'मालभोग केरा खोजेरै रोपेकी छु' भन्थ्यौ
'गलक्क पाकेको केरा दूधमा मुछेर
तैले सप्राङ्ग सप्राङ्ग खाएको
म कहिल्यै बिर्सिन सक्दिनँ' पनि भन्थ्यौ
'दूध र केरा पाएपछि तँलाई अरु के चाहिन्छ र'
पनि भन्थ्यौ ।
बोलाएकी थियौ;
आउँछु पनि भनेको थिएँ;
बोलाएकोबोलायै थियौ;
मैले आउँछु भन्न पनि छाडेको थिइनँ;
आउँछु भन्दाभन्दै
समयले नेटो काटिसकेछ, सानिमा!
जहिले पनि भेट्दा
तिमी गहिरो गरी मेरो निधारको खत हेथ्र्यौ;
र, अनुहार एकतमासको पाथ्र्यौ;
तिमीले चरालाई ताकेर हानेको ढुङ्गा
रुखमा बजारिएर मेरो निधारमा आई लागेको थियो
र, तिमी झन्डैझन्डै रोएर भन्थ्यौ-
'तेरो सङ्लो निधारमा मैले खत खोपी दिएँ है ।'
यो खत बन्नुमा तिम्रो कुनै दोष छैन भन्ने कुरा
मैले तिमीलाई कहिल्यै बुझाउन सकिनँ; सानिमा!
तिमीले घरमा बोलाउन पनि कहिल्यै छाडिनौ; सानिमा!
मैले आउँछु भन्न पनि कहिल्यै छाडिनँ; सानिमा!
आउँछु भन्दाभन्दै समयले नेटो काटिसकेछ; सानिमा!
तिमीसंग मेरो केही हिसाबकिताब मिलाउन बाँकी छ-
मतानमा लुकेर फुट्टिकट खेल्दाखेरिको हिसाबकिताब
बजारमा कचडी र झिल्ली किनेर खाँदाको हिसाबकिताब
तिमीले पढेका किताबमा
'मेरो नाम जान्न मन छ भने फलानो पेजमा जाउँ' भनेको रहेछ;
मैले सबै पेज पल्टाएर हेरें र पनि फेला परेन
त्यो पनि तिमीलाई सोध्नु छ ।
हिसाबकिताब र प्रश्नको गुजुल्टो बोकेर
आउँछु भन्दाभन्दै
समयले नेटो काटिसकेछ; सानिमा!
घरको एकरसतामा दिक्क भएपछि म मावल आउँथें
मावल आएकै साँझदेखि म घरमा आमालाई सम्झिन्थें र रुन्थें
तिमी डुम्रीका कुरा गथ्र्यौ
कट्टुस र बयरका कुरा गथ्र्यौ
एैसेलु टिप्न खोल्सैखोल्सा मास्तिर लाग्दा
ढुङ्गामा चिप्लिएर म पछारिँदा
मभन्दा बढी तिमी रोएकी थियौ;
अँगेनाको डिलमा परालको कुसनमा बसेर आगो ताप्दै
हाम्रो साझा अतीतलाई सम्झिन मन नलागेको कहाँ हो र!
कान्ला बारीमा
बिछट्टै छिटा गोरूले हलो रड्काए जस्तै
समय हाम्रो 'सियो'मा खोई कहिले आयो र; सानिमा!
आउला भन्दाभन्दै
समयले नेटो काटेछ; सानिमा!