घरको उचाइबाट मिलेको सुख, घरको उचाइ भत्किने बित्तिकै महादुःखमा परिणत हुन्छ । एकजना मान्छेको अनुहार अचेल मलिन देख्छु । पहिले उनी जति प्रशन्न थिए । त्यो चमक उनको चेहराबाट गायब छ । कुरा के भएको रहेछ भने पहिले टोलभरिमा उनको घर अग्लो थियो । एकतले घरहरुको बीचमा उनको तीनतले घर शानले उभिएको थियो । उनलाई आफ्नो घरको उचाइले सानो सानो स्वर्गीय सुख दिएको थियो । त्यही घरको उचाइले शान, मान र अभिमान मिलेको थियो । उनी घरको उचाइमा रमिरहेको बेला सामुन्नेको छिमेकीले एकैचोटि पाँचतले बिल्डिङ्ग ठड्याइदिएछ । त्यो घरको सामुमा उनको घर पुड्को भएछ । त्यसपछि उनको खुशी, उनको चुरिफुरी सबै उनको अनुहारबाट बिदा भएछ । पहिले त्यही घर हेर्दा उनीभित्रैबाट मसमस मस्किन्थे; अहिले आफ्नो घरदेखि उनलाई ग्लानिभाव उठेर आउँछ रे । भनेपछि घरको उचाइले दिने सुख चीरस्थायी सुख होइन रहेछ ।
यसैगरी पदको उचाइमा मिलेको सुख, पद जाने बित्तिकै पदसितै लोप हुँदोरहेछ । कयौँ मान्छेहरुको गति हेर्छु । हिजो कुनै पदमा पदासीन हुँदाको अलौकिक सुख आज पद गएपछि ग्रहण लागेको मलिन चन्द्रमाको गतिमा परिणत भएको छ । यसैगरी धन र प्रतिष्ठाको आगोबाट मिल्ने सुखपनि धन र प्रतिष्ठाको आगो मधुरो हुने बित्तिकै सेलाएर जाँदोरहेछ । तर चेतनाको अक्षय उचाइमा आरोहण गरेको मानिस कहिल्यैपनि निकृष्ट तलमा ओर्लेर दुःखी हुनु नपर्दाेरहेछ । बुद्धले तलैतलाका बुर्जावाल दरवार किन त्यागेछन् ? त्यसको रहस्य भर्खरभर्खर चाल पाउन थालेको छु । चेतनाको उचाइमा चढेपछि दरवारको उचाइ बेकार हुनेरहेछ । राजघराना कै कवि बाशो राजसी सुख वैभवको दरवार त्यागी तलाउको किनारामा काँसे झुपडीमा बस्नुले चेतनाको समृद्धिलाई संकेत गर्छ ।
चेतनाको उचाइ आरोहण गरेका बोधिआत्माहरुले धन, पद, प्रतिष्ठा, मान, सम्मान र दरवार त्याग्नुको कारण उनीहरुले बुझे– सच्चा आनन्द, धनको सत्तामा छैन । न त पद प्रतिष्ठाको सत्तामा छ । यो त चेतनाको सत्तामा विराजमान छ । अनि त उनीहरु स्वयम्को चेतनामा रमण गर्न थाले । चेतन सत्ताको गहिराइमा गोता मार्न थाले ।
चेतनाको उतुङ्ग शिखरमा उक्लिनुको मजा कति आनन्ददायी छ ! चेतनाको स्वभाव ऊध्र्वगामी हुन्छ । यही आनन्ददायी छ । यही ऊध्र्वगामी यात्राकोे अर्चना लेखिरहेछु म । एकथरि यात्रा अधोगामी हुन्छन् । अधोगामी यात्रामा क्षणिक सुखका झिल्काझिल्की मिलेपनि कालान्तरमा ऊ सारहीन ठाउँमा पुग्दछ । तर चेतना एक झल्झलाकार ज्योति हो । आकाशपथमा यात्रा गर्छ । ज्योतिको यात्रा ऊध्र्वगामी हुन्छ । यो निम्नतलतिर होइन उँचो तलतिर फर्केर यात्रा गर्छ । फेरि चेतनाको ज्योति कहिल्यै अधोगामी हुन सक्तैन ।
चेतनाले प्रतिपल नित नूतनतालाई समातेर यात्रा गर्छ । समयको पुरातन सत्तासित बर्तमान चेतनाको कुनै नातो छैन । प्रतिपल परिवर्तन अनि त्यसको स्वरसित समस्वरता गाँस्तै आकाशमार्गमा यात्रागर्नु यसको धर्म हो । चेतनाको स्वभाव हो, यो हर्दम असीम हुन खोज्छ । सीमा, बन्धन र संकुचनहरुबाट विस्तिर्ण बन्दै यो आकाशतर्फ फैलिन्छ । चेतनाले आकाश रोज्नु र आकाश ताक्नुको कारण छ । चेतन सत्तापनि असीम अनन्त छ । आकाशपनि असीम अनन्त छ । आकाशको सत्तासित चेतन सत्ताले तादात्म्यता राख्ने हुँदा यो आकाशतिर यात्रा गर्दछ । चेतनाको निवास, निकेतन या आलय आकाश नै हो । यसमा कुनै दुई मत छैन किनभने चेतन ज्योति आकाश ताक्छ, अनि एउटा निर्दिष्ट उचाइबाट आफ्ना रश्मीहरुले धर्ती आलोकित गर्छ । चेतनाको निर्दिष्ट उचाइमा आरोहण गरेपछि चेतना स्वयम् उज्याला किरणमा परिणत हुन्छ । यसले वरिपरिको तमसलाई नाश गर्दछ ।
जसरी सागरको पानी रवि रश्मिले उत्तप्त बन्दछ । जलकणहरु वाष्पिकरण भै गगनपथमा गोता लाउन थाल्छन् । त्यसले आकाशमा एउटा निर्दिष्ट क्षेत्र समातेपछि शितल जीवनदायिनी वर्षातको रुप लिई धरतीको तिर्खा मेट्तछ । चेतनाले पनि त्यसैगरी जब उत्तप्त ज्योति आकाशतिर आरोहण गराउछ, फेरि शनैः शनैः त्यसका करकिरण आफ्नो परिवेश वरिपरि फिजाउँदछ । असीम करुणा भावले नर–तमिस्रा नाश गर्न, धरतीमा आवेष्टित रजनीरातको घुम्टो खोल्न यो रङ्गिन किरण बनेर आउँछ हाम्रो सामु । म त्यो चेतनाको ज्योतिबाट निसृत किरणमा रङ्गिएर बस्न चाहन्छु । बाँच्न चाहन्छु । चेतनाको उचाइमा अकम्प थीर हुन चाहन्छु तर पनि अनेकन् क्षुद्रताहरुले मलाई हात तानेर, खुट्टा तानेर पतनको खाल्डोमा खसाउन खोज्छन् । तर पनि म निम्नतलबाट उठ्न चाहन्छु । चेतनाको उच्चतलमा आरोहण गर्न चाहन्छु ।