पोहोर कान्छाको विवाह गरिदिए । विराटनगर कान्छाको ससुराली ।
त्यसअघि नै दुई सन्तानको व्यवहार गरी सकेकै थिए । छोरी सिन्धुलीतिर स्कुलमा स्थायी शिक्षक छे; मिर्चैया हुँदै जानुपर्छ– उसले । उसको घर लालबन्दी हो; श्रीमान उतै अफिस गर्छ । जेठो जलेश्वरमा हाकिम छ; उसकी श्रीमती लहानमा स्कुल चलाउँछे । कान्छो सिन्धुलीमा व्यापार गर्छ । उसकी श्रीमती इटहरीमा बैंकमा मैनेजर छे ।
अब भुर्तेलजीको घरको कुरा गरौं :
उनको घर ढल्केबर कालोसडकबाट जम्मा एकसय छयालीस मिटर उत्तर ।
धेरै वर्ष डेरामा बसे । आफ्नै घरमा बस्ने धोको थियो– भुर्तेलजीको । धेरै लामो यत्नले पूरा भयो- उनको यो धोको ।
घरमा प्रायः बुढाबुढी मात्र हुन्छन् । छोरा–बुहारी र छोरी–ज्वाइँको ओहोरदोहोर चलिरहन्छ । यदाकदा पस्छन् पनि । कहिले त एक रात बस्छन् पनि । फेरि कहिलेकाँही त यसरी जम्मा हुन्छन्; कोठा नपुग्ने अवस्था पनि हुन्छ । कहिले त साथीहरू पनि लिएर आउँछन् र घरमा कोठा नपुगेर चिहिलबिहिल मच्चिन्छ । फेरि उज्यालो खस्दानखस्दै सबै आआफ्नो बाटो लाग्छन् र घर रित्तो–रित्तो हुन्छ ।
घरमा कहिले त बन्दा–भान्टाधरि हुँदैन।
एक दिन घरबाट सडकछेउको प्लेटफार्म हेरेर टोलाइरहेको मुद्रामा देखिए– भुर्तेलजी।
भुर्तेलजी घरलाई घरकै दर्जा दिन प्रयत्नशील छन् । छोरा–छोरी र ज्वाइँ–बुहारीले जेसुकै ठानून्; भुर्तेलजी घरलाई सडकछेउको प्लेटफर्मका रूपमा देख्न पटक्कै तयार छैनन्।