ग्रीष्मजा उपन्यासमा वैचारिक नविनता र नारी चरित्रको विशिष्टता

कृति/समीक्षा प्रा.कपिल अज्ञात January 27, 2026, 3:44 pm

प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात
सामाजिक वैचारिक उपन्यास हो ग्रीष्मजा (२०७९) यो पल्लव साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कृति हो । नारी शक्तिका स्रोत हुन् । समाजमा तिनका विविध रूप देख्न सकिन्छ । आफ्नो मातृत्व र प्रेमका निम्ति समाजले निषिद्ध ठानेका गम्भीर प्रकृतिका कार्यमा पनि नारीले आफ्नो भूमिका प्रदर्शित गर्न सक्छन्। यस्तै चुनौती पूर्ण कार्यमा आफ्नो हिम्मत र साहस देखाउने हुनाले पनि नारी पूजनीय छन् ।

नारीको विशिष्टता मांस पिण्डले बनेको बाह्य रुप हेरेर मात्र पुग्दैन, उनको आन्तरिक रूप कति गहन सौन्दर्यले युक्त छ विचार र व्यवहारमा नारी कति उदात्तता छन् भन्ने यस उपन्यासबाट बुझ्न सकिन्छ ।

यसमा एकजना नारी जो पतिसँग प्रेमपूर्ण सम्बन्ध हुँदाहुँदै उसको सन्तान हुनसकेको स्थिति छैन । उसमा मातृत्व प्राप्तिको तिव्र इच्छा छ , वात्सल्य प्रेमको महान आकाङ्क्षा छ । मातृ वात्सल्य प्रेमलाई कसरी जागृत गर्ने भन्ने गहिरो हुटहुटी छ , त्यसकोलागि उपाय त देखिन्छ तर त्यो उपाय अपनाउन अनेक विघ्न बाधा छन् मानसिक लडाइँ लड्नु पर्ने स्थिति छ । ठूलो विचार र ठूलो मन हुनेले नै व्यवह्रृत गर्न सक्छ । मनै न हो महान प्राप्तिका निम्ति महान त्याग गर्न सक्नु पर्छ । अमृत प्राप्तिका निम्ति पहिले विष पनि पचाउन सक्नुपर्छ । यस्तै विचार र चरित्रकी नारी चरित्र हुन् ग्रीष्मजा । उनी उपन्यासकी प्रमुख पात्र हुन् । उनकै विशेष चरित्रमा केन्द्रित भएकाले उपन्यासको शीर्षक पनि ग्रीष्मजा राखिएको छ र उपन्यासको शीर्षक उपयुक्त र सार्थक छ ।

नेपाली उपन्यासका क्षेत्रमा उपन्यासका माध्यमबाट आफ्नो अद्भुत विचार प्रकट गर्ने वैचारिक उपन्यासकार हुन् विश्वेश्वरप्रसाद कोइराला । उनका सुम्निमा, मोदीआइन्, तीन घुम्ती र नरेन्द्र दाइमा परम्परागत मान्यता प्रति विद्रोही विचार र व्यवहार प्रस्तुत गरिएको छ । आफ्ना उत्कृष्ट र उदात्त विचारले नै उनका उपन्यासहरू उत्कृष्ट बनेका छन् । त्यसै परम्परालाई पछ्याउँदै आख्यानकार चिरञ्जीवी दाहालले आफ्नो काल्पनिक शक्तिको उपयोग गरि वैचारिक दृष्टिले नवीन उपन्यासको रचना गरेका छन् । उनको यो मुमूर्षा (आत्मकथा २०७८), समृद्धि (संयुक्त मुक्तक सङ्ग्रह २०७८), बहरमाला (संयुक्त गजल संग्रह २०७९ ) पछिको चौथो कृति हो । आख्यानको रुपमा पहिलो उपन्यास भएपनि भाषा शैली र स्वर सन्धानका कारण कृति अत्यन्त सफल हुन पुगेको देखिन्छ ।

यसमा एकजना लालप्रसाद नामक पात्र छन् जो स्वस्थ्य ह्रृष्टपुष्ट वा खाइलाग्दो जिउडालका छन् । उनी विवाहित भएर पनि एक्लै छन् । बिहान बेलुकीको खाना आफैले पकाएर खानु पर्ने हुँदा जुठो भाँडोको सफासुग्घर पनि आफैले गर्नु परेको छ । सरकारी कामकाजमा आफ्नो तरक्की देखाउनु पर्ने व्यक्ति आफ्नै लुते धन्दा देखि दिक्क छन् । आफ्नै सहकर्मी सिंहजीको सहयोगमा भाँडा माझ्ने र सरसफाई गरिदिने व्यक्तिको खोजी हुँदा ग्रीष्मजा पत्ता लाग्छिन् । अन्दाजी पच्चीस छब्बीस वर्ष उमेरकी उनी आकर्षक देखिन्छिन् । उनको शारीरिक बनावट मिलेको देखिन्छ । उनको व्यवहार सुन्दर र शालीन छ । उनले लालप्रसादको घरधन्दा मात्र गरिदिने नभइ उनको वैयक्तिक सरसफाई र दैनिकी पनि सुधार गरिदिन्छन् । ग्रीष्मजाको लोग्ने छ तीर्थकुमार,ऊ छिप्पिएको गान्टेमूला जस्तै देखिन्छ । तर लोग्ने स्वास्नीका बिच सुमधुर सम्बन्ध छ । दुबै मिलेर लालप्रसादको भरपुर ख्याल राख्छन् । ग्रीष्मजा न वेश्या हुन् न लालप्रसाद कि रखौटी न स्वास्नी । बलात्कारको मनसाय पनि लालप्रसादले राखेका छैनन् । लालप्रसादको सेवा सहयोग गर्ने क्रममा लालप्रसादको ओछ्यानसम्म पुग्ने बाटो सहज बनेको छ । यसमा तीर्थकुमार पनि अवरोध छैन । मातृत्व प्राप्तिको आन्तरिक योजना बनाएर ग्रीष्मजा लालप्रसाद सँग समागम गर्छिन । पछि लालप्रसाद लाई आफ्नो व्यवहार बाट आफैलाई पछुतो लाग्छ । किनकी उनी विवाहित छन् । लालप्रसाद सँगको समागम बाट ग्रीष्मजा गर्भवती बनिन् । उनको आन्तरिक योजना सफल भएकोमा पछुतो मान्नुको सट्टा धन्यवाद दिन्छिन् । यही कथानकतामा आख्यानकार दाहालले आफ्ना नवीन विचारको प्रकटीकरण निकै सुन्दर तरिकाले प्रस्तुत गरेका छन् ।

मानव जिउने क्रममा सुखकै खोजी गर्छ । सुख के मा छ , त्यो कसरी प्राप्त हुन्छ , ऊ त्यसकै खोजीमा रहन्छ । सुखलाई परिभाषित गर्ने क्रममा ग्रीष्मजा र लालप्रसाद जस्ता मुख्य पात्रको सम्वादबाट उनी भन्छन् जीवनको चरम सुख भनेको प्रेम , यौवन र यौन हो । यथार्थमा यो हो नै । "यौवनको अन्त्य अत्यन्त अज्ञात र अन्धकार मय हुन्छ भनेर मानिए पनि त्यस भित्र अदृश्य प्रकाश हुन्छ ।" प्रसन्नता भन्दा कयौं गुणा बढी आनन्द जसमा प्राप्त हुन्छ त्यो नै चरम आनन्द हो । प्रेममा नै मातृत्व प्रेम पनि निहित छ । विचारको उदान्ततामा नै आनन्द निहित छ । सुख र आनन्द प्राप्तिका निम्ति विद्रोहको बाटो पनि गुज्रिन सक्नुपर्छ । आख्यान सिर्जनाबाट नवीन विचारको प्रयोग गरेर जीवनमा सुख र आनन्दको खोजी गर्नु पनि यहाँ लेखकको अभिष्ट रहेको छ । लेखकको विचार उदेश्य मुख्य पात्रहरूका सम्वाद र गतिविधि बाट स्पष्ट र खुलस्त गराउन खोजेको पाइन्छ । आफ्ना उत्कृष्ट विचार र उदेश्यले उपन्यासको गरिमा र महिमा बढेको देखिन्छ ।

उपन्यासमा नेपाली प्रकृति परिवेश र संस्कृतिको पनि उजागर गरिएको छ । नारीप्रति विशेष सद्भाव सहानुभूति र सम्मानको भाव राख्ने दाहालले नारीको अन्तर्चाहना , अन्तर्मन र अन्तर स्वरलाई मुखरित गरेका छन् ।

ग्रीष्मजा उच्च शिक्षित परिवारकी सदस्य हुन् , आफै पनि वि ए सम्मको शैक्षिक योग्यता हासिल गरेकी छन् उनको घर परिवार आधुनिक सोच र विचारले उन्नत छ । उनका एकमात्र दाइ डाक्टर छन् । उनको परिवारको जीवनशैली र रहनसहन नै पनि अरु भन्दा आकर्षक छ । उनी घरपरिवार र छरछिमेकमा निकै मन परेकी नानी हुन् । जान्ने बुझ्ने सबैले कति रसिली र फरासिली भन्ने गर्छन् । कुरिती र कुसंस्कार विरुद्ध लड्ने उनको स्वभाव छ । आफ्नै घरमा कामदार बसेको तीर्थकुमार सँग उनको माया प्रेम बस्छ ।

उनी एकदिन उसैसँग एकाएक भाग्छिन् । यसरी विद्रोही स्वभावबाट बनेको त्यो जोडी ६-७ वर्ष सँगै रहँदा पनि सन्तान भएनन् । जचाउँदा तीर्थकुमार सन्तान जन्माउन निम्ति अयोग्य देखियो । असल र इमान्दार परपुरुषबाट सन्तान जन्माउन सके सहर्ष स्वीकार्य हुने सर्वप्रथम प्रस्ताव तीर्थकुमारले नै राख्यो । परम्परागत मान्यता तोड्न मुस्किलै पर्छ त्यसैमा वादविवाद चल्यो अन्ततः दुबैमा सहमति बन्यो । असल र इमान्दार पात्रको सहयोगको खोजी भयो त्यसै क्रममा लालप्रसाद सँग संयोगले भेट भयो । लालप्रसाद बाटै उनीहरूको योजना सपना दुबै पुरा हुने अवस्था देखियो । ग्रीष्मजा र लालप्रसाद दुबैको सहवास बाट सुन्दर र स्वस्थ बच्चा जन्मियो । ग्रीष्मजा कै दाजुले ग्रीष्मजाको अपरेसन गरी बच्चा निकाले ‌पारिवारिक मिलनको खुशी मौलायो । यहाँ पनि आख्यानकारले आफ्नो दर्शन दिन खोजेका छन् । हामी आफ्नो कुल घरान जात धर्म जस्ता संकीर्ण विचार राखेर चल्यौं भने हामी नै दु:खी हुन पुग्छौं तर नीति र मानवतालाई मुख्यरूपमा मानेर चल्यौं भने हामीलाई खुशीहरूले पनि स्वागत गर्नेछन् । वनवासको स्थिति व्यहोर्नु पर्दैन । मात्र मनमा स्वस्थ र पवित्र भावना राख्नु पर्दछ ।

ग्रीष्मजाको निर्णय र तदनुसारको कार्यन्वयनले दुई पुरूष पात्रहरूको मनमा निकै अन्तर्द्वन्द्व चलेको हुन्छ । त्यही अन्तर्द्वन्द्वले कथानकलाई सहज गति दिएको छ । त्यसले आख्यान निकै कौतुकमय बनेको छ । दुबै पात्र आफ्नै मानसिक सोच र कमजोरीका कारण नसेवाज बने । दुबै शङ्कालु र संकीर्ण विचारले नामी जड्याहा भएर देखिए । आफ्नै ढङ्ग र निर्णयले दु:ख पाए । दुई पुरूष पात्र बिच चलेको अन्तर्द्वन्द्वमा लेखकको समीक्षा चेत पनि भित्रिएको छ त्यसले कथ्य लाई निकै रोचक र मर्मस्पर्शी तुल्याएको छ । लिभर रोगले थला परेको लालप्रसाद लाई उसकी पहिली स्वास्नीले पनि छोडी ,आखिर ग्रीष्मजा कै लिभरदानले लालप्रसादको प्राण रक्षा भयो । " उदात्त विचार र त्यागमा पुरुषका तुलनामा महिलालाई महान देखाएर यहाँ आख्यानकारले महिलाको विशिष्ट पक्ष दर्शाएका छन् । जीवनको परिपाटी आफैले मिलाउनु पर्छ । सुख र आनन्द भन्ने कुरा आफ्नै खोजको परिणाम हो भन्ने तथ्यलाई पनि प्रस्तुत गरिएको छ । आख्यानकार को विचारको विविध प्रयोगले उपन्यास वजनदार बनेको पाइन्छ ।

उपचार गर्दागर्दै धन सकियो, रोगले थला पार्यो भनेर दिक्क मान्दै वैलिएर रहेको भए उनीहरूको अवस्था समृद्ध बन्न सक्ने थिएन । जीवन प्रति आशावादी र उत्साहित भइ जाँगर चलाएकै ले धनदौलतले पनि उनीहरूको जीवनलाई ऐश्वर्य पूर्ण तुल्यायो ।

जीवनको गती सधैं एकनास हुँदैन । अन्ततः प्रत्यारोपित कलेजोमा क्यान्सर भएर लालप्रसाद को इहलोक समाप्त भयो । हुन त लालप्रसाद कयौं पटक मरिसकेको थियो ग्रीष्मजा कै योगदानले ऊ बाँचेको थियो । पुरूषका तुलनामा नारीमा विचारको उच्चता , जीवन प्रतिको दृढता र आत्मविश्वासको प्रबलता देखाएर लेखकले नारीप्रति विशेष सहानुभूति र श्रद्धाभाव प्रकट गरेका छन् ।

उपन्यासमा जम्मा दश परिच्छेद छन् । पञ्चम परिच्छेद बाट कथा पूर्ववर्ती हुन्छ । संसारमा धेरै मान्छेका धेरै रहस्य कुराहरू हुन्छन् तर धेरैका कुरा बाहिर आउन सकेका हुँदैनन् । डाक्टरी सेवामा कार्यरत तीर्थलालको साहित्य प्रतिको रुची र प्रयासले समाज र पारिवारिक सम्बन्धमा ठूलो भूमिका खेलेको हुन्छ । नियतिवस विछोडिएका पात्र एकाएक मिल्न आउँछन् । लथालिङ्ग बन्न पुगेको परिवार एक हुन आउँछ । साहित्यले ती सबैलाई जोड्ने काम गरेको छ । सामयिक राजनितिले मानव मानव बिचको हार्दिक सम्बधलाई तोड्ने काम गरे पनि साहित्यले जोड्ने काम गर्छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ । हुन पनि साहित्य त्यही अर्थमा साहित्य भएको छ ।

औपन्यासिक गतिको प्रवाहमा नैवान्धिक व्याख्यान गतिको प्रयोग गरेर यहाँ लेखकले औपन्यासिक स्वरुपलाई विस्तृत तुल्याएका छन् ।

उपन्यासमा लेखक बोल्नु भन्दा पात्रलाई नै बोल्न लगाउनु पात्रका परस्पर सम्बाद बाटै आख्यानको गति अघि बढ्नु वेश हुन्छ । डाक्टर तीर्थलालले आफ्ना कर्म पिता तीर्थकुमार लाई आमासँग भेट गराउने क्रममा नारी महिमा प्रस्तुत गर्दै आफ्नै आमा शक्तिशाली र शङ्घर्षशील भएकोमा गौरव बोध गरेका छन् । ग्रीष्मजा र तीर्थकुुमारको भेट भए पनि सिद्धान्त र व्यवहार फरक हुँदा स्पष्ट सम्बन्धमा कठिनाई हुने पनि जानकारी गराएका छन् । सामाजिक संरचनामा नारी पुरूषका बिचका मान्यताहरू लाई सङ्क्षिप्त ढङ्गले खुलाएर नारीलाई जीवनमा आइपर्ने जटिलता हरूलाई पनि स्पष्ट पारेका छन् ।

सारमा नवीन विचारकै विश्लेषणमा उपन्यासको रूपरेखा प्रस्तुत भएको छ । नारी चरित्र प्रधान र विचार प्रधान यस उपन्यासले औपन्यासिक क्षेत्रमै हलचल ल्याउने विश्वास गर्न सकिन्छ । विचार र चरित्र मात्र होइन शैलीका दृष्टिले पनि यो उपन्यास उत्कृष्ट सिर्जना बन्न पुगेको छ ।

शैलीको छटा कस्तो छ , त्यसका केही नमुना हरू यहाँ उल्लेख गरिएको छ ।

- अनुहार गोलो र बाटुलो देखिए पनि ऊ छिप्पिएको गान्टेमूला जस्तै देखिन्थ्यो । पृ ६

- बाबु तीर्थ तिमीले त स्वस्थानीको शिव शर्मा ब्राह्मणले जस्तै भन्यौ विहे नगरिदिए आत्महत्या गर्ने कुरा । पृ २७

- उनीहरू दुबैजना सन्तानले दुध चुस्दै भात उकेल्दै हुर्किएका थिए । पृ ३६

- आफ्नो भागमा नपर्ने अङ्गुरको झुप्पा मीठो छ भनेर के गर्नु ? पृ ३७

- आठ रेक्टर स्केलको भुइँचालोले गर्ल्याम्म भएको घर जस्तो भएको छ ग्रीष्मजाको आत्मविश्वास । पृ ४३

- दिनभरी चरनमा चर्न गएको बाख्राले घरमा छोडेर गएको पाठोलाई साँझपख भेट हुँदा मायाँ गरेझैँ लालप्रसाद त्यस बच्चालाई माया गरिरहेको देखिन्थ्यो । पृ ४५

- तिमी प्रति जति घृणा उत्पन्न हुन्छ , त्यति आसक्ति पनि पैदा हुँदैछ मेरो मनमा। पृ ४५

- एक त कलेजो प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउनु भनेको एकजना सुकुम्बासीले संसदीय निर्वाचन लड्नु सरह थियो भने दोस्रो कुरा उसका लागि कलेजो दाता नपाइन सक्थ्यो । पृ ५४

- श्री नगरको उजाड डाँडामा भर्खर रोपिएका सल्लाका बोटहरू छोटो अवधिमा पनि आकास छुने प्रतियोगितामा भाग लिए झैं तनक्क तन्किरहेका थिए । पृ. ७२

- प्रखर भागवत वाचकले धाराप्रवाह भागवत पुराण वाचन गरे जस्तै पृ ८३

अन्तमा ग्रीष्मजा नारी चरित्रमा केन्द्रित सामाजिक उपन्यास हो ‌ता पनि यसमा विचारको नवीनता र मानवताको उत्प्रेषण छ । नारीको चरम सार्थकता मातृत्वमा निहित छ । नारीको वाह्यरूप मात्र होइन आन्तरिक रूप हेर्नु पर्छ । त्यहाँ वात्सल्यको प्रेमभाव गङ्गा झैं प्रवाहित भइरहेको हुन्छ । साहित्यले आनन्द मात्र प्रदान गर्दैन , समाजको उपचार पनि गर्छ र दिशा पनि देखाउँछ ।

किर्तिपुर मैत्रीनगर काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।