कुनै पात्र छैन, कुनै संवाद छैन, कुनै राजनीति छैन । केवल प्रकृति छ— जसको बहावबाट पछिका सर्बत्र बगिरहेको अनुभूति दिइरहेको थियो । हो, यो प्रकृतिको वहाव नै थियो ।
प्रकृति मेरुदण्ड हो । बिहान आफैँ आइपुग्दैन— रातलाई बिस्तारै पछाडि धकेल्दै आउँछ । आकाश नीलाम्य हुनुअघि धुम्म हुन्छ । त्यो धुम्मपनमै दिनको निर्णय लुकेको हुन्छ । पहाडको काखबाट नदी बग्छ । ऊ हतारिँदैन । ऊ रोकिँदैन । ढुंगासँग ठोक्किन्छ , फेरि बाटो फेर्छ तर बग्न छोड्दैन ।
किनारमा घाँस निहुरिएको छ । रवि नआउँदै ओसका थोपा उसको टुप्पामा टाँसिएका छन् । त्यो ओस न बोल्छ , न चम्किन्छ— तर सबैभन्दा पहिले त्यही हिरिलो भएर खस्छ ।
हावाले पिपलका पात छोइरहेको छ । पात हल्लिन्छ , रुख उभिन्छ । रुखले हावालाई रोकेन । यो जिन्दगीके आवशयकताको गतिलो सामञ्जस्यतामा हावाले रुखलाई ढाल्न खोजेन । त्यही सहअस्तित्वमा जीवन टिकेको छ ।
टाढा काग करायो । त्यो काग ! काग !! काग !!! कराइ अपशकुन होइन— जागरण हो ।
रवि पहाडको धारबाट धेरै सावधानीसाथ झुल्किन्छ । वादलको कपासको सिरकबाट उठ्छ । मानौँ उसलाई थाहा छ— आज धेरै कुरा देखिनु बाँकी छ ।
नदी अझै बगिरहेको छ । कसैको अनुमति बिना, कसैको आदेश बिना, प्रकृतिको उच्चसत्यको आधारमा । त्यसको बहावमा भोलि पनि छ , हिजो पनि छ र आज— जुन सबैभन्दा खतरनाक हुन्छ ।
यही बहावमा यो कथा प्रवेश गरिसकेको छ ।
पहिले मान्छे आउँदैन । पहिले प्रकृतिले गन्तव्य खोल्छ र जुन कथा प्रकृतिको लयबाट सुरु हुन्छ— त्यो अन्त्यमा पनि लयमै निरन्तर फर्किन्छ ।
यसपछि त्यसै नदीको किनारको एउटा चौतारोमा एउटा वृद्ध ढल्छ— र कथा सलललललल बग्न थाल्छ जहाँ आवाज सानो थियो ।
सबै ठूलो आन्दोलन पहिले सानो मौनबाट जन्मिन्छ । त्यो बिहान सहर उठिसकेको थिएन । चौतारो धुलोले ढाकिएको थियो । पुरानो पिपलको रुख आफ्नै छायाँमा थकित जस्तो उभिएको ।
त्यहाँ भीड थिएन । न कुनै नारा । न कुनै क्यामेरा ।
केवल एउटा वृद्ध जमिनमा ढलेको थियो ।
मानिसहरू हेरिरहेका थिए— हेर्ने दूरीमा । कोही डरले, कोही हतारले, कोही उदासीनताले ।
त्यही बेला ऊ आयो । कुनै परिचय बिना । कुनै दाबी बिना ।
उसले वृद्धको हात समात्यो ।
त्यो हात कमजोर थियो, तर त्यो कमजोरीमै सिङ्गो देशको थकान थियो ।
“पानी छ ?” ऊ हल्का स्वरमा सोध्छ ।
कसैले जवाफ दिँदैन । उसले आफ्नै बोतल खोल्छ ।
पानी बग्छ— थोरै तर पर्याप्त ।
त्यस क्षण कसैले ताली बजाएन । कसैले नारा लगाएन तर त्यो सानो कर्मले मौन चिरेको थियो ।
पिपलको पात हावामा हल्लियो ।
मानौँ रुखले पनि यो दृश्य साक्षी राख्न खोजिरहेको थियो ।
त्यो दिन कुनै क्रान्ति भएको थिएन ।
तर त्यो दिन मानिसहरूले पहिलो पटक आफूलाई एक–अर्काको जिम्मामा राखेका थिए ।
यो कथा त्यहीँबाट सुरु हुन्छ— जहाँ आवाज सानो थियो, तर मानवीयता ठूलो र त्यही मानवीयताको धागो समातेर यो शृङ्खला अन्त्यमा पुगेको हो— जहाँ आवाज ठूलो भयो, तर मानिस झन् जिम्मेवार ।
सुरुमा एउटा मान्छे झुक्यो । अन्त्यमा एउटा देश उठ्यो । यही यस कथाको पूर्ण विम्ब हो ।
कथा यसरी सुरु हुन्छ ।
–––
धुलोले छोपिएको आवाज
–––
त्यो घटना धेरै पुरानो थिएन, तर मानौँ इतिहासले नै बिर्सन खोजेको जस्तो थियो । हिउँदको अन्तिम बिहान । बजारको छेउमा रहेको सानो चौतारो । तीन जना मजदुर, एउटा फाटेको झोला, र जमिनमा ढलेको एउटा वृद्ध ।
“उसलाई अस्पताल लैजानुपर्छ,” भीडबाट एउटा आवाज उठ्यो—दह्रो, तर करुण ।
सबैले फर्केर हेरे । ऊ साधारण लुगा लगाएको, अनुहारमा न कुनै चिनारी न कुनै घमण्ड तर आँखा—अडिग ।
“तँ को होस् ?” कसैले व्यङ्ग्य ग¥यो, “नेता होस् कि ठेकेदार ?”
ऊ मुस्कुरायो । “अहिले म मान्छे हुँ, बस् ।”
त्यही दिन उसले वृद्धलाई काँधमा बोकेर अस्पताल पु¥यायो । त्यो कुनै ठूलो क्रान्ति थिएन न त समाचार बन्यो तर त्यही सानो क्षणले उसको नाम मजदुर बस्तीमा फैलिन थाल्यो— ‘हाम्रै मान्छे’ भनेर ।
वर्षहरू बिते । त्यही मान्छे अब श्रमिक आन्दोलनको अगुवामा थियो । कारखानाका गेट, खेतका डिल, अदालतका भ¥याङ— सबैतिर उसको आवाज सुनिन थाल्यो ।
“हामी दया होइन, अधिकार मागिरहेका छौँ,” ऊ सभा बीच भन्थ्यो ।
भीड तालीले गडगडाउँथ्यो तर टाढा, एसी चलेको कोठामा, त्यो ताली असह्य आवाज जस्तै लाग्थ्यो ।
“यो मान्छे धेरै माथि उड्न थाल्यो,” कालो कुर्सीमा ढल्किँदै एक जनाले भन्यो । “अहिल्यै रोकिएन भने भोलि संसद छिर्छ,”
अर्कोले चुरोटको धुवाँ फुक्दै थप्यो । “सिधै रोक्न सकिँदैन,”
तेस्रोले मुस्कुरायो, “मान्छेलाई उचाल्ने भीड नै उसलाई भत्काउने हतियार हो ।”
त्यही दिन योजना बन्यो ।
भोलिपल्टदेखि उसको नामसँग नयाँ शब्दहरू जोडिन थाले— विदेशीको एजेन्ट, अराजकता फैलाउने, धर्मविरोधी, राष्ट्रघाती तर कसैले प्रमाण सोधेन । अफवाह प्रमाणभन्दा छिटो दौडिन्थ्यो ।
“तपाईं राजनीति गर्न लाग्नुभएको हो ?” एक पत्रकारले सोध्यो ।
ऊ केही बेर मौन रह्यो । त्यस मौनमा थुप्रै पीडित अनुहारहरू देखिए ।
“यदि पीडाको पक्ष लिनु राजनीति हो भने,” ऊ बिस्तारै बोल्यो, “हो, म त्यही गर्न चाहन्छु ।”
त्यसै दिन एक फाइल खोलियो— उसको पुरानो फोटो, काटछाँट गरिएका भिडियो, र तोडमोड गरिएका वाक्यहरू ।
राति उसले आफ्नी आमासँग फोनमा भन्यो— “आमा, अब लडाइँ अलि फरक हुँदैछ ।”
आमाको स्वर काँप्यो । “साँचोको बाटो हो भने पछि नहट्नु,” यति मात्र भनिन् ।
उसले झ्यालबाट बाहिर हेर्दै सोच्यो— शत्रु बाहिर मात्र होइन, सिस्टमभित्र पनि हुन्छ ।
त्यही क्षण उसले बुझ्यो— राजनीतिमा प्रवेश गर्ने ढोका जनताले खोलेका हुन्छन्, तर ताला प्रतिगामीहरूले लगाइदिन्छन् ।
र कथा यहाँबाट साँचिकै सुरु हुँदै थियो ।
–––
अदृश्य युद्ध
–––
राजनीति उसले सोचेको जस्तो खुला मैदान रहेनछ । यो त अँध्यारो कोठामा खेलिने चेस रहेछ— जहाँ प्यादा अगाडि सर्छ, तर चाल राजा बचाउनका लागि चलाइन्छ ।
त्यो साँझ सहरको सबैभन्दा सुरक्षित भवनको चौथो तलामा तीन जना फेरि भेला भए ।
“जनताले उसलाई नेता बनाइसके,” पहिलोले टेबलमा फाइल फ्याँक्दै भन्यो ।
“नेता जनताले बनाउँछन्,” दोस्रोले हाँसो दबाउँदै भन्यो, “तर चुनाव हामी जिताउँछौँ ।”
तेस्रो मौन थियो । उसको मौन नै सबैभन्दा खतरनाक थियो ।
“उसको बल भनेको नैतिकता हो,” उसले अन्ततः बोल्यो, “त्यही भत्काउनुपर्छ ।”
त्यसपछि शब्द होइन, रणनीति बोल्न थाल्यो ।
अर्को दिन उसलाई समर्थन गर्ने एउटा मजदुर सङ्गठनमा अचानक फुट देखियो ।
“हामी ऊसँग सहमत छैनौँ,” भुक्तानी पाएको एउटा ‘नेता’ पत्रकार सामु बोल्दै थियो ।
सामाजिक सञ्जालमा त्यही क्लिप भाइरल भयो । सत्यभन्दा काटछाँट गरिएको दृश्य धेरै शक्तिशाली हुन्थ्यो ।
ऊ आफ्ना साथीहरूसँग बसिरहेको थियो ।
“हामी प्रतिवाद गरौँ,” एक जनाले आक्रोशित हुँदै भन्यो ।
“नगर्नु,” ऊ शान्त स्वरमा बोल्यो, “उनीहरू हामीलाई क्रोधित देख्न चाहन्छन् ।”
“तर उनीहरूले हाम्रो चरित्र हत्या गरिरहेका छन्,” अर्कोले भन्यो ।
ऊ केही बेर चुप लाग्यो । त्यस चुप्पीमा उसले राजनीति बुझ्दै थियो— शक्ति–संघर्ष विचारको होइन, नियन्त्रणको लडाइँ हो ।
त्यसैबीच उसको नाममा नक्कली विज्ञप्ति सार्वजनिक गरियो ।
“देश असफल भइसकेको छ”— भनेको जस्तो बनाइयो ।
रातारात राष्ट्रद्रोहको ह्यासट्याग चलाइयो । भीड फेरि दुई भागमा बाँडियो ।
त्यही रात ऊ एक्लै बसेर डायरीमा लेख्दै थियो— “सत्तालाई डर लाग्ने कुरा मेरो शक्ति होइन, जनताको भरोसा रहेछ ।”
बाहिर गाडीको हर्न सुनियो । कुनै पत्रकार होला, वा कुनै निगरानी ।
ऊ मुस्कुरायो । अब उसले बुझिसकेको थियो— यो लडाइँ सडकमा होइन, मस्तिष्कमा चलिरहेको छ र प्रतिगामीहरू हार्न डराएको बेला सबैभन्दा खतरनाक हुन्छन् ।
एउटा मोड आयो । जहाँ एउटा मान्छे राजनीतिमा प्रवेश गर्न खोज्दैछ, र सत्ता उसलाई भित्र पस्न नदिन सबै ढोका, सबै सिसा, सबै हावा बन्द गर्न खोज्दैछ तर इतिहासले देखाइसकेको छ— हावा कुनै न कुनै चिराबाट छिर्छ नै ।
राजनीतिमा सबैभन्दा ठूलो गल्ती आफूलाई लडाकु ठान्नु हो । यहाँ जित्नेहरू लड्दैनन् — प्रतीक्षा गर्छन् ।
ऊ यही कुरा अब बिस्तारै बुझ्दै थियो ।
“उनीहरू हामीलाई सडकमा उतार्न खोजिरहेका छन्,” उसका निकटतम साथीले भन्यो, “हामीले शक्ति देखाउनुपर्छ ।”
ऊ टेबलमाथि फैलिएका कागजहरू हेरिरह्यो— समर्थनको सूची, अफवाहका स्रोत, र सम्भावित चालहरू ।
“हामी सडकमा गयौँ भने,” ऊ बोल्यो, “उनीहरूले कानुन देखाउँछन् हामी मौन बस्यौँ भने, उनीहरूले डर देखाउँछन् ।”
“त्यसो भए के गर्ने ?” साथीले सोध्यो ।
ऊ मुस्कुरायो । त्यो मुस्कान कुनै विजयको होइन— रणनीतिक निर्णयको संकेत थियो ।
“हामी समय देखाउँछौँ ।”
त्यसै रात उसको नाममा आउने आक्रमण अचानक रोकिए । मानौँ सत्ता थाक्यो ।
तर त्यो थकाइ होइन, चाल परिवर्तन थियो ।
भोलिपल्ट एक वरिष्ठ नेताले सार्वजनिक वक्तव्य दिए— “हामी नयाँ अनुहारलाई स्वागत गर्छौँ,” भनेजस्तो देखिने, तर अन्त्यमा जोडिएको वाक्य— “तर संविधान र राष्ट्रिय मूल्यभित्र ।”
त्यो वाक्य उसका लागि संकेत थियो— कि घेराबन्दी सुरु भएको छ ।
“अब उनीहरूले समेट्न खोज्छन्,” ऊ आफ्ना सहयोगीसँग भनिरहेको थियो, “समेटेर निष्क्रिय बनाउने ।”
“स्वीकार नगर्ने?” कसैले सोध्यो ।
“सीधै अस्वीकार पनि होइन,” ऊ शान्त थियो, “हामी प्रस्ताव बुझ्ने अभिनय गर्छौँ ।”
रणनीतिक द्वन्द्व यहीँबाट चर्किन्छ— न अस्वीकार, न स्वीकृति ।
त्यसपछि उसले एउटा अप्रत्याशित कदम चाल्यो ।
कुनै भाषण होइन, कुनै ¥याली होइन ।
ऊ गाउँतिर गयो— जहाँ क्यामेरा पुग्दैन, जहाँ नारा होइन, जीवन बोल्छ ।
त्यो खबर सत्ताका कोठामा ढिलो पुग्यो ।
“ऊ मैदान छोड्दैछ ?” कसैले खुसी हुँदै भन्यो ।
तेस्रो मान्छे— सधैँ मौन रहने— बिस्तारै बोला—
“होइन,”
“ऊ हाम्रो नक्साबाहिर खेल्दैछ ।”
उसले डायरीमा लेख्यो— “रणनीति भनेको शत्रुले सोचेकै ठाउँमा नलड्नु हो ।”
अर्कोतिर षड्यन्त्र पनि नयाँ तहमा पुग्यो— स्थानीय तहमा उसको नाम रोकेर, कागजी अड्चन खडा गरेर ।
दुवै पक्ष अब खुला शत्रु थिएनन्— दुवै एक–अर्काको चाल पढिरहेका थिए ।
अर्को मोड सुरु भयो ।
जहाँ एउटा मान्छे सत्ता विरुद्ध उभिएको छैन, ऊ सत्ताको रणनीतिसँग आफ्नै रणनीतिले लडिरहेको छ ।
अगाडिको युद्ध नारा र भीडको होइन— धैर्य, दिशा र निर्णयको हुनेछ ।
–––
समयले आमनेसामने ल्याएका दुई छायाँ
–––
समय कसैको पक्ष लिँदैन तर समयले नै शत्रु छानेर एक–अर्काको अगाडि उभ्याइदिन्छ , ऊ अहिले मात्र श्रमिकको आवाज थिएन । ऊ सम्भावित शक्ति बनिसकेको थियो ।
अर्कोतिर सत्ताको मेरुदण्ड बनेको एक व्यक्ति— नामभन्दा डर चिनारी भएको— चुपचाप सबै चाल हेरिरहेको थियो ।
“अहिले रोकिएन भने भोलि ऊ बराबरीमा आउँछ,” कसैले भन्यो ।
त्यो व्यक्ति— जसलाई सबै सर भन्थे— कुर्सीबाट उठेन ।
“बराबरी ?” उसले हल्का हाँसो हाँस्यो, “ऊ अझै समय बुझ्न बाँकी छ ।”
यो पहिलो पटक थियो जब उसले उसलाई प्रतिद्वन्द्वी मानेको थियो ।
सार्वजनिक बहसको मिति तय भयो ।
दुई नाम । दुई धारणा । दुई पुस्ता ।
पत्रकारले सोधे— “तपाईं डराउनु भएको हो ?”
सरले जवाफ दिएन । उसको मौन नै रणनीतिक सन्देश थियो ।
उता उसले भने— “म डराउँदिन, तर भ्रम चिर्न चाहन्छु ।”
बहसको दिन हल शान्त थियो, तर हावामा तनाव थियो ।
सरले पहिलो वाक्य बोले— “राज्य भावना होइन, अनुशासनले चल्छ ।”
ऊ मुस्कुरायो । “राज्य भावना मारेर अनुशासन टिकाउँदैन ।”
यो वाक्य तालीभन्दा ठूलो आवाज बन्यो ।
तर असली टकराव मञ्चमा होइन, मञ्च पछाडि थियो ।
त्यही रात उसको नजिकको साथी अचानक पक्राउ प¥यो ।
संयोग ? राजनीतिमा संयोग हुँदैन ।
“यो युद्ध अब व्यक्तिगत बनाइयो,” उसले मनमनै भन्यो ।
सर आफ्ना मान्छेहरूलाई भन्दै थियो— “उसको शक्ति जनतामा छ । हामी जनतासँग होइन, समयसँग खेल्छौँ ।”
उसले फाइल बन्द ग¥यो । “थकाइ सबैभन्दा ठूलो हतियार हो ।”
दिनहरू बित्दै गए ।
जनता दुई भागमा बाँडिन थाले । एकातिर स्थिरताको नाममा सत्ता । अर्कोतिर न्यायको नाममा परिवर्तन । दुवै पक्ष आफूलाई सही ठान्थे ।
एउटा साँझ दुवैको बाटो एकै ठाउँ काटियो— सामाजिक कार्यक्रममा ।
दृष्टि जुध्यो । कुनै शब्द बोलेनन् ।
तर त्यो मौनमा पूरा युद्धको आवाज थियो । तब समयले निर्णय गरिसकेको थियो— यो संघर्ष अब सानो राजनीतिक खेल होइन ।
यो दुई शक्तिशाली पात्रबीच इतिहास लेख्ने गहिरो टकराव बनिसकेको थियो ।
–––
जहाँ टकराव हुन्छ त्यहाँ नै कथा बन्छ
–––
एउटा मोड आयो समय टकरावको वरिपरि घुम्दैन थियो— टकराव आफैँ कथा बनिसकेको थियो ।
समय अब दुबै पक्षको पक्षमा थिएन ।
“उहाँलाई रोक्ने अन्तिम मौका यही हो,” सरले भने ।
“कुन तरिकाले ?” कसैले सोध्यो ।
उसले टेबलमा औँला ठोक्यो । “कानुन ।”
शब्द शान्त थियो, अर्थ खतरनाक ।
बिहानै समाचार फुट्यो— “राज्यविरुद्ध षड्यन्त्रको अनुसन्धान सुरु ।”
नाम उल्लेख थिएन, तर सबैले बुझ्थे— कसका लागि हो ।
उसले मोबाइल बन्द ग¥यो ।
“अब भाग्ने ?” साथीले सोध्यो ।
ऊ हाँस्यो— पहिलो पटक कठोर हाँसो ।
“भाग्नेहरूले इतिहास बदल्दैनन् ।”
त्यही दिन उसले पत्रकार सम्मेलन ग¥यो ।
“म अनुसन्धानसँग डराउँदिन,” उसले भन्यो, “तर डरको प्रयोगसँग असहमत छु ।”
सरले टिभीको आवाज म्युट ग¥यो ।
“उसले खेल बुझिसक्यो,” उसले चिसो स्वरमा भन्यो ।
अब चालहरू घण्टामा गनिन थाले ।
एकतर्फ प्रशासन, अर्कोतर्फ जनताको दबाब ।
सामाजिक सञ्जाल युद्धभूमि बन्यो । शब्दहरू हतियार बने ।
राति उसको गाडी पछ्याइयो ।
सिधा आक्रमण भएन, तर सन्देश स्पष्ट थियो । “डर ?”
उसले मनमनै भन्यो, “डर अब उनीहरूको समस्या हो ।”
भोलिपल्ट सरले संसदमा बोले— “अराजकतालाई स्वतन्त्रताको नाम दिन मिल्दैन ।”
त्यसै क्षण उसले बाहिर जनसभामा जवाफ दियो— “अन्यायलाई अनुशासनको नाम दिन पनि मिल्दैन ।”
एकै समय । एकै देश । दुई फरक सत्य ।
अब कोही पनि पछि हट्ने अवस्थामा थिएन ।
यो विचारको मात्र होइन, अस्तित्वको लडाइँ थियो ।
र टकराव— जुन सुरुमा अदृश्य थियो— अब सबैले देख्ने, सास रोक्ने, कथालाई दौडाउन थालेको थियो ।
–––
शब्दले चल्ने युद्ध
–––
त्यो रात दुई शक्तिहरू पहिलो पटक बन्द ढोकाभित्र आमनेसामने बसे ।
कुनै क्यामेरा थिएन । कुनै साक्षी थिएन तर इतिहास त्यही कोठामा सास फेरिरहेको थियो ।
सरले चिया हल्लाउँदै भन्यो— “तिमी धेरै छिटो माथि आयौ ।”
उसले आँखा उठाएर हे¥यो । “म माथि आएको होइन,” (शान्त स्वरमा) “तल थिचिएका उठेका हुन् ।”
सर हल्का हाँस्यो । “आदर्श सत्तामा पुगेपछि सबैभन्दा पहिले थाक्छ ।”
“र सत्ता,” ऊ तुरुन्तै बोल्यो, “आदर्शसँग नडराएसम्म कहिल्यै सुरक्षित हुँदैन ।”
कोठा एक सेकेन्डका लागि झन् साँघुरो भयो ।
सर अगाडि झुक्यो । “राज्यसँग खेल्दा नियम म बनाउँछु ।”
“नियम बनाउनेहरू,” उसले जवाफ दियो, “इतिहासले कहिल्यै बचाएको छैन ।”
पहिलो पटक सरको आँखामा झिनो चिरा देखियो ।
“म तिमीलाई प्रस्ताव दिन सक्छु,” सरले स्वर नरम पार्दै भन्यो, “सुरक्षा, पद, प्रभाव ।”
“र मौन?” ऊ मुस्कुरायो ।
“मौन,” सरले स्वीकार ग¥यो ।
ऊ कुर्सीबाट उठ्यो । “म मौन भएँ भने यो देश अझै चिच्याइरहनेछ ।”
केही क्षण दुवै चुप लागे ।
त्यो मौन कुनै सम्झौताभन्दा खतरनाक थियो ।
बाहिर निस्कँदै गर्दा सरले अन्तिम वाक्य फ्याँक्यो— “तिमी हार्नेछौ ।”
ऊ रोकिएन तर फर्केर भन्यो— “हार सत्यको होइन, सत्ताको बानी हो ।”
ढोका बन्द भयो ।
त्यही रात अर्को चाल चलियो । उसका समर्थकमाथि एकपछि अर्को छापा ।
फोन बजिरह्यो ।
“अब के ?” साथीको स्वर काँपेको थियो ।
ऊ झ्यालतिर हे¥यो । सहर निदाएको थिएन ।
“अब,” उसले भन्यो, “हामी लुक्दैनौँ । हामी बोल्छौँ ।”
भोलिपल्ट उसले खुला मञ्चबाट भन्यो— “मसँग हतियार छैन, तर शब्द छ ।”
“र शब्द,” उसले भीडतिर हेर्दै थप्यो, “सत्ताले डराउने एकमात्र सत्य हो ।”
भीड चिच्यायो ।
सत्ता पहिलो पटक आफ्नो छायाँसँग डरायो ।
–––
पर्दा च्यातिँदा देखिएको सत्य
–––
सत्ताको सबैभन्दा ठूलो भ्रम यो हो कि सबै कुरा सधैँ गोप्य रहन्छ तर सत्य ढिलो आउँछ ,
अन्धो आउँछ, तर खाली हात आउँदैन ।
त्यो फाइल कसरी बाहिर आयो— कसैले ठ्याक्कै जान्दैन ।
तर बिहान देशले एउटै शीर्षक पढ्यो— “राज्यभित्रको राज्य ः कसरी निर्णय बेचिन्छ”
नामहरू थिए । मितिहरू थिए । बैंक खाताहरू थिए र एउटा नाम सबैभन्दा माथि— सर ।
पत्रकार सम्मेलनमा उसले फाइल टेबुलमा राख्दै भन्यो— “यो प्रतिशोध होइन,”
स्वर स्थिर थियो, “यो प्रमाण हो ।”
“मैले कसैलाई आरोप लगाएको छैन,” उसले थप्यो, “सत्य आफैँ बोलिरहेको छ ।”
भीड सास रोकेर सुनिरह्यो ।
संसद अचानक युद्धभूमि बन्यो ।
“यो षड्यन्त्र हो !” सर चिच्यायो ।
“हो,” उसले टिभीबाटै जवाफ दियो, “तर तपाईंको ।”
पहिलो पटक सरको स्वर काँपेको देखियो ।
तर राजनीति सधैँ सीधै ढल्दैन ।
त्यही साँझ एक गोप्य सन्देश आयो— “भोलि राति । पुरानो निवास । एक्लै ।”
त्यो भेट शत्रुता होइन, थकाइको परिणाम थियो ।
सरले सिधै भन्यो— “तिमीले खेल जितिसक्यौ,”
उसको स्वर भारी थियो, “अब देश जलाउनु छ कि सम्झौता गर्नु छ ?”
ऊ केही बेर चुप लाग्यो ।
“सम्झौता ?” उसले सोध्यो ।
“केही नाम बचाइन्छ,” सरले भन्यो, “केही संरचना जोगाइन्छ । तिमी अगाडि बढ्छौ ।”
यो नै अप्रत्याशित मोड थियो ।
उसले सोध्यो— “र जनता ?”
सरले आँखा झुकायो । मौन नै उत्तर थियो ।
लामो मौनपछि उसले भन्यो— “म सम्झौता गर्छु,” सरले सास फे¥यो ।
तर उसले अर्को वाक्य थप्यो— “तर सत्यसँग होइन, सिस्टमसँग ।”
सरले बुझ्न ढिलो ग¥यो— यो आत्मसमर्पण होइन, रणनीतिक विराम थियो ।
भोलिपल्ट केही नाम हराए । केही मुद्दा थामिए ।
देशले सोच्यो— खेल सकियो ।
तर यो त अन्त्य होइन, आँधीअघि आएको असहज शान्ति मात्र थियो ।
–––
(पूर्वसंकेत) ः नजिकको छायाँ
–––
विश्वासघात अचानक हुने घटना होइन ।
यो त धेरै पहिले मुस्कानभित्र लुकेको निर्णय हो ।
ऊ सधैँ सँगै थियो ।
सभा तयारीमा, रणनीतिक बैठकमा, मिडिया सूचीकै छेउमा ।
नाम थियो— अर्जुन ।
बोल्नेभन्दा सुन्ने मान्छे ।
“अर्जुन केही कम बोल्छ,” कसैले भन्थ्यो ।
तर कसैले यो कहिल्यै सोचेको थिएन— ऊ धेरै सुन्छ ।
सम्झौताको रात अर्जुन बाहिर कुर्दै थियो ।
ढोका खुलेपछि उसले सोध्यो— “सबै ठीक भयो ?”
ऊ क्षणभर रोकियो । “ठीक देखिएको जति सरल हुँदैन,” यति मात्र भन्यो ।
अर्जुनले टाउको हल्लायो ।
त्यो सहमति थियो कि गणना— कुनैले बुझेन ।
त्यसपछि सानातिना कुराहरू देखिन थाले ।
पत्रकारले सोध्नै नपर्ने प्रश्नहरू, विरोधीको चाल एक कदम अगावै थाहा हुनु । बैठकका निर्णय बाहिर चुहिनु संयोग जस्तो लाग्थ्यो ।
तर राजनीति संयोगमा चल्दैन ।
एक साँझ उसले अर्जुनलाई सोध्यो— “तिमी थाक्यौ ?”
अर्जुन हाँस्यो । “थाकाइ आदर्श राख्नेहरूलाई हुन्छ,”
उसले भन्यो, “व्यवहारिकहरू बाँच्न जान्छन् ।”
त्यो वाक्य सामान्य थियो तर अर्थ गहिरो ।
त्यही रात सरको सचिवालयमा एक अपरिचित मान्छे भित्रियो ।
फाइल साटियो । नाम उल्लेख भएन तर फाइलको छेउमा एउटा सानो चिन्ह थियो— अर्जुनकै हातले बनाउने चिन्ह ।
अर्को दिन एउटा निर्णायक कार्यक्रमको मिति अचानक परिवर्तन भयो ।
“कसले भन्यो ?” उसले सोध्यो ।
सबैले एकअर्कातिर हेरे । अर्जुन मौन थियो ।
मौन अब शान्त थिएन— सन्देह थियो ।
उसले डायरीमा लेख्यो— “शत्रु अगाडि हुँदा लड्न सजिलो हुन्छ तर साथीको छायाँ सबैभन्दा खतरनाक हुन्छ ।”
अब यस्तो मोडमा पुग्यो— बाहिर सत्ता, भत्र मौन विश्वासघात र बीचमा इतिहास लेख्न खोजिरहेको एक व्यक्ति अर्जुन अझै खुला शत्रु बनेको छैन तर उसको उपस्थितिले आगामी ऐतिहासिक भिडन्त रक्तरञ्जित मात्र होइन, भावनात्मक रूपमा विनाशकारी हुने संकेत दिइसकेको छ ।
–––
मूल्य तोकिएको मौन
–––
कसैले पनि विश्वासघातको मूल्य एकैपटक तय गर्दैन । पहिले डर देखाइन्छ पछि पैसाले ढाकिन्छ ।
अर्जुनको मोबाइल राति २ः१७ मा बज्यो ।
“हामीलाई थाहा छ तिम्रो छोरा कुन स्कुल जान्छ,” उताबाट आएको स्वर शान्त थियो ।
फोन काटियो ।
अर्जुनले लामो सास फे¥यो । डर पहिलो चोटि उसको आँखामा देखियो।
भोलिपल्ट उसको खातामा एकैचोटि धेरै शून्यहरू देखिए ।
सन्देश थियो— “सुरक्षाको अग्रिम ।”
ऊ स्क्रिन हेरेर मुस्कुरायो तर त्यो मुस्कान खुसीको थिएन— आत्मसमर्पणको थियो ।
त्यस दिनको बैठकमा उसले एउटै वाक्य भन्यो— “अहिले भिडन्त नगर्नु नै ठीक हुन्छ ।”
वाक्य साधारण थियो तर प्रभाव निर्णायक ।
रणनीति बद्लियो । समय खेर गयो ।
त्यो रात उसले सरको मान्छेलाई भेट्यो ।
“यो अन्तिम हो,” अर्जुनले भन्यो ।
“अन्तिम सधैँ अर्को सुरुवात हुन्छ,” उताबाट जवाफ आयो ।
थप फाइल साटियो । थप रकम सरे ।
तर डर पैसाले पनि पूर्ण रूपमा किन्न सक्दैन ।
अर्जुनलाई थाहा थियो— यदि सत्य बाहिर आयो भने ऊ दुवैतर्फबाट नष्ट हुनेछ ।
ऐतिहासिक भिडन्तको अघिल्लो दिन ।
उसले उसलाई हेरेर भन्यो— “हामी सही गरिरहेका छौँ ?”
प्रश्न साँचो थियो तर ढिलो ।
उसले केही क्षण अर्जुनलाई नियालेर हे¥यो । “तिमी डराएका छौ,” उसले भन्यो, “तर डर बेच्नु पर्दैनथ्यो ।”
अर्जुनको ओठ काँप्यो तर ऊ केही बोल्न सकेन ।
त्यही रात सबै प्रमाण एकैचोटि बाहिरियो ।
बैंक ट्रान्सफर । कल रेकर्ड । फाइलको चिन्ह ।
देश स्तब्ध भयो ।
अर्जुन अब नायक थिएन, न पूर्ण खलनायक ।
ऊ प्रणालीले पिसेको एउटा कमजोर मान्छे थियो— तर त्यसले गरेको निर्णयले इतिहासको धार रगततर्फ मोडिदिएको थियो ।
अब आइसक्यो अन्तिम अध्याय— जहाँ विश्वासघातको मूल्य सडकमा तिर्नेछ, र ऐतिहासिक भिडन्त कुनै पात्रले होइन, जनताले निर्णय गर्नेछ ।
–––
जब सडक बोल्छ
–––
इतिहास कहिल्यै सभा कोठामा टुंगिँदैन ।
इतिहास सडकमा निर्णय हुन्छ ।
त्यो बिहान सहर अस्वाभाविक रूपमा शान्त थियो ।
शान्ति आँधीअघि आउने सबैभन्दा डरलाग्दो संकेत ।
पहिलो नारा कसैले नेतृत्व गरेन ।
आफैँ उठ्यो— “अब पुग्यो !”
त्यसपछि मानिसहरू आए । काम छोडेर, डर बिसाएर, नाम बिनाका अनुहार लिएर ।
उसले मञ्च चढेन । “आज म बोल्दिन,” उसले माइक छोड्दै भन्यो, “आज तपाईंहरू बोल्नुहोस् ।”
यो वाक्य सत्ता कम्पन गराउने संकेत थियो ।
संसद भवन घेरियो ।
भित्र सरले झ्यालबाट हेर्दै भन्यो— “यो आन्दोलन होइन,”
उसको स्वर फुसफुसिएको थियो, “यो चेतावनी हो ।”
अर्जुन भीडको छेउमा उभिएको थियो । उसको हात काँपिरहेको थियो ।
फोनमा सन्देश आयो— “अब तिमी काम लाग्दैनौ ।”
डरले किनिएको मान्छे अन्ततः डरकै कारण त्यागिन्छ ।
पहिलो धक्का कसले दियो कसैले देखेन तर एक धक्का हजारौँ आवाज बन्यो ।
आँसु ग्यास हावामा फैलियो तर भीड पछाडि हटेन ।
कसैले चिच्यायो— “हामी यहीँ छौँ !”
उसले टाढाबाट हेर्दै मनमनै भन्यो— “अब यो मेरो कथा होइन ।”
क्यामेराहरू अचानक बन्द भए नेटवर्क काटियो ।
तर इतिहास रिकर्ड हुन छोडेन ।
साँझ पर्दा सहर अझै उभिएको थियो । न त सत्ता जितेको घोषणा भयो, न त आन्दोलन हा¥यो ।
एक वृद्ध ढुंगामाथि उभिएर भन्छ— “हामी आज जितेनौँ,”
उसको स्वर काँप्छ, “तर अब हामी फेरि चुप लाग्दैनौँ ।”
भीड गर्जियो ।
कथा यहाँ रोकिन्छ किनकि यस्ता कथाहरू अन्त्यसँग होइन, निरन्तरतासँग जोडिएका हुन्छन् ।
–––
जब इतिहासले बाटो फेर्छ
–––
कहिलेकाहीँ जनताको क्रोध आगो हुँदैन— ऊ त समुद्र हुन्छ । आगो निभ्न सक्छ तर समुद्रले किनारै सारिदिन्छ ।
त्यो दिन सहर मात्र होइन, देश हल्लिएको थियो ।
सडकहरू जनताले ढाकिएका थिए— न पार्टीको झण्डा, न नेताको फोटो । केवल जनता ।
कामदारका हात, विद्यार्थीका स्वर, किसानका खुट्टाका छाला, आमाका आँखाका आँसु ।
यो भीड कसैले बोलाएर आएको थिएन । यो भीड आफैँ आफ्नो अपमान सहन गर्न नसकेर बोकेर आएको थियो ।
सुरक्षाकर्मीहरू अगाडि थिए । उनीहरूका अनुहारमा द्वन्द्व थियो— आदेश र आत्माको द्वन्द्व ।
भीडबाट आवाज आयो— “हामी तपाईंका शत्रु होइनौँ ।”
एक सेकेन्डका लागि समय रोकियो ।
त्यही क्षण ऊ अगाडि आयो ।
कुनै मञ्च थिएन । कुनै माइक थिएन तर हावाले नै उसको स्वर बोकेको थियो ।
“आज,” उसले भन्यो, “हामी सत्ता लिन आएका छैनौँ ।”
भीड शान्त भयो ।
“आज हामी सत्ता उसको ठाउँमा राख्न आएका छौँ— जहाँबाट उनीहरूले चोरेका थिए , लुटपाट गरेका पिथए, भ्रष्टाचार गरेका थिए ।”
यो वाक्य नारा बनेन ।
यो त प्रतिज्ञा बन्यो ।
संसदभित्र सर बसेको थियो ।
झ्यालबाट मानिसको समुद्र देख्दा उसले पहिलो पटक बुझ्यो— शक्ति उसको कुर्सीमा थिएन । शक्ति त्यो कुर्सी अस्वीकार गर्ने मानिसमा थियो ।
अर्जुन भीडको बीचमा घुँडा टेकेर बसेको थियो ।
उसका हात रित्तै थिए । उसको डर अब उसकै अगाडि उभिएको थियो ।
तर भीड उसलाई कुल्चिएन ।
कसैले भन्यो— “हामी बदला होइन, भविष्य बनाउँदैछौँ ।”
अर्जुन रोयो ।
र त्यो आँसु यस कथाको सबैभन्दा मौन स्वीकारोक्ति थियो ।
निर्णायक क्षण कुनै गोलीले आएन । कुनै गिरफ्तारीले आएन । निर्णायक क्षण त्यस बेला आयो जब सुरक्षाकर्मीले हेलमेट खोले ।
एक ।
अर्को ।
फेरि अर्को ।
भीड गर्जिएन । भीड गम्भीर भयो । किनकि त्यो क्षण क्रान्ति होइन— परिवर्तन थियो ।
उसले अन्तिम पटक भीडतिर हेर्दै भन्यो— “आज तपाईंहरूले मलाई जिताउनु भएको छैन ।”
ऊ लामो सास फेर्छ । सुस्केृरा हाल्छ ।
“आज तपाईंहरूले आफूलाई फिर्ता पाउनु भएको छ ।”
साँझ पर्दा सहर उज्यालो थियो । बत्तीले होइन— आशाले ।
कुनै घोषणा भएन । कुनै विजय–सभा भएन तर हरेक घरमा एउटै अनुभूति थियो— अब हामी फेरि
पहिलाजस्तो रहने छैनौँ ।
इतिहास त्यो दिन नयाँ प्रभातको अध्यायमा छि¥यो ।
नायकको नामले होइन, जनताको चेतनाले ।
भोलिपल्ट बिहान त्यही चौतारो— जहाँ वर्षौँअघि एउटा वृद्ध ढलेको थियो । आज त्यही चौतारोमा मानिसहरू बसेका थिए । कोही भाषण दिँदै थिएन । सबैले एक–अर्कालाई सुन्दै थिए र त्यही मौन संवादमा यो कथा पूरा हुन्छ किनकि जहाँ जनताले सुन्न सुरु गर्छन्— त्यहीँबाट साँचो राजनीति सुरु हुन्छ ।
✦✦✦
हो जनप्रवाह त्यही हो । अवशय त्यही हो । नदी अन्ततः ठूलो मैदानमा आइपुग्छ । अब ऊ एक्लै छैन । सानासाना खोल्साहरू उसमा मिसिएका छन् —नीलो क्यानभासमा सगरको चित्र उतार्दै कुनै आवाज बिना, कुनै दाबी बिना, कुनै दोष विना ।
✦✦✦
यहाँ ढुंगा कम छन् । रोकावट कम छन् । नदीको स्वर अब सललल होइन— गम्भीर छ ।
✦✦✦
किनार फैलिएको छ । पहिले घाँस मात्र थियो, अब हरियाली बहार छ । बीउ अहिल्यै उम्रिएको छैन तर माटो तयार छ ।
✦✦✦
हावा अब तेज छैन । शित्तल छ । सङ्लो छ । तर प्राणलाई ऊर्जा दिन निरन्तर पनि छ । जुन हावा कहिल्यै चिच्याउँदैन, तर दिशा बदलिदिन्छ ।
✦✦✦
आकाश खुला छ । शूण्य, बृहदर अनि सबभनदा सानो पनि । बादल अब डरलाग्दो छैन । रवि सीधा पर्छ— सेतो कपासको वातीमा लुक्दै होइन ।
✦✦✦
जहाँ प्रकृति राजनीति बनेको छैन, तर राजनीति प्रकृतिको लय सिक्न बाध्य भएको छ ।
✦✦✦
नदी बगिरहेकै छ र अब कसैले उसलाई फर्काउन खोज्दैन र फर्काउन सक्दैन पनि ।
कथा टुंगियो तर बहाव जारी छ ।
नदी बाढी बनेको छैन तर फर्किनेवाला पनि छैन । ऊ समयको जङ्ग हो । सत्यको सङ्ग हो । हरेकको उमङ्ग हो, होश खुलाउने, जागृत गराउने, परमसुन्दरी पुरै संरचना मदहोश गराउने । उसले किनार भत्काउँदैन— बरु ऊ किनारै बदल्छ ।
✦✦✦
जल हो ऊ । पानीमा मान्छेको छायाँ देखिँदैन तर मान्छेको इतिहास निरन्तर जनता बनी बगिरहेको छ ।
✦✦✦
टाढा समुद्र छैन । हो असित्त्व छ अस्तित्तव तर दिशा छ । कम्पास उसको मनमुटुमा छ ।
✦✦✦
यही अटल बहावलाई एउटा नाम दिइएको छ— जनप्रवाह ।