द्रष्टा साहित्यकार पनि स्रष्टासरह नै संसार र समाजबारे उस्तै धारणा राख्दछ। वास्तवमा द्रष्टा पनि स्रष्टा नै हो। उसले पनि देखेको कुरा आलोचना लेख्छ। स्रष्टाको सिर्जनाको आलोचना गर्दछ।लेखेको कुरा देखेर फेरि लेख्छ। सर्जकको कृतिबारे अर्को पक्षबाट हेर्दा स्रष्टा पनि द्रष्टा नै जसले समाज र संसार देखेर कृति लेख्छ। दुवै साहित्यकार हुन्, सर्जक हुन, द्रष्टा हुन्। समाज र संसारका हितकारी हुन् र मानवताका रखवाला हुन्। सुन्दर सिर्जनाका सर्जक हुन्। साहित्यकार हुनु नै ठुलो कुरा हो। साहित्यिक सिर्जना प्रतिभा नहुने कदापि साहित्यकार बन्न सक्दैन सर्जक बन्न सक्दैन र समीक्षक पनि बन्न सक्दैन। उ भीड़भित्र हुन्छ तर उसको मस्तिष्क भीड़भन्दा बाहिर हुन्छ। अरूले नदेखेका कुरा उसले देख्न सक्दछ। उ चिन्तन विचार मनस्थिति आदि कुरामा आममान्छेभन्दामाथि हुन्छ। समाजमा सम्मानित भएर बस्न पनि सक्छ वा नबस्न पनि सक्छ। समाज, संसार र जीवन दर्शन गरेर आफ्नो जीवन जिउँछ। बाहिरी खोलमा उ सामान्य लागे पनि उ मानसिक संसारमा भिन्नै हुन्छ। उ समाजको सबैभन्दा सचेत, शुभचिन्तक हो। उ समाजभन्दा अघि हुन्छ, समाजको अग्रणी हुन्छ।
नेपाली साहित्यको प्रसङ्गमा हेर्दा अहिले घडीमा नेपाल र भारत दुवैतिरबाट साहित्य सेवीहरूलाई विभिन्न पुरस्कार दिएर सम्मानित गर्ने चलन बढेको छ। कुनै पुरस्कार निजी तवरबाट कुनै संस्थागत र कुनै सरकारी तवरबाट प्रदान गरी सर्जकलाई सम्मान गरिन्छ। यो बडो राम्रो कुरा हो। नेपालका विभिन्न साहित्यिक पुरस्कारहरू सरकारी तवरबाट प्रदान गरिन्छ भने यता भारतबाट पनि साहित्य एकाडेमी पुरस्कार प्रमुख रूपमा रहेको छ। ज्ञानपीठ पुरस्कार र सरस्वती सम्मानका निम्ति पनि नेपाली साहित्य स्वीकृत छ तर हालसम्म यी दुई पुरस्कार भारतीय नेपाली साहित्य सर्जकले पाएको छैन। नेपाली साहित्यकारमा सेवा गरेवापत भारतको पद्मश्री पनि पाएका छन्। यीबाहेक अन्य धेरै पुरस्कार रहेका छन्।
साहित्यकारको महत्त्व, गरिमा र योगदानको कदर गर्ने चलन पनि नभएको होइन। साहित्यकारका सिर्जनालाई स्यावासी गरिन्छ, इनाम दिइन्छ। समाजले साहित्यिक योगदानलाई हेरिरहेको हुन्छ, तौलिरहेको हुन्छ, निरीक्षण गरिरहेको र मूल्याङ्कन गरिरहेको हुन्छ। साहित्य लेखन साधना हो, लहड़मात्र नभएर कर्तव्य पनि हो। विकृतिको अन्त्यको चाहना हो, बिग्रेकोलाई सच्याउनु हो, समाजलाई सत र असत चिनाउनु हो। नेपाली साहित्यको प्रसङ्गमा मदन पुरस्कार र भारतमा साहित्य एकाडमी पुरस्कारको बेलामा निकै तरङ्ग चल्छ। पुरस्कार जसको नाममा घोषणा भए पनि विवाद त उठिहाल्छ, शङ्का उपशङ्का उब्जिहाल्छ। कोहीबेला त यस्तो स्थिति बनिन्छ कि पुरस्कार पाउने पनि बित्थामा पाएछु भन्नेसम्म लाग्छ
साहित्यमा पुरस्कार एउटा प्रेरणाको कुरा हो, लेखकको मूल्याङ्कन हो। समाजमा साहित्यिक मान्यता हो। पुरस्कार पवित्र हुन्छ र हुनुपर्दछ। यसभित्र मानस्मान, मर्यादा, मान्यता, मूल्याङ्कन, समीक्षण, तुलना आदि सबै थोक समेटिएको हुन्छ। पुरस्कार सम्मानकै एउटा अङ्ग हो। सरकारी, संस्थागत, व्यक्तिगत आदि तवरबाट पुरस्कार प्रदान गरिन्छ। त्यसमा पनि सरकारी स्तरबाट पुरस्कार पाउनु बऩेको सबैभन्दा ठुलो सम्मान हो। साहित्यमा जस्तै समाजसेवा, चलचित्रसेवा, राष्ट्रसेवा, कलासेवा आदि क्षेत्रमा पुरस्कार दिइन्छ। जति बेसी राशिको पुरस्कार हो त्यति नै त्यसको महत्त्व र प्रभाव बढ्दछ। यद्यपि पुरस्कार पुरस्कार नै हो, धनराशीसित मिसाउनु हुँदैन पनि भनिन्छ। यद्यपि व्यवहारिक रूपमा धेरै धनराशी भएको पुरस्कार पाउनुलाई नै महत्त्वपूर्ण मानिन्छ।
यद्यपि अचेल साहित्यिक पुरस्कारसमेत विवादमा मुछिएको छ। यसको सङ्लोपनमा धमिलोपन आएको छ। पुरस्कार पाउने होड़ भएको छ। पुरस्कार किनिने कुरा भयो, मागेर पाउने कुरा भयो, धाएर थाप्ने कुरा भयो, लबी लाएर पाउने कुरा भयो। पुरस्कारको महिमा र गरिमा घटेको छ। पुरस्कारका सङख्या बढ्नुका साथै त्यसको गरिमा पनि घट्दो नै छ। पाउनेले पाएको पाएकै नपाउनेले नपाएको नपाएको स्थिति पनि हुन्छ। पुरस्कार पाउनेले म पुरस्कार पाउँदैछु भन्ने पहिले थाहा पनि हुनुहुँदैन। एकैचोटि निर्णायक समिति वा आयोजक समितिले घङोषणा गर्दा मात्र पुरस्कार पाउने थाहा पाएको राम्रो हो। जस्तो नेपाली साहित्य अध्यन समितिले वार्षिक रूपमा प्रदान गरिने डा पारसमणि प्रधान पुरस्कार र भाइचन्द प्रधान पुरस्कार समितिको घोषणाबाट मात्र प्रापकले थाह पाउने गर्दछ। यसकारण पुर्साकर एकदमै निस्वार्थ, निष्कलङ्क, विवेकपूर्ण हुनुपर्दछ। सर्जकलाई जति पनि मान सम्मान पुरस्कार दिनुपर्छ भने उ जिउँदैमा दिनुपर्दछ।
कतिपय पुरस्कारका निम्ति चार चार प्रति कृतिको आह्वान गरेको देख्न सुन्न पाइन्छ। यो पनि पुरस्कार दिने गलत तरिका हो। मेरो कृति पुरस्कृत होस् भन्ने प्रलोभनमा पर्नेहरू र नपर्नेहरू पनि हुन्छन्। कतिपय राम्रो लेख्ऩे लेखकहरू आफुलाई बेसी प्रदर्शन गर्न, विज्ञापन गर्न रूचाउँदैनन्। यस्ता सच्चा लेखकहरू भने पुरस्कार पाउनबाट बञ्चित हुन्छन्। उनीहरूमाथि अन्याय हुन्छ। यद्यपि पुरस्कार पाउन बढ़ी लालसा राख्ने सामान्य लेखकहरूले भने आफ्ना पुस्तकहरू पठाइसकेका र पुरसकार अँठ्याइसकेका हुन्छ। गर्ने हनुमान पगरी गुँथ्ने ढेँडु भनेजस्तो हुन्छ। सुनको अघि तामा बहुमूल्य हुन्छ, हीराको महत्त्वभन्दा फलामको महत्त्व बढी हुन्छ।
पुरस्कार कसलाई दिनुपर्छ भन्ने कुरामा समाजले विचार गर्नुपर्दछ। साहित्यिक पुरस्कार कस्तालाई दिनुपर्ने भन्ने कुराको विवेक जाँचकहरूमा हुनुपर्दछ। जाँचकहरूले सम्बन्धित कृति वा कृतिकारका बारेमा गम्भीर अध्ययन गरेर सही मूल्याङ्कन गरिएको हुनपर्दछ। यसका निम्ति ज्यूरीमा पनि राम्रो समीक्षात्मक दृष्टिकोण, निष्पक्षता, तुलनात्मकता, निस्वार्थता, गहन निरीक्षण जस्ता गुण हुनुपर्दछ। पुरस्कार पाउनेलगायत यतिसम्म कि आयोजक समितिसमेतले घोषणा नहुन्जेलसम्म थाहा नै नपाएको राम्रो हुन्छ। निर्णायकको भूमिका नै तटस्थता, निस्वार्थता, निष्पक्ष रही सर्वोपरी भएको हुनु नै उत्तम हो। यद्यपि यस्ता गुणहरू नभएर अनर्थ हुनेछ। पुरस्कार त सय योगदान दिनेलाई नदिएर पाँच योगदान दिनेलाई दिनु उचित हुँदैन। अथवा बढी योगदान दिनेलाई भन्दा सामान्य योगदान दिनु उचित होइन। पुरस्कारदाता, जाँचक, संस्थागत पदाधिकारी आदि सबै पक्ष निष्पक्ष र तटस्थता हुनुपर्दछ, तुच्छ स्वार्थभन्दा माथि उठेर प्रस्तुत हुन सक्नुपर्दछ। तब पो साहित्यको सच्चा सेवा हो।
आफ्नो मान्छे र पक्षकालाई च्यापेर, पैसा, कोसेली आदि थापेर पुरस्कार दिनु पनि कदापि साधुपन होइन। पुरस्कार नातावाद कृपावाद, स्वार्थवाद आदिले प्रभावित हुनुहुँदैन। म पुरस्कारका निम्ति लेख्छु भन्नु पनि गलत होस मलाई पुरस्कार दिएर गुनसो गर्नु पनि पाप हो, मैले पुरस्कार पाउनैपर्छ भन्ने दावी गर्नु गर्नु पाप हो। पुरस्कार त पाउने पनि मैले पाउने रहेछु भन्ने कुरा थाहा पनि नहोस्, तपाईंलाई पुरस्कार दिँदैछु भन्ने कुरा पनि थाहा नदिएको राम्रो हो।
पुरस्कारका प्रसङ्गमा यसलाई दुई कोटीमा वर्गीकरण गर्न सकिन्छ- पाउनैपर्ने सर्जकलाई पुरस्कृत गर्नु र विभिन्न सम्बन्धका कारणले पुरस्कार दिनुपर्ने सर्जक। हामी आमजनतालाई अघिल्लो कोटिको पुरस्कार मन पर्छ, पछिल्लो किसिमको उचित लाग्दैन। साधनारत र गम्भीर सर्जकहरूले पछिल्लो किसिमको पछि लाग्दैन। यदि समाज जाँचक संस्था, व्यक्ति सबै पक्षबाट अनुकूल रहे अघिल्लो कोटिको पुरस्कारकै पक्षमा रहेका हुन उचित हुन्छ।
नेपाली साहित्यिक समाजको कुरा गर्नुपर्दा अहिले साहित्यिक पुरस्कारका सङ्ख्या कति धेरै बढिसकेका छन्। यदि नेपाली साहित्यको शुरूआतमा यस्ता पुरस्कार दिने प्रचलन भए लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, रूद्रराज पाण्डे, विश्वेश्वरप्रसाद कोइरालाहरूले कति पाउँथे होलान् ? त्यो जमाना त यस्ता लेखक कविहरू त पुरस्कृत भएकै थिएनन् भन्दा हुन्छ। कविशिरोमणि लेखनाथ पौड्याल भने २०१० मा रथारोहण गराएर सम्मानित भएका हुन् तर पुरस्कार पाएका थिएनन्। लक्ष्मीप्रसाद देवकोटाले पनि खासै पुरस्कर पाएका थिएनन्। अहिलेको जमाना यस्ता लेखकहरू भए कति पुरस्कृत हुन्थे होलान्। तर अर्को कुरा छ, अहिले पनि यस्ता महान लेखकहरू जिवीत रहे शायद लबी सिफारिस र नाता-कृपावादमा परेर पुरस्कार पाउँदैन पो थिए कि? उनीहरू पनि यस्ता विभिन्न पुरस्कारबाट बञ्चित हुन्थे होलान् कि ? हाम्रो साहित्यमा केही महान साहित्यकारले पुरस्कार पाउऩ अझै वञ्चित छन् कि राम्रोसँग चिन्नुपर्दछ।
नपाउनु पर्नेले पुरस्कार पाउने र पाउऩुपर्नेले नपाउने विडम्बनाको जन्म भएको पनि छ। यद्यपि कति पुरस्कार त दिन योग्य मान्छेलाई पनि नभेटिएको इतिहास पनि छ। नोबेल पुरस्कार दिनेले त कोही बेला चुक गरेको हुन्छ भन्छन्। महात्मा गान्धीलाई नोबेल शान्ति पुरस्कार नदिएकै हो कि जस्तो लाग्छ। नेपाली साहित्यको सबैभन्दा गरिमामय मानिने मदन पुरस्कार पनि कोही बेला विवाद भएको सुनेकै हो। कोही बेला कुनै कुनै पुरस्कार चैं तेरो रकम चैं मेरो, म तलाईँ दिलाउँला भन्ने हल्ला भएको सुनेकै हो। राष्ट्रिय पुरस्कार, क्षेत्रीय पुरस्कार र स्थानीय पुरस्कारहरूको सङ्ख्या निकै बढेको छ। कसैले मृतक आफन्तको नाम जस्तै बाबु-आमाको नाममा पनि पुरस्कार दिने चलन बढेको छ। यसमा पुरस्कार लिनेदिने दुवैलाई यशलाभ हुनसक्छ। यदि पुरस्कार लिने र दिने दुवैको इरादा र नियत सफा छैन भने दुवैको लेनदेनमा परिणत हुन्छ। सामान्य रूपमा पुरस्कार धेरै हुनु भने साहित्यका निम्ति शुभसंकेत हो। पुरस्कार पाएर लेख्नेको लेखन उर्जा बढ्दा, लेखकको मूल्याङ्कन हुन्छ, प्रतिभाको कदर हुन्छ, हीरा चिन्नै काम हुन्छ। यद्यपि कोही बेला बढी पुरस्कार पनि साहित्यका निम्ति हानिकारक नै हुन्छ। साहित्यकारले पुरस्कार उच्छिट्याउनका निम्ति यदि लेख्नथाले भने साहित्यलाई ठुलो नोक्सानी हुन्छ। पुरस्कारको मानहानि हुन्छ, सक्कली प्रतिभाको भन्दा नक्कली प्रतिभाको कदर हुन्छ। लोभ बढ्छ, कीर्तिलिप्सा बढ्छ, मानसम्मान र खदामाला पाउने तृष्णा बढ्छ।
नेपाली साहित्यकै प्रसङ्गमा हेर्नु हो भने नेपाल र भारतभरिमा धेरै पुरस्कारहरू रहेका छन्। कोहीबेला नेपालका पुरस्कार भारतका नेपाली साहित्यकारले पनि भेट्छ भने भारतको पुरस्कार नेपालका नेपाली सर्जकले पनि पाएको हुन्छ। कुनै अन्तर्राष्ट्रिय पुरस्कार भनेर विश्वभरीका नेपाली साहित्यका लेखकहरू पनि पुरस्कृत-सम्मानित भएका छन्। यसो हुनु राम्रो हो। यदि यो परम्परा अझ सुदृढ भएर जानु हो भने नेपाली साहित्य विश्वव्यापी साहित्य हो, हामी पनि पनि कुनै कुराको कमी छैनौं भन्ने कुराको संकेत हुँदछ। हाम्रा पुस्तकहरू विश्वभरिका नेपालीभाषीले पढ्नु, विश्वभरी चर्चा चलोस्, विश्वव्यापी पुरस्कार प्राप्त होस् भन्ने सबै चाहना हो। पुरस्कार पाएर पुरस्कृत व्यक्तित्व पनि आफुले पाएका गर्वबोध गरोस् तर यस्तो नहोस् कि मैले बित्थामा पाएछु भन्ने अनुतापबोध नहोस्।