उनीहरू नागढुङ्गा पुग्दा झमक्क साँझ परिसकेको थियो । जीवनमा पहिलोपल्ट पहाडी सडकमा लामो यात्रा गरेको जगमोहनका थकित आँखा बन्द थिए । भासुले “जगमोहन ऊ हेर काठमाडौं !” भन्दै चिमोटेपछि मात्र ऊ तन्द्राबाट बिउँझेको थियो । अगाडि पूर्वतर्फ काठमाडौं उपत्यका बिजुली बत्तीको चमकमा जगमगाइरहेको देखेर जगमोहन विस्मित भयो । भयमिश्रित रोमाञ्चमा उसको शरीरका सारा रोमहरू ठाडा भए । अनुहार रातोपीरो भयो ।
इच्छा महारानी धेरै दिन अघिदेखि एउटा जेनजी उमेरको सुन्दर र स्वस्थ किशोरको खोजीमा थिइन् । कतै महारानीलाई जगमोहन पनि मन नपर्ने हो कि । भासु मनमनै डराइरहेको थियो । अबेर राति मात्र उनीहरू मालिकको घरमा पुगे । इच्छा महारानीले जगमोहनको शिरदेखि पाउसम्म गहिरो अवलोकन गरिन् । उनलाई जगमोहन मन परेछ । खुशी हुँदै भनिन्, “बल्ल मैले खोजे जस्तो जेनजी आयो ।” जगमोहन शिर निहुराएर उभिइरहेको थियो । मालिक शार्दूलसिंहले सोध्यो, “ए केटो ! तेरो नाम के हो ?” जगमोहनले आँखा उठाएर हेर्यो । मालिकका आँखा लोलाएका देखिन्थे । मुहारमा कान्तिहीन ओज थियो । व्यतीत गौरवको निशानी जस्तो व्यक्तित्वमा थकावट र विवशताको झलक थियो । उसले भन्यो, “मोर नाम जगमोहन ठारु हो । बुलाइना नाम जग्गु ।” आज भासुको खुशीको सीमा थिएन । इच्छा महारानीको “पहिलोपल्ट भासेले राम्रो काम गर्यो” भन्ने वाणीले उसको हृदय नै पुलकित भएको थियो ।
त्यो रात जग्गु निदाउनै सकेन । तराईको साधारण झोपडीभित्र प्रसन्नताको निदमा डुब्ने गरेको उसलाई वैभवको बिस्तरा बिझाएझैँ भयो । ऊ पिता मनमोहनको थोत्रो साइकल चढेर रनबनमा घुम्ने गर्थ्यो । जग्गु बहिनी जेनिसासँग मीठा मीठा कुरा गरेर दिनभरिको थकाइ बिर्सन्थ्यो । “चलो जाई माच्छी मारे” भन्दै आउने साथीहरूको प्यार सम्झेर भक्कानियो ऊ । आमा जोगनीले पकाएको स्वादिष्ट ढिकरी सम्झेर आँखा भिजे । बिहानीपख बल्लतल्ल के आँखा लागेका थिए, भासुले “जग्गु उठ पाँच बजिसक्यो” भन्दै उठाइहाल्यो ।
भासुले भन्यो, “आज तालीमको दिन भएको हुँदा तिमीले कुनै काम गर्नु पर्ने छैन ।” भासुले जग्गुलाई उन्नाइस रोपनीमा फैलिएको “इच्छा निकेतन” परिसरमा रहेका सारा पात्र र परिवेशबारे वर्णन गर्यो । उसले फूलबारी, शौचालय र बैठककक्ष लगायतका कुराहरू देखाउनुका साथै सविस्तार व्याख्यासमेत गर्यो । त्यसपछि उसले जग्गुलाई सुरक्षाकर्मीहरू तैनाथ भएर पहरा दिने ठाउँ देखायो । मालिकको वैभव देखेर जग्गु आश्चर्यचकित भयो । उसलाई ती सबै कुरा सपना जस्तै लागिरहेका थिए ।
अरू सबै कुरा त उसले अलिकता बुझ्यो । किन्तु इच्छा महारानीले दिएको नाम जेनजीबारे भने पूर्णतः अनभिज्ञ थियो । यो शब्द केवल सम्बोधन हो या नयाँ नामकरण ? उसले सोच्यो, सायद गाउँबाट शहरमा काम गर्न आउने सबै ठिटाहरूलाई नै जेनजी भन्ने गरिन्छ ।
दिनहरू बित्दै गए । जगमोहन क्रमशः इच्छा निकेतनको चरित्र र प्रवृत्तिसम्बन्धी आवरणमा देखिने कुराहरूसँग परिचित हुँदै गयो । किन्तु आवरणभित्रको वास्तविकता भने उसले केही पनि थाहा पाउन सकेन । त्यहाँ खाना बनाउने, भाँडा माझ्ने, घर परिसर सफा गर्ने, किनमेल गर्ने र अतिथिको स्वागत गर्ने छुट्टाछुट्टै मानिस थिए । विशेष खालका आगन्तुकको विशेष किसिमको स्वागत हुन्थ्यो त्यहाँ । इच्छा महारानीले खास किसिमका मानिसलाई गोप्य कोठामा भेट दिने गर्थिन् ।
बाहिर काम गर्ने सेवकहरू जग्गुको डाह गर्थे । इच्छा महारानीको खोपीसम्म पहुँच हुनु चानचुने कुरा थिएन । ऊ महारानी र शार्दूलको बिस्तरा मिलाउँथ्यो । कपडा यथास्थानमा सजाएर राखिदिन्थ्यो । जुत्ता सफा गरेर टल्काउँथ्यो । शार्दूलको अत्यन्त प्यारो कुकुर डोल्फीलाई खाना खुवाउँथ्यो । साँझ महारानीलाई मदिरा टक्र्याउँथ्यो । साथै उसले दिनहुँ शार्दूललाई नुहाइदिने र कपडा पहिराइदिने काम गर्थ्यो ।
बैठककक्षमा यदाकदा खास मानिसहरूबीच भनाभन र बाझाबाझ पर्थ्यो । जग्गु परै बसेर ठूला मानिसका हँस्सीमजाक र भनावैरी सुन्ने गर्थ्यो । ऊ उनीहरूलाई देख्थ्यो र सुन्थ्यो पनि, तर उनीहरू को थिए, कहाँबाट आउँथे र फर्केर कहाँ जान्थे भन्ने कुरा कहिल्यै थाहा पाएन ।
शार्दूल कहिलेकाहीँ “आज बैठक छ” भन्दै बाहिर निस्कन्थ्यो । शार्दूलमा महारानीको जस्तो तेज र प्रताप थिएन । ऊ लखतरान भएर घर आउँथ्यो र झोक्राएर बस्थ्यो । शार्दूल कम बोल्थ्यो, कमै भेटघाट गर्थ्यो र कमै मात्र हाँस्थ्यो । इच्छा महारानी भने कहिले भोज, कहिले किनमेल, कहिले भ्रमण त कहिले भेटघाटमा व्यस्त रहन्थिन् । इच्छा निकेतनमा महारानीको महिमा विशाल थियो । सारा आगन्तुक उनको व्यक्तित्व र स्मित मुस्कान देखेर मोहित हुन्थे । आफूमाथि महारानीको नजर पर्छ कि भनी घन्टौं कुर्नेको सङ्ख्या ठूलो हुन्थ्यो त्यहाँ । कोही भेट पाएर धन्य हुँदै फर्कन्थे । भेट नपाउनेहरू निराश भएर जान्थे ।
जग्गु शार्दूलको अहर्निश पार्श्ववर्ती थियो । शार्दूलसिंह प्राय: रातभरि जागा रहन्थ्यो । कहिले दाहिने कोल्टे पर्यो त कहिले देब्रे । कहिले उठेर टुसुक्क बस्यो त कहिले पिसाब फेर्न गयो । कदाचित निद्रा लागे पनि भयानक ऐँठन भएर ऊँ ऊँ गर्दै छटपटिन्थ्यो ऊ । सपना पनि कस्ता भने कहिले अग्लो छाँगाबाट खसाल्ने त कहिले भयङ्कर तुफानले उडाउने । कहिले आफ्नै साथी आएर घाँटी समात्ने त कहिले अपरिचित मानिसहरूको झुन्डले नाङ्गै बनाएर तीन शहर घुमाउने ।
महारानीको चाकरीमा आउने दिगम्वर, अजम्वर, कालाम्वर, रक्ताम्वर र भद्राम्वरसमेत सबै धूर्तहरूलाई देखेर घृणा लाग्थ्यो शार्दूललाई । उसलाई थाहा थियो, उनीहरू पनि उसलाई रत्तिभर गन्दैनन् । उसलाई ती सबै केवल फाइदाका लागि आउने छट्टु मात्र हुन् भन्ने पनि थाहा थियो । तथापि केही गर्न सक्ने सम्भावना थिएन । किनकि त्यो ऊ स्वयंले निर्माण गरेको संसार थियो । शार्दूल क्रुद्ध हुँदै एक्लै भुतभुताउँथ्यो । “अब यी सारा प्रपञ्च छाडेर हिँड्छु । इनफ इज इनफ ।” अनि ऊ झनै जोडले चिच्याउँथ्यो, “अब पुग्यो !” तर त्यो आक्रोश पानीको फोकाझैँ केही बेरमै हराएर जान्थ्यो ।
शार्दूल आफ्नो सङ्घर्षमय अतीत सम्झेर रोमाञ्चित हुन्थ्यो । कुनै समय उसलाई सम्बोधन गर्दै प्रिय दिवङ्गत नेताले भनेका थिए, “हे युवक ! तिमीपछिको पुस्ताको न्यायका लागि आज तिमीले अन्याय सहनुपर्छ । भोलिका सन्ततिको भरपेट खानाको जगेर्नाका लागि आज तिमी भोको रहन तयार हुनुपर्छ । भविष्यको स्वाधीनताका खातिर आज तिमी कारागारमा पराधीन जीवन बिताउन पनि मन्जुर हुनुपर्छ । तिमीले यो राष्ट्रको एक मुठी माटो हत्केलामा राखेर इमान, साहस र सदाचारको कसम खानुपर्छ । तिमीले राष्ट्र र जनताको हकमा उत्सर्ग गर्नुपर्छ ।” अतीतका केस्रा केस्राको सम्झना गर्दागर्दै उसले कहिलेकाहीँ मीठो निद्राको सुख पाउँथ्यो ।
स्वप्नदर्शी अग्रजका सुनीति सुनेर सारा यौवन व्यतीत गरेको शार्दूल कसरी सुरुचिरूपी कुनीतिमा प्रवेश गर्यो ? आज ऊ स्वयंलाई आश्चर्य लाग्छ । उसले सयौंलाई काम र दाम दिलाएको थियो । अझै पनि उसको मानो खाएर जीवन चलाउने मान्छे धेरै थिए । परन्तु ती कसैले पनि उसको प्रशंसा गरेनन् । शार्दूलकै नाममा कसैको सरुवा, कसैको विदेश भ्रमण, कसैको बढुवा, कसैको नियुक्ति त कसैको आर्थिक जोहो मिलाउने काम भइरह्यो । किन्तु जति नै पाए पनि कोही सन्तुष्ट थिएन । सबैले व्यक्तिगत फाइदाको अविरल धाराप्रवाह चाहन्थे ।
एक दिन एकान्तको समयमा शार्दूलले आफ्नो कर्मको मूल्याङ्कन गर्न थाल्यो । सोच्दासोच्दै ऊ अतीतमा पुग्यो । उसले आफ्नो बचपन, किशोरावस्था र जवानी अभावै अभावमय सङ्घर्षमा बिताएको थियो । नियतिको खेल न हो । शार्दूल जस्ता कति कति मान्छे पछाडिका पछाडि नै रहे । किन्तु ऊ भने अविरल प्रगति पथमा लम्किरह्यो । शक्तिको मदमा उसले आफ्नो बचपन बिर्स्यो । किशोरावस्था बिर्स्यो र जवानीका कहर पनि । उसले आमाको “इमानमा बसेस् है शार्दूल” भन्ने चेतावनी बिर्स्यो । जसको नाममा सपथ खाएको थियो, तिनलाई बिर्स्यो । उसले देश बिर्स्यो, इमान बिर्स्यो र आफ्नो औकात पनि ।
शार्दूलले सहसा युनानी पौराणिक कथाको अभिशप्त पात्र टेन्टालसलाई सम्झ्यो । प्राप्त अभिशाप अनुरूप टेन्टालस एउटा सफा जल रहेको पोखरीमा उभिएको थियो । उसको शिरको ठीक माथि सहजै हातले टिप्न सकिने दूरीमा मीठा मीठा फलहरू लटरम्म थिए । परन्तु जब ऊ फल टिप्न हात बढाउँथ्यो, तिनीहरू सरक्क हातको पहुँचभन्दा टाढा पुग्थे । प्यासले व्याकुल टेन्टालस जब पानी पिउनुपर्यो भनेर अञ्जली अगाडि बढाउँथ्यो, पानी सलल बगेर उसको हातको पहुँचभन्दा पर पुग्थ्यो ।
इच्छा महारानी विदेश गएको समयको रातको कुरा हो । उसले जग्गुलाई ठूला ठूला दराजहरू भएको कोठामा लिएर गयो । महारानीले ताला लगाएर छाडेका सिसाका पल्लायुक्त दराजमा महँगा रक्सीका बोतलहरू थिए । थुप्रै बहुमूल्य घडीहरू, मूर्तिहरू, प्रशाधनका सामग्रीहरू र महँगा परिधानहरू देखेर जग्गु वाल्ल पर्यो । शार्दूलको हालत पनि अभिशप्त टेन्टालसको जस्तै थियो । परन्तु ऊ सजधजका साथ ओजिलो देखिन बाध्य थियो । मरेको गरिमालाई सार्वजनिक खपतका लागि भए पनि जगाउन विवश थियो शार्दूल ।
शार्दूलले जग्गुलाई पासमै बसाएर भन्यो, “हेर् भाइ ! मेरो मनमा असीम घबराहट र अधैर्यको तुफान चलिरहन्छ । कहिलेकाहीँ आफ्नै अतीत र वर्तमानको मूल्याङ्कन गर्छु । म कहाँ हराएँ र किन कसका लागि हराएँ ? स्वास्थ्य अनुकूल छैन । मेरो सम्पत्ति मेरै पहुँचमा छैन । मेरा निर्णयहरू मेरा आफ्ना नभई अरूको इशारामा हुन्छन् । अचेल मेरो होसले काम गर्दैन । ममा के बोल्ने र के गर्ने भन्ने सुद्दी पनि छैन ।”
जग्गुले शार्दूलबाट अभिव्यक्त केही कुरा मात्र बुझ्न सक्यो । तथापि उसको चित्त साह्रै मर्माहत भएको रहेछ भन्ने कुरा बुझ्न गाह्रो थिएन । जग्गुले सोध्यो “यस्तो खाडलभित्र किन बसिरहनुहुन्छ ? यसबाट बाहिर निस्कनै सकिन्न र ?” शार्दूल उठेर कुर्सीमा बस्यो । उसको अनुहारमा विषादका रेखा प्रस्ट देखिन्थे । भन्यो “यो यस्तो खाडल हो, जहाँ एउटा खुट्टा उचाल्यो कि अर्को धसिन्छ । थाहै नपाई अनैतिकताको अभ्यास हुँदै गयो । अनि शनै: शनै: मति पनि भ्रष्ट हुँदै रह्यो । महारानीमा पनि क्रमशः शक्ति लिप्सा झाँगिदै गयो । स्वार्थी तत्त्वहरू असल लाग्न थाले । आदर्शका कुरा सुन्यो कि रिस उठ्न थाल्यो । आजभन्दा भोलि गर्दै स्वार्थरूपी डोरीको चङ्गुल झनझन कसिलो र दरिलो बन्दै गयो । म आफ्नो कर्मले आफैंलाई गुमाएको मान्छे हुँ जग्गु । अब त मेरै जीवनको बागडोर पनि मेरो नियन्त्रणमा छैन ।”
जग्गुसँग आधुनिक मोबाइल फोन थिएन । उसलाई एउटा पुरानो संस्करणको फोन दिइएको थियो । जसमा उसले इच्छा महारानी र काजी शार्दूलसिंहको आगमन सन्देश मात्र सुन्न सक्थ्यो । इच्छा निकेतनका सबै कामदार अत्यन्तै अनुशासित थिए । उनीहरू कहिल्यै पनि राजनीति, प्रशासन र मालिकहरूबारे कुराकानी गर्दैनथे । निकेतनको परिसरभित्र सबैले आआफ्नो फोन बन्द गरेर राख्थे । बरु उनीहरू अश्लील हँस्सीमजाक गरेर समय बिताउँथे । त्यस्तो मजाक गरेबापत भने उनीहरूले कुनै खप्की खानु परेन । जग्गु फुर्सदको बेलामा बैठकको छेउमा उभिएर टेलिभिजनमा आगन्तुकहरूले लगाएका कार्यक्रमहरू हेर्ने गर्थ्यो ।
जग्गु मातापितासँग आफ्नो मनको बह पोख्न चाहन्थ्यो । तर उसले त्यस्तो मौका कहिल्यै पाएन । मातापिताले पाँच वर्षको अन्तरालमा दुई पटक काठमाडौं आएर उसलाई भेटेका थिए । परन्तु एकान्तको अभावमा हृदय खोलेर कुरा गर्ने अवसर नै मिल्न सकेन । एक दिन उसले आमासँग सोधेको थियो, “बहिनी जेनिसा त ठूली भइसकी होली है ! उसले मलाई सम्झन्छे नि आमा ?” आमाले उत्तर दिन नपाउँदै इच्छा महारानीले भनेकी थिइन्, “आफ्नो दाजुलाई नसम्झने बहिनी पनि कहिँ हुन्छ र ?” आमाले सजल नेत्रले पुत्रलाई हेर्दै सोधेकी थिइन्, “हियाँ टैं खुस टो बाटो न छावा ?” जग्गुले कुनै उत्तर नदिई महारानीतिर हेर्यो । सङ्कोच र दकसका कारण उनीहरू अन्य कुनै कुरा बोल्न सकेनन् ।
एक दिन टेलिभिजनमा जेनजीहरूले आन्दोलन गर्ने रे भन्ने समाचार आयो । जग्गुले बुझेको जेनजी त गाउँबाट शहरमा आएर धनीमानीको घरमा काम गर्ने किशोर किशोरी हुन् भन्ने मात्र हो । उसलाई आन्दोलन भनेको विरोध गर्नु हो भन्नेसम्म थाहा थियो । उसले सोच्यो, भिन्नाभिन्नै घरमा बसेर मालिकको सेवा गर्ने जेनजीले कसरी आन्दोलन गर्न सक्लान् ? फेरि खान दिएकै छ र लाउन पनि । थोरै नै भए तापनि तलब मिलेकै छ । अनि बाबुआमालाई सानोतिनो सहयोग गर्न पनि पाइएकै छ ।
केही दिनपछि उसले सुन्यो, काठमाडौं शहरमा जेनजी आन्दोलन सुरु भयो रे । बैठकमा जम्मा भएका मानिसहरूले इच्छा महारानीतर्फ हेर्दै भनिरहेका थिए, “पुलिसको डन्डा नपाएर छिल्लिएका ठेट्ना हुन् जेनजी । दुईचार लाठी खाएपछि सबै भाग्छन् ।” महारानी होमा हो मिलाइरहेकी थिइन् । उता शार्दूल भने घोप्टो परेर उँगिरहेको थियो । जग्गु डरले काँप्न थाल्यो । सेवामा केही त्रुटि पो भयो कि । कतै पुलिसको लाठी खानु पर्ने पो हो कि ।
अर्को दिन साँझको कुरा हो । पहिलोपल्ट इच्छा निकेतनको बैठक रित्तो थियो । सुरक्षाकर्मीहरू बडो सतर्क देखिन्थे । खाना खाने बेला भयो । वातावरणमा सन्नाटा थियो । शार्दूलसिंह बेहोसीमा बरबराइरहेको थियो । त्यस दिन इच्छा महारानीको मुहारमा पनि आभा थिएन । त्यस्तैमा एक जना सुरक्षाकर्मी आएर उभियो । महारानीले भनिन्, “जेनजी त भागाभाग भयो होला है !” सुरक्षाकर्मी गम्भीर भावमा थियो । उसले भन्यो, “आज साह्रै नराम्रो घटना भयो हजुर ! धेरै जना जेनजी गोली लागेर मरे । सयौं घाइते भए ।” महारानीले भनिन्, “बहुत राम्रो भयो । अझै ठोकाइ पुगेन । यिनीहरूलाई सत्ता चाहियो हैन ? अनुशासनहीन छाउराहरू । उद्दण्ड जेनजी मुर्दावाद !” सुरक्षाकर्मी सलाम गरेर बाहिरियो । बरा जग्गु भने डरले कालोनीलो भयो । कतै बीसौं नम्बरमा आफैं परिने त होइन ?
महारानीले जग्गुलाई बाहिरको वातावरण बुझेर आउने आदेश दिइन् । ऊ छतमा गएर उभियो । जग्गुलाई काठमाडौं शहर उज्यालो प्रकाशमा पनि रोइरहेको महसुस भयो । ती ठूला ठूला घरमा मालिकको सेवा गर्न बसेका म जस्तै जेनजीहरूलाई किन मारेको होला ? गल्ती गरेको भए पिटपाट गरेर लघारेको भए पनि त हुन्थ्यो । उसले तल हेर्यो । कामदार केटाहरू भयहीन स्वरमा गफ गर्दै थिए । सबैको हातमा फोन थियो । उनीहरू फोन खोलेर दिनभरिको समाचार सुनिरहेका थिए । एउटाले भन्यो, “आज थुप्रै कलिला बालकहरू मरेर गए । यो रगत किमार्थ खेर जानु हुँदैन साथी । कलेजमा पढ्ने निर्दोष किशोरहरूलाई मार्ने हरामीहरूको सत्यानाश होस् । अब हामी पनि जाग्नुपर्छ । जेनजी जिन्दावाद ! हत्यारो सरकार मुर्दावाद ।” जग्गु द्विविधामा पर्यो । उसले आफैंलाई सोध्यो, “यदि विद्यार्थीहरू जेनजी हुन् भने म को हुँ ?”
त्यही “म को हुँ”को ऊहापोहमा जग्गुलाई आधा रात बित्दासम्म पनि निद्रा लागेन । मनमा अनेकौं सम्झना र तर्कनाका बाढीहरू आइरहे । यस्तैमा उसलाई तन्द्रा लागेझैँ भयो । त्यही झप्कीको अवस्थामा उसले सपना देख्यो । आमा चिन्तित मुद्रामा थिइन् । प्यारो पुत्र जग्गुका हात समाउँदै उनले भनेकी थिइन्, “तेरा यी हातहरू सदाकाल शार्दूलका जुत्ता पुछ्नका लागि बनेका होइनन् छोरा ।” आमा अरू केही भन्दै थिइन्, तर शार्दूलको “जग्गु म त मर्छु कि क्या हो !” भन्ने आर्त पुकारले उसको तन्द्रा भङ्ग गरिदियो । बिस्तराबाट उठेर उसले मुख धोयो । अनि ठूलो ऐनाको सामुन्ने उभिएर केही क्षण आफ्नो मनुष्यत्वको निरीक्षण गर्यो ।
बैठकमा गएर हेर्दा शार्दूल र इच्छा महारानीलाई निकै गम्भीर देख्यो जग्गुले । शार्दूल एक्लै फलाकिरहेको थियो, “सबै बरबाद भयो बुझ्यौ ? हामीले समयको पदचापलाई पहिचान र सम्मान गर्नै सकेनौं ।” यस्तैमा बाहिर नारा लागेको सुनियो, “जेनजी जिन्दावाद ।” त्यही वाक्यांश बाहिरकालाई मीठो सङ्गीत बन्दै गयो भने भित्रकालाई चाहिँ भयदायक । जग्गुले महारानीलाई चियाको प्याला टक्र्यायो । महारानीको कम्पित हातले प्याला उचाल्न सकेन । बाहिरबाट फेरि बुलन्द आवाज आयो, “जेनजी आयो ।” भित्रबाट महारानीको मन्द आवाज आयो, “जेनजी मुर्दावाद ।” दुबै तर्फका स्वरहरू आपसमा टकराए । शार्दूलको हातबाट चियाको प्याला गलैँचामा खस्यो ।
पाँच वर्षअघि महारानीले मुस्कुराउँदै भनेको “जेनजी आयो” शब्दावली जग्गुका लागि रोजगारी र रोटीको सङ्केत थियो । आज भने त्यही उक्ति कसैका लागि गौरव र कसैका लागि घृणाको प्रतीक बन्न पुग्यो । जग्गुले सुस्तरी ढोका खोल्यो । कुन अव्यक्त आन्तरिक प्रेरणाले उसलाई बाहिरसम्म लिएर जान थाल्यो, ऊ आफैले चाल पाउन सकेन । सायद “जेनजी जिन्दावाद”को नारा उसका लागि एक युगीन आह्वान बनेर उदाएको थियो । ऊ स्वस्फूर्तरूपमा द्वारतर्फ लम्किरहेको थियो । शार्दूल र इच्छा महारानीले उसको बहिर्गमनलाई चुपचाप हेरिरहेका थिए ।
जग्गु द्वारमा पुग्यो । एक जना सुरक्षाकर्मी चिच्यायो, “खबरदार !” किन्तु अर्कोले भन्यो, “यो सम्पत्ति र निर्धनता, ऐश्वर्य र अभाव, प्रताडना र प्रतिरोध एवं आकांक्षा र विवशताबीचको अन्तर्विरोधको टकराब हो । यो ज्वारभाटा एक न एक दिन आउनु नै थियो । यो तीव्र अग्निज्वाला हामीले निभाएर निभ्ने छैन साथी । विद्रोहको यो लप्को हामीले रोकेर रोकिनेवाला पनि छैन । जेनजीको आगमन केवल एउटा घटना मात्र नभई नवीन युगको आह्वानसमेत हो । यो फगत आन्दोलन मात्र होइन । अपितु यो त राष्ट्रिय आत्मजागरणको आरम्भको प्रतीक पनि हो । यो देशमा जब आजसम्मको मौनता बोल्न थाल्नेछ, तब मात्र युगले नवीन आवाज पाउनेछ । जगमोहनलाई बाहिर जान दे ।” द्वार खुल्यो । जग्गु बाहिर निस्केर जेनजीरूपी सागरमा समाहित भयो ।
बाहिरको नाराबाजी सघन हुँदै गयो । इच्छा निकेतनका सबै सेवकहरू जग्गुको अनुगमन गर्दै बाहिर निस्किरहेका थिए । बैठककक्ष रित्तो थियो । इच्छा महारानीको हृदयको स्पन्दन तीव्र हुँदै गयो । शार्दूलसिंह भित्तातिर हेर्दै टोलाइरहेको थियो । जुलुस निकेतनको नजिक आइरहेको थियो । कोलाहल घनीभूत हुँदै गयो । इच्छा महारानीले आफ्नो वैवाहिक जीवनमा पहिलोपल्ट पतिसँग सहयोग माग्दै भनेकी थिइन्, “लौ न काजी ! अब के गर्ने होला ? कृपया केही उपाय गर्नुहोस् न ।” निरुपाय शार्दूल केही पनि बोलेन ।………….।
तीन दिनपछि जगमोहन इच्छा निकेतनको भग्न द्वारभित्र प्रवेश गर्यो । त्यहाँ खरानीबाहेक केही पनि थिएन । काजी शार्दूलसिंह र इच्छा महारानी कहाँ गए केही पत्तो थिएन । अहो त्यो गौरवशाली इज्जत र ऐश्वर्य ! त्यो सबै कहाँ गयो ? जग्गु काजी शार्दूलसिंह र इच्छा महारानीको अतुल्य वैभव सहसा दियो निभेझैँ सखाप भएको देखेर विस्मित भयो । ती अविरल महारानीको दर्शनार्थ धाउने मानिसहरू कुन दुलोभित्र पसे होलान् ? परन्तु त्यहाँ कुनै पनि प्रश्नको उत्तर थिएन । समग्र इच्छा निकेतन नै स्वयं प्रश्न बनेर समयको निर्णय कुरिरहेको थियो ।
जग्गुले भवनको भित्तातिर हेर्यो । त्यसै बखतमा हावाको मन्द झोक्काले भित्तामा “जेनजी आयो” लेखेर गायब भए झैँ प्रतीत भयो उसलाई । तल भुइँमा खरानीमाथि केही पदचापहरू थिए, जो हावाको अर्को झोक्कासँगै विलीन भए । जग्गुले खरानीभित्र एउटा युगको समाप्ति र अर्को युगको आरम्भको सन्देश छिपेको महसुस गर्यो । परतिर कुनामा तीन दिनदेखिको भोको कुकुर डोल्फी काजी शार्दूल सिंहलाई पर्खेर बसिरहेको थियो । शोकाकुल डोल्फीले जग्गुतिर हेर्दै पुच्छर हल्लायो । जग्गुले डोल्फीलाई हेर्दै भन्यो, “म त तेरै मायाले मात्र फेरि यो द्वारभित्र पसेको हुँ डोल्फी ।” जग्गु र डोल्फी भस्मीभूत द्वारबाट बाहिर निस्के ।