गौरी तमूसँग मेरो चिनजान कहिल्यै घनिष्ठताको तहमा पुगेन । उनी चितवनको आसपास छँदा साठीको दशकको सुरुमै उनले आफूलाई रेडियो पर्सनालिटीका रुपमा उभ्याइसकेकी थिइन् । प्रायः उनी गुरुङ भाषामा कार्यक्रम चलाउँथिन्, मलाईचाहिँ त्यो भाषा आए पो । म उनको कार्यक्रमको नियमित स्रोता नभएका कारण उनीसँग मेरो चिनजान ठिकठिकै खालको रहेको हो । त्यसो त उनको र मेरो उमेरमा झन्डै एक दशकभन्दा बढीको अन्तर होला । त्यही भएर मेरो साथीको सर्कलमा उनी परिनन् । उनी बस्ने गैँडाकोट, म बस्ने मङ्गलपुर, त्यही भएर पनि हामी बिच घनिष्ठता कायम भएन । बस्, म उनका कार्यक्रमहरु केही सुन्थेँ र बेलाबेलामा हाम्रो जम्काभेट हुन्थ्यो । त्यतिको आधारमा म उनलाई सामान्य चिन्थेँ ।
उनको बिहे पोखरा निवासीसँग भएछ र उतै स्थायी रुपमा बस्न थालिछन् । बिहेपछि जसरी अरु युवती हराउँछन् उनी पनि त्यसरी नै परिवारको चौघेराभित्र हराइछन् । यो कुरा उनको कविता कृतिभित्रको आफ्नो स्वीकारोक्तिका यी पङ्क्तिहरुले पुष्टि गर्छन् :
“नवलपरासी–चितवन क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएकी म पोखरा आएपछि परिचयविहीनजस्तै भएँ । त्यो समय अहिलेजस्ता सामाजिक सञ्जाल थिएनन् । को के हो या के गर्दै छ भन्ने कुरा अहिले जसरी थाहै हुन्थेन । छोरीहरु हुर्कँदै गए । म फेरि बाहिर निस्कन थालेँ । आफूलाई शिक्षण सँगसँगै साहित्यिक र सामाजिक गतिविधिमा व्यस्त बनाउन थालेँ ।”
त्यसपछि गौरी तमूको छोटो चिनारी
त्यसो त गौरी तमू को हुन् ? भनेर चिनाइरहनुपर्छ जस्तो मलाई लाग्दैन । उनको काम र नाम दुबै काफी छ । उनको नाम पत्रकारिता, कलाकारिता, समाजसेवा र गुरुङ भाषा र संस्कृतिका क्षेत्रमा निकै चर्चित छ, तर साहित्यका क्षेत्रमा भने उनले अझै सङ्घर्ष गर्न आवश्यक छ । अझ नेपाली साहित्यमा त उनी भर्खर बामे सर्दैछिन् भन्दा हुन्छ, त्यसो हुनुको मुख्य कारण उनले आफूलाई साहित्यिक लेखनभन्दा पनि अन्यत्र छर्नु नै हो ।
आजका मितिसम्म गौरी तमूका ‘समैँ दर्बानी‘ मुक्तक सङ्ग्रह (२०७४) ‘सैँप्रोल’ कविता सङ्ग्रह (२०८२) गरी दुई वटा मात्र कृति प्रकाशित भएका छन् । ती कृतिमा समयको स्वर छ । गुरुङ संस्कृतिको कुरा छ । अनि छ महिलाका कुरा पनि । यति भएर पनि उनको लेखन अझै माझिन र खारिन आवश्यक छ । त्यसका लागि अरु कृतिहरु आउनुपर्छ ।
अनि त्यसपछि ‘सैँप्रोल’ कृतिको बाहिरी चर्चा
गौरी तमूको पछिल्लो कृति अर्थात् ‘सैँप्रोल’ कविता सङ्ग्रह यही २०८२ मङ्सिर महिनामा इन्डिगो इन्क प्रा.लि., काठमाडौँले प्रकाशित गरेको हो । कूल १०६ पृष्ठको आयाम बोकेको यो कविता कृतिभित्र कविताले जम्मा ८९ पृष्ठ अर्थात् ८३ प्रतिशत ठाउँ ओगटेको छ भने बाँकी ठाउँ भूमिका लगायत अन्य कुराले ओगटेको छ । त्यसमा पनि गुरुङ संस्कृतिसँग सम्बद्ध कवितापछि त्यसको चिनारीका लागि खर्चिएका शब्द गन्दा उक्त कविताभन्दा टिप्पणी अझ बढी लामो खालको बनेको छ । यसरी कविताभन्दा त्यसको पुष्टि लामो हुँदा कविताको स्वाद खलबलिँदो रहेछ ।
खासमा ‘सैँप्रोल’ हिजोआज भनि स्मार्ट कविताको सञ्चयन हो । उनको यो कृतिभित्र समाविष्ट कूल ७४ वटा फुटकर कवितामध्ये करिब दुई दर्जनजति मुक्तकीय संरचना अर्थात् लघु खालका, तीन दर्जन जति एक पृष्ठभित्रै अटाएका, एक दर्जन जति दुई पृष्ठसम्म फैलिएका र एउटा मात्र कविता तीन पृष्ठको आयाम बोकेको देखिन्छ । यी कवितामा समाज, संस्कृति र प्रकृतिका विविध भाव आएका छन् । मुक्तकीय संरचनाका कारण पाठकलाई विशेष झट्का दिन यो कृति सफल देखिन्छ ।
‘सैँप्रोल’ कृतिले उठाउन खोजेको विषयवस्तु
‘सैँप्रोल’ कविताकृतिको प्रकाशक इन्डिगो इन्क प्रा.लि.ले पछाडिपट्टिको आवरणमा लेखकलाई चिनाउँदै यस्तो लेखेको छ, “उनका कवितामा नारी अस्तित्व, तमू संस्कृतिका बिम्बसहित आदिवासीय चेतना पाइन्छ ।” त्यसो त हिजोआजका नेपाली कविहरुले आफ्नो कविताकृतिमा कविता के हो ? र आफ्नो कविता सिर्जनाको रचना गर्भ कस्तो छ ? भन्ने बारेमा बोल्ने गरेका भए पनि समीक्षकले जस्तो मेरो कवितामा यस्तो छ भनेर कमै बोल्ने गरेको पाइन्छ । गौरी तमूका हकमा भने त्यसको विपरीत पाइन्छ । उनी आफ्नो कृतिको लेखकीय ‘सैँप्रोल अर्थात् प्रतिरोध’ शीर्षकको लामो लेखमा आफ्ना कविताका बारेमा यस्तो अभिमत राख्छिन् :
“‘सैँप्रोल’मा महिला अस्तित्वसँगै तमू (गुरुङ) हरुको उत्पत्ति कहाँ र कुन ठाउँमा कसरी भयो ? आगो, मर्चा र जाँडको उत्पत्ति कहाँ र कसले गर्यो ? मरेपछि तमूहरुको मृत्यु संस्कार कसरी गरिनुपर्छ ? आदिमकालमा तमू (गुरुङ) जातिको पय कसरी गरिन्थ्यो ? तमूसँगै आदिवासी भूगोल र संस्कृतिमाथि कसरी आक्रमण भइरहेको छ ? सत्ताले कसरी आदिवासी जनजातिका नैसर्गिकताविरुद्ध कानुन निर्माण गरी उनीहरुको जीवन दर्शनलाई अपदस्थ गरेको ? यस्ता प्रश्नहरुको सूक्ष्म खोजी गरिएको छ ।”
के त्यसो भए यो कृतिमा पहिचान र प्रतिरोध मात्र छ त ? यति मात्र छैन यो कृतिमा । यसबाहेक पनि अन्य भावहरु यसमा मुखरित भएको छ । यसका लागि विभिन्न उपशीर्षकमा विभाजन गर्दै कविताकृतिभित्रबाट साक्ष्यहरु लिएर निम्नानुसार पुष्टि गरिएको छ ।
‘सैँप्रोल’ कविता कृतिमा पहिचानको स्वर
पहिचान भनेको आफू को हो ? भन्ने भन्ने कुराका खोजी हो । गौरी तमू आफू नारी हुन् र हुन् आदिवासी गुरुङ समुदायकी एक व्यक्ति । उनले त्यही कुराको खोजी यो कृति गरेकी छिन् । आरम्भमा ‘सैँप्रोल’ कविताकृतिभित्र के कस्ता पहिचानको स्वर मुखरित भएको छ ? भन्ने खोजी गरिएको छ । उनको ‘सैँप्रोल स्व’ शीर्षकको कवितामा तमूहरुको मिथकमा ‘सैँप्रोल’ नामकी नारी पात्रले गरेका कामको चर्चा गर्दै पहिचानको यस्तो स्वर मुखरित भएको पाइन्छ :
“आदिमकालदेखि
पहिरिँदै आए पनि प्रो
अनेकन भ्रमहरुको बुइ चढेर
किन भइरहन्छ खतरा
सैँप्रोलहरुकै अस्तित्वलाई ?” (पृ. १०१)
कृतिभित्रको सबैभन्दा लामो कविता हो, ‘बुज्यु’ शीर्षकको कविता । तीन पृष्ठको आयाममा फैलिएको यो कवितामा कविले आफ्नी हजुरआमाका बारेमा चर्चा गरेकी छिन् । शिक्षाको उज्यालो घामबाट बञ्चित भएको भए पनि हजुरआमामा रहेको भविष्यचेतको कुरा गर्दै आदिवासी चेतलाई यसरी उतािरएको छ :
“बुज्य !
हो रहेछ
सत्य रहेछ
तिमीले भनेजस्तै रहेछ
म
पानी पनि किनेर पिउने जमानामा आइपुगेको छु ।” (पृ. ९२)
उनको ‘आविष्कार’ शीर्षकको कवितामा गुरुङ समुदायको पहिचानको कुरालाई यसरी मुखरित गरिएको छ :
“सम्हाल्दै बागडोर
आदिम युगको
जसरी सँगै गरे सृष्टि
स्यापोदी खेँ र खोपोदी ह्रोले आगोको
उसै गरी
गरे आविष्कार खुम्दीप्योँ र हुम्दीम्योँले
मर्चा र जाँडको ।” (पृ. ९९)
त्यस्तै उनको ‘गल्ती’ शीर्षकको कवितामा नारीको पहिचानका कुरालाई यसरी मुखरित गरिएको पाइन्छ :
“इतिहासदेखि वर्तमानसम्म
गरिरहेछौ तिमी एउटै गल्ती
सिन्दूर, चुरा, पोते
या
कागजको खोस्टोभित्र
गरिरहेछौ
जबर्जस्ती हत्या
स्वच्छन्द प्रेमको ।” (पृ( ५९)
यसरी यो कविता कृतिमा नारीको पहिचान खोजिएको छ । त्यस्तै आफू आदिवासी जनजाति गुरुङ समुदायको भएकाले उक्त समुदायका खानपान, जीवनशैली आदिलाई पनि मार्मिक तरिकाले चित्रण गरिएको छ ।
‘सैँप्रोल’ कविता कृतिमा प्रतिरोधी चेत
प्रतिरोध भनेको आफ्नो अधिकार पाउनका लागि गरिने सङ्घर्ष वा विद्रोही भावको चित्रण हो । उक्त ‘सैँप्रोल’ कृतिमा प्रतिरोधी चेत पनि छ र त्यसका पनि पनि विविध रुप छन् । सामान्यतया हामी आमालाई कोमलताको प्रतीक ठान्छौँ, तर कवि गौरीको विचार त्योभन्दा फरक खालको पाइन्छ । उनी ‘विस्फोट’ शीर्षकको छोटो कवितामा आमामा पनि यसरी विद्रोही भाव भर्छिन् :
“त्यति कमजोर नठान
आमाहरुको धैर्यलाई
भयो भने विस्फोट
धैर्यको बाँध
भत्काउनेछ
तिम्रो समाजको
थोत्रो संरचना ।” (पृ. ४६)
त्यस्तै उनी आमालाई यो समाजले आमा रहन नदिएर महान् वा पूज्य बनाएपछि संसार अँध्यारो भएको भाव कृतिकै पहिलो कविता ‘योजना’ शीर्षकको कवितामा यसरी अभिव्यक्त गरेकी छिन् :
“उज्यालो थियो
त्यो सृष्टिकाल ।
अँध्यारो त
तब हुन थाल्यो
जब आमाहरु
योजनाबद्ध
महान् बनाइए ।” (पृ. १७)
त्यस्तै उनले नारीले आफू पनि मानव हुँ भनेर प्रमाणित गर्न पनि बदमासी गर्नुपर्ने कुरालाई ‘बदमासी’ शीर्षकको कवितामा यसरी प्रस्तुत गरेकी छिन् :
“आदिम
बाटो र सीमाहरु भत्काएर
अलिकति बदमासी गरेँ मैले
तिमीजस्तै
मान्छे हुने ।” (पृ. १८)
उनी ‘धरती’ शीर्षकको कवितामा धरतीलाई नारीसँग तुलना गर्दै अब मान्छे बन्न नारीले के कस्तो प्रतिरोध गर्नु आवश्यक छ ? भन्ने कुरालाई यसरी अभिव्यक्त गरेकी छिन् :
“अब बेला भएको छ
च्यातेर पगरी
धरतीको
धैर्यको
ममताको
महानताको
केवल मान्छे बन्ने !” (पृ. १०४)
त्यस्तै उनको ‘बन्देज’ शीर्षकको कवितामा आदिवासीमाथि कसरी सरकारले कानुन बनाएर बन्देज लगाएको छ ? भन्ने कुरा चित्रण गर्दै त्यसको प्रतिरोध यसरी गरिएको छ :
“अहिले
आदिम अस्तित्व नै मेट्ने गरी
नैसर्गिगकतामा धावा बोल्दै
लगाउँदै आदिवासी पहिचानमा बन्देज
अस्ति भर्खर त बनायौ तिमीले कानुन ।” (पृ. ९८)
यसरी यो कविता कृतिमा नारीले गर्ने प्रतिरोधलाई मुख्य रुपमा उतारिएको छ । त्यस्तै आदिवासी जनजाति गुरुङ समुदाय कसरी मर्कामा परेको छ र त्यसको प्रतिरोध कसरी गर्ने भन्ने कुराको पनि मार्मिक तरिकाले चित्रण गरिएको छ ।
‘सैँप्रोल’ कविता कृतिमा चित्रित अन्य भाव
कवि गौरी तमूको ‘सैँप्रोल’ कविताकृतिमा पहिचान विद्रोहको स्वर मात्र छैन । यसभित्र प्रेम, मानवीय सम्बन्ध र समाजका विविध भाव पनि आएको छ । उनले ‘सम्बन्ध’ शीर्षकको कवितामा प्रेम र सम्बन्धलाई यसरी चित्रण गरेकी छिन् :
“जाऊ, कति दूर जान्छौ
सम्बन्धको डोरी चुँडाएर
आऊ, कति समीप आउँछौ
प्रेमको पुल तरेर ।” (पृ. ३१)
गौरीको ‘याद’ शीर्षकको कवितामा प्रेमीको यादलाई यसरी सम्बोधन गरिएको छ :
“चल्यो
एक्कासि हुरी
उडायो तिम्रो पछ्यौरी
तर, किन उडाएन
तिम्रा यादहरु ?” (पृ. ४५)
उनी ‘भ्यालेन्टाइन’ शीर्षकको कवितामा प्रेमको सम्मानमा मनाइने भ्यालेन्टाइन डे पनि व्यापार हुँदै गएको कुरालाई यसरी विद्रोहात्मक तरिका प्रस्तुत गर्छिन् :
“ओ भ्यालेन्टाइन !
बन्द गर प्रेमको नाममा
गुलाबको व्यापार ।” (पृ. ८२)
उनको ‘स्मृति’ शीर्षकको कवितामा आफ्नो बाल्यकाल बितेको ठाउँलाई यसरी सम्झना गरिएको छ :
“छाडेर पाङ्ग्रे खोला
तरेर जयश्री
बोकेर यादहरु टारीबासको
पञ्चकन्या प्राविको प्राङ्गण हुँदै
मैले
छोडेर आएँ आफैँलाई ।” (पृ. ९०)
त्यस्तै ‘सम्बोधन’ शीर्षकको कवितामा पनि अतीतप्रतिको मोह पाइन्छ । यसमा आफू छुट्एिको ठाउँले कविलाई कसरी सम्झना गरेको छ भन्ने भाव यसरी आएको छ :
“भेटिने छैनन् अब
खयरटाँडी
रानीताल
या
जयश्री खोला किनारतिर
तिम्रा पैतालाका डोबहरु ।” (पृ. ७१)
उनी ‘पर्खाइ’ शीर्षकको कवितामा देश छोडेर विदेश जान हतारिएका युवाहरुलाई सम्बोधन गर्दै यस्तो लेख्छिन् :
“सपनाहरुको खोजीमा
सपनाहरुलाई नै छाडेर
बेपत्ता भएको छ नौजवान
आफ्नै जन्मभूमिबाट ।” (पृ. ७९)
माथिका साक्ष्यहरुलाई हेर्दा गौरी तमूका कविता केवल आदिवासी चेतनाका कविता मात्र होइनन्, त्यस्तै प्रतिरोधलगायत नारी चेतका कविता मात्र पनि होइनन् भन्ने पुष्टि हुन्छ । उनका कवितामा देश, समाज, प्रेम, सम्बन्ध आदिका भाव पनि आएका छन् । यसर्थ उनका कविता भनेका विविधताका स्वर हुन् ।
अन्त्यमा बिट मार्ने शब्द
मूलतः छोटा खालका संरचनामा रमाउने कवि हुन् गौरी तमू । उनी आफैँले आफ्नो कृतिको भूमिकामा लेखेजस्तो पहिचानको स्वर मात्र छैन यो कृतिभित्र । यसमा त सामान्य जीवनका विविध पाटाहरु समेटिएका छन् । जस्तो कि हाम्रो जीवन भनेको पहिचान मात्र होइन, त्यस्तै यो कृति पनि केवल पहिचान मात्र होइन । म उनको यो कृतिको पूर्ण सफलताको कामना गर्दै उनको ‘सहारा’ शीर्षकको छोटो कविता साभार गर्दै कलम बन्द गर्दछु :
“गलत सोच्दै छौ तिमी
तिम्रो सहारामा बाँचिरहेछु !
मेरा लागि त
म छु
र पो यो संसार छ ।” (पृ. ७०)