ढुङ्गाहरू

कविता अमृत दाहाल March 14, 2026, 9:14 am

अमृत दाहाल
अमृत दाहाल
बाटोमा भेटिएको थियो

देवताजस्तै ठानेर मन्दिरमा राखें

फूल चढाएँ, प्रसाद चढाएँ

चार दिशामा धूपबत्ती बालें

हात जोडेर प्रार्थना गरें

जति गरे पनि बोल्दै बोलेन

आखिर ढुङ्गो न थियो ।

सुरक्षा होला भनेर पर्खाल लगाएँ

घरको गाह्रोमा चार कुना भरें

आँगनमा मिलाई मिलाई राखें

टाढाबाट हेर्दा चिटिक्क देखियो

ढुक्क थिएँ, रमाएकै थिएँ

एक दिन पहाडबाट खसेको पहिरोले घर किच्यो

सब मिहिनेत माटोमै विलिन भयो

ढुंगाले केवल भार दिँदो रहेछ

आधार होइन ।

न ढुङ्गापग्लन्छ

न ढुङ्गाले रंग बदल्छ

जतिसुकै कराउ तिमी

ढुङ्गाले जवाफ दिँदैन

किनकि ढुङ्गाको कान हुँदैन

जतिसुकै आँसु खसाल

केही फरक पर्दैन

ढुङ्गाको मुटु हुँदैन

किन बुझ्दैनौं तिमी,

ढुङ्गाको मन हुँदैन ।

जतिसुकै निचोर ढुङ्गालाई

तिम्रै हात दुख्ला बरु

ढुंगामा पानी हुँदैन

विश्वासलाई कुल्चिरहेछ वर्षौंदेखि

तिमी जतिसुकै चिच्याउ

ढुङ्गालाई कुनै ग्लानी हुँदैन ।

चोकमा उभिएको उसलाई

माला र अबिर बर्साउँदा पनि

एकोहोरो ठिंग उभिएर कहाँ हेरिरहेको छ थाहा छैन

मलिन अनुहारहरु आशा लिएर

उसैलाई हेरिरहेछन्

वर्षौंपछि थाहा भयो

उ त ढुङ्गाको सालिक पो रहेछ

हामीले उसलाई आँसु देखायौं

खेतका पटपटी फुटेका गह्रा देखायौं,

र पटपटी फुटेका ओठ र हात देखायौं

विदेश जान लागेका सन्तानको लाइन देखायौं

चिसो चुह्लोमा पल्टिरहेका रित्ता भाडा देखायौं

तर किन हेर्थ्यो र उ यो सब

किनकि उ त फगत ढुंगो न थियो

न आँखा, न कान र न मुटु

मात्र एक निर्जिव ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।