै आँखाले बातमार्न थालेपछि र नजर बाण फालेपछि, पुरुषको घर विग्रने डर हुन्छ । यहाँ कविले अरूको घर बसाउनु राम्रो हो र विगार्नु राम्रो होइन, यसरी मायाजाल फाल्ने परिहरूलाई जेल हाल्ने कानुन छैन । पत्नी सहितका पुरुषप्रति नजर लगाउनु भन्दा नयाँ शम्भु खोज्न असल सुझाव दिंदै कवि भन्दछन् –

सबैका परिवारमा खुशी छाउन्

मनले खोजेका जोडी पाउन्

शिवजीसँग यही प्राथना छ

कसैले भन्ने दिन नआओस्

मेरो घर नविग्रे कस्को विग्रेला ?

पृष्ठ ६७

४८. बुष्टर डोज– यस कविताले कोभिडको समयको कहाली लाग्दो अवस्थामा सरकारले गर्न पर्ने काम गर्न नसकेको धारणा आएको छ । गरिबहरूमा गास बास कपासको अभाव, विकराल अवस्थामा भ्याक्सिनको अभावले खोप कहिले पाउने निश्चित नभएको समय, सिटामोलको अभाव,मंत्रीहरू भाइरल हुने होडमा, चुनाव नजिकिँदैको समय यिनको व्यवस्थापन गर्न नसकिँदा चुनाव हारिने डर, कोभिडको बाहना बनाएर ठेकेदारहरूले काम नगरी असारको कुराईमा, गरिबहरू क्वारेन्टाइनमा, यस्तो अवस्थामा कविले व्यङ्ग कस्तै भन्छन् –

विदेशीसँगै सहयोग मागेर पनि

जिन्दगी देखि हार खाएका

सारा गरिबहरूलाई

दया माथी माया गरेर

कहिल्यै उठ्नै नपर्ने गरी

बुस्टर डोज लगाइ दिए हुन्न सरकार

पृष्ठ ६८

कविले राजनीति गर्ने र भ्रष्टमाथि पनि व्यङ्ग कसेको छ । राजनीति गर्न भिजन चाहिन्छ तर यहाँ पढाई नभए पनि हुने, जेल बसेको नाताले कुर्सी पाइने, यिनैले दुनियाँलाई भ्रम छर्ने, पुस्तौंलाई काम नगरी खान पुग्ने सम्पत्ति जोड्ने हुने खाने र हुँदा खाने बीचमा खाडल बढाउने, भ्रष्ट बनेर आपूm माथि चढ्ने र अरूलाई लडाउनेहरूलाई लामो निद्रामा जाने गरी जनताले कहिले हो बुष्टर डोज चढाउने भनि ,प्रश्नवाची भएका छन् कवि ।

४९. लोभको भकारी –मानिस लोभले भरिएको हुन्छ । ऊ आँपूmलाई अरू जस्तो लोभी छैन र मख्खीचुस परिएन भन्न छोडदैन । गरिब हुम् भन्न कोही चाहर्दैनन् । कुवेर हुम् भन्न पनि पछि पर्दैन तर हातमा थुक लगाएर कौडी कौडी बटुल्न मरिहत्ते गर्छन् र भन्छ पैसाको लागि मरिहत्ते गरिएन । पैसा भन्ने चिज नभए पनि नहुने भए पनि पीर । एकातिर लुटेको धनलाई समाज सेवामा लगाई कोही बन्छन् महान समाजसेवी । संसारका ठूला ठूला धनीहरूलाई पनि धनले पुगेको छैन जस्तै ज्याक्मा, विगलेट्स नेपालका चाौधरी । जति धनी भए पनि गरिबहरूलाई दान कसैले गर्दैनन् । कति भए पुग्ने हो लोभी पापीलाई ? लोभको भकारी कहिल्यै भरिएन । लोभको भाँडो कहिल्यै कसैको भरिएन जस्ता अभिव्यक्ति आएका छन् कवितामा ।

५०. जय राधे जय श्री राम– मानिसले आपूm यस संसारमा आए पछि के गर्न पर्ने हो सबै भुलेर अहंकार, इश्र्या, जलन र उन्मादले फुलेको हुन्छ र नाङ्गै आएको हो नाङ्गगै जाने हो भन्ने कुरा भुल्छ । मानिसले संसार छाडेपछि रहने भनेको केवल कर्म हो । राम्रो नराम्रो जे जस्तो काम गर्छ त्यो पछिसम्म रहन्छ । जस्तो करणी उस्तै भरणी । मानिस मर्दा पर्दा मानिसको आवत जावत, सहयोग आदि उसले गरेको व्यवहारमा भरपर्दछ । कवि भन्छन् –

पत्तै पाएनौ तिमीले

आफ्नाका लागि थुपार्ने होडमा

आपूm नै बाँच्न बिस्र्यौ

एक दिन थला पर्ने छौ तिमी

त्यो क्षण तिम्रो व्यवहारले अघाएकाहरू

तिम्रो लागि फलपूmल र जुस बोकेर आउने छैनन्

तिम्रा लागि धाउने छैनन्

टाढै बाट मात्रै भन्नेछन् जय राधे जय श्री राम ।

पृष्ठ ७२

मानिसले जन्म लिएपछि जीवनलाई रहर लाग्दो बनाउनु पर्छ । मानिसको जन्म यो धर्तीलाई सिङ्गारर्न र जीवनलाई रहर लाग्दो र अर्थपूर्ण बनाउन भएको हो । योे धर्तीको बोझ बन्नको लागि र नर्कमा डुब्नलाई होइन । कविताले यिनै भावनालाई समेटेको छ ।

५१. गाउँ विर्सेको स्वार्र्थी मनुवा !– गाउँ छाडेर सहर पसेपछि मानिसले गाउँलाई भुल्छ । २० सौं वर्षपछि जब गाउँमा जान्छ सबै सबै कुरा नौलो नौलो लाग्छ, ऊ हिडन विर्र्सिन्छ र लोट्छ , बजारिन्छ र खेतबारी ढुङ्गा सबैले उसलाई विर्सेको धारणा राख्छ । सबैले सहरको एसिमा बसेर खुट्टा चाल्न विर्सिाएर कुजिएर , सहरको चिल्लो बाटोमा हिड्ने गरेर गाउँ विर्सेर स्वार्थी भएर तैंले विर्सिएको हो भन्ने जवाफ पाउँछ र उसले सहर पसेर आधुनिक भएको आपत पर्दा संकटको समयमा मात्र गाउँ सम्झने भएकोले सबैले भने जस्तै सहरको चारआनामा सिमित हुने र सहरबासी भन्न रुचाउने गाउँ जान महिना गनेर बस्ने स्वार्थी मानिस नै भएको महसुस गर्छ ।

५२. ओ महासय सुन्नु भो ! तपाइँको काम आज हुन्न ! – यस कविताले नेपालका राष्ट्रसेवकको चरित्र उदाङ्गो पारेको छ । सेवाग्राही दश बजे कार्यालय पुगे पछि चाँडै आएको, कागज अपुरो भएको, कागज नमिलेको काम गर्न सहज हुँदैन, कअर्मचारी कोही विदामा छन् ,टाठो बाठो जस्तो भाव पोख्नु भयो ,काम नगरे पनि जस्तो हुने भो कागज मिलाउनको लागि बाहिर एक जना भाइ छन् उनीसँग गएर कगज मिलाएर आउनुहोस्, तपाइँको काम आज हुन्न साइड लाग्नु होस् । तपाइँको काम आज हुन्न पर्सि आउनुहोस् जस्ता वाहना बनाएर राष्ट्रसेवकले सेवाग्रहीलाई दःुख दिने धारणा कवितामा आएको छ । राष्ट्रसेवको आसय घुस दिओस भन्ने देखिए तापनि समयमा काम सम्पन्न नगर्नु पनि भ्रष्टचार हो । यो कागज मिलाउने मार्फत भ्रष्टचार गर्ने माध्यम पनि हो ।

५३. मलाई सरकारले बदनाम गरायो – नेपाल सरकारले प्रदान गर्ने तक्मा कर्मठ, कर्मशील, इमान्दारी , निष्ठावान वफादार राष्ट्रप्रेमी « सेवकलाई प्रदान गर्नु पर्नेमा यस्ता व्याक्तिलाई प्रदान नगरी अलि अलि काम, केही दाम, पुरस्कार पाउने काम नगरेको व्यक्तिलाई प्रदान गरेकोले उक्त तक्मा पाउनो व्यक्तिलाई इमानको धज्जी उडाएको, इज्जतको खिल्ली उडाएको, पङ्गु बनाएको स्वयम तक्मा धारीले नै महसुस गरेको धारणा कविताले पस्केको छ ।

५४. बेच, के के बेच्न बाँकी छन् यो देशका ! – यस कवितामा जनता र शासक बिचको देश निर्माणको भिन्नतालई फरक देखाइएको छ ।जनता देशको भविष्यको, दिगो विकासको, स्वस्थताको, प्रदुषण रहित देश कसरी राख्ने स्वदेशको प्राकृतिक अक्सिजनको संरक्षण कसरी गर्न सकिन्छ र माग्न या किन्न नपरोस् भन्ने चिान्तामा चिन्तित छन् भने, शासक पनि चिन्तामै देखिन्छन् तर उनको चिन्ता भनेको कुर्सी कसरी बचाउने भनेर सौदाबाजीमा लागेको, देशको आय बढाउनको लागि प्रभुको आवश्यक्ता बुझेर भावी पिढीको भविष्य बेचेर, देशको ढुकुटी,बालुवा, गिटी, ढुङ्गा, बेचेर, जनतालाई मरुभूमिमा काकाकुल बनाएर र देश पोलेर खरानी बेचेर देशको आय बढाउने चिन्ता परेको । कवि भन्छन् देशको आय बढाउन त यी बाहेक अरु कर्मबाट गर्न सकिन्छ– देशको आम्दानी बढाउन बेचिएका कलकारखानालाई पुनर्जन्म गराएर, नयाँ उद्योग खोलेर, कौडीको भाउमा बेचिएका कच्चा पदार्थलाई सदुपयोग गरेर, उर्जाशील युवाहरूलाई खाडीबाट फर्काएर, बाँझो जमिन बाट उत्पादन बढाएर, यस देशको सौन्दर्यमा पर्यटक भित्र्याएर, पानी, विजुली, बेचेर देशको ढुकुटी भर्न र देशलाई सम्पन्न बनाउन सकिन्छ । स्वाभीमान र इमान बेचिएकोमा कवि चिन्तित छन् र भन्छन –् यो देशको भूगोल, माटो, भावी सन्ततीलाई सुम्पनु पर्छ र भविष्यका कर्णधारले स्वस्थ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित हुनु पर्छ र बेच्ँन पाइँदैन । कविताले यिनै धारणालाई समाएको छ ।

५५. राजनीति गर्नेहरू छेपाराहरू हुन् ! – यस कवितामा कविले राजनीति गर्नेहरुको स्वरूप दर्शाएका छन् । हात्तिका खाने दाँत र देखाउने दाँत फरक हुन्छन् ,राजनीति गर्नेले पनि देखाउने एक र चपाउने अकै गर्छन्, जुका हुन पुस्तौ पुस्तालाई पुग्ने गरी चुसिरहन्छन्, छेपारा हुन् सत्ता प्राप्तिको लागि यिनीहरूले रूप र रङ्ग फेरिरहन्छन्, यिनको रूप शिकारमा निस्केका चीलहरूजस्तो हुन्छ यिनले जमिन र आकाश दुबै ओगट्छन् र शिकार गरेरै छाड्छन् , राजनीति कर्ता र राष्ट्र सेवक स्वार्थी हुन्छन् र मेवा नपाई सेवा दिदैनन् । कविले जनतालाई राजनीत कर्ता र राष्ट्रसेवकसँग सतर्क रहन आग्रह गरेका छन् ।

५६. उल्टो बाटोमा हामी – राजनीति कार्यकर्ता र पेशागत विज्ञहरूको उल्टो बाटोको यात्राले गर्दा यो देश ,पछि परेको हो भन्ने ठोकुवा गरेका छन् कविले ।

.... भित्रीमन मेरो विश्लेषण गर्छ

तथ्य र भ्रम सष्लेषण गर्छ

मन्त्री ज्यू प्रमज्यूहरू र म

हामी सबै

उल्टो बाटो हिड्दै रहेछौं

जुन विषयमा दक्षता प्राप्त गरेको सोही काममा लागेर दक्षता प्रदर्शन गर्नु पर्नेमा स्वकाम नगरेर, तल्लिन नभएर असम्बन्धित काममा लाग्नुको कारण भिजन नभएका सत्तासिनकै कारण भएको कुरा कविले दर्शाएका छन् । कवि वैज्ञानिक हुन् । उनको काम अध्ययन अनुसन्धानमा व्यस्त रहेर कोरोना तथा कोभिडको भ्याक्सिन र औषधी पत्ता लगाउनु उनको दायित्व हो । तर उनी कविता र राजनेताको समालोचनामा व्यस्त रहन्छन् । यसको मुख्य कारण देशका सत्तासिनहरू(राजनीतिज्ञहरू)को प्राथमिकतामा नपरेर विज्ञहरूले काम गर्न नसकेका हुन् । देशलाई विकासमा लम्काउन अल्पकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु पर्नेमा राजनेता भाषणमा तल्लिन भएको पाइनु आदि कारणलाई विश्लेषण गर्दै कवि भन्छन् –

यो देश पछि पर्नुको कारण त्यही रहेछ –

धेरै तपाईँ र थोरै हामी

सबैको उल्टो बाटो

पृष्ठ ८५

५७. एउटा कलमको खवरदारी ! – आज देशमा देखिएको राजनीति विकृतिलाई कविले कलमबाट खवरदारी गरेका छन् । वाकस्वतन्त्रा हरण, न्यायमा दवाव, सर्पलाई दुध खुवाउने, देश टुक्राउनेहरूलाई काखी च्याप्ने, प्रतिगमनलाई मलजल हाल्ने स्वाभीमान बेच्ने, आडम्बरी राष्ट्रवादी र लेखनमा सेन्सर लगाउनेलाई जनताले मुल्याङ्कन गरेर यस्ता छोटे राजालाई घोक्रेठ्याक लगाएर देशले मुक्ति पाउनु पर्छ । अबको बागडोर युवा पिढीले चलाउनु पर्छ र प्रकृतिको वरदान यो सुन्दर शान्त देशको भाग्यरेखा कोर्नु पर्छ जस्ता धारणा कवितामा आएका छन् ।

५८. कोरोना कथा कलम र कोदाली –प्रकृतिको दोहोन भएको छ । बाढी पहिरो, भुकम्प र कोरोना, वेरोज गारी र भोकमरीले देशलाई आक्रान्त बनाएको छ । खेतबारी हराभरा थिए । उत्पादनले देश आत्म निर्भर थियो । आज आएर यी सबै विपरित दिशामा लागेको हुँदा खेतबारी हराभरा बनाएर भोकमरीबाट देशलाई मुक्त र देशलाई आत्निर्भर बनाउन कलम थोरै र कोदाली धेरै चलाउनु पछ भन्ने धारणा कविताले समेटेको छ ।

५९. राजनीति र जलवायु परिवर्तन –

‘‘राजनीति परिवर्तन र जलवायु परिवर्तन उस्तै उस्तै हुन् कहिले को बढारिन्छन् र कहिले को बगाइन्छन् यसै भन्न सकिदैन ।’ भ्रम छर्ने, वातावरण प्रदुषण बनाउने काम पनि उस्तै उस्तै हुन् । राजनीतिगर्नेले राजनीतिको नियम बुझ्नुपर्छ भने जलवायु परिवर्तनको बारेमा जानकारी लिनेले पनि प्रकृतिको नियमलाई बुझ्नु पर्छ । राजनीति विगार्नेले र वातावरण विगार्नेले सजायका भागी हुनुपर्छ । भावीपिढी जस्लाई हामी जेन जी अल्फा भन्छौ तिनीहरू विश्वव्यापी रूपमा जोडिएका हुन्छन्, ब्रान्ड–सचेत हुन्छन र आत्म–निर्देशित सिकाइलाई समर्थन् गर्छन् । तिनीहरूको रोजाई राम्रो र असल हुन्छ । ठिक विपरित प्रकृतिले विनाशकारी रोज्छ । संरक्षणकारी बन्ने या विनाशतिर लाग्ने स्वयम्मा निर्भर रहन्छ । राजनीति गर्नेले ढाँटे पनि कति दिन ढाट्ने । झुटो कहिल्यै टिक्दैन पतनतिर लाग्छ । कवि भन्छन् –‘ झुटा आश्वासन जनतालाई नदेऊ, प्रिकृति विनाश गरेर क्षणिक फाइदा नलेऊ ।’ यो सबैलाई थाहा भएकै हो कि देश रहे पो हामी रहने छौं । प्राकृतिक बाँचे पो हामी बाँच्ने छौं । कविले यस कवितालाई यसरी समाप्त गरेका छन् –

लोभ मोह त्यागे।र एकै स्वरमा भन्नु छ आज

जल जमिन वातावरण समग्र प्रकृति जिन्दावाद

यो देशको भाषा भेष भुसा अनि संस्कृति जिन्दावाद

भावी पिढीको भविष्य वोकेकी

नेपाल आमा जिन्दावाद !!

नेपाल आमा जिन्दावाद !!

पृष्ठ ९०

६०. डिभोर्सको रमिता गर्ने देशका सस्ता गहनाहरू !– बढ्दो छोडपत्रप्रति कविको आक्रोश देखिएको छ । छोडपत्र गर्नेहरूलाई लाग्दो हो उदाहरणीय काम गरियो । ‘दुनीयालाई भुलाउने भाइरल हुने र कमाउने ।’ यी घिनाउना काम हुन् । यस्ता काममा सती जान सकिदैन । जिन्दगी अमूल्य छ । सम्बन्ध मायाले गाँसिनु पर्छ पैसाले हैन । सोच्नु पर्छ डिर्भोको सन्देश कस्तो जान्छ समाजमा जस्ता आदि धारणाले सजिएको छ कविता ।

६१. कुरो बुझे हुन्छ – यस कवितामा कविले वेरोजगार, बा आमाको दुख घरै छाडेर सहर बजार घुमेर कपाल लर्काउनु आँखा कर्काउनु आँखा बाटै दोहोरी फर्काउनु, कोही सुन्दरी मोहनी पासोमा परेर चिल्लो कपालको तारिेफ गर्छे भने त्यहाँ केही छ कुरा बुझे हुन्छ ।

यदि कोही युवनती राम्री, हेरेरै आँखाको टक फेर्न सकिने, लगाइ, खुवाइ, तडक भडक न मिहिनेत, न लगाव, न भविष्यको चिन्ता, न कमाइ, न धमाइ, फेुस बुक र टिकटकतिर रडाको, कतै गिफ्ट मगाइ,घर भाडाको छ, नखरा र बजार भाऊ चर्को छ भने त्यहाँ केही रहस्य छ पक्कै बुझे हुन्छ ,

यसरी नै जागिरे व्यपारी जस्ले पद पैसा ठाउँ कुठाउँ पद र पैसाको धाक लगाउने, चिया खुवायर सशुल्क प्रशंसा बटुल्ने, यिनका पैसा र पदमा आकर्षक हुनेहरू कुमठोक्न आउँछन् भने त्यहाँ केही छ कुरा बुझे हुन्छ ।

आजका सस्तो र लोकप्रिय पेशा राजनीति हो । यिनको न जागिर न पेशा सातै पुस्तालाई न सुर्ता न टेन्सन गफ जोतेको भरमा भीड लगाउनु, सके कुम्ल्याउनु, आपूm र आफ्नालाई मोटाइराछ भने भविष्य त्यतै छ झोला बोके हुन्छ केही रहस्य छ पक्कै बुझे हुन्छ जस्ता अभिव्यक्ति कविले पस्केका छन् ।

६२. म नेपालको फुइ १४ चौधौ – यस कवितामा कविले नेपालको एक शासकलाई पूmइ नामाकरण गरेका छन् । फ्रन्सका राजा लुइस चौधौं(लुइस महान)सँग तुलना गरेका छन् । लुइसले ७२ वर्ष ११० दिन शासन चलाएका थिए । यो काल इतिहासको कुनै पनि राजाको सबैभन्दा लामो शासनकाल हो । उनलाई निरंकुशताको युगको प्रतीकको रूपमा लिइन्छ । कविले फुइका धारणालाई यहाँ प्रष्ट्याएका छन् । फुइको गफ हान्ने र फुइ हान्ने उसको काम हो । उसलाई शक्तिशाली बनाउने उसको पावर, शक्ति,रस र जस हुन् । उसले अरू सबैलाई शत्रु ठान्छ । उसले मबाट केही सिक भन्छ । उसले टेकेको धर्ती पवित्र हुन्छ । उसले जे भन्छ त्यही ठिक हुन्छ । उसले आपूmलाई राज्य, अरुलाई जैरे, ठान्छ । टिभीमा उसलाई हेर्ने सोझा दर्शक र चुनावका भोटर हुन् । यी भोटरले आइसियु र भेिन्टलेटरलाई सोर्स लगाउन आउने भोटर । सर्वनत पाए मख्ख हुने । कार्यक्रम र बजेट भनेर कोही अघि बढ्न नपाउन्, ऊ जे छ त्यसैमा तालि ठोक, ऊ ठिक भए पछि अरू पनि ठिक होलान् जस्ता धारणा राख्दै भन्छन् –

हस्पिटल बन्दै गर्लान्

अक्सिजन आउँदै गर्लान

हामी निरन्तर वार्तामा छौं , भ्याक्सिन

आउँदै गर्लान्

मान्छे त ठूला देशमा पनि त मरेकै छन नि

हाम्रो लक्ष्यत समृद्ध नेपाल बनाउनु हो ।

पृष्ठ ९५

फुइचौधौं को काम सूरुङ बनाउनु, भ्युटावर बनाउनु, बजेट असारमा बाटो बनाउन लगाउनु, टुहुरा नेपालीलाई धैर्य गर २÷४ लाख मरेर गए पनि देश बनाएरै छाड्ने अठोट गर्छ । कोरोना लागेकालाई सिटामोल, बेसार, बेलाउती खाने अध्यारो कोठामा चुक्म्कल लाएर बस्न र खोकी लागे छिमेकीले नसुन्ने गरी खोक भन्छ । उसले एक ,पटक सत्ता हत्याउनुको लागि गठबन्धन गरेर भए पनि चुनाव गराउनु छ । त्यसोहुँदा ऊ भन्छ –

सास रहुन्जेल मस्तसँग खोक

म जे बोल्छु त्येसैमा ताली ठोक

पृष्ठ ९५,

६३. हाँस्न बिर्सिएको मान्छे – १६औं शीर्षकमा पनि यही शीर्षकको कविता छ । उस कवितामा हास्न विर्सिएका कारण दर्शाइएका छन् भने यहाँ सबै सबै हतारमा रहेकाहरू युरोप अमेरिका जान्छन् । असफलहरू अलिकति नेपालमा भएका र अरूहरू कोही दुबै र कतारमा छन् । केही कमाउन, आफ्नै हातमुख जोडन, खुसी र हाँसो खोज्ने पसल चहार्दै संसार डुल्दै, वाध्यतामा विदेश लाग्नु परेको र अर्को तर्फ देश प्रेम र माटोको मायाले लाखौ युवाको प्रति निधित्व गर्दै विक्षिप्त मन लिएर एक टक उभिएको मान्छे जो बालक कालमा हाँसो, पढ्दा कलेजमा अलि थोरै हाँसो, जागिरको खोजीमा लाग्यो र विस्तारै हाँसो विर्सियो र उसले हाँसो सञ्चित गर्न सकेन जस्ता अभिव्यक्ति सहित कवि भन्छन्–

बुढेसकालको हिसाब गनेर

कस्तो हंसमुख कस्तो ह्यान्डसम

कस्तो रसिलो, हँसिलो मान्छेबाट

आज उसको उसको अर्को नामाकरण भएको छ

नयाँ परिचय पाएको छ

ठुस्स परेको मान्छे, रिसाएको मान्छे

अनि अनुहार सधैं

मकै पड्काउने हाँडी जस्तै

अँध्यारो, बनाउने

फगत हाँस्न विर्सेको मान्छे !!

पृष्ठ ९७

आजको देशको यथार्थलाई केलाएर हेर्दा सारा नेपाली नै हाँस्न विर्सिन बाध्य छन् । देशको कहालीलाग्दो अवस्था, जीवन धान्नको लागि युवा युवतीको पलायन, देशका उर्वर भूमिलाई बाँझो बनाउनु, बृद्धबृद्धाले आँगन कुर्नु, देश विकासलाई तीव्र गतिमा लानसक्ने राजनीतिक इच्छाशक्ति भएको नेतृत्वको कमि, बढ्दो भ्रष्टचार,सुशासनको कमी आदि थुप्रै विषयको कारण दर्शाई कविले हाँस्न बिर्सिएको मान्छे शीर्षक राखेका छन् । सही कुरा यो हो । लेखकको नाम त थाहा छैन तर निकै प्रचलिनत गीत छ ‘ छाती माथि ढुङ्गाराखी हाँस्न परेको छ’ हरेक मानिसमा यस्ता दर्द विध्यमान छन् यस्तो हाँसोलाई हाँसेको नभनी हाँस्न विर्सेको भन्न फरक पर्दैन, यसरी हेर्दा शीर्षक सार्थक छ भन्न सकिन्छ ।

६४. ह्याप्पी भ्यालेन्टाइन डियर लोकतन्त्र ! – यस कवितामा लोकतन्त्रमा देखिएको विकृतिले देशमा परेको असरमा व्यङ्ग कसिएको छ । देश आज लोकतन्त्र मात्र नभएर गणतन्त्रसम्म पुगेको छ । बास्तवमा लोकतन्त्र एउटा उत्कृष्ट शासन प्रणाली हो । यसमा सुशासन¸ समृद्धि¸ सामाजिक न्याय¸ राष्ट्र निर्माणको मुलभुत आधारको अनुभूति गर्न पाइन्छ । कविले लोकतन्त्र र देशलाई पात्र बनाएर यस कविताको सिर्जना गरेका छन् । देशमा लोकतन्त्र आएको दशक भैसक्यो । दुबैको पिरती गाढा नहुँदै लोकतन्त्र चुडाल्ने प्रयास हुन थाल्यो । संवैधानिक व्यवस्था माथि आक्रमण भयो र संविधान न दिँदैनन् –‘यै कोमामा पुग्यो । यस्तो करामत गर्ने लोक तन्त्रका विरोधी(नव श्री ३)हरूले भविष्यमा प्रेम दिवस मनाउन दिन्छन् यासपाली तिमीलाई ह्याप्पी भ्यालेन्टाइन है डियर लोकतन्त्र’ ।

देशमा गणतन्त्र , संघीयता, धर्मनिरपेक्षता पनि संकटमा छन् । गाउँ गाउँबाट चुनिएर आएका प्रेमदूतहरू पनि भूमिका विहीन र निरिह बनाइए । प्रेममा शत्रुता लाग्नु डाह इष्र्या गर्नेहरू एक जुटहुनु, माया साटे माया बढ्छ, पूmल साटे पो श्रद्धा बढ्छ, बन्दुक देखाएर, बख्तरबन्द गाडी गुडाएर, जुहारी खेलेर,अरूलाई नस्वीकारेर, सदन र सडकमा घृणा ओकेलेर, अपशब्द बोलेर भविष्यका पिँढीलाई मायाको कस्तो सन्देश दिने, र लोकतन्त्रसँग कसरी प्रेमदिवस मनाउने जस्ता धारणा आएका छन् कवितामा

६५. ओ शासकहरू हो ! केही सिक्यौ कि तिमिले –यस कवितामा शासकको अहम् प्रवृत्ति पट्टी कटाक्ष गर्दै अहम्तालाई समयले सबक सिकाउँछ भनेका छन् । जनतामा, कापी र कलम बोक्ने झोलीमा, सत्य आवाज बोल्ने सडकमा, सर्वाच्च आसनमा, विधि र कानुनको शासनमा शक्ति हुन्छ तर तिमीले आफै श्री३ बनेको भ्रम पालेक थियौ । संसारका तानाशाहले पाए सरी जेन जी हरूको जनसागरबाट छुटकारा पायौ सवक सिक्यौ र नसिकेकाले पाठ सिक । शक्तिले अन्धो बन्नु , सत्ता मेरो लागिमात्र हो भनि सम्झनु, बुझी बुझी बुझ पचाउनु आदि कर्मको सजाय त समयले दिन्छ । वर्तमानको सबकबाट केही चेत्यौकि भनि शासकलाई सन्देश दिएका छन् ।

६६. गाह्रो छ ‘बा’ हरूलाई अब– कविले आजका घरमूली बा र शासन चलाउने बा हरूलाई गाह्रो भएकोले दुवैले लोभ मोह नगरी यस देशको बागडोर युवाहरूमा सुम्म्पन्नुको विकल्प छैन भनेका छन् ।

६७. बरू छाउ घर भित्र ! – यस कवितामा विभिन्न संस्थाहरूबाट छाउ घरको ढोकामा पेटभरी खाना कुरेर बसेका नानीहरूलाई अनेक तरहका प्रश्न गर्नेहरूलाई के जवाफ दिने भनि प्रश्नवाची हुँदै कसलाई विश्वास गर्ने ? कोही जागिर पकाउन आउँछन् । आमा बाबु अनपढ छन् र अन्धविश्वासमा रहन्छन् । समाज ढोगी छ । सरकारले बजेट छुट्याए पनि छाउ गोठसम्म पुग्दैन । छाउ गोठमा बस्ने वालाको सके दुई छाक मिठो खान लाउन दिएर आत्मनिर्भर बनाउ ,सक्दैनौ भने हजारौ खर्चेर, महगा कपडा पहिरेर, महगा झोला भरी आश्वासन बोकर यहाँ नआऊ । जे छ ठिक छ, आधा पेटमै छाउ घर भित्र खुसी भएको धारणा आएको छ ।

उद्देश्य– कविका कविता अध्ययनबाट प्रष्ट हुन्छ कि आजको समसामयिक अवस्थामा देशको अवस्था कस्तो छ, समाज कतातिर लम्किएको छ , देशलाई आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भनि सन्देश प्रवाह गर्नु रहेको देखिन्छ ।

भाषाशैली – गद्यलयमा लेखिएका यी कविताको भाषा सरल छ । प्रचलनमा आएका अंग्रेजी शब्दलाई प्रयोगमा ल्याइएको छ । अभिव्यक्त गर्न चाहेका धारणा लयात्मक रूपमा सलल बग्ने गरी मिठो शैलीमा प्रस्तुत गरिएको छ । कवितामा बिम्बको प्रयोगले गर्दा यसका भावना बुझ्नको लागि साधारण पाठक भन्दा बौद्धिक पाठकको लागि राम्रो खुराक बन्न सक्छ भन्ने लागेता पनि सबैको लागि यो ग्राह्य छ, पठनीय र अनुकरणीय भन्न सकिन्छ ।

रसगत रुपमा अध्ययन गर्दा – यस कृति भित्रका ६७ कविता पढदा कतै प्रेम, कतै हाँसो, कतै दुःख, कतै सहास कतै क्रोध, कतै आश्चय कतै शान्ति आदिका भावना मनमा उत्पन्न हुन्छन् । यसरी कवितालाई ,पढ्दा या सुन्दा विविध रसले सजिएको देखिन्छ ।

सवल पक्ष – मेरो धारणा सहित डा.पूण भण्डारी ‘‘पंकजको भूमिकामा लेखिएको विश्लेषणलाई सापटी लिंदा कविता सङ्ग्रह ‘समकालीन नेपाली समाजको दर्पण हो’ र ‘ यो सङ्ग्रहले समाजका विविध पक्षलाई उठाएको छ, ती विविध पक्षलाई मैले भावसारमा पस्कि सकेको छु ।यिनको आधारमा यो समसामयिक राजनीति र सामाजिक दस्तावेज हो ।

अन्त्यमा कविताले दिन चाहेको सारतत्त्त्वलाई मैले माथि नै हरेक कविताको पस्किसकेको छु । यस सङ्ग्रहमा लेखिएका कविताहरू वर्तमान समसामयिकतामा आधारित छन् ।कविले समाजमा टेकेर हरेक क्रियाकलापलाई समाएर र तार्किक रूपमा विश्लेषण गरेर कविता लेखेका छन् । यस कविता सङ्ग्रहका धेरै जसो कवितामा भ्रष्टचारका कुराहरू उठाइएका छन् । नेपाल भ्रष्टचारको जालोले जेलिएको छ जस्ले हरेक नेपालीलाई टोकी रहेको छ ।देशले प्रगतिको बाटो समाउन सकेको छैन । नेतृत्व वर्ग नै भ्रष्ट भएपछि त्यसको प्रभाव राष्ट्रसेवकमा पर्छ । जुन देशमा नेतृत्व र राष्ट्रसेवक भ्रष्ट हुन्छन् । सेवाग्रहीले सेवा पाउँदैनन् । जनतामा निराशा पलाएर आउँछ । जनविद्रोहोले स्थान लिन्छ ।देश विकासमा लम्कन सक्दैन । कविले यी भ्रष्टचारका मुद्दालाई प्राथमिकताकासाथ उठाएका छन् । नाङ्गै आएको नाङ्गै जानेहो त्यसोहुँदा लोभ मोह भ्रष्टचार किन ? कुकर्मलाई त्यागेर देश विकासमा जुटौं भन्ने सन्देश ठाउँ ठाउँमा अध्ययन गर्न पाइन्छ । मैले कविले लेखेका कवितालाई शब्दशब्द केलाएर अध्ययन गरेको छु । जवाना फेरिएको छ । जमानाको साथ साथै समाजमा पनि परिवर्तन भएको छ । कविले आफ्नो भनाइमा ‘ हाँस्न विर्सिएको मान्छे केवल भावनात्मक अभिव्यक्तिहरूको सङ्ग्रह होइन यो आजको हाम्रो समाज, समय र चेतनाको प्रतिबिम्ब पनि हो’ भनेका छन् । उनको यो अभिव्यक्तिलाई कविताहरूले प्रमाणित गरेका छन् । उनका कवितामा बिम्बको अधिक प्रयोग भएको पाइन्छ । कविताहरू राष्ट्रियता,राष्ट्रप्रेम र मातृभूमिप्रतिको चिन्तनलाई यथार्थ चित्रण गर्न सफल देखिन्छन् । यहाँ विदेशमा कष्टकर जीवन विताइ रहँेका श्रमिक युवा युवतीका पीडा छन् । विज्ञान र राजनीतिलाई पनि कविले परिभाषित गरेका छन् । नेपालको राजनीतिक इतिहासलाई केलाउँदा नेपालको राजनीतिक कहिल्यै स्थिर हुन सकेन जहिल्यै सत्ताको लागि खिचातानी र कुर्सी बचाउने ध्यानमै रहेका शासकले दीर्घकालिन योजना बनाएर गास, बास, कपासमा आत्मनिर्भर बनाउन सकेनन् बरु युवाहरू विदेश पलायन भएर खेतीयोग्य जमिन बाँझिन थाले । काँचुलीका कविताहरूमा यी सबै कुराहरूलाई महत्वका साथ उठान मात्र हैन देशलाई कसरी विकास तिर लान सकिन्छ भन्ने सुझाव उदाहरण सहित उठान गरिएका छन् । काँचुलीका कवितामा भौतिकवादी चिन्तनमात्र नभएर आध्यात्मिक चिन्तन पनि पाइन्छ । उनका कवितामा निराशाबाट माथि उठेर केही गर्नसकिने आशावादी सन्देश पनि पाइन्छ । उनले प्रकृृतिमात्र सत्य हो भन्दै प्रकृति र मानव बीचको सम्बन्धलाई दर्शाएका छन् । एकातिर प्रकृति वरदान हो भने अर्कोतिर अभिशाप पनि । कतै जलवायु परिवर्तन र वातावरणीय विनाशको अन्तर सम्बन्ध, कतै जीवन दर्शनका कुरा, कतै युवा स्वयम् सक्षम हुनु पर्छ र हनुमान प्रवृत्तिबाट माथि उठ्नुपर्छ भन्ने धारणा, कत्रै भूकम्प कतै बाढीपीडित बाढी पीडितले समयमा पाउन नसकेको राहतको आदि थुप्रै सन्देश बोकेको छ कृतिले । कविले हाम्रा क्षिमेकीहरूका क्रियाकलाप, सीमा अतिक्रमण सत्ता नै परिवर्तन गरिदिने जस्ता हरकत, उसले हाम्रो अतिक्रमण गरेको भूमि फिर्ता गर्नु पर्छ भन्ने आदि धारणाको साथै विगतका कमी कमजोडीलाई सच्याउन सकियो भने अझै देशलाई कसरी सवल बनाउन सकिन्छ उदाहरण सहित मार्गदर्शन दिएका छन् ।

यस कृतिको भूमिका कार डा.पूर्ण भण्डारी ‘‘पंकज” ले यसरी निचोड निकालेका छन् –‘यस सङ्ग्रहको मूल निचोड के हो भने ,नेपाली समाज र राजनीति अहिले कठिन मोडमा छ, जहाँ जनतामा निराशा छ तर आशा र सुधारको चाहना अझै बाँकी छ । कविताहरूले एकातिर हाँसो हराएको मान्छेको पीडा चित्रण गर्छन् भने अर्कोतिर चेतना सचेतना र परिवर्तनको आह्वान पनि गर्दछन् । यसरी, यो सङ्ग्रह केवल कविताको पुस्तकमात्र होइन यो हाम्रो समयको राजनीतिक–सामाजिक दस्तावेज पनि हो ।’ कविका यी महत्वपूर्ण कविताको प्रशंसा गर्दै, यस्ता गहन कृतिहरूको सिर्जना थपिदै जाओस र भविष्य उज्ज्वलताको साथै विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।