बसाईँ सरेर फर्किएपछि

निबन्ध नम्रता गुरागाईं January 6, 2026, 7:53 am

नम्रता गुरागाईं
नम्रता गुरागाईं
सन् २०२५ को अक्टोबर महिना, बाहिर निस्कदा न जाडो न गर्मी, एक किसिमले रमाइलो थियो। रूख विरूवाका पातहरू रातै पहेँलै थिए। तिनलाई हेर्दा मानबरूपी ठूलो कुनै सजिसजाउ भएझैँ लाग्थ्यो । सुकेर झरेका पातलाई हावाले आफनो अधिनमा राखेर कहिले यताबाट उता, कहिले उताबाट यता पछारीरहेथ्यो। फुर्सदमा म कहिले रूखमाथिका ति रँगिन पातहरू हेर्थे त कहिले भुइभरी छरिएका पातहरू हेर्थे, हेरिरहन्थे। त्योभन्दा बढि छोराछोरी घर आउने बाटो हेरिरहन्थेँ।

छोराछोरी एउटै कलेजमा नपढेपनि सधैझैँ घर आउँदा दुबै एकैचोटी आएका थिए। उनिहरू घर आउने भनेपछि नै ममापनि निकै फर्याकफुरूक थियो। दाल, भात मन पराउने भएकाले पकाउनैमा तल्लिन थिएँ। खाना पाकिसकेपछि सबैजना वरिपरि खान बस्यौँ । सधैजस्तो उनिहरूको पढाइ, बसाई र कलेज वरिपरी भएका राम्रा नराम्रा सबै कुरा भए। खाना खाइसकेपछिपनि हामी गफिइरहयौँ। कुरै कुरामा मैले छोराछोरी - हामीले नयाँ घरहरू हेर्दै छौँ, हेरेकामध्ये एक ठाउँमा अलि मन परेको छ। सबैलाई मन परे मात्र किनौला, हेर्न जाउँ न ल! के भनेकी मात्र थिएँ छोरीले एकैचोटी ‘नो मामु … किन अर्को घरमा जाने ? यहाँ के भयो र? यो हाम्रो घर हो नि! हाम्रो सबै मेमोरी(बाल्यकालको सम्झना) यही घरभित्र छ……’ भन्दाभन्दै उ भकानिइ । छोराले ‘हो त! नयाँ घरमा त हाम्रो केही हुँदैन मामु !’ भन्दै दिदीकै समर्थन गर्यो । हेर्दैमा के फरक पर्छ त ? किन्नै पर्छ भन्ने छैन नि ! फेरी थपेँ मैले। छोरीले कुरै सुन्न मानिन ।

छोरी नमानेपछि उसको बाबाले हाम्रो गफको प्रसङ्गलाई बदल्दै तिमिहरूलाई आफूले पढेका मध्ये कुन स्कूलको धेरै मायाँ लाग्छ ? भने । एलिमेन्ट्री स्कूल बाबा! दुबैले एउटै उत्तर दिए । हो नि! मलाईपनि तिमीहरू धेरै वर्ष त्यहाँ गएकाले त्यही चाहिँ आफनोजस्तो लाग्छ, अब फेरी त्यहाँ जाने त पढ्न ? बाबाले फेरी प्रश्न उतै हुत्याइदिए। दुबैले एकैचोटी नो! के भन्या बाबा ? अब त हामी कलेज गइसक्यौ नि! कहाँ एलिमेन्ट्री स्कूल जान्छौँ त ! भने । त्यही बेला बाबाले घर भनेकोपनि त्यस्तै हो नि! तिमीहरूलाई स्कूल जान सजिलो होस भनेर त हामीले यहाँ घर किनेको। अब तिमीहरूले स्कूलपछि कलेजपनि सक्न लाग्यो। जागिर कहाँ हुन्छ टुङ्गो छैन, जागिरमा गएपछि त झन तिमीहरू घर भनेर कति आउँछौ होला र ! धेरै पुरानो भएपछि घरका कति कुराहरू बिग्रन्छन्, बिग्रेका सबै बनाउँनपनि सकिदैन । त्यसको साटो हाम्रो बजेटमा आयो भने यो बेचेर नयाँ किनौँ कि भनेको पो त ! हामी आमाबाउ जहाँबस्यो त्यही घर हैन र तिमीहरूको ? बाबाले फेरी थपे । उनिहरू केही बोलेनन, मात्र सुनिरहे । यतिकैमा सुत्ने बेला भयो उनिहरू आ-आफना कोठामा गए।

अघि उनिहरूको बाबाले भनेको कुरा सम्झिएर म आफैसँग एक्लै कुरा गरिरहेँ धेरैबेर- स्कूलभन्दा धेरै… कति हो कति नि घर! जहाँ मन बसेको हुन्छ, आफनो बालापन बसेको हुन्छ, आँशु र हाँसो खसेको हुन्छ, त्यो घर हो। छोराछोरीलाई खुशी दिनकालागि र आफनो पारिवारिक आकाशको सुरक्षाका लागि जम्मै समस्याहरू आफैँले पचाएर रातदिन खटिएका अघोषित सैनिक हामी बाउआमालाई घर भनेको धेरै हो। जम्मै दु:ख आफैभित्र लुकाएर दिएका खुशीहरूपनि त त्यही घरभित्रै त हुन्छन् नि! ऋण काढी दुइचार जोर लुगा बोकेर बिदेश छिरेकासँग के नै हुन्छ र योभन्दा ठूलो सपना? त्यसैले सबैथोकभन्दा बेग्लै हो घर……म एक्लै बर्बराइरहेँ।

दुइहप्ता अगाडि कुरैकुरामा बुढाले ‘भर्खर बनिसकेर खुलेको हाइवे ५४० को नजिकै हाम्रो बजेटमा आउने घरहरू बन्दैरहेछन्, तिमीलाई अफिस जानपनि अलि नजिक हुन्छ, हेर्न जानेकी बुढी ?’ भनेका थिए। कहिलेकाहिँ हेरेका घरहरूबाट आफ्ना आँखा तर्किएकाले अरू घर हेर्न जाने जाँगर साह्रै थिएन ममा। आ…यतिका घरपनि बनेका हुदारहेनछ्न् हाम्रो बजेटमा आउने अहिले, के जानु हेर्न ? भने मैले। ‘हेर्दैमा के बिग्रन्छ त! सबै मन नपर्नेपनि त हुदैनन्’ भन्दै बुढाले वेबसाइटमा भएका मोडल घरहरू देखाए । अघिसम्म हेर्न जाने जाँगर मारेकी मलाई देखाएकामध्येको एउटा मोडल घरमा आँखा पर्यो । घुम्न आउनु भएको बुवालाई वेवसाइटमा भएका घरहरू देखाउँदै, बुवा हेर्नु अचेलका घर यस्ता हुन्छन् यिनै फोटाहरू हेरेर मन परे हेर्न जान्छन् मान्छेहरू। सबैकुरा मिले किनिपनिहाल्छन् भन्दै वेबसाइटमा भएका बिभिन्न खाले घरका फोटाहरू देखाएँ । किन? के भयो र यो घर? राम्रो छ त! बुवाले अचम्म मानेर सोध्नुभयो । बल्लबल्ल एउटा घर बनाएर जीवनभरी त्यही घरमा बस्ने चलनबाट आएका हामीलाई बुवाले त्यति सोध्नु कुनै अनौठो थिएन। बुवाको प्रश्नको उत्तर दिन अमेरिकामा घर किनबेच गर्ने चलनका बारेमा जानेसम्म बतायौ हामीले । त्यति भनेपछि फोटो हेरेर राम्रै छन् त भन्नुभयो । आइतबार छुट्टीकै दिन खासै कामपनि थिएन । लु जाउँ न त हेर्न भनेर दिउसोतिर बसिरहेको घरबाट २० माइलजति तल ह्राली भन्ने ठाउँकालागि घर नजिकैको टल रोड, हाइवे ५४० (पैसा तिरेर हिडने बाटो) लिएर निस्कियौँ । १७,१८ माइलजति ड्राइभ गरेपछि वेकटेक कम्युनिटी कलेज(प्राविधिक सामुदाइक कलेज) को एक्जिट लिएर वायाँ मोडियौँ। फेयतभिल रोड आयो। त्यो रोडमा छिर्ने वित्तिकै पुल्टे कम्पनिले बनाउन थालेका र बनाइसकेर मान्छे बस्न थालेका घरहरूको कम्युनिटीभित्र जिपियसले छिरायो।

दाँयातिर टाउनहाउस (जोडिएका घरहरू) र बायाँतिर बन्दै गरेको अपार्टमेन्ट हुदै पस्दा बिचमा निकै फराकिलो ठाउँमा आइपुग्यौँ । छेउमा सुइमिङ पुल भएको ठूलो घरमा पुगेपछि जिपियसले तिमीहरूले दिएको ठेगानामा आइपुग्यो भन्यो । सेल्समेनसँग समय लिएकोले सिधै त्यही घरभित्र पस्यौँ । हार्दिकता साटासट भएपछि उसले आफना सबै मोडल घरहरूको बारेमा एकसरो जानकारी गराएर हामीलाई सिधै मोडल घरतिर लग्यो ।

वेबसाइटमा हेरेका मध्ये मन परेकै घरभित्र पस्यौँ पहिला । फराकिलो घरका तलमाथि सबैतिर देखायो उसले । हामी बसिरहेको घरमा नभएको एउटा तल सुत्ने कोठा र अर्को घरपछाडि आराम गर्ने ठाउँ नयाँ घरमा चाहिएका थिए हामीलाई। चाहिएका कुरा थप्न सकिने भएकाले त्यो घरप्रति अलिकति सकारात्मक भएँ म तर बुवालाई कस्तो लाग्यो थाहा थिएन । कस्तो लाग्यो घर बुवा ? बुवाले हाँस्दै घरको तलमाथि हेर्नुभयो, केही भन्नुभएन। आफूले दु:ख गरेर बनाएको घरका दलिन र खाँबा सम्झनुभयो होला सायद, त्यो घरलाई घुमीघुमी हेर्नुभयो । पहिलो पल्ट अमेरिका आउँदा नै हाम्रो घरका दलिन र खाँबाहरू नदेखेर तिनिहरूका बारेमा सोधिसक्नु भएको थियो बुवाले । हामीलेपनि जानेसम्म भनेकाले खासै अल्मलिनु भएको थिएन बुवा ।

घर बनाउने तरिका, घरका प्रकार फरक भएपनि हाम्रालागि एउटा बलियो घर बनाउनुभएको थियो हाम्रा बुवाआमाले। त्यही घरबाटै विद्यालय स्तरको शिक्षा लिएर पखेटा हालेका थियौँ हामी सबै छोराछोरीले। आज छोरीले देखाएको घर कतिको बलियो लाग्यो बुवालाई त्यो त भन्नुभएन तर निकै चाख मानेर हेर्नुभयो।

हामी त्यहाँ भएका सबै मोडल घरभित्र पस्यौ। थरिथरीका घर परिपरीका डिजाइन हेरेपछि बुवाले खै के सोच्नुभयो कुन्नी नयाँ लिने भए यो घर मलाइ मनपर्यो ! पहिला पसेको घर देखाएर भन्नुभयो। बुढालाई त मन परेरै देखाउन लगेका थिए। अब बुवा र मलाई कस्तो लाग्ला भन्ने थियो। हामी दुबैलाई त्यो घर मन पर्यो तर छोराछोरीलाई देखेका थिएनन् । उनिहरूलाई देखाएर मात्र टुङ्गो गर्ने भनेर दुइहप्ताअघि फर्केका थियौ ।

अघिल्लो दिन त्यति कुरा भएपछि छोराछोरीले के सोचे कुन्नी, भोलिपल्ट जाउँ न त हेर्न भने । खाना खाएर हामी सबैजना फेरी घर हेर्न गयौँ । हामीले मन पराएको मोडल घरभित्र पस्यौँ। छोराछोरीले मन पराएनन भने त नकिन्ने, म भित्रभित्र भन्दै थिएँ तर दुबैले मन पराए । उनिहरूलाई मन परेको थाहा पाएर बुवाले जिस्क्याउँदै ‘कसले कुन कोठा लिने होला’ भन्नु भयो । ‘यसपाली म नानीलाई छान्न दिन्छु’ भाईले भन्यो । भाइका कुरा सुनेर दिदी गमक्क परी। उसले म घाम आउनेतिर लिन्छु तिमी अर्को लेउ न त भनी। ओ…हो … कोठै बाँडिसकेको? भन्दै बुवा मुसुमुसु हास्नुभयो।

छोराछोरीलाई घर देखाएपछि हामी अरू बाँकी कुरा बुझ्न सेल्समेनको अफिसमा आँयौ। सेल्समेनले उनिहरूलई भेट्नेबित्तिकै बढो आदरपूर्वक आफनो परिचय दिदै उनिहरूको परिचय लियो। बच्चाहरूको उमेर अनुसारका कुरा गर्न खप्पिस उसले स्कूलदेखि कलेजसम्मका कुरा सोध्यो। उनिहरूले घरसम्बन्धी सोधेका प्रश्नहरूलाई महत्व दिएर जानेको उत्तर दियो, छोराछोरी खुशी भए।

केटाकेटीलाई देखाउन ल्याएकै दिन फाइनल होला भन्ने लागेको थिएन मलाई। अर्कोपल्ट हेर्दा के बिग्रन्छ र ! भन्दै हिँडेकी थिएँ घरबाट तर त्यहाँ पुगेपछि हामीले हेरेको घरको मोडल चाहि छिटोछटो विक्री भइरहेको कुरा सेल्समेनले सुनायो । अघिल्लो पल्ट आउँदा हेरेकामध्ये केही घर बन्ने ठाउँहरू बिक्री भइसकेछन् । सेल्समेनले केही बेचिसकेका बेच्न बाँकी भएका ठाउँहरू कम्प्युटरमा देखायो । दक्षिण मोहडा परेको घर बन्ने ठाउँहरू धेरै बाँकी थिएनन् । उसले बेच्न बाँकी भएकोमध्ये एउटा घडेरीमा हामीलाई लिएर गयो । गएकै ठाउँ नै एक किसिमले मन पर्यो । हामी हाँस्दै मसिनो आवाजमा कुरा गर्न थाल्यौँ । मन परेको थाहा पाएपछि उसले हामीलाई लिनका लागि कन्भिन्स गर्न थाल्यो । बुढाले आफूले मन पराएपछि मतिर हेर्दै ‘तिमीलाई नै अफिस जान नजिक हुन्छ कि भनेर हो यहाँसम्म पुगेको अब तिमी नै भन के गर्ने’, भनेर हुन्छ र हुदैनको निर्णय गर्ने जिम्मा मेरो टाउकामा राखिदिए । निर्णय गरिहाल्न अलि छिटो भएन ? मैले बुढातिर प्रश्न फालेँ। मैले केही भन्न नसकेकोले होला सायद ‘मन परेको ठाउँ उम्केला, लिने नै हो भने यो ठाउँ लिँदा हुन्छ’, बुवाले भन्नुभयो । छोराछोरीलेपनि के सोचे कुन्नी ‘लिँदा हुन्छ मामु’ भने ।

जागिरमा जाने बाटो अलिकति घटने कुराले सकारात्मक भएकी म घर बन्ने ठाउँमा नै आएपछि खुशी भएकी त थिएँ नै तर भइरहेको ऋणमाथि ऋण थप्न तयार भएकीचाहिँ थिइन । निर्णय त गर्नु छ आजै के गर्ने होला सोच्न थाले । त्यहीबेला बुढापाकाले भन्ने गरेको उखान सम्झिएँ ‘ ऋण लागोस तर दीन नलागोस’ । यसो गम खाएँ- छोरीको ब्याचलरको अन्तिम सेमेस्टर मात्र बाँकी छ, त्यसपछिलाई जागिरका लागि अन्तरवार्ता हुन थालेका छन्, कतै न कतै होला । छोराकोपनि आधाउधी पढाई सकिसक्यो, हामीले नयाँ किनेपछि पुरानो घर बेच्ने नै भन्या छ, बिक्न त बिक्छ होला नि ! भन्दै भविष्यप्रति अलिकति आशाबादी भएँ र हुन्छ भन्ने पल्ला अलि भारी बनाएँ । बुढालाई मन परेकै थियो । मात्र ममा कुरा अडकेकोले सबैले मलाई नै हेरिरहेका थिए। यही बेला ‘हुन्छ भन्! किन खुट्टा कमाएकी’, राम्रो सोचेर गरेपछि ढिलोचाँडो राम्रै हुन्छ’ मेरो भित्रि मनले भन्यो र लामो श्वास फेरेर ‘हुन्छ’ भनेँ । मैले हुन्छ भनेपछि त बैना पो हुनेभयो । एकहप्ताभित्रमा घरको जम्मा मूल्यको ७ परसेन्ट पैसा तिर्ने सर्तमा घर फर्कियौँ ।

घर फाइनल भएपछि त बसिरहेको घरको असाध्यै माया लागेर आयो । कति कुरालाई थाँती राखेर किनेको घरभित्र छिरेदेखिका सम्झनाहरू छताछुल्ल हुन थाले । छोराछोरीका कलिला खुट्टाहरू भर्याङ तलमाथि गरेको याद आयो, जानी नजानी उनिहरूले आफ्नो घरको नम्बर, एड्रेस कण्ठ पारेर साथीलाई आफ्नो घरमा खेल्न बोलाएको याद आयो । उनिहरूका कलिला हात समातेर नजिकैको एलिमेन्ट्री स्कूलमा लगेर दिनभरी छोडेको र बेलुका लिन गएको याद आयो। त्यही घरबाट गएर उनिहरू एलिमेन्ट्रीदेखि मिडिल स्कूल हाइस्कूल सकेको याद आयो। हामी आमाछोरी बाउछोराका तुलनामा घेरै नै भाबुक भएछौँ । फर्किदा छोडनु पर्ने घरको यथार्थले दुखेको मन आँखाबाट बगाइरहयौँ । घर पुगेपछि त झन बसिरहेको घर धेरै आत्मिय भयो ।

छोरी हामीलाई यो घरको माया धेरै लाग्यो, के फिर्ता गरौँ त बैना ? सोधेकीमात्र के थिएँ उसले यति धेरै हामी रोइसक्यौ मामु! अब के गर्नु फिर्ता! भनी । फेरी हामी दुबै हाँस्यौँ ।

घर आएपछि बसिरहेको घर किनेर आउनु अघि र पछिका सम्झनाहरू एकपछि अर्को आइरहे ममा । घरका कुरा सम्झेर एक किसिमले अघाउन छाडिसकेँ । बास्तबमा जहाँ परिवारभित्र सुमधुर सम्बन्ध रहन्छ त्यो घर हो, चाहे त्यो डेरा नै किन नहोस । जहाँ मन रहन्छ त्यो घर हो । सुख दु:खका साथी हामीले जुनसुकै ठाउँलाईपनि आफनो घर बनाएका थियौँ । डेराकै घरमा गुड लगाएर बचरा कोरलेका थियौ। त्यो घर एउटा सँसार थियो, जहाँ निर्धक्क खेल्थे हाम्रा नानीहरू।

कहिलेकाहिँ साथिभाइका घरमा जाँदा जब आफना छोराछोरीका मसिना गोडाहरू उनिहरूको घरको भर्याङ तलमाथिमात्र गर्न थाले तब आफूलाई एउटा आफनै घरको आबश्यक्ता महसुस भयो । नेबारास्काबाट सरेपछिचाहिँ किन्नुपर्छ भनिरहन्थ्यौँ । त्यहाँबाट नर्थ क्यारोलाइना सर्ने कुरा सोच्न थालेपछि बिस्तारै चाँजोपाँजोपनि मिल्न थाल्यो । हामीले वेबसाईटमा भएका नयाँ पुराना घरहरू हेर्न थाल्यौँ। छोरी एक कक्षामा पढ्दै थिइ, छोरो प्री स्कूलमा। दुबैलाई झिकेर बाटा लाग्यौँ। नर्थ क्यारोलाईनामा सरेपछि ३ महिनालाई अपार्टमेन्ट लिएर छोरीलाई एक कक्षाको बाकी कोर्स सक्न स्कूल हाल्यौँ । भर्चुअल हेरेका घरलाई गएर नै हेर्न थाल्यौँ । हेरेका धेरै मध्ये लोरेलपार्क एलिमेन्ट्री स्कूलसँगै जोडिएको लोरेल पार्क कम्यूनिटीमा आफनो बजेट अनुसारको घर मिल्यो । भनेजस्तै पाएकाले किन्यौपनि। छोराले प्राथमिक शिक्षा त्यहि स्कूलबाट शुरू गर्यो, छोरीले दुइ कक्षाबाट। छोडने भनेपछि ति सबै सम्झनाहरू सबै आउन थाले मभित्र।

जब घरलाई बैना गरेर आइयो त्यसपछिका हरेक दिन, हप्ता र महिनाहरू नवितुन जस्तै भए मलाई तर हामी सबै आ-आफना काममा ब्यस्त थियौँ । समयपनि आफनै गतिमा वत्तिरहयो । घरका लागि सहयोगी भूमिका निर्वाह गर्नका लागि जितमान साथीलाई सोध्यौँ, वहाँले हुन्छ भनेकाले आँफूले थाहा नपाएका कुराहरू वहाँको जिम्मामा छोड्यौँ र बसिरहेको घर बेच्ने बारेमा अलि धेरै सोच्न थाल्यौँ । आफनो घर म यतिमा बेच्छु, उतिमा बेच्छु भनेरमात्र नहुने रहेछ। गएको छ महिनामा वरिपरि बिकेका घरहरूको आधारमा आफनो घरको भाउ घटने, बढने रहेछ । घर बनेको स्थान, वरिपरिका विद्यालयहरू र घरको उमेर, सबैकुरा हरेरे घरको मूल्य निर्धारण हुने रहेछ। हामीले त्यही अनुसार घर बेच्न राख्नु पर्ने कुरा विस्तारै सिक्न थाल्यौँ । जीवनको अर्को पाठ पढन थाल्यौँ ।

उता कलेजमा छोरीको ब्याचलरको पढाइको अन्तिम सेमिस्टर चलिरहेको थियो। उसका जागिरका लागि अन्तरवार्ताहरू भइरहेका थिए । सँगसगै ग्रयाजुएसन हुने दिनपनि नजिकिदै थियो।

यसैबेला विसकन्सिन भन्ने राज्यमा पर्ने एपेक भन्ने कम्पनीमा उसको जागिर पक्का भयो। काम शुरू गर्नु अघि काम गर्ने ठाउँ हेर्न आइज भनेर बोलायो। एकजना अरू लान मिल्छ भनेकाले आमाछोरी केही दिनकालागि हुरूरू उढ्यौपनि।

उता नयाँ घर धमाधम बनाउन शुरू भयो । यता पुरानो घरपनि नयाँ बनिसक्दा बेच्न पाए हुने नि ! कुरा गर्न थाल्यौ । सर्नु एक महिना अगाडि नै वेबसाइटको बजारमा राखौ न त ! किन्ने मान्छे आए भने कुरा सकिहाल्यो, आएनन भने घर सरेपछि सफा गरेर फेरी राखौला भन्ने सल्लाह भयो। सोही बमोजिम कहिले शनिवार कहिले आइतबार ओपनहाउस राख्ने (निश्चित समय तोकेर घर खुल्ला गरिदिने चलन) निधो भयो र घरका फोटाहरू खिचेर घर किनबेच गर्न बनाइएको वेबसाइट जिलो र रेडफिनमा घरको बिवरणसहित राख्ने जिम्मा जितमानजीलाई दियौँ । नभन्दै हाम्रो घरका फोटाहरू वेबसाइटमा देखिन थाले । घरलाई डिजटल बजारमा धेरैले हेरेको रेकर्ड देख्दा ओ… हो… हाम्रो घर त ‘हटकेक’ भयो कि क्या हो बुढा! फुरूङ्ग हुँदै सुनाएँ । चाँढै बिक्लाजस्तो छ है…… नबिकोसपनि किन -केटाकेटी पढन जाने स्कूलहरू नजिकै छन्, होलसेल किन्न पाईने ठूलो पसल नजिकै छ, पार्क छ, १५/२० मिनेटमा नजिकैका सिटीहरू जहाँबाट जहाँपनि पुगिन्छ, छानामाथि ऋण तिरिसकेको सोलर प्यानल ओछ्याएको छ। सित्तैमा बिजुलीको पैसा घट्ने भएपछि त्योभन्दा बढि अरू के खोज्लान र मान्छेले, आदि आदि घर छिटो बेच्न सक्ने दह्रा कुरा गर्दै मनका लड्डु धेरै बनायौँ हामीले तर घर भाडामा दिनचाहिँ नपाउँने थियो। घर किन्नैका लागि आउलान नि मान्छे ! त्यही कुरा ठूलो लाग्यो हामीलाई। घरभाडामा दिने कुरा हाम्रो महत्वको विषयमा परेन । आफनो घर बेच्न बलिया आधार सुनाउन थाल्यौँ साथीभाई र आफन्तलाई । वेबसाइटमा राखेपछि मान्छेहरूको घर हेर्न आउने अनुरोध आउन थाल्यो । कामका दिनपनि मान्छे आएर हेर्न थाले । ओपनहाउसका दिन त दुइघण्टाका लागि हामी घर छोडेर जान थाल्यौँ ।

हामी नसरी नै ३/४ ओटा ओपनहाउस भए। धेरैले आएर घर हेरे तर दोहोर्याएर कुरा गर्न आएनन। नयाँ घर बनिसकेर जिम्मा दिने दिन (House Closing Day) अर्थात घर पास गर्ने दिन नजिकिरहेको थियो । ठिकै छ, हामी घरमै भएकाले होला, अब यहाँबाट सरेपछि किन्ने गरी नै मान्छे आउलान! सकारात्मक भाब लिएर दिन टुङ्गो गरेर सर्ने सुरसार गर्यौ । House Closing Day आइ त हाल्यो । एउटा कानूनविदको अफिसमा गएर सबै कानूनी प्रकृया पुरा गरि एप्रिल २ का दिन रहरले किनेको घरको चाबी हातमा लियौँ । मेरीबासै… अर्को ठूलो ऋणको लागि सही त कति ठाउँमा गरियो कति । कानूनले हामीलाई सबैतिरबाट फनफनी बाँध्यो ।

नयाँघरको चाबी हातमा लिएपछि सर्ने दिन एप्रिल ५, २०२५ को सनिवारलाई तय गर्यौँ, छोराछोरीलाई सघाउन बोलायौँ र सामान सार्न मान्छे खोज्यौँ। सक्नेजति सामान आफैले प्याक गर्न शुरू गर्नपनि थाल्यौँ ।

नभन्दै सर्ने दिन नै आयो। घर सर्ने कामले आफू त ब्यस्त छँदै थिएँ, त्योभन्दा धेरै मेरो मन व्यस्त भयो। आफूले जन्माएका छोराछोरीको जस्तै घरको माया लागेर आयो। टाउको फुट्लाजस्तै गरी दुख्यो, मन हलुका हुदै भएन तर घण्टाको हिसाबले सामान लाने मान्छे नै घरमा आएपछि मेरो भारी मन अनुहारमा देखाउँन नी भएन । ठूला सबै सामान उनिहरूलाई देखाएर सक्नेजति हामीपनि धमाधम प्याक गर्न थाल्यौँ । १५ वर्षअघि राखेका सामाना झिक्दा विगतका सम्झनाहरूपनि झिकिएर आउन थाले । घरको भित्तामा टाँसेका फोटा झिक्दा मनको भित्तामा टाँसेका सम्झनाहरू झन बलिया हुन थाले ।

छोडेर हिडन जहाँपनि कठिन नै हुने। न काम गरेको ठाउँ न त घर। छोराछोरी एउटा गाडी लिएर निस्किए। मन भारी पारेर हामी अर्को गाडी लिएर घरबाट निस्कियौँ। बाटाभरी दुखेको मन आँखाबाट खसिरहयो, उताकै सम्झना आइरहयो। बसेको घरको त यति मायाँ लाग्छ जुन बस्तुको रूपमा किनबेच हुन्छ, झन पहिला पहिला मान्छे नै किनबेच गर्ने चलन थियो रे । आफनो सन्तान आफ्नै आँखा अगाडि कसैले किनेको कसरी हेर्थी होला आमा? सोच्नपनि सकिन। मनमा कुरा खेल्दाखेल्दै कतिखेर नयाँ घरमा पुगियो पत्तै भएन। एकैचोटी गराज खुलेपछि पो झसँङ्ग भएँ।

घर सर्यौँ, दिनैपिच्छेको अफिस जाने आउने बाटो अलिकति कमपनि भयो तर पुरानोघरको माया पट्क्कै कम भएन, झनझन धेरै माया लाग्न थाल्यो। नयाँ सामान किनेर नयाँ घर चिटिक्क पारियो तर आँखामा त्यही पुरानो घर सुहाइरहयो । भाबनामा मात्र डुबेरपनि त नहुने। केही दिन अघिमात्र त्यत्रो ऋण थपिएको छ, त्यो त जसरी भएनि घटाउनै पर्छ भन्ने लागेर बिस्तारै आफूले आफैलाई दह्रो बनाउँदै गएँ ।

सरेपछि सरसफाई गरेर फेरी ओपनहाउस राख्न थालियो । धेरैको हेर्ने काम जारी नै रह्यो । घाँस काट्न जान ढिलो गरे गर्मी सिजनमा पानी अलि धेरै पर्ने बित्तिकै घाँस हलक्कै बढेर जँगलजस्तो देखिन थाल्यो। लु घर त चिटिक्क पारिरहनु पर्छ भनेर दुइ दुइ हप्तामा सफा गर्न गइरहयौँ । हिजोसम्म भरिभराउ घर खाली देख्दा आफनो मनलेपनि उसैलाई सुम्सुम्याइरहयो । कोही यसको स्याहार गर्ने मान्छे आउला नि ! हामीलाई एकजना न चाहिएको हो! बुढाले ठट्टापनि गरिरहन्थे, आश भने मारेको थिएनौँ ।

यस्तैमा छोरीको ग्र्याजुएसन आयो। उसको चार वर्षको मेहिनेतको फल पाउने बेला, आफैले पाउनेजस्तो खुशी लागिरहेको थियो मलाई । आफनी छोरी बिस्तारै एउटी जिम्मेवार महिला हुन लागेकोका गर्व थियो। सुबोध,श्वेताको परिवार र भदैनी अश्मिताको परिवार उसको ग्र्याजुएसनकालागि आएका थिए। उनिहरू थपिएपछि हाम्रो निकै ठूलो परिवार भएझैँ लाग्यो हामीलाई। सबै भेला भएर छोरीको ग्रयाजुएसमा सहभागी भयौँ। खुशीको सिमा नै रहेन। आफनो बच्चाको प्रगती देखेर त्यसै त्यसै दँग परे म। छोरी टोपी लाएर अघिअघि हिँडि, म उसको टोपी हेर्दै पछिपछि हिडिँरहेँ । खुशीका पलहरू मेरा अनुहारमा छचल्किरहयो दिनभरी नै।

सबैजना घरमा हुन्जेल त पुरानो घरको सँझना त्यति धेरै आएन त्यसमाथि अश्मिताकी ९ महिनाकी छोरीले हामी सबैको ध्यान तानेकी थिई ।

प्रकृतिले चोला फेरिहोरी जताततै हरियाली छाएको थियो। सँगसँगै गर्मी बढन थालेको थियो । वर्षभरीको पढाइ सकेर बिस्तारै स्कूल कलेज बन्द हुदै थिए। सबैभन्दा धेरै घरहरू किनबेच हुने महिनाहरूपनि यिनै भएकाले मान्छेहरूको धेरै बसाईसराईपनि यसैबेला थियो। यो मौका हामीले नि गुमाउँन चाहेनौँ। घर बिक्ने ठूलो आशा राखेर हामीले ओपनहाउस राखिरहयौँ । दुइखाले मान्छे हेर्न आए। एकखाले आफै बस्नलाई घर किन्ने । अर्कोखाले किनेर भाडामा दिने। हामीले हाम्रो घरमा कानूनी रूपले भाडामा राख्ने गरि बेच्न मिल्दैनथ्यो । हाम्रो Home Owner Association (HOA) भाडामा दिने नमिल्ने नियम बनाएको थियो। हामीले नियम परिवर्तन गर्न अनुरोध गर्यौ तर उनिहरूले सुनेनन्। त्यही भएर हामीले घर बस्नै आउनेलाई बेच्न बल गरेका थियौँ।

घर किनबेचको बजार सोचेकोभन्दा फरक हुँदै गयो । अमेरिकामा मध्यम वर्गिय परिवारहरू प्रासजसो सबैले ऋण लिएर घर किन्ने भएकाले ब्याजदरको तलमाथिले धेरै कुरामा तलमाथि पार्ने रहेछ । घर किन्नलाई बैकँबाट लिने ऋणको ब्याज बढेर ७ परसेन्ट पुगेको थियो। मान्छेहरूले घर किन्ने आँट गर्न छाडेपछि हामीले हाम्रो घरको मूल्य केही घटायौँ। आफूलाई त घटेरै भए नि बेचेर ऋण तिर्नु छ, घट्न थाल्यौँ । भाउ घटेपछि हेर्नभने आए तर बैना गर्ने मान्छे देखा परेनन् । तैपनि आश मारेनौँ ।

देशमा ट्रम्पको सरकार आएको ६ महिनामात्र भएको थियो। सरकारको शरिर सानो बनाउने योजनामा करिब करिब ६५ वर्ष अगाडि स्थापना गरेको सस्था यूसएडलाई दिने अनुदानमा ठूलो कटौती गर्यो। जसले अमेरिका बाहिरका बिभिन्न मुलुकमा मानबिय सहयोग शिक्षा, स्वास्थ्य र अरू रोजगारीमुलक काममा सहयोग गर्थ्यो। अनुदानले चल्ने सँस्था, अनुदाननै रोकिएपछि धेरै कर्मचारीको जागिर गयो। मान्छेको रोजगारी खोसिएकोले बेरोजगारीको सँख्या तिब्र गतिले बढ्न थाल्यो । माथि चढेको चर्को ब्याज तल झरेन। जानेको त गइगयो, जागिर भएकाहरूमापनि एक किसिमको अन्योलता छाउन थालेकोले मान्छेको घर किन्ने जाँगर हराउँदै गयो। साथै किनबच हुने महिनापनि क्रमशः चिप्लिन थाले। पुरानो घर बिक्ने आशा हराउँदै गएपछि हामीले नयाँघरमा गर्न सक्ने र नसक्ने कानूनी कुरा बुझ्न थाल्यौँ। बुझ्दै जाँदा बसिरहेको नयाँ घर भाडामा दिन सकिने भएकाले बुढाबुढी फेरी अर्को नहिडेको बाटोको बारेमा सोच्न थाल्यौँ ।

घर हेर्न आउने मान्छे कम भएपछि हामीले मार्केटबाट झिक्यौँ। घर मार्केटबाट झिकेपछि त म बेच्छु भनेर रियल्टरहरूको तारन्तार फोन र म्यासेज आउन थाल्यो तर बजारमा राखेर वाक्कदिक्क भइसकेका हामीले कसैका कलका रिप्लाई गरेनौँ मात्र सरसफाई गर्नकालागि घर गइरहयौ। जाँदा घरका भित्ताहरूले मैले के गरेँ र सरेका तिमीहरू भनेझै लाग्न थाल्यो । माथि चढदा त झन् कोठाहरूले फेरी आए हुदैन भनेझैँ लाग्न थाल्यो। यसो सोचेँ - बसिरहेको घरबाटपनि अफिस जाने समय अलिकति घटेको बाहेक केही भएको छैन, त्यसमाथि टलरोडमा पैसा तिर्दा तिर्दा हैरान छ, घर आफनोजस्तो लागेकै छैन । मान्छे त छन कति हो कति तर न ब्यबहार मिल्ने न मन मिल्ने। तर पुरानो घर आउँदा भने मान्छे त आफना लागेका छन् नै, बाटो छेउछाउका बोटविरूवा समेत आफना लागेर आउँछन्। वर्षौँ बसेको घर भएर हो की, फर्केर जानै पाए हुने, मनमा कुरा खेलिरहन्छन्। रियल्टरहरूको फोन, म्यासेज आउने क्रम जारी नै छ। तुरून्तै घर बिक्ने कुरामा विश्वास नलागेपछि उनिहरूका कलका रिप्लाइ गएनन् । बरू फर्केर जाने कुरामा बुढाबुढी सल्लाह गर्न पो थाल्यौँ । आखिर पुरानो बाहेक केही भएर गएकापनि त थिएनौँ, आफै फर्किएर जाउँ न जे होला होला! दुबैले भन्यौँ र नयाँ घर रेन्टमा राख्ने निधो गर्यौँ ।

बास्तबिकता बसिरहेको नयाँ घर छोडेर पुरानो घरमा फर्कने छ तर मेरो मन भने खुशी भैरहेको छ कति हो कति। १५ वर्ष पुरानो घरका कति सामान ६ महिनादेखि चलाएका छैनन्, फेरी चल्लान कि नचल्लान त्योपनि टुङ्गो छैन। सम्भब त कति नयाँ फेर्नु पर्ला तर त्यसको खासै वास्तापनि भएन मलाई। काममा आउन जान बढेको दुरी र समयलेपनि फरक पारेन मलाई । घरमा फर्किनु नै ठूलो कुरा भयो। मन त्यसैत्यसै गदगद भयो।

फेरी अर्कोपटक मान्छे बोलाएर नयाँ घरका सामान पुरानोतिर सार्यौँ। किनेका नयाँ सामान पुरानो घरमा उत्तिकै सुहाए जति सुहाएका थिए नयाँघरमा । त्यसमाथि ढुक्क भएर हो कि मनलेपनि यहि फर्कनलाई किनेका रहेछौ नि भन्याजस्तो गर्यो। आँफूलाई आँफै सुहाएँजस्तो लाग्यो।

मनको फेदैबाट सोच्दा लामो समयदेखि आफनो भनेर बसेको घर परिभाषामा के साच्चै किनबेच गर्ने बस्तुमा पर्छ र ?

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।