भ्यूटावर

लघुकथा दिव्य गिरी January 13, 2026, 4:46 pm

दिव्य गिरी
दिव्य गिरी
देशमाभरमा सबैभन्दा अग्लो र पहिलो भ्यूटावरको निर्माण सम्पन्न भयो । त्यसको उद्घाटन गर्ने शुभ-मुहुर्तको दिन पनि अायो । पर्यटन मन्त्री, मन्त्रीका आसेपासे र भ्यूटावर निर्माता कम्पनीको ठेकेदारसमेतको एउटा झुन्ड निकै हर्षोल्लासकासाथ उद्घाटन समारोहमा उपस्थित भए ।

मन्त्रीबाट विधिवत भ्यूटावरको उद्घाटन भयो । भ्यूटावरबारे मन्तव्य व्यक्त गर्ने पालो मन्त्रीको अायो । उनले मन्तव्य व्यक्त गर्दै भने -"यो क्षेत्रमा यति ठूलो र भव्य भ्यूटावर बन्नु यहाँका जनताको लागि मात्रै नभइ देशकै गर्वको विषय हो । देशमा आन्तरिक र वाह्यपर्यटकलाई यो भ्यूटावरले निकै आकर्षण गर्दछ र यो ठाउँको महत्त्व पनि बढाउँछ । देशमा धेरैभन्दा धेरै पर्यटक ल्याउन यस्ता भ्यूटावरहरू देशैभर बन्नुपर्दछ ।"

मन्त्रीको भाषणमा सबैले जोडदार ताली बजाए ।

उद्घाटनपछि मन्त्रीलगायत सबैले भ्यूटावरको माथिल्लो कौसीबाट देखिने वरिपरिका दृश्यहरू रमाइलो मान्दै हेर्न थाले ।

नाङ्गै भुतुङ्गै स-साना केटाकेटी, झुत्रो कपडा लगाएका वृद्ध-वृद्धा र अाइमाईहरू झोपडपट्टीबाट भ्यूटावरमा भइरहेको गतिविधि हेरिरहेका थिए ।

"अहा! यहाँबाट सुकुम्बासी बस्ती विशाल र प्रष्ट देखिने रहेछ ।" मन्त्रीले हाँस्दै भने ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।