त्यस्तै साहित्यकार मध्ये कृष्ण बजगाईं पनि एक हुन् । घुमन्ते स्वभावका उनको सकारात्मक पक्ष भनेको आफ्नो भ्रमणको स्वाद आफूमात्रै नलिई आम पाठकलाई समेत चखाउनु हो । जसबाट सृजित अक्षरलाई आँखाले चुम्दै हामी देश-विदेश चहार्ने गर्छाै ।
दुई दर्जनभन्दा बढी साहित्यिक कृतिका सर्जक हुन् बजगाईं । पच्चीसाैं पुस्तककाे रूपमा हालै मात्र लन्डिनियम नामक नियात्रासङ्ग्रह भुँडीपुराण प्रकाशनबाट प्रकाशित भएको छ । विधागत रूपमा भने याे उनको छैटौं नियात्रासङ्ग्रह हाे ।
पानीमाथि तैरिरहेका शब्द, लन्डनको 'पोएट्री फार्मेसी' मा चक्कर, लिटल भेनिसमा रोमान्टिक मन, शरणार्थी कार्ल मार्क्सका पाइला पछ्याउँदा, लन्डनमा 'पोएट्री वाक' र 'बुकबार', नाङ्गानाङ्गीहरूको गाउँमा, कोर्बोमा नर्दन लाइट्स, शेक्सपियरको मन्दिरमा नेपाली भक्त, लन्डिनियममा कामुक सुन्दरी, बाथ शहरमा घामपानीको स्नान, हेगको न्यायालयमा शान्तिसँग जम्काभेट, नेदरल्यान्डस्को बतासे गाउँमा हावा मिल, भान गोगलाई खोज्दै आम्सटर्डममा, आम्सटर्डमको सडकमा बरालसिङ, जर्मनीमा पाब्लो पिकासोसँग, बर्लिनमा भाइचारा चुम्बन, हिटलरको यातनागृहमा रोएको मन र हाम्बर्गमा बिटल्सलाई खोज्दा शीर्षकका अठारवटा राेचक नियात्रा लन्डिनियमभित्र समेटिएका छन् ।
नियात्राहरू, बेलायत, जर्मनी र नेदरल्याण्ड लयायतका स्थानको सेरोफेरोमा बुनिएका छन् । झण्डै दुई हजार बर्षअघि बेलायतमा शासन गरेका राेमनहरूले आफ्नो पालामा विकास गरेर नामाकरण गरेको शहर लन्डिनियम नै हालकाे लण्डन रहेको तथ्यलाई पुस्तकले उजागर गरेकाे छ । वर्तमान विकसित लण्डनकाे त्यही प्राचीन नाम लन्डिनियम नै पुस्तककाे नाम राखिनुले पाठकमा काैतुहलता बढाएकाे भान हुन्छ ।
नहरको पानीमाथि तैरिरहेकाे डुङ्गाभित्रकाे पुस्तक पसल, लण्डनकाे अक्सफोर्ड स्ट्रिटमा खुलेको ओैषधीकाे रूपमा कविता बेचिने पाेएट्री फार्मेसी, भेनस शहरको नहरमा पानीमाथि तैरिएकाे हाउसबाेटमा सञ्चालित प्रशिक्षण केन्द्रका यात्रा प्रसंग निकै राेचक छन् ।
स्थानीय किसानहरूलाई प्राेत्साहन गर्न लण्डनका कतिपय स्थानमा निश्चित समय ताेकेर मूल सडक बन्द गर्दै आआफ्ना उत्पादन बिक्री गर्न दिने साेह्राैं शताब्दी अघिदेखिकाे चलन यथावत रहेको देखेर नियात्राकारले नेपाली हाटबजारकाे स्मरण गरेका छन् । त्यहाँका पिएचडी डाक्टरले अपनाएकाे टुर गाइडकाे पेसाले कुनै पनि काम सानाे ठूलाे हुँदैन भन्ने सशक्त सन्देश प्रवाह गरेको छ ।
यसैगरी, पानीमाथि तैरिएर बस्ने हाउसबाेटका घर, थेम्स नदीकाे किनारामा अवस्थित विश्वविख्यात साहित्यकार शेक्सपियरकाे पूर्ण कदकाे मूर्ति रहेको गुम्बज शैलीको मन्दिर, प्राचीनकालीन बेलायतमा जनावर र मानिसहरूका बीचमा लडाइँ गराइने एम्फिथिएटर, फुटपाथजस्तो सार्वजनिक स्थानमा कविता लेख्दै बेचेर गुजारा गर्ने कविका प्रसंग पनि पुस्तकभित्रका आकर्षण हुन् ।
शान्ति र न्यायकाे शहरकाे रूपमा ख्याति कमाएको हेगकाे अन्तर्राष्ट्रिय न्यायालयको प्रसंग, नेदरल्यान्डकाे बहुचर्चित हावा मिल, काठबाट बनाइएका जुत्ता, एकसय सत्र अमेरिकी डलरमा बिक्री भएको पेन्टिङ, आम्सटड्राममा रहेको सेक्स म्युजियम, महान् चित्रकार पाब्लाे पिकासाे म्युजियम, बर्लिन पर्खालकाे अवशेष, हिटलरकाे यातनागृह, ग्यास च्याम्बर र सामूहिक चिहानकाे भ्रमण तथा हाम्बर्गका एकसय पचासओटा बसमा स्थापना भएको सार्वजनिक पुस्तकालय सम्बन्धि जानकारीले त्यहाँको ऐतिहासिकता, कला र पठन संस्कृति लगायतकाे बारेमा निकै हदसम्म पाठकलाई सुसूचित गर्छ ।
नियात्राकाे बारेमा बजगाईंले भनेका छन् “विभिन्न स्थानमा टेक्नु र गन्तव्यमा पुगेर सकुशल फर्कनु मात्र यात्राको सफलता होइन । यिनै कुरालाई मनन गर्दै विगत र वर्तमानसँग साक्षात्कार गर्न म यात्रामा निस्कन्छु । तिनले मलाई मानवीय जीवनको विविधताका बारेमा चिन्तन गराउँछन्, धेरै कुरा सिकाउँछन् र भविष्यमा फेरि यात्रा गर्न उत्प्रेरित गर्छन् । त्यस्ता यात्रामा प्राप्त अनुभूति र ज्ञानहरू नियात्रामार्फत अभिव्यक्त गर्दछु ।”
पक्कैपनि, यात्राको क्रममा सुनेका, देखेका, भोगेका र महसूस गरेका कुराहरूलाई इमानदारीपूर्वक शब्दमा बुनेर कथात्मक तथा निबन्धात्मकरुपमा प्रस्तुत गर्नु नियात्रा लेखन हो । विदेश भनेपछि मरिहत्ते गर्नेहरूलाई विदेशमा पनि सबै कुराहरू शतप्रतिशत ठीक र राम्रा छैनन् भन्ने सन्देश कृतिले दिएको छ । विदेशमा सार्वजनिक ठाउँको सफाइ र अन्य सुदृढ व्यवस्थापन देख्दा, आफ्नो देशमा देखिने अव्यवस्थाप्रति लेखक दिक्दार भएका छन् ।
विदेशमा सम्वृद्धिका लागि विकास हुने तर हामीकहाँ विकासको नाममा राजनीति हुने कुराले तथा यतातिर कृतिमतालाई समेत प्राकृतिक स्वरुप दिएर पर्यटक तानेको तर आफ्नो देशमा भएका स्वर्गसमान प्राकृतिक सम्पदाको समुचित विकास र सदुपयोग गर्न नसकेको जस्ता पीडा पनि लेखकमा देखिन्छ ।
प्रचुर स्रोत र संभावना हुँदाहुँदै पनि देश विकासका लागि प्रतिबद्ध नेतृत्व नहुनाका कारण अहिलेसम्म नेपालले गरीब र पिछडिएको देशको रुपमा विदेशी माझ चिनिनुपर्ने विडम्बनापूर्ण अवस्थाले लेखक चिन्तित देखिएका छन् । आफ्नो देशलाई पनि यस्तै विकसित भएको देख्ने आतुरी समेत उनको लेखनमा पाइन्छ । नियात्राकार व्यक्तिगत भ्रमण गएको भएतापनि पाठकलाई यात्रा अवधिभर उनले समग्र नेपालको प्रतिनिधित्व गरेको महसूस हुन्छ ।
नियात्रा जानकारीमूलक त छँदैछन्, तिनमा भरपुर प्राकृतिक सौन्दर्यता पनि छ। प्रस्तुति सहज, सरल र सलल बगेका छन्। आफू घुमेका ठाउँमा स्थानीयसंग कुराकानी गरेर बटुलेका जानकारीले लेखाइको यथार्थता र प्रामाणिकता पुष्टि गर्न मद्दत गरेको छ। यात्राको सुक्ष्म विवरण दिने क्रममा केही नियात्रामा वर्णन अलिक बढी भएकाे महसूस पाठकलाई हुनसक्छ । तिनलाई संक्षेपिकरण गर्न सकिन्थ्यो । यद्यपि, ससाना कुराहरू समेतलाई लेखमा समेटिएको देख्दा भ्रमणको तथ्य संकलनमा नियात्राकारले निकै मेहनत गरेको देखिन्छ।
समग्रमा भन्नुपर्दा, पाठकलाई आफूसँगै यात्रामा हिँडाउन लेखक सफल भएका छन् । लेखकको घुमन्ते यात्रा यसैगरी निरन्तर चलिरहोस् । उनको यात्राको अनुभवकाे स्वाद आगामी दिनमा पनि हामीले यसैगरी चाख्न पाइरहाैं । नियात्राकार बजगाईंलाई धेरै धेरै शुभकामना ।