यसको आवरण र शीर्षक नै अत्यन्त मनोरम र आकर्षक छ । शीर्षक पनि गम्भीर, अर्थपूर्ण र प्रभावोत्पादक छ, म यसलाई कुनै शब्दले बयान गर्न सक्दिन । अहो ! कविताप्रति यति प्रगाढ प्रेम, यति ठूलो लगाव, यति भारी साजसज्जा, यति शृङ्गारपटार, यति भारी खर्च मसँग सराहना गर्ने पनि कुनै शब्द छैनन् । यति धेरै शुभेच्छा, यति धेरै भूमिका, यति धेरै सहयोग । कवि हंसमुख, विनयी, भद्र, स्फुर्तिवान र मिलनसार व्यक्तित्व भएकैले सम्भव भएको देखिन्छ । आज मलाई कविता कृतिको लोकार्पण मात्र होइन सिर्जनोत्सव लागिरहेछ । कविता कृतिका निम्ति यति सुन्दर शीर्षक चयन हुनसक्नु पनि महत्वपूर्ण उपलब्धि हो । शीर्षकले नै कविता पढूँपढूँ र बुझूँबुझू झैं लाग्दछ । आवरणले मानूँ झन् नवदुलहीलाई झैँ सुम्सुम्याउँजस्तो लाग्छ । यसै कविताभित्र एक कविता पनि छ ॅअभिशप्त समय’, त्यसैलाई आधार बनाएर पूरै कविताको नामकरण गरिएको छ । यो सार्थक संयोग हो भन्ने लाग्दछ ।
समयको विशेषणकै रूपमा अभिशप्त समय आएको छ । ‘अभिशप्त’ भनेको बेस्सरी सरापिएको, सराप दिइएको वा सराप्ने काम गरिएको भन्ने हो । अभिशप्त भएपछि हरकोही व्यथित, दुःखित र चिन्तित हुन्छन् । मनमा कुनै शान्ति हुँदैन, सन्तोष हुँदैन आनन्द, उत्साह, उमङ्ग र उल्लास हुँदैन । हुन पनि यो समय, यो युग अभिशाप युक्त छ । यसरी युगको पीडालाई ध्वनित हुने गरी राखिएको यो शीर्षक सार्थक र सुन्दर अनुभूत हुन्छ । यसै तथ्यलाई लक्ष्यित गरेर भूमिकाकार रामबाबु घिमिरेले पनि “व्यक्तिको होस् कि देशको सुदिन र कुदिन आउने गर्छन् । देशको पनि कुनै कालखण्ड शान्ति, प्रगति र खुसियालीको हुन्छ भने कुनै कालखण्ड दुःखदायी, पीडादायी र नैराश्यजनक हुन्छ । कविता पढ्दा उनका कवितामा देशको वर्तमान अवस्थाप्रति गहिरो असन्तुष्टि छ । उनका कविताहरूमा असन्तुष्टि, आक्रोश, पीडा, व्यङ्ग्य र विद्रोहका स्वर मुखरित भएका छन् ।
कवितामा विद्रोह ओकलिएको छ, आगो ओकलिएको पनि छ । कवि भावनाशील छन्, ऊर्जाशील छन् । समाज, राज्य र भविष्यप्रति चिन्तित छन् । त्यही चिन्ताले उनलाई निराशातिर होइन विद्रोह, आक्रोश र सङ्घर्षतिर लगेको छ । यो स्वाभाविक र सकात्मक पक्ष हो । कवि सबै प्रकारका विभेद, विषमता, अन्याय, अत्याचार, दमन र शोषणहरूको प्रतिकार गर्न चाहन्छन् । उनमा उत्साह छ, जोश छ, जाँगर छ । उनी दुनियाँलाई जगाएर परिवर्तन ल्याउन चाहन्छन् ।
कविका आफ्ना सपनाहरू, विचारहरू, अभिव्यक्ति, संबोधनहरू र आवाजहरूबाट उदीयमान स्थितिमा देखा पर्छन्, आसलाग्दो, भरोसलाग्दो स्थितिमा देखिन्छन् । जनचेतना जागृत गर्न युवाहरूलाई उत्प्रेरित गर्न र अभिशप्त समयलाई बोध गराउन यी यथेष्ट छन् । कविको यो विद्रोह, सङ्घर्ष, आक्रोश र आवाजप्रति सद्भाव, सदाशय र समर्थन छ, सहयोग र सत्प्रेरणा छ । कविताप्रतिको यो उत्साह, लगाव, सक्रियता र समर्पण भावप्रति शुभेच्छा र शुभकामना छ ।
समग्रमा यी कविता कुरा होइनन्, कविता नै बनेका छन् । भूमिकाकरले पनि भनेका छन् – “यी कविता कवित्व गुणले सम्पन्न छन् । तर तिनमा निखार र कवित्वको उत्कर्षता प्राप्त गर्न बाँकी नै छ ।
कविता बलेका छन् चम्केका छन् हिरा हुन बाँकी नै छन्
नम्बरी सुनजस्तै छन् आभूषण वा गहना हुन बाँकी नै छन्
शब्द सोच्नू भाव खोज्नू प्रतीक विम्ब र विचार खोज्नू
चामत्कारिक स्वरूपले रत्नतुल्य कविता हुन बाँकी नै छन् ।
जे होस्, यस्तो सघन प्रयास देखेर, उत्साह, उमङ्ग र उल्लास देखेर म प्रसन्न छु, खुशी छु । प्रभावित छु । एक शिष्यले कविताको आरोहण गर्दैछ । यो जीवनको पहिलो वर्षा हो । पहिलो वर्षा पहिलो भेलजस्तो भएर होइन निरन्तर वर्षिरहेर मूल भएर फुटेको देख्न चाहन्छु, झरना भएर कलकलाएको देख्न चाहन्छु, नदीझैँ भएर सागरसँग समाहित हुन प्रवाहित भएको देख्न चाहन्छु । यो आरम्भ हो, अन्त्य होइन । यो यात्रा रोकिनु हुँदैन, कहीँकतै अल्झिनु हुँदैन, कहीँकतै ठोक्किएर अवरुद्ध हुनुहुँदैन । यो गन्तव्यमा पुग्न आफ्नो मन्जिल बनाउनु पर्छ । इतिहासमैं चढ्नुपर्छ, आफ्नो सपना साकार तुल्याउन हरदम प्रयत्नरत रहनुपर्छ ।
कविमा चरणबद्ध रूपमा कवित्वको विकास हुन्छ । कविताका प्रमुख उपकरण हुन् – शब्द, लय र भाव । भावबाटै विचार र विम्ब आउँछन् । प्रथम चरणमा कवि यिनै तत्वसँग खेल्छ, द्वितीय चरणमा विचार र दर्शनसँग खेल्छ त्यस्तै तृतीय चरणमा ध्वनि र विम्बसँग खेल्छ । जब यी सबै तत्वहरूसँग एकसाथ खेल्दै सीपसामर्थ्यको विकास हुन्छ तब ऊ खास कवि बन्दछ । मानिस जब युवा हुन्छ ऊ भावनाशील हुन्छ, जब ऊ उमेर, अवस्थाअनुसार परिपक्क हुँदै जान्छ तब ऊ विचारशील बन्दै जान्छ । अहिलेका गद्यकविताको विशेषता विचारप्रधान र प्रयोगप्रधान हुनु हो । यो विस्तारको होइन विन्यासको युग हो । कवितालाई अल्पभन्दा अल्प शब्दमा वैचारिक सघनता एवम् चमत्कारजन्य भावले प्रस्तुत गर्न सक्छौँ, तब सुन्दर कविता दिन सक्छौं । अब कविताको सङ्ख्या गनिँदैन, चामत्कारिक छटाको हिसाब हेरिन्छ । छन्दमा माधव घिमिरे र गद्यकवितामा तुलसी दिवस श्रेष्ठ उत्कृष्ट कवि मानिन्छन् । उनीहरूले एउटै कविता पाँच–सात ठाउँमा सुनाएको म आफैले सुनेको छु । घिमिरेको त्यही ‘छक्कै रूप रानी’ र तुलसी दिवसको ॅत्यही उकाली र ओराली’को कविता हो ।
जहाँसम्म अशोकका कवितामा कवित्व कति छ, कस्तो छ, कलात्मकता कति छ, दृष्टि कति सूक्ष्म छ, संवेदना कति सघन छ, विचार कति गूढ छ, अभिव्यक्ति कति तीव्र छ वा कति तीक्ष्ण छ । ती सबै कुरामा मनोहारित र सौन्दर्य त आएकै छ त्यसमा पनि चमत्कार र परिपाक आउन त बाँकी नै छ । त्यो सबै आफ्नो यात्राले निर्धारण गर्छ । यसका निम्ति कविभित्र कविताको आलोचक, जन्मिनु, हुर्किन, बढ्नुपर्छ र त्यो आफ्नो निर्णयमा मोहमायारहित कठोर हुँदै जानुपर्छ त्यो पनि त बाँकी नै छ ।
जीवनमा अशोक वसन्त ऋतुका सन्दर्भमा सोमनाथका कविताले भनेझैँ “तब अशोक अशोक भई बढे” भनेझैँ अशोकको गतिस्थिति हुनुपर्छ । कविता भूसाल कविताको नाममा ॅभुस’ मात्र होइन ‘चामल’ हुनुपर्छ । चामल पनि वासमतीजस्तो मगमगाउँदो बन्नुपर्छ ।
कवि अशोक बाबुले कविताको सैद्धान्तिक संरचनाबारे, इतिहास र परम्पराबारे पनि बुझ्नुपर्छ । आफ्नो कवित्व शक्तिको पहिचानका निम्ति यो आवश्यक छ । परम्परामा आफ्नो स्थान आफै बनाउनुपर्छ । अशोक बाबु, तिमी आफैले भनेका पनि छौ – “मान्छेलाई मात्र आफ्नो इतिहास आफैले लेख्ने र सुधार्ने अवसर छ ।” तसर्थ आफ्नो इतिहास तिमी आफै बनाऊ । मान्छे भयरहित, शोषणरहित उन्मुक्त हाँसो हाँसेको देख्न चाहने, तिमी मान्छेकै चेतनको भरपुर कविता लेख । कविताको सिर्जन प्रक्रिया हो – कविता अल्प शब्दमा बोल्नुपर्छ अर्थात् थोरै शब्दको प्रयोगमा धेरै बोल्नुपर्छ । शब्दशक्ति प्रयोगमा पनि अभिधा होइन लक्षणा र व्यञ्जना बोल्नुपर्छ । सामान्य लेखन होइन, बौद्धिक लेखन र सिर्जनात्मक लेखनको प्रयोग गर्नुपर्छ । कवितामा सङ्ख्या होइन अर्ती, उपदेश र नारा होइन प्रतीक र विम्बको प्रयोग गरी चामत्कारिक सङ्केतमा बोल्नुपर्छ, शैल्पिक दृष्टिले कविता छ्याङ्ग वा उदाङ्गजस्तो होइन केही ढाकिएको र बुझ्नका निम्ति केही घोत्लिने हुनुपर्छ, आफ्नै शैली र स्वरको सिर्जना हुनुपर्छ, अरूभन्दा पृथक् (यूनिक) देखिनुपर्छ । कविता कुरा होइन, कथा पनि होइन । विधागत ज्ञानले पनि आफूलाई सजग र सचेत गराउनुपर्छ ।
अन्तमा समग्र कवितामित्र अधिकांश कविता विद्रोही भावमा केन्द्रित छन् । केही व्यङ्ग्यविषयक केही प्रणयपरक पनि छन् । प्रेम वा प्रणयलाई वासनको साधन होइन आत्मिक साध्यको माध्यम बनाउनुपर्छ भन्ने तिम्रो आफ्नै मान्यता छ । कविता सरल, सहज र सम्प्रेष्य शैलीमा प्रस्तुत छन् । बालवयमैं ॅभँगेरीचरी’ नामक कविता लेखेका तिमी अहिले कविताका जवर्जस्त हस्ताक्षर बनेका छौ । सामयिकतालाई यतिविधि संबोधन गरेर रचिएका कविता अन्य कविमा पाउन दुर्लभ छ । कविताबाटै अभिशप्त समयको वहस गर्ने तिमी रत्ननगरका एक कविरत्न बनेका छौ । तिमीलाई कवितामा हार्दिक शुभकामना छ ।
अन्तमा,
चिसो मौसमले मलाई निकै सताएको थियो
कति गर्छस् तँ समीक्षा भनी बताएको थियो
जति बेला अशोक बाबुका यी कविता पढें
मन भने विद्रोही भावले तताएको थियो ।
भरतपुर–१२, चितवन