को बलवान् ?

निबन्ध डा. टीकाराम पोखरेल January 12, 2026, 8:18 am

डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल
मान्छे शक्तिशाली कि समय ? के प्रकृति र समयलाई मान्छेले जित्न सक्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । उत्तर नभएको पनि होइन । तर तरबार बलियो कि कलम ? ज्ञान र विज्ञान कुन ठूलो ? अध्यात्मवाद ठूलो कि भौतिकवाद ? बल ठूलो कि बुद्धि ठूलो ? भनेर डमी विषय खडा गर्दै विद्यार्थीलाई वादविवाद गराएर जसले जुन पक्षमा तर्क गर्न सक्छ त्यही ठूलो भने जस्तोे डमी बहस पनि यो होइन ।

विद्यालयको वादविवादमा डमी विषय र डमी तर्क हुन्थ्यो । सत्यताभन्दा बढी तर्क क्षमताको आधारमा त्यही विषय बलियो ठहरिन्थ्यो । विषय सानो ठूलो त तर्कले हुने होइन, महत्वले हुने हो । तर विद्यालयको वादविवादमा ठूलोसानो जाहिँको त्यहीँ हुन्थ्यो । पुरस्कार चाहिँ तर्क धेरै गर्न सक्नेले जित्थ्यो । बोल्नेको पीठो पनि विक्छ भने झैँ । तर यहाँ न विषय डमी हो न तर्क डमी हो । न त बोलेर पीठो बिकाउन खोजिएको हो ।

हरेक कुराको आआफ्नो ठाउँमा महत्व छ । यो तर्क मान्ने हो भने आआफ्नो ठाउँमा सबै बलवान् छन् र सबै कमजोर छन् । कमजोर र बलवान् निरपेक्षभन्दा बढी सापेक्ष कुरा हो । कुन बलियो भन्नेमा सबैको तर्क पनि आआफ्नै छन् । विचार र बुझाईको विविधताको दुनियाँमा तर्कको के कमी ? के अर्थमा मान्छे शक्तिशाली वा कमजोर, अनि के अर्थमा समय शक्तिशाली वा कमजोर ? केही तर्कहरू छन् । कसैका लागि यी तर्क लाग्न सक्छन्, कसैका लागि कुतर्क, कसैका लागि समय कटाउने मेलो, कसैले बुझ्लान् बसिबियाँलो र कसैले बुझ्लान बुद्धिविलासको खेल । जसका बुझाई र बहस जे भए पनि यो अरूका बुझाइमाथिको प्रतिबहस चाहिँ होइन ।

भनिन्छ– मान्छेले ज्ञानमाथि पकड जमायो, विज्ञानका नयाँनयाँ आविष्कार ग¥यो । खोज ग¥यो । अनुसन्धान ग¥यो । संसारलाई अकल्पनीय विकासको शिखरमा पु¥यायो । समुन्द्रमाथि विजय प्राप्त ग¥यो । धरतीमाथि विजय प्राप्त ग¥यो । यान बनायो । अन्तरिक्षको यात्रा ग¥यो । अन्तरिक्षमाथि विजय प्राप्त ग¥यो । सरसर्ती हेर्दा लाग्छ– मान्छेले विजय प्राप्त गर्न के नै बाँकी छ र ? सबैमाथि विजय प्राप्त गर्ने मान्छे बलवान् नभएर अरू को बलवान् होला ? प्रश्नको उत्तर सजिलो छ, मान्छे सबैभन्दा बलवान् छ ।

मान्छे बलवान् देखिने अरू पनि धेरै कारण छन् । मान्छेले भौतिक प्रगति मात्र होइन, अध्यात्ममा पनि ठूलो फड्को मा¥यो । आफैँभित्रका काम क्रोध, लोभ, मोहमाथि विजय प्राप्त गर्नुपर्छ भन्ने दर्शनको विकास मात्र गरेन, केहीले त आफूले काम क्रोध, लोभ, मोहमाथि विजय प्राप्त गरेको घोषणा नै गरे । केहीले अध्यात्मको गहिराईमा त केहीले भौतिक प्रगतिको शिखरमा पुगेको घोषणा गरे । मानव जातिले पृथ्वीमाथि मात्र होइन अन्तरिक्षमा समेत विजयप्राप्त गरेको शङ्खघोष नै ग¥यो । र भन्यो– संसारमा मानिसजत्तिको सभ्य, बलवान, चेतनशील अरू प्राणी छैन ।

प्रकृतिको सृष्टि हो मान्छे । तर मान्छेले आफूलाई सिर्जना गर्ने प्रकृतिमाथि नै चुनौती थप्यो । पृथ्वीको सम्पूर्ण स्रोत र साधन मात्र होइन अरू प्राणीको जीवन पनि मान्छेले आफ्नो कब्जामा लियो । पृथ्वीका मान्छे बाहेकका अरू प्राणी मान्छेको निगाहमा मात्र बाँच्न पाउने भए । अरू केही प्राणीले मान्छेलाई आक्रमण गर्ने वा मार्न सक्ने भए पनि झुक्याएर मात्र आक्रमण गर्न र मार्न सक्थे । तर मान्छे यति शक्तिशाली भयो कि, उसले चाहेको बेला ऊभन्दा भिमकाय तौल र बल भएको प्राणीको सजिलै हत्या गर्न सक्ने भयो । योजनाबद्ध अरूको हत्या गर्न मान्छे मात्र सक्षम भयो । अरू प्राणीले त आकस्मिक मात्र यस्तो हिंसा गर्न सक्ने भए । अनि सबैभन्दा शक्तिशाली भएन त मान्छे ?

ओहो ! कति शक्तिबाली होला मान्छे, जसले सबैमाथि विजय प्राप्त ग¥यो । सम्पूर्ण प्राणीको जीवनहरण गर्ने वा जीवनदान दिने भन्ने अधिकार मान्छेसँग भयो । तर विचारा मान्छे ! स्वयम्को जीवन र मृत्युको अधिकार ऊ आफूसँग थिएन, छैन र हुने पनि छैन । अब को शक्तिशाली ? मान्छे शक्तिशाली भन्नेहरूको विचार धुलिसात हुँदैन र ?

त्यसो त मृत्युलाई जित्न के गरेन मान्छेले ? दीर्घ जीवन बाँच्ने उपाय खोज्यो । औषत आयु बढाएको तथ्याङ्क बनायो । मृत्युदर घटेका समाचार बनायो । तर खै त मृत्यु रोकेको ? मर्ने कसैलाई रहर हुँदैन, तर दीर्घ जीवन बाँच्ने मान्छेको रहर पूरा हुँदैन । आफ्नो भोजनका लागि होस् वा मनोरञ्जनका लागि वा अरू अनेकन बहानामा होस् रत्तिभर शङ्कोच नमानी अरू प्राणीको जीवन हरण गर्ने मान्छेले आफू भने मृत्युमुक्त हुनका लागि अनेक उपायको खोजी ग¥योे । औषधी बनायो, अस्पताल बनायो, आरोग्य हुन आरोग्य आश्रम बनायो । पूजापाठ गर्नेदेखि योगा र ध्यान ग¥यो । स्वास्थ्य र दीर्घायुका लागि यो गर, त्यो गर, ऊ गर भनेर अरूलाई उपदेश दियो । तर उपदेश सुन्नेका त कुरै छाडौँ, स्वयम् उपदेश दिने समेत एकदिन मर्नैपर्ने भयो । क्रस्तो बिडम्बना । जतिसुकै शक्तिशाली होस्, जतिसुकै धनी होस्, जतिसुकै ठूलो पदको होस्, मान्छे एक दिन अवश्य मर्छ, त्यो पनि आफूले नै थाहा नपाउने गरी । अनि गुमराहमा छैन त मान्छेको आयु ? जसको उमेर भोलिसम्म मात्र छ कि अझै दशकौँ बाँकी छ ? स्वयम्लाई थाहा छैन ।

जतिसुकै शक्तिशाली होस् वा वुद्धिमानी होस्, वदमास होस र वा शालीन होस् सबै एक दिन मर्दछन् । हिटलर र मुसोलिनी जस्ता शक्तिशाली तानाशाह मरे । नेपोलियन र सिकन्दर जस्ता विजेता पनि मरे । आधुनिक विश्वले महान् ठानेका दार्शनिकहरू सुकरात, एरिस्टोटल, माक्र्स, डार्विन, आइन्सटाइन, फ्रायड सबै माटोमा विलिन भए । कृष्ण मरे, बुद्ध मरे, क्राइष्ट मरे, मोहम्मद मरे, महावीर मरे, गान्धी मरे । पृथ्वीनारायण शाह मरे, जङ्गबहादुर मरे, जयपृथ्वी मरे, योगमाया मरिन् । कतिपय अध्यात्मिक धार्मिक व्यक्तिलाई उनीहरूको सम्प्रदायले जीवित ठाने पनि यस भौतिक संसारमा उनीहरू भेटिन्नन् ।

स्वतन्त्रताको वकालत गर्ने जे एस मिल मरे, निरङ्कुशताको वकालत गर्ने लुइ चौधौँहरू मरे । आसावादी पनि मरे, निराशावादी पनि मरे । मान्छेको मासु खाने क्रूरहरू पनि मरे, पानी मात्र खाने, फलफुल मात्र खाने, कन्दमूल मात्र खाने त्यागीहरू पनि सबै मरे । योगा गर्ने मरे, ध्यान गर्ने मरे । जिम गर्ने नि मरे, सुतिखाने पनि मरे, कर्म गर्ने पनि मरे । राजनीतिक नेता मरे, धार्मिक नेता मरे । योगी मरे, भोगी मरे । गुण्डा मरे, सज्जन मरे । मर्न बाँकी को छ र यो संसारमा ? कोही बाँकी छ भने मर्ने समय नआएका मात्र बाँकी छन् । समय आएपछि ती सबै मृत्युलाई अँगालो हालेर बाटो लाग्नेछन् । संसारका सबै रोगमाथि विजय प्राप्त गर्ने मान्छेले आफ्नै मृत्युमाथि किन विजय प्राप्त गर्न सकेन होला ? यो प्रश्न बाँकी छ ।

कालको बारेमा मान्छेले सबै जान्यो । कालको महिमामा कथा लेख्यो, कविता लेख्यो, निबन्ध लेख्यो, महाकाव्य लेख्यो, उपन्यास लेख्यो । तर कालले पालना गर्नुपर्ने कानून र आचारसंहिता मान्छेले किन लेख्न सकेन ? किन काललाई रोक्न सकेन । एकदिन मर्नुपर्छ भन्ने जान्दाजान्दै पनि मान्छेले आफूलाई मर्नबाट किन बचाउन सकेन ?

ओ निरिह मान्छे ! कायर मान्छे ! थुक्क मान्छे ।

आखिर एक दिन मर्नैपर्ने मान्छे बाँच्नका लागि भने फेरि किन यति लालयित छ ? बाँच्ने लालसा बोकेर लिखिरलिखिर हिँडिरहेछ मान्छे । अनि टिठलाग्दो अनुहार बोकेको हरेक मान्छे ठान्छ कि ‘मैले नै संसार धानेको हुँ । म भइँन भने त यो संसार चल्दै चल्दैन । मबाहेक यो संसार चलाउनयोग्य अर्को मान्छे छँदैछैन ।’ मान्छेको यस्तो नियति दया लाग्दो छैन त ? के सोच्छ मान्छ, के हुन्छ मान्छेको जिन्दगी ।

– मान्छेले प्रकृतिलाई जित्न सकेन ।

– मान्छेले समयलाई जित्न सकेन ।

– मान्छेले मृत्युलाई जित्न सकेन ।

मृत्यु, समय र प्रकृतिलाई जित्न मान्छेले प्रयास गरेन कि, जित्ने प्रयास ग¥यो, तर सकेन ? मान्छे ज्याद्रो स्वभावको छ, उसलाई जसरी पनि जित्नुपर्छ । जित्नुको अहम्तामा मान्छेले आफ्नो अस्तित्व ठानेको छ । त्यसैले मृत्यु, समय र प्रकृतिलाई पनि जित्ने प्रयास त किन गर्दैनथ्यो । तर मान्छेका सबै प्रयास असफल भए । त्यही भएर त मान्छे बाँच्ने जिजिविषालाई अँगालो हालेर लिखिरलिखिर घिस्रिरहेको छ नि । मृत्युमाथि विजय प्राप्त गरेको भए आजको मान्छे सारा ब्रह्माण्डमाथि धावा बोल्थ्यो होला, यसरी जुनसुकै बेला पनि आउनसक्ने आफ्नै मृत्युलाई अँगालो हालेर टिठलाग्दो अनुहारमा निरिह भएर हिँड्थ्यो होला र ?

प्रश्नहरू अझै बग्रेल्ती छन् । आज मान्छे सभ्यताको शिखरमा पुगेको शङ्खघोष गरिरहेछ । तर खै आजको मान्छेले असभ्य भनिएका आदिम युग, कृषि युग, वा ढुङ्गे युगका मान्छेको भन्दा आफ्नो आयु बढाएको ? हाम्रो दुईचार पुस्ता अगाडि विचरण गर्न हो भने पनि आजका पुस्ताका मान्छेभन्दा बढी उमेर बाँचेका थिए, हाम्रा पुर्खा ।

आफ्नै आयुको ठेगान नभएको आधुनिक भनिएको मान्छेले प्रकृतिलाई जित्न के पो गरेन । प्रकृतिले सिर्जना गरेको भन्दा ठूलो कृत्रिम ताल बनायो । नहर बनायो । खोलाको बाटो बदल्यो । भूकम्पमापन यन्त्र बनायो । मौसमको अनुमान लाउने मेशिन बनायो । तर खै आकाशको बादल हटाउन सकेको, खै त चाहेको बेला पानी पार्न सकेको ? खै भूकम्प रोकेको । खै पृथ्वीको घुम्ने गतिलाई ढीला वा चाँडो गर्न सकेको ? त्यसैले प्रकृतिका अगाडि मान्छेका विद्या सबै फोकट हुन् । ती सबै लघुविद्या हुन् । त्यसैले त एरिस्टोटलले भनेका होलान्– प्रकृति मात्र सत्य हो, मान्छेका सबै क्रियाकलाप प्रकृतिका अनुकरण हुन् ।

महाभारतका भीष्मलाई झैँ आजको मान्छेसँग इच्छामरणको शक्ति हुन्थ्यो भने मान्छे कति वर्ष बाँच्थ्यो होला ? सायद कहिल्यै मर्दैनथ्यो कि ? शतक उमेर पुगेर काल आउँदा समेत भ्यान्टिलेटरमा बसेर भए पनि बाँच्नका लागि सङ्घर्ष गर्ने मान्छे आफूले पाएको इच्छामरणको अचुक अस्त्र किन प्रयोग गर्दैनथ्यो होला र ? त्यही भएर त छट्टु मान्छेलाई प्रकृतिले अविनाशी शक्ति नदिएको होला नि ।

मान्छे सबैभन्दा लोभी केही कुरामा छ भने त्यो बाँच्नका लागि छ । जो हरेक मान्छेको समान स्वभाव हो । मान्छेको बाँच्ने रहर कहिल्यै पूरा हुँदैन । मान्छे नमर्ने भए नयाँ मान्छेको जन्मको आवश्यकता पर्ने थिएन कि ? अथवा जन्मने तर नमर्ने गर्दा प्रकृतिले मान्छेको सङ्ख्यालाई धान्ने नै पो थिइनन् कि । पृथ्वीलाई थोत्रा मान्छेहरू के काम ? पुस्तान्तरण पो हुनुपर्छ । त्यही भएर प्रकृतिले पुराना हुँदै गएका मान्छेलाई मर्नैपर्ने र नयाँ मान्छेहरू जन्मदै जाने अनिवार्य नियम लगाइदिएको त होला ।

घण्टाघरको घडीको सुई रोक्न सक्छ मान्छे, तर समय रोक्न सक्दैन मान्छे । मृत्यु मुखमा नआएसम्म मृत्युलाई बिर्सेर मोजमस्तीमा रमाउन सक्छ मान्छे, तर मृत्यु रोक्न सक्दैन मान्छे । प्रकृतिको चीरहरण गर्न सक्छ मान्छे, तर प्रकृतिमाथि विजय प्राप्त गर्न सक्दैन मान्छे । आखिर को शक्तिशाली ? प्रकृति, समय, मृत्यु वा मान्छे ? मान्छेका आजसम्मका विज्ञान र प्रविधिका क्षेत्रमा गरेका उपलब्धि लघुउपलब्धि हुन् । भन्नेले अकल्पनीय उपलब्धि भनून, तर ती लघुतम् आँखाले देखेका महान् मात्र हुन् ।

हुन त आजको संसार तर्कहरूको साम्राज्य हो । वैश्य युगमा तर्कहरूका बाटा खुला छन् । वैज्ञानिक भन्लान्– प्रकृतिमाथि मान्छेले विजय प्राप्त गरिसक्यो । एकाथरि तर्कशास्त्री भन्लान्– मान्छेले समयभन्दा अगाडि हिँड्न सिकिसक्यो । चिकित्सकहरू भन्लान्– हामीले मान्छेको आयु बढायौँ, एकदिन मान्छे अवश्य मृत्युमुक्त हुन्छ । त्यसो त चिकित्सा विज्ञानले भविष्यमा मान्छेलाई दुईसय वर्षभन्दा बढी उमेर बचाउन सकिने त प्रक्षेपण नै गरिसकेको छ । यी आधुनिक विज्ञानले मान्छे सबैभन्दा शक्तिशाली भन्ने कुरा प्रमाणित गर्न गरेका निरर्थक प्रयास हुन् ।

मान्छेले आफूलाई शक्तिशाली प्राणी भनी दाबी गर्दैैगर्दा केही प्राक्कल्पनायुक्त रहस्यहरूले मान्छेलाई निकै लघु सावित गर्छ । अर्को ग्रह वा व्रह्माण्डमा एलियनहरूको अस्तित्वको वास्तविकता के हो ? कतै तिनीहरू हामीभन्दा शक्तिशाली निस्के भने मान्छेले पनि उनीहरूको निगाहमा बाँच्नुपर्ने त होइन ? जसरी आज पृथ्वीका अरू प्राणी मान्छेले निगाहा गरेको आयु बोकेर बाँचेका छन् । पृथ्वीबाहेकका अन्य ग्रहहरूमा प्राणीको अस्तित्व छ भने ती मान्छेभन्दा पनि शक्तिशाली पो छन् कि ? आधुनिक विज्ञानको लघुतम तथ्यले यो जानेको छ र ?

हामी बसेको सौर्यमण्डल जस्तै अरू पनि सौर्यमण्डल (जो अरू कुनै मण्डलको नाममा पनि हुन सक्छन्) कतिवटा होलान् ? तिनमा पनि प्राणीको अस्तित्व छ र ती प्राणी हामीभन्दा शक्तिशाली छन् भने उनीहरूसँग हाम्रो जम्काभेट हुँदा हाम्रो शक्ति के होला ? कतै उनीहरूका शक्तिका अगाडि मान्छेको शक्ति लघुशक्ति सावित भयो भने नि ? मान्छेको हविगत के होला ?

कतै पृथ्वीमा नै कुनै जीवले मान्छेले झैँ क्रमशः चेतनाको विकास गरिरहेको त छैन ? उसले कुनै दिन मान्छेमाथि विजय प्राप्त ग¥यो भने ? जसरी पृथ्वीमा मान्छेहरू अस्तित्वमा आएसँगै डाइनोसर जस्ता शक्तिशाली प्राणीको अस्तित्व लोप भयो । मान्छेभन्दा शक्तिशाली डायनोसरहरू कसरी लोप भए ? जसको इतिहास गुमनाम छ । त्यसैगरी भोलि अरू प्राणीको शक्तिमा उदय भएसँगै मान्छे पनि पृथ्वीबाट लोप हुन के बेर ?

समय आएपछि जतिसुकै शक्तिशाली मान्छे पनि मर्छ । पृथ्वीमा मान्छेको सत्ता लघुसत्ता हो । प्रकृतिको सत्ता बृहत्सत्ता हो । लघुताभासको मलजलमा वृहत्ताभावको दम्भको पगरी गुथेको मानवसत्ता कुनै पनि दिन ढल्न सक्छ । यो प्रष्ट छ कि मान्छेको आयु प्रकृति र समयले निर्धारण गर्छ । तर यो रहस्यमय छ कि समय प्रकृतिको अधीनमा छ कि, समयको अधीनमा प्रकृति ? कि समय र प्रकृति एकै कुरा हुन् ? बुझाइ र व्याख्यामा एकरूपता भेटिएको छैन ।

विज्ञानको लघुतम तथ्यले भन्छ– पृथ्वीको घुमाइले समयको गति निर्धारण गर्छ । व्रमाण्डको सत्ताले भन्छ– पृथ्वी नै समयको उपज हो । समय र प्रकृति कुन शक्तिशाली ? तर्क र बहस चल्दै रहला । मान्छेको शक्ति भने समय र प्रकृतिका अगाडि लघुसत्ता हो । मान्छे सबैभन्दा शक्तिशाली भन्ने एउटा ठूलो भ्रम मात्र हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।