डा. हरि भट्टराई र 'निद्रा काव्य'को विहङ्गावलोकन

कृति/समीक्षा केशवराज आमोदी January 3, 2026, 3:38 pm

केशवराज आमोदी
केशवराज आमोदी
आत्मा की भाग हौ वा ? सुभग-वरद के ? हौ तिमी योग-अम्बा ?

ब्रह्माकी अंश हौ वा ? पवन-जलज हौ ? पोसिली नक्त-रम्भा

के तेजी सौर्य आभा विकिरण नभकी ज्योतिकी स्पर्शगङ्गा ?

आफ्नै स्वायत्त सत्ता ? कि गगनतलकी ताराका स्फूर्त चङ्गा ?

-के तिमी स्पर्शगङ्गा ? यसै काव्यबाट , २/१६ ।

वि. सं. २०१४ साल असोज १ गते माता जगत्माया भट्टराई र पिता देवीप्रसाद भट्टराईका पुत्ररत्नका रूपमा हरि भट्टराईको सुखौरा, केशवटार, तनहुँमा जन्म भएको हो ।

अनिवार्य नभए पनि प्राय: सामान्य काव्यहरूमा सर्ग वा बिसौनीको जग बसालिएको हुन्छ । सर्ग वा बिसौनीको प्रकल्पना गर्दा महाकाव्यमा‌ आठ वा आठदेखि बेसी र खण्डकाव्यमा पूर्वभाग ( पहिलो बिसौनी ) र उत्तरभाग ( दोस्रो वा उपसंहारगत बिसौनी ) गरी दुई भाग वा एकै भागमा अथवा चारदेखि सातसम्म वा स्वेच्छिक शीर्षकीय व्यवस्थापन हुनु वाञ्छनीय देखिन्छ । 'निद्रा तिमी शिखरिणी' शीर्षकको रचनाबाहेक निद्रा काव्यमा सर्ग समापन हेतु सोपान वा विश्राम केही उल्लेख नगरी चौबीसवटा शीर्षकद्वारा काव्यको कलेवर तयार पारिएको र आरम्भिक हरेक सर्ग वा सोपानमा शार्दूलविक्रीडित , पञ्चचामर , वंशस्थ , दुरुतविलम्बित , शिखरिणी , वसन्ततिलका , मन्दाक्रान्ता , इन्द्रवज्रा , अनुष्टुप , तोटक र मालिनीजस्ता एक वा दुई भिन्नछन्दहरुको भावाऽभिव्यञ्जनापूर्ण सुष्ठुतर प्रयोगसहित छसय त्रिपन्न पङ्क्ति-पुञ्ज मर्स्याङ्दीको शान्त , शीतल , गम्भीर र निर्मल जल-प्रवाहझैं अविराम-गतिमा स्रग्धरा छन्दमा काव्य-कामिनीका सौन्दर्य-सुषमामा आवृत्त हुँदै कवि-कल्पनाको कमनीय कोमल भाव-कान्ति मुखरित भएको छ । ग्रन्थ-संरचनाको मूल प्रयोजन वा उद्देश्यका सन्दर्भमा वैदिक , पौराणिक , उपनिषद् , सुभाषित पद्यावली , आप्तजनहरूका अनमोल वाणी , जनश्रुतिहरूबाट प्राप्त ज्ञान , अनुभूति र मनोकल्पनाद्वारा निद्राको वर्णनातीत चिरशाश्वत एवम् चिरनूतन महिमा , शक्ति ,मोहनी , समता , प्रभाव , प्रहेलिका र कार्यव्यापारलाई भौतिक तर बेसी आध्यात्मिक दृष्टिकोणबाट अघि सारी आधिभौतिक , , आधिदैविक , आध्यात्मिकजन्य त्रि-ताप वा सत्यं , शिवं र सुन्दरम् का त्रिधारामय आनन्दका त्रि-तरङ्गहरूको निकट पुर्याइएको छ । साहित्य र पौरस्त्य दर्शनको अध्ययनमा अभिरुचि लिने कवि हरि भट्टराईले चन्द्रावती मा.वि. चुँदी , तनहुँबाट माध्यमिक तह , आगरा वि.वि. भारतबाट स्नातक तह सम्पन्न गरी अध्यवसायीका रूपमा त्रि.वि.वि.अन्तर्गत चिकित्सा शास्त्र अध्ययन-संस्थानको प्राध्यापक पदबाट सम्प्रति निवृत्त भइसकेका काव्यकारले निद्रालाई कतै जगत्-जननी , कतै प्रकृति-देवी , कतै वात्सल्यको झरी बर्साउने जननीका रूपमा र कतै आत्म-स्नेहिनी सदृश विविध कोमल बिम्बमा र उपमा , रूपक , दृष्टान्त , अर्थान्तरन्यास , तुल्ययोगिता उत्प्रेक्षा , विरोधाभासजन्य अलङ्कारादिले समलङ्कृत गरी काव्यको रचना भएको छ । निद्रालाई केन्द्रमा राखेर संरचित यसप्रकारको नूतन-भाव शैलीमा नौलो दर्शन-काव्य नेपाली वाङ्मयमा निष्काम र निष्पृह भावनाले अर्पिनु आफैंमा महनीय उपलब्धि हो ।

काव्यको अध्ययन गर्दैगर्दा ' थुप्रै वैदिक-पौराणिक प्रसङ्गसँगै प्रश्नोपनिषद् माण्डुक्योपनिषद् आदि उपनिषद्हरूका प्रसङ्गहरूको स्मरण गराउँछ । यथा-

यत्रो सुप्तो न कञ्चन कामं कामयते न कञ्चन स्वप्नं पश्यति तत्सुषुप्तम् । सुषुप्त स्थान एकीभूत: प्रज्ञानघन एवानन्दमयो ह्यानन्दभुक्चेतोन्मुख: प्राज्ञस्तृतीय पाद: । -माण्डुक्योपनिषद् । ५

भावार्थ : " जहाँ जुन अवस्थामा सुतेको होस् त्यो मान्छेले कुनै पनि भोगको कामना गर्दैन र कुनै पनि स्वप्न देख्दैन भने त्यो सुषुप्ति अवस्था हो । यस्तो सुषुप्ति अर्थात् जगत् कै प्रलय वा कारण-अवस्था नै जसको शरीर छ , जो एकरूप छ , जो एकमात्र घनीभूत विज्ञान स्वरूप छ , जो एकमात्र आनन्दमय स्वरूप छ , प्रकाश नै जसको मुख हो जो एकमात्र आनन्दको भोक्ता हो ..." जे त हुन् किन्तु निद्राका महायोगीहरूमा कोशल नरेश मुचुकुन्द वा पञ्चशायी ( अगस्ति , माधव , मुकुन्द , कपिल मुनि र आस्तिक आदि महापुरुषहरू ) लोक प्रसिद्ध छन् । उदरपूर्तिका लागि छ महिनामा एकदिन जाग्ने र बाँकी दिन निद्रा-सुखमा नै बिताउने कुम्भकर्णको आफ्नै कथा छ तापनि निद्राजन्य सन्दर्भहरू काव्यमा धेरै समेटिएका छन् तिनमा एउटा प्रसङ्ग यस्तो छ- " कुनैदिन जगत्जननी माता गौरीले जन्म-मृत्युको चक्रबाट मुक्ति कसरी मिल्छ भनेर प्रश्न उठाउँदा भगवान् शङ्करले म भन्छु , तिमीले 'हुँ हुँ'को हुङ्कार भदै जानुपर्नेछ भनी भन्दैगर्दा गौरी निदाएकी र उनको सट्टामा परेवा ( कपोत )ले हुङ्कार भरी श्रवणरत रहेर ज्ञानवान् बनेको रोचक प्रसङ्ग कविवाणीमा यसरी मुखरित हुन्छ-

माता गौरी स्वयं नै भुवन-मरणको चक्रको मुक्ति खोज्छिन्

स्वामी कैलाशवासी अनुमति भगवान् प्रार्थना भक्ति गर्छिन्

गौरीमा नीद आई श्रवणटुट भयो सर्तमा बिघ्न आयो

श्रद्धाले लीन जागा श्रवणरत-सुगा ! ज्ञान-वेत्ता बनायो ।

- केही वैदिक-पौराणिक प्रसङ्ग, १५/३४ ।

अद्यतन मानिसमा निष्ठा , त्याग , आदर्श , उपकार , सेवा , संस्कार र शालीनता हराउँदै गएका छन् । काम , क्रोध , लोभ ,मोह , मद , मात्सर्य , तृष्णा , वासना , आसक्ति र अभिमान आदि दुष्प्रवृत्ति र दुर्गुणले नराम्ररी जरा गाडेका छन् । दिनानुदिन समाज विकृति र विसङ्गतिको गर्तमा गाडिदो छ । सत्ताका उन्मादीहरूले राम्ररी निद्रा लिन छाडेका छन् । क्रान्तिकारीका कर्कश-क्रान्ति-घोष निरर्थक साबित भएकाले क्रूर आततायीहरूले निद्रा पाउन सगरमाथाको उकालो चढ्नुपर्ने भएको छ । स्मरणीय के भने निद्राको वास्तविक आनन्दमा नै जीवनको सुख प्राप्त गर्न त सकिन्छ तर यसका लागि 'सन्तोषं परमं सुखम्'लाई मूलमन्त्र मानेर चल्ने अभ्यास गर्नु पर्दछ भनिने आशय काव्यभरि अभिव्यक्तिएकै छन् ।‌ आमाका गुण-गरिमाका बयानमा सङ्कल्पित एउटा सुन्दर पद्यांश-

आमाकै दिव्य दर्जा स्थित छ हृदयमा उच्च तिम्रो म मान्छु

जस्ती आमा रहेकी अविरत मनमा मान त्यस्तै म ठान्छु

आमाको सेक न्यानो गुटुमुटुसरिको राप तिम्रो म ताप्छु

आमाकै दुग्ध धारा सरह मधुमयी पान गर्दै म रम्छु ।

- तिमी माता समान , ९ / ६२ ।

कला र संस्कृतिले मात्र नभई प्राकृतिक सौन्दर्य सुषमाले नेपाल यसै समृद्ध र मनोरम छ तर युवाहरू आफ्नै माटोमा पसिना पोख्न छोडी विदेशतिर लाग्ने सोचको कारणले मीठो निद्राबाट विमुख हुन लागेका छन् । आफ्नै हावा , पानी र माटोमा आँटो- पीठो खाई रमाउन आफ्ना सन्ततिलाई निद्रा-माताको आग्रहलाई हृदयस्पर्शी समुद्गारित काव्यकारको प्रागल्भ्य-प्राचन्ड्य काव्य-वैशिष्ट्यको नमुना प्रस्तुत छ-

मेरा प्यारा नजाऊ तपतप पसिना भीर खोस्री बगाऊ

साना औजार बोकी टुकटुक टुकुचा छेउ टुप्पो बनाऊ

सन्तोषी ! लोभ छाडी गदगद दिलले देश आफ्नै रिझाऊ

खाऊ खोले पकाई अभयसित सुखी नीद पाई रमाऊ ।

- निर्बल अशक्तकी भरोसा , १५/ ११६ ।

अन्त्यमा काव्यभित्र भाव र अर्थको , छन्द र शिल्पको अनि विचार र दर्शनको त्रिवेणीमा सरस सरल र सहज बनेर काव्य प्रवाहित भएको छ । एकाध ठाँउमा भाषिक र प्राविधक त्रुटि रहे पनि काव्य सुन्दरमात्र बनेको छैन अपितु पठनीय , विचारणीय र सङ्ग्रहणीय पनि बनेको छ । यति सुन्दर तर्कपूर्ण वैचारिक दर्शनले ओतप्रोत काव्यको संरचना गर्ने काव्यकारका यस्तै रमणीय काव्यहरू फेरिफेरि पनि पढ्न पाइयोस् भन्ने आशासहित लेखनी थाम्दछु । उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत …..!!

रत्ननगर चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।