पुरुष मान्छे

लघुकथा ईगम खालिङ January 22, 2026, 4:37 pm

ईगम खालिङ
ईगम खालिङ
चिडियाखानाभित्र घुमिरहेको एकजना पुरुष मान्छेको जम्काभेट एउटा बलियो बाघसित हुन्छ। त्यसरी एक्कासि बाघसित भेट हुँदा उसले बाघ वास्तवमा फलामको बारले बारेको खोरभित्र छ भन्ने कुरा नै भुलिपठाउँछ। बाघले उसलाई नचली हेरिरहन्छ। उसले पनि नचली बाघको आँखामा हेरिरहन्छ। डरले उसको हात-खुट्टा कामेर आउँछ। एकछिनपछि बाघ त्यहाँबाट जान्छ। ऊ पनि त्यहाँबाट घर फर्किन्छ। त्यस जम्काभेटको धेरै बेरसम्म उसको मुटु जोरजोरले ढुकढुक गरिरहन्छ।

बेलुकी घरमा आइपुगेपछि, उसकी श्रीमतीले उसलाई एक कप चिया टक्राउँछे। चिया पिइसकेपछि ऊ टेलिभिजन हेर्न थाल्छ। उसले खोलेको च्यानलमा पनि बाघ नै देखाउँदै रहेछ। बाघ देख्नासाथ अत्तालिएर टेलिभिजन बन्द गर्छ, र एकै सासमा भान्साघरमा पुग्छ। उसलाई भान्साघरमा अचानक देख्दा श्रीमती मुसुक्क मुस्कुराउँछे। तर ऊ भने रिसाउँदै आँखा फुकालेर ठुलो स्वरमा कराउँछ, “म आएको कति भइसक्यो खै अहिलेसम्म चियासमेत दिएकै छैनस् त!” श्रीमती डरले थरथर काम्दै फेरि अर्को एक कप चिया बनाएर उसको अगाडि राखिदिन्छे। उसले बाघले जस्तै घाँटी फुलाएर सुरुपसुरुप चिया पिउन थाल्छ तर श्रीमती भने डरले के गरुँगरुँ भइरहन्छे।

केही बेरपछि ऊ भान्साघरमा चाल मारेर आउँछ र श्रीमतीलाई बाघले जस्तै टुलटुल हेरिरहन्छ। श्रीमती चाहिँ मृगले जस्तै खिड्कीदेखि बाहिर पुलुक्कपुलुक्क हेरिरहन्छे।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।