मानिस यात्री हो अनि जीवन एक यात्रा । जसले यात्रा गर्छ, उसले विभिन्न ज्ञान प्राप्त गर्छ । प्रत्येक मानवले यस धर्तीमा अवतरण गरेपछि उसलाई विविध आवश्यकताको परिपूर्ति गर्न एकै ठाउँमा बसेर पुग्दैन । मानिसलाई विभिन्न ठाउँ हेर्न मन लाग्छ, घुम्न मन लाग्छ यस क्रममा यात्राको जरुरत पर्दछ । समय, प्रकृति सबै गतिशील छ । यही गतिशील समयको प्रवाहसँगै प्रत्येक व्यक्ति नयाँ ठाउँमा घुम्न र नयाँ कुरा जान्न इच्छुक रहेको हुन्छ । यात्रामा हुने अनुभवजन्य कार्यबाट हृदयमा नयाँ शक्तिको सञ्चार भई कार्यसञ्चालनमा स्फूर्ति पैदा हुन्छ; त्यसैले जीवनमा यात्रा अनिवार्यजस्तै भएको छ । त्यसैले संसारमा यात्रा कसलाई मन नपर्ला ? साँच्चै ! मन नपर्ने मानिस पनि होलान् र ? भन्या, मलाई त होलान् जस्तो लाग्दैन । अपवादमा हुन पनि सक्छ, नकार्न चाहिँ सकिँदैन । जीवन र यात्रा र एकअर्काका परिपूरक हुन् कुनै शङ्का छैन । यात्रा भएकै कारण जीवन रहेको हो र जीवन रहेकै कारण यात्रा हुन सकिरह्यो । सम्भवतः यात्रा नभएको भए जीवनको परिकल्पना गर्न सकिँदैनथ्यो होला । भन्नुपर्छ जीवन र यात्रा पर्याय वा परिपूरक हुन् । एउटाको अभावमा अर्काको परिभाषा गर्न सकिँदैन । यसो पनि भन्न सकिएला, यात्राकै कारण मानिस संसारभर फैलिएका हुन् र मानव अस्तित्व रहन सकेको हो । मानिसले पहिलो यात्रा बाँच्नकै लागि गरेको थियो जुन आज विविध नाममा विस्तारित भएको छ । यात्रा गरेरै अनुभव गरिएका कुरालाई लिपिबद्ध गर्ने प्रचलन पुरानै हो जसबाट यात्रा साहित्यको विकास भएको देखिन्छ । बृहत् नेपाली शब्दकोशमा यात्रा शब्दको पहिलो अर्थ ‘एक ठाउँबाट अर्को ठाउँसम्म पैदल या कुनै सवारीसाधनद्वारा जाने काम, भ्रमण, ‘पर्याटन’ दोस्रो अर्थ ‘धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम, तीर्थाटन’ तथा तेस्रो अर्थ ‘देवदेवीको उत्सवमा गरिने मेला, जात्रा, परदेश जाने साइत, प्रस्थान’ आदिका रूपमा उल्लेख छ ।
साहित्य त्यस्तो विषय हो जसले मानव मनका विविध पाटाहरूको विश्लेषण, संश्लेषण र परिमार्जन गर्छ । साहित्य विनाको जीवन सुखद् हुन सक्दैन । प्रत्येक मानिस साहित्यिक नहुन सक्छ तर उसको आनीबानी, व्यवहार र विचार साहित्यिक भावबाट टाढा हुँदैन । साहित्य एक किसिमको औषधी हो जसले मानव मन र मस्तिष्कमा संवेदना, विचार, विश्वास, चिन्तन र सकारात्मक सोच विकाास गराउने काम गर्छ । कल्पना गर्न सकिन्छ, साहित्य नहुँदो हो त आजका मानिस मानिसको दायराभन्दा बाहिर हुन सक्ने थिए । साहित्य छ, यसर्थ जीवन सुखद् छ र मानिसको भविष्यप्रति आशावादी छन् । नहुँदो हो त उनीहरूको रूप अर्कै हुन सक्थ्यो होला । लामो समय देश विदेशका विभिन्न स्थान विचरण गर्नु भएका नियात्राकार कृष्ण बजगाईँ यतिबेला अर्को एउटा यात्रा साहित्य लिएर देखा परेका छन् लन्डिनियम (२०८२) । जीवनका सबै काम भ्याएर सिर्जनामा व्यस्त रहनु निकै कठिन कार्य पनि हो । साहित्यमा असल साथीमा हुने गुण हुन्छ । यसले एउटा बाटोमा सहजताका साथ हिँडाउँन सक्छ । यसकारण साहित्यले धेरैको मन जित्न सकेको हो । यतिबेला साहित्य उनको घनिष्ठ र आत्मीय मित्र बन्न पुगेको छ र फुर्सद हुने बित्तिकै घुम्नु र साहित्यमा जीवन खोज्ने मूल बाटो समात्दै पाठकलाई सँगै घुमाउनु उनको पर्याय बनेको छ ।
यात्राबाट नयाँ–नयाँ भूगोल, पर्यावरण, संस्कृति तथा संस्कारका विविध पक्षहरूको यथार्थ बोध हुन्छ । सभ्यताको आद्यबिन्दु मानिने जङ्गली अवस्थादेखि नै मानिसले यात्रा गर्दथे । यही अवस्थामा शिकारका लागि एक ठाउँबाट अर्को ठाउँमा गई त्यहाँको भूगोल, प्रकृति र अवस्थाको अनुभव बटुल्दथे । जङ्गली अवस्थापछि सभ्य समाज आरम्भ भयो; अनि त झन् मानिसले यात्रालाई एक अभिन्न अङ्गका रूपमा अङ्गीकार गर्दै गयो । सभ्यताको प्रारम्भदेखि नै मानिस ज्ञानको वृद्धि गर्नका लागि नयाँ कुराको निरीक्षण गर्दै आइरहेको छ र उसले भ्रमणबाट आत्मतृप्ति पनि पाइरहेको छ; तसर्थ यात्रा साहित्यमा मानव सभ्यता र संस्कृति लुकेको हुन्छ भन्नु युक्तिसङ्गत हुन्छ । धर्मको अभिप्रायले विभिन्न धार्मिक स्थलहरूमा गरिने यात्रालाई धर्माटन भनिन्छ । तीर्थ जाने कार्यलाई तीर्थाटन भनिन्छ भने विभिन्न देशदेशावरमा गरिने यात्रालाई देशाटन भनिन्छ । पर्यटकीय हिसाबले गर्ने यात्रालाई पर्यटन भनिन्छ । अन्त्यमा व्यापार, शिक्षा, भेटघाट, उपचार, सम्मेलन, सम्बन्ध, जीवनयापन जुनसुकै कार्यका लागि समेत यात्रा अनिवार्य नै भएको छ ।
यसरी विविध प्रकारले गरिने यात्राबाट फर्किएपछि यात्रानुभव अन्य व्यक्तिसमक्ष बाँड्ने प्रचलनबाट भाषाको विकास भयो र क्रमशः लिपिको, लेख्य रूपको र विस्तारै साहित्यको सृजना हुन थाल्यो । यही सृजना प्रक्रिया अन्तर्गतकै यात्रानुभवलाई लिपिबद्ध गर्ने क्रममा नियात्राको उद्भव भयो । यसै परिप्रेक्ष्यमा वर्तमानमा साहित्यको एक प्रसिद्ध विधा ‘नियात्रा’ को नामले परिचित र स्थापित समेत भएको छ ।
नेपाली साहित्यमा यात्रा साहित्यलाई विशिष्ट अर्थमा ‘नियात्रा’ नाम दिइएको पाइन्छ । ‘यात्रा’ नामपदमा ‘नि’ उपसर्ग लागेर नियात्रा शब्द व्युत्पन्न भएको छ । नियात्राको कोशीय अर्थ यात्रा निबन्धको औपन्यासिक वा आख्यानात्मक रूप यात्रावर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भन्ने हुन्छ । ‘नि’ उपसर्गमा निबन्धात्मकता र निजात्मकता अर्थ सन्निहित छ । नियात्रा शब्द नेपालीमा पहिले प्रचलित थिएन । यो बीसौँ शताब्दीमा बालकृष्ण पोखरेलद्वारा नवनिर्मित शब्द हो । ‘नियात्रा’ शब्दको निर्माण र प्रथम प्रयोग बालकृष्ण पोखरेलले तारानाथ शर्माको बेलाइततिर बरालिँदा (२०२६) को यी नियात्राबारे शीर्षकको भूमिकामूलक लेखमा गरेका हुन् ।
‘नियात्रा’ शब्द नेपाली साहित्यमा नवनिर्मित र मौलिक शब्द भएकाले यसको प्रयोग नेपाली बाहेक अन्य भाषा साहित्यमा नभएको र यसको ठोस परिभाषा पनि हालसम्म नेपाली विद्वान्हरूबाट मात्र गरिएको पाइन्छ । नेपाली साहित्यमा यात्रा–लेखनका यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावृत्त, यात्रा विवरण, यात्रा संस्मरण, भ्रमण वृत्तान्त, यात्रा निबन्ध र नियात्रा आदि अनेक नाम प्रचलित छन् ।
‘यात्रा’ संस्कृतको गति अर्थबोधक ‘या’ धाुतमा ष्ट्रन+टाप् प्रत्यय लागेर बनेको छ; जसको मूल अर्थ एक ठाउँबाट अर्को ठाउँमा जानु भन्ने हुन्छ । यात्रामा ‘नि’ उपसर्ग थपी नियात्रा शब्दको स्वरूप निर्मित भएको छ । यात्राको अर्थ भ्रमण पनि हो । भ्रमण शब्द संस्कृतको चलनार्थक ‘भ्रमु’ धातुमा ‘ल्युट्’ प्रत्यय लागेर बनेको हो । यसको अर्थ भने घुमाउरो वा मण्डलाकार किसिमले हिँड्नु हुन्छ । यी दुईमा शब्दगत समानता पाइए तापनि धातुगत भिन्नता पाइन्छ । नेपाली साहित्यमा भने सीमित अर्थमा यात्रा नाम पदमा ‘नि’ उपसर्ग लागेर नियात्रा शब्दको स्वरूप निर्मित भएको मानिएको छ । जसको कोशीय अर्थ यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप, यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भन्ने हुन्छ । नेपालीमा यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावर्णन, यात्रा संस्मरण, यात्रालेख, यात्रावृत्त, यात्राविवरण, भ्रमणवृत्तान्त जस्ता शब्दहरू प्रयुक्त देखिन्छन् । यस्ता शब्दमा यात्राकै मूल विषय वा प्रसङ्गको सन्दर्भ उल्लेख भए पनि केही भिन्नता भने अवश्य नै देखिन्छ । यात्रावृत्तान्त, यात्रावृत्त, यात्रा लेख, यात्रा विवरण, यात्रा वर्णन जस्ता शब्द स्वरूपमार्फत यात्राको कोरा वर्णन वा विवरणको मात्र सन्दर्भ उल्लेख गरिने भएकाले यस्ता रचनामा निजात्मकता रहे पनि भावनात्मकता, अनुभूत्यात्मकता र रमरम आनन्दको प्रस्तुति नपाइन सक्छ तर नियात्रामा भने त्यो पाइन्छ । आयामगत दृष्टिले नियात्रा निबन्धजस्तै लघु आयामको हुन्छ । साहित्यका अन्य विधागत रचनाभन्दा नियात्रा छुट्टै रचना हो; जसमा यात्रागत अनुभूतिलाई भावनात्मक रूपमा रमरम आनन्दका साथ अभिव्यक्ति दिइएको हुन्छ । नियात्रालाई निभ्रमण पनि भन्न सकिन्छ । निजात्मक रूपमा व्यक्त भ्रमण वा यात्रा सम्बन्धित रचनालाई निभ्रमण भन्ने गरेको पाइन्छ । यस अर्थमा नियात्रालाई निभ्रमण भनिनु उपयुक्त नै देखिन्छ । आयामका दृष्टिले नियात्रा गद्यविधाको एक नवीन अवधारणा हो र गद्यमा नै नियात्रा फस्टाएको छ । गद्यको उपन्यास, कथाजस्ता विधामा भन्दा निबन्ध विधामा नै नियात्राको विकास उत्तरोत्तर भएको छ । यात्रासम्बन्धी विषयवस्तु समावेश भएको नियात्रा लघुआयामको निबन्धकै एक प्रकार हो । यसका विभिन्न तत्त्वहरू रहेका हुन्छन् ।
पूर्वीय साहित्यमा श्रव्य र दृश्य गरी साहित्यका दुई भेद छन््; जसमध्ये नियात्रा गद्य उपभेदअन्तर्गत पर्ने आख्यानेतर विधा हो । निबन्धात्मक प्रस्तुति रहने भएकाले नियात्रालाई यदाकदा निबन्धको प्रविधा पनि मान्ने गरेको पाइन्छ । अन्य विधाहरूमा जस्तै यसमा पनि स्वतन्त्र तत्त्वहरू रहन्छन् । कुनै पनि साहित्यिक विधालाई स्वतन्त्र, पूर्ण र प्रभावकारी बनाउन उसका आधारभूत तत्त्वहरूको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । यस सन्दर्भमा नियात्रालाई पूर्ण, प्रभावकारी र सजीवता दिने आधारभूत तत्त्वहरूमा विषयवस्तु, सहभागिता, गतिशीलता, परिवेशगत स्थानीयता, तथ्यात्मकता, चित्रात्मकता, कौतुहल, उद्देश्य र भाषाशैली प्रमुख मानिन्छन् ।
हरेक चेतनशील मानवलाई धर्तीमा उपस्थित भएदेखि नै यात्राको जरुरत पर्दछ र यात्रा गर्न पुग्छ । जीवन जिउने क्रममा विविध आवश्यकताको परिपूर्तिका लागि अनेकौँ देश देशावरको यात्रा जरुरी हुन्छ । यात्रा धार्मिक, सांस्कृतिक, शैक्षिक, व्यापारिक आदि विविध दृष्टिकोणले गरिन्छ । यसलाई पर्यटन, देशाटन तथा तीर्थाटन भनिन्छ । यात्राबाट अन्य भूगोलको प्रकृति, जनजीवन, धर्मसंस्कृति, स्थिति र परम्पराको नवीन यथार्थबोध हुन्छ । यस्ता अनुभव, अनुभूति र अवलोकनलाई भाषामा लिपिबद्ध गर्दा जन्मिन पुग्ने विधा भनेको आज भनिँदै आएको ‘नियात्रा’ साहित्य नै हो ।
संस्मरणात्मक शैलीमा सृजना हुने आख्यानेतर गद्यविधाअन्तर्गतको नियात्रालाई पर्यायका रूपमा यात्रा संस्मरण, यात्रावृत्त, यात्रावृत्तान्त, यात्रावर्णन, यात्राविवरण, यात्रानिबन्ध, यात्रा साहित्य तथा भ्रमणवृत्त पनि भन्ने गरेको पाइन्छ; तापनि यात्राबाट प्राप्त ज्ञान, अनुभव र यथार्थलाई निजात्मकताको रङ्गमा घोलेर तथ्यपरक र भावनात्मक रूपमा अभिव्यक्त गरिने रचना भएकोले नियात्रा भन्नु नै बढी उपयुक्त देखिन्छ ।
यात्रामा संलग्न यात्राकारले यात्राका क्रममा देखे–भोगेका, हेरेका अनुभवजन्य सुखात्मक र दुःखात्मक घटनालाई अन्य व्यक्तिसमक्ष सुनाउने र सुन्ने परम्परासँगै नियात्राको उद्भव भएको हो । जब साहित्यको उद्भव भयो, तबदेखि नै यात्राको वर्णन गर्ने क्रमसँगै नेपाली नियात्राको प्रादुर्भाव हुन पुगेको हो । अज्ञात लेखकको राजा गगनिराजको यात्रा (१५५०) लाई नेपाली साहित्यको गद्यभेद अन्तर्गतको यात्रासाहित्यिक कृति ‘नियात्रा’ नामले चिनिन्छ । पूर्णप्रकाश नेपालले खोजी गरी प्रकाशनमा ल्याएको यो कृति नियात्रागत मूल्य–मान्यताले नभई जगनिर्माणको दृष्टिले उल्लेखनीय मानिन्छ । यसै कृतिबाट नै नियात्रा साहित्यको परम्परा बसेको हो । उक्त ग्रन्थ रचनाको तीनसय साठी वर्षपछि अज्ञात लेखककै जङ्गबहादुरको बेलायत यात्रा (१९१०) बाट नियात्राको विकासशील चरण सुरु भएको हो । नियात्रागत साहित्यिक मूल्यले निहित रहेको यस कृतिलाई नेपाली नियात्रा परम्पराको विकासमा कोसेढुङ्गाका रूपमा लिन सकिन्छ । जङ्गबहादुरको बेलायत यात्रा लेखिएको ११६ वर्षपछि निस्केको ताना शर्माको ुबेलाइततिर बरालिँदा’ सम्म आइपुग्दा नेपाली नियात्राले सर्वोच्च शिखर टेकेको देख्न सकिन्छ । हालसम्मको खोज अनुसन्धानबाट प्राप्त पहिलो कृति राजागगनिराजको यात्राको लेखन समय (१५५०) देखि हालसम्म आउँदा नियात्रा साहित्यले करिब पाँचसय पन्ध्र वर्षको लामो इतिहास पार गरिसकेको छ ।
जीवनका साढे दुई दशक अर्थात् पच्चिस वर्षदेखि डायस्पोरिक जीवन व्यतीत गरिरहेका साहित्यकार कृष्ण बजगाईंले नेपाली नियात्रा लेखनमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनी गन्तव्य क्षेत्रको चयनदेखि स्थानीय विषयवस्तुको जीवन्त चित्राङ्कनसम्म अत्यन्त सचेत बन्दै तथ्यपरकतालाई कलात्मकतामा रूपान्तरण गर्न सक्ने अद्भुत प्रतिभावान् नियात्राकार हुन् । उनका प्रत्येक नियात्रालाई पाठक वर्गले सूचनाप्रद, प्रेरणादायी र रोचक मान्ने गरेका छन् । नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यजस्ता नेपाली भाषा वाङ्मयका विधाहरुको उन्नयनमा निरन्तर क्रियाशील बजगाईंको यो लन्डिनियम पच्चिसौं साहित्यिक कृति तथा छैटौं नियात्रासङ्ग्रहका रूपमा प्रकाशित भएको कृति हो । यसभित्र लन्डन र बेलायतका वरपरका अठार शीर्षकका नियात्रा समावेश गरिएका छन् ।
पुस्तकको शीर्षकको चर्चा गर्दा बेलायतको राजधानीकै प्राचीनतासँग जोडिएको छ । करिब दुई हजार वर्षअघि रोमन साम्राज्यअन्तर्गतको बेलायतमा रोमनहरूले राजधानीका रूपमा विकास गरेको ‘लन्डिनियम’ क्षेत्र नै अहिलेको लन्डन शहर हो । त्यही प्राचीन लन्डिनियमको खोजयात्राबाट पाइला चालेका नियात्राकार कृष्ण बजगाईंले बेलायत, जर्मनी र नेदरल्यान्डका विभिन्न शहरहरुको यात्रा गरेका छन् । ती स्थानका इतिहास, कला, संस्कृति, सभ्यता र रहस्यमय आधुनिक जीवनशैलीसम्बन्धी तथ्यपरक एवम् ज्ञानवर्द्धक सूचनाहरू यस कृतिमार्फत बडो रोचक ढङ्गबाट प्रस्तुत गरेका छन् । यस कृतिमा समाविष्ट शीर्षकहरूमा पानीमाथि तैरिरहेका शब्द, लन्डनको पोएट्री फार्मेसी मा चक्कर, लिटल भेनिसमा रोमान्टिक मन, शरणार्थी कार्ल मार्क्सका पाइला पछ्याउँदा, लन्डनमा पोएट्री वाक’ र ’बुकबार, नाङ्गानाङ्गीहरूको गाउँमा, कोर्स्बीमा नर्दन लाइट्स, शेक्सपियरको मन्दिरमा नेपाली भक्त, लन्डिनियममा कामुक सुन्दरी, बाथ शहरमा घामपानीको स्नान, हेगको न्यायालयमा शान्तिसँग जम्काभेट, नेदरल्यान्डस्को बतासे गाउँमा हावा मिल, भान गोगलाई खोज्दै आम्सटर्डममा, आम्सटर्डमको सडकमा बरालसिङ, जर्मनीमा पाब्लो पिकासोसँग, बर्लिनमा भाइचारा चुम्बन, हिटलरको यातनागृहमा रोएको मन, हाम्बर्गमा बिटल्सलाई खोज्दा समेटिएका छन् ।
शब्दलाई पानिमा तैरिरहेको अनुभूतिमा नियात्राकारले पहिलो शीर्षकको प्रारम्भ नै यसरी गरेका छन् –
पानीमाथि तैरिरहेका छन् शब्द । बगिरेहका छन् शब्दहरू मेरो मनको नदीमा । तैरिरहेका शब्दहरू खोज्न निस्केको छु यात्रामा ।
अनायासै मेरो मानसपटलमा पल्टिन्छन् शब्दाद्वैतवादका पानाहरू । शब्दाद्वैतवादले शब्दलाई ब्रह्म अर्थात् ईश्वरको रूपमा मानेको छ । सम्पूर्ण जगत् शब्दमय छ, शब्दको प्रेरणाले गर्दा समस्त संसार गतिशील छ भन्छ शब्दाद्वैतवादले ।(पृ.७)
यसरी शब्दब्रह्मबाट उत्पन्न अमर अक्षरको दार्शनिक व्याख्यासँगै नियात्रा अघि बढेर साहित्यको रचनालाई औषधिका रूपमा समेत रहेको महशुस गरेका छन्– म कुनै बिरामी भएर पोएट्री फार्मेसीमा गएको थिइन् । यहाँ मैले औषधीरूपी कविताका बोतलहरू किन्नु छैन । पोएट्री फार्मेसीलाई अलिकति भए पनि सहयोग होस्, मलाई केही ज्ञान प्राप्त होस् र पोएट्री फार्मेसीको चिनो घरमा पुगोस् भनेर ‘हाउ टु बि अ पोएट’ नामको एउटा पुस्तक किन्छु । बेलायतको एकदम महँगो भाडा तिर्नुपर्ने स्थान अक्सफोर्ड स्ट्रिटमा खोलिएको पोएट्री फार्मेसी बन्द नहोस् भनेर कामना गर्दै पोएट्री फार्मेसीबाट बाहिरिन्छु । बाटामा हिँडिरहँदा मनभरि कविताका विभिन्न विम्बहरू आइरहे । (पृ.२९)
त्यस्तै धर्मलाई अफिमका रूपमा परिभाषित गर्ने कार्ल मार्क्सलाई देवत्वकरण गर्नेप्रति उनको विचारशरणार्थी कार्ल मार्क्सका पाइला पछ्याउँदा शीर्षकमा यसरी प्रस्तुत भएको छ – धर्म भनेको अफिम हो भनेका छन् मार्क्सले । मार्क्सका अनुयायीहरू पनि भगवान्को अस्तित्वलाई अस्वीकार गर्छन् । तर, उनीहरूले नै मार्क्सको देवत्करण गरेका छन् । भगवान शहर मान्छन् मार्क्सलाई । आफ्ना बुबाआमाको श्राद्ध नगर्ने नेपालका केही कमरेडहरू हरेक वर्ष कार्ल मार्क्सको जन्मदिन र स्मृति दिवस भन्दै उनको फोटो अगाडि धूपबत्ती बालेर भाषण ठोक्छन् । जन्म दिने बुबाआमालाई बिर्सन्छन् तर कार्ल मार्क्सलाई बर्सेनि सम्झिन्छन् । उसो त मूर्ति पूजाको विरोध गर्ने बुद्धका संसारभर सबैभन्दा धेरै मूर्तिहरू छन् । अन्धभक्तसँग भगवान्ले पनि हार खाएका छन् भने कार्ल मार्क्सको के कुरा ?(पृ.३९) भन्दै नियात्रारले मानिसको द्वैध चरित्रलाई प्रस्ट पारेका छन् ।
साहित्यकारले संसारको जुनसुकै कुनामा पुग्दा खोज्ने भनेकै साहित्यका अनुयायीहरूको इतिहास हो, ती अग्रजका जन्मभमिलाई तीर्थका रूपमा मान्दछ भन्ने भावसँगै शेक्सपियरको मन्दिरमा नेपाली भक्त शीर्षकमा आफ्नो अनुभूति यसरी चित्रण गर्न पुगेका छन्– महान् साहित्यकार शेक्सपियरलाई खोज्दै म उनी जन्मेको घर पुगेको छु । शेक्सपियरलाई समाधिस्थ गरिएको चर्चभित्र पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरेको छु । राजा र रानीहरूको विवाह, राज्याभिषेक मात्र होइन समाधिस्थ गरिने पुरानो चर्च वेस्टमिन्सटर आवे भित्रको पोएट्स कर्नरमा राखिएको उनको प्रतिमामा श्रद्धासुमन अर्पण गरेको छु । यस पटक फेरि शेक्सपियरलाई उनकै मन्दिरभित्र भेट्टाएको छु । जहाँजहाँ जान्छु भेट भइरहन्छ शेक्सपियरसँग । यो मेरो सौभाग्य हो । शेक्सपियर भेट्टाउँदा म ऊर्जावान् हुन्छु । लेख्नका लागि उत्प्रेरित हुन्छु ।
शेक्सपियरको मूर्तिको छेउमा अर्धकदको प्रतिमा देख्छु । कसको होला भनेर ध्यान दिएर हेर्छु । त्यो त डेविड ग्यारिकको मूर्ति पो रहेछ । नाटकका महान् अभिनेता तथा नाटकघरका प्रबन्धक डेविड ग्यारिकले सन् १७५६ मा आफ्नो आदर्श र देवतुल्य विलियम शेक्सपियरको सम्मानस्वरूप यो मन्दिर बनाउन लगाएका थिए । ग्यारिक उतिबेला शेक्सपियर क्लबका अध्यक्ष पनि थिए । ग्यारिकको शेक्सपियरप्रतिको सम्मानभाव देखेर प्रसन्न हुन्छु । ग्यारिकजस्ता यस्तै पात्रहरूका कारण स्रष्टाहरू अमर हुन्छन् । बस्छन् तिनीहरू जनजनको मनमा वर्षोंसम्म । ऊर्जा थप्छन् स्रष्टाहरूलाई यस्तै सत्पात्रहरूले ।(पृ.८९)
पुस्तककै शीर्षकसँग सम्बन्धित विषयलाई स्पष्ट पार्न नियात्राकार बजगाईँले नियात्रासङ्ग्रहमा ‘लन्डिनियममा कामुक सुन्दरी’ शीर्षकसँगै लन्डन शहरको प्राचीनतालाई यसरी झल्काएका छन् –
रोमनहरूले निकै लगानी गरेका थिए । त्यत्रो श्रम, समय र पैसा खर्च गरेर विकास गरेको लन्डिनियम शहर चौथो शताब्दीमा रोमनहरूले छाड्नुपर्यो । रोमनहरूले लन्डिनियम मात्र छाडेनन् पूरै बेलायतलाई छाडे । उनीहरूले बेलायत छाडेपछि यस एम्फिथिएटरलाई भत्काइयो । यसका सामग्रीहरू विभिन्न निर्माण कार्यमा प्रयोग गरियो । बाँकी रहेका केही सामग्रीहरू रोमन इतिहासको प्रमाण बताउन मेरो सामुन्ने हाजिर छन् ।
एम्फिथिएटरभित्र लन्डिनियमको रहस्य र रोमनका चिह्नरू आज पनि जीवित देख्छ । रोमन सभ्यता र लन्डन शहरको सुरुवात समयका बारेमा बताउने सानो चित्र भेटटाउँछु । लन्डिनियमको ऐतिहासिक स्थलमा उभिएर म रोमन साम्राज्यको शक्ति, प्रभाव, विकास, निर्माण र तिनको भव्यताको अनुभव गर्छु ।
रोमन एम्फिथिएटरभित्र निकै समय लगाएर रोमनहरूको इतिहास पढें । धीत मरूजेल अवलोकन गरें रोमनहरूको अद्भुत सिर्जनाका केही अंशहरू । स्पर्श गरेँ प्राचीन सामग्रीहरूलाई । आधुनिक लन्डनमा होइन प्राचीन लन्डिनियमभित्र घुमिरहेजस्तो अनुभूति भयो मलाई । करिब दुई हजार वर्ष अगि बनाइएको एम्फिथिएटर हेर्न पाउने गजबको अवसरले दङ्ग पर्छ । आफूलाई यस अर्थमा भाग्यमानी ठान्छु । मेरो मनको एम्फिथिएटरमा मजाले नाच्छन् खुसीहरू । सन्तुष्टिले फिँजाउँछन् पखेटाहरू । (पृ.१०२)
यसरी बेलायत, जर्मनी र नेदरल्यान्डका विभिन्न शरहरको शब्द दृश्यमा पाठकलाई आफूसँगै घुमाउने सामर्थ्य राख्ने नियात्राकार बजगाईँले नियात्रासङ्ग्रहको अन्तिम शीर्षक हाम्बर्गमा बिटल्सलाई खोज्दा शीर्षकमा बिटल्स व्यान्ड कलाकार र संगीतको यस्तो चर्चा गरेका छन्–
पल मेकार्टनीको झलक दिने स्टिलको फ्रेमले बनेका तिनका आकृतिहरू देख्छु । टिभीमा देखेका ती चार कलाकारहरूको गितार र ड्रम बजाएको आकृतिले तिनको सम्झना पुनर्ताजगी गरायो ।
संसार प्रसिद्ध बिटल्स ब्यान्ड बेलायतका कलाकारहरूको समूह हो । बिटल्सको रक एन्ड रोल’ साङ्गीतिक समूहका संसारभर करोडौं प्रशंसकहरू थिए । र अहिले पनि छन् । बेलायतमा चर्चा पाउनु अघि जर्मनीको हाम्बर्गमा बिटल्स लोकप्रिय भइसकेको थियो । चार जना युवाहरू जोन लेनन, जर्ज ह्यारिसन, रिङ्गो स्टार र पल मेकार्टनीले बिटल्स समूहलाई साङ्गीतिक आकाशको उच्चतम उचाइमा पुरÞ्याएका थिए । बिटल्स ब्यान्डले हाम्बर्गमा पटक पटक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । बिटल्सको साङ्गीतिक उचाइ बढाउन र लोकप्रिय बनाउनमा हाम्बर्ग शहरको ठूलो योगदान छ । ( पृ.१८३)
बेलायती साहित्यमा निकै वर्ष समर्पित बेलायतसित सम्बन्धित अङ्ग्रेजी/नेपाली दुवै साहित्य उत्तिकै महत्वका छन् । त्यसमाथि पनि बेलायतमै हुर्किरहेको ‘डायस्पोरिक नेपाली साहित्य’ ले नेपाली साहित्यको वृद्धि र विकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अहिले कैयौँ सर्जकहरू देश विदेशको यात्रामा जाने आउने गरिरहन्छन् । अनेकौँ नयाँ–नयाँ दृश्य, परिदृश्य र घटना विवरणहरू भोगिरहेका छन्, नियालिरहेका छन्, लेखिरहेका छन् । यस सङ्ग्रहमा पनि बेलायत, जर्मनी र नेदरल्यान्ड यात्रासँग सम्बन्धित अधिक यात्रा संस्मरणका रूपमा रचना समेटिएका छन् ।
बजगाईँले बेलायत र जर्मनी र नेदरल्यान्डका विभिन्न शहरहरूको भ्रमणका क्रममा देखेभोगेका मुख्य मुख्य घटनाहरूमध्ये क्रमबद्ध रूपमा टिपेका कुरालाई कलात्मकताका साथ प्रस्तुत गरेका छन् । प्रस्तुत कृति बेलायत र जर्मनी र नेदरल्यान्डका विभिन्न शहरहरूका बारेमा, ती देशकाका संस्कृति, समृद्धि, सम्पदा र सभ्यताका बारेमा जान्न चाहनेका लागि अत्यन्त उपयोगी हुनेछ । अझ नियात्राका प्रत्येक खण्डमा नवसंस्कृतिसँग साक्षात्कार हुँदा उत्पन्न हुने आश्चर्यभाव उल्लेख्य छन् । प्रत्येक खण्डमा त्यहाँको महानतम कला, कौशल, साहित्य अर्थात् सभ्यताप्रतिको श्रद्धाभाव उत्कृष्ट छ । पुस्तक निकै राम्रो छ र लेखकको परिश्रम पनि स्तुत्य छ । यस कृतिमा नियात्राकारको भाव गाम्भीर्य सुन्दर रूपमा आएको छ । नियात्राकार कृष्ण बजगाईँद्वारा लिखित नियात्रा कृति लन्डिनियम ऐतिहासिक कृति भएकाले पनि निकै पठनीय रहेको छ । नेपालीले तयार पारेका बेलायत यात्रा र संस्मरण कृति दुई दर्जन नाघे होलान् । तिनकै असल कोटीको नियात्रा साहित्यमा यसले उचित स्थान पाउनेछ ।
चन्द्रागिरि, काठमाडौं ।