समृद्धिको भ्रूण

कविता लक्ष्मी रिजाल March 27, 2026, 1:36 am

लक्ष्मी रिजाल
लक्ष्मी रिजाल
​म इतिहासको त्यो देउरालीमा उभिएकी छु,

जहाँबाट मैले कैयौँ पटक ऋतुहरू फेरिएको देखेकी छु,

तर मेरा सन्तानका अनुहारमा उही 'अभावको हिउँद' मात्र देखिरहेँ ।

आज फेरि समयले नयाँ कोल्टे फेरेको छ,

र म एउटी नारी, एउटी जननी-

आफ्नो पछ्यौरीले पुछिएका सपनाहरूलाई

नयाँ सरकारको दैलोमा बिस्कुन सुकाउन आइपुगेकी छु ।

​नयाँ सारथिहरूलाई शुभकामना !

​तिमीहरूले सिंहदरबारको उकालो चढ्दै गर्दा

बिर्सन त हुने छैन- ती आमाहरूलाई ?

जसले डोकोभरि दुःख बोकेर पनि राष्ट्रको नाममा गीत गाइरहे,

बिर्सन त हुने छैन- ती दिदीबहिनीहरूलाई ?

जसका आँसुले यो देशको भूगोल भिजेको छ, तर अधिकारको घाम अझै आधा छ ।

​म चाहन्छु-

अब बन्ने स्वर्णिम नेपाल केवल तथ्याङ्कको थुप्रो नबनोस्,

त्यो त मेरो भान्साको सुगन्ध बनोस्,

जहाँ कसैले भोकै सुत्न नपरोस् ।

त्यो त मेरो छोरीको आँखाको आत्मविश्वास बनोस्,

जहाँ ऊ निर्धक्क भएर मध्यरातमा पनि हिँड्न सकोस् ।

रुपनगर, सप्तरी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।